एपेक्स हस्पिटालिटीको २० करोडको सेयर बिक्रीमा, मूल्य १३५ रुपैयाँ

काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले प्रिमियम मूल्यमा झण्डै २० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेको १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  कम्पनीले उक्त सेयर अंकित मूल्य १ सय रुपैयाँमा ३५ रुपैयाँ थप गरी प्रतिकित्ता १३५ रपैयाँमा बिक्री गर्नेछ । प्रिमियम मूल्यका आधारमा कम्पनीले १९ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  विषेश साधारण सभाबाट प्रस्ताव पारितभएपछि गत चैत ३१ गते बसेको सञ्चाल समितिको बैठकले प्रिमियम मूल्यमा सेयर बिक्री खुला गर्ने निर्णय गरेको हो ।  कम्पनीको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।  तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । 

सगरमाथा चढ्नेहरू नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धामा, २० दिनमा ४ पटक आरोहण गर्ने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँ नयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।  ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा ३ पटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।  केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिना अक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् । यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा ४ पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्किएका छन् ।  ‘२० दिनभित्र ४ पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ,’ उनले भने ।  सन् २०१७ देखि आरोहणमा लागेका शेर्पाले सगरमाथा ४ पटक आरोहण गरिसकेका छन् । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।  सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गरे । उनका बुबाले सगरमाथा आरोहण गरेका थिए । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उनले बताए । दावा फुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाएका थिए ।  एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उनले बताए । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गरेका छन् । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी छन् । टासीले सगरमाथाको ४ पटक सफल आरोहण गरिसकेका छन् ।  सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उनले उल्लेख गरे । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरिता लगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराए । आफूमा पनि उहाँहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उनले बताए । टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा ७ महादेशका अग्ला हिमाल चढ्ने योजना बनाएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्बको घोटाला

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ । संसद्को सार्वजनिक लेखा समितिमा पेस गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमा १४ अर्बभन्दा बढी भ्रष्टाचार भएको उल्लेख छ ।  साथै विमानस्थल ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले व्यापक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।  विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटक-पटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको देखिन आएको उपसमितिको निष्कर्ष छ । विमानस्थल निर्माणमा कर छुट दिइएको रकम २ अर्ब २० करोड रुपैयाँसमेत गैरकानुनी रूपमा भुक्तानी भएको तथ्य उपसमितिले प्रतिवेदनमा उल्लेख छ । राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरेर सो विमानस्थल निर्माणका सम्बन्धमा भएको समग्र पक्षको अध्ययन गरेको छ। उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए । उपसमितिको प्रतिवेदन समितिमा पेस हुने र आवश्यक छलफलपछि निर्णय हुने समितिले जनाएको छ ।  विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो । उपसमितिले विमानस्थल निर्माणमा संलग्न सरोकारवाला निकाय, स्थानीय बासिन्दा तथा विज्ञहरूसँग आवश्यक छलफल गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनमा समग्र पक्षका बारेमा उल्लेख गरिएको छ । विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग तथा विमानस्थल वरिपरिको स्थल, कटान गरिएको छिनेडाँडाको पनि स्थलगत अनुमगन गरेको थियो । चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब २२ अर्ब रुपैयाँ लागतमा सो विमानस्थल निर्माण भएको हो । सो विमानस्थल २९ डिसेम्बर, २०२२ मा निर्माण सम्पन्न भई १ जनवरी २०२३ (२०७९ पुस १७ गते)देखि सञ्चालनमा आएको हो ।  सो विमानस्थलमा केही अन्तरराष्ट्रिय चार्टर उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । हाल सो विमानस्थलबाट नियमित रूपमा आन्तरिक उडान मात्र भइरहेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनको आवश्यक अध्ययनपछि उपयुक्त निर्णयमा पुगिने समितिले जनाएको छ ।