सबैभन्दा धेरै एआई मोडल चीनमा विकास
काठमाडौं । चीनले एक हजार पाँच सय नौ ठूला कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जारी गरेको छ । यो विश्वभरमा सबैभन्दा धेरै सङ्ख्या हो र हालसम्म सुरु गरिएका तीन हजार सात सय ५५ मोडलको पर्याप्त हिस्सा हो । यो जानकारी २०२५ विश्व एआई सम्मेलन (डब्लुएआइसी) मा प्रस्तुत गरिएको हो । चीनले आधारभूत पूर्वाधार र क्षेत्र–विशिष्ट अनुप्रयोगहरू समेटेर एक व्यापक एआई औद्योगिक प्रणाली स्थापना गरेको छ । चीन एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (सिएआइसिटी) को तथ्याङ्कअनुसार देशमा पाँच हजार एक सयभन्दा बढी एआई कम्पनी छन् । यी कम्पनीले विश्वभरका कुल कम्पनीको लगभग १५ प्रतिशत ओगटेका छन् । थप रूपमा, चीनमा ७१ एआई युनिकर्न कम्पनीहरू छन्, जसले विश्वका दुई सय ७१ युनिकर्नहरूको लगभग २६ प्रतिशत प्रतिनिधित्व गर्दछ । सिएआइसिटीका अध्यक्ष यु सियाओहुईले यस वर्ष नयाँ प्राविधिक दृष्टिकोणका साथसाथै आधारभूत ठूला मोडेलहरूको द्रुत पुनरावृत्तिले आर्टिफिसियल जनरल इन्टेलिजेन्सतर्फ अघि बढ्ने महत्त्वपूर्ण सम्भावना देखाएको बताए । चीनमा अग्रणी कम्पनीहरू, उदीयमान युनिकर्नहरू, विशेषज्ञ फर्महरू र नयाँ स्टार्टअपहरूद्वारा विशेषता भएको सकारात्मक विकास परिदृश्य आकार लिएको उनले बताए । सूचीबद्ध कम्पनीहरू र युनिकर्नहरू चीनको एआई उद्योगका लागि प्रमुख इन्जिनका रूपमा पहिचान गरिएका छन् । चीनमा तीन सयभन्दा बढी एआई–सम्बन्धित सूचीबद्ध कम्पनीहरू छन्, जसको एआई–सम्बन्धित राजस्व देशको कुल एआई उद्योग मापनको लगभग ७० प्रतिशत हो । चिनियाँ एआई युनिकर्नहरूका शीर्ष पाँच नवीनता क्षेत्रहरू ठूला मोडल, स्वायत्त ड्राइभिङ, बुद्धिमान रोबोट, व्यापारिक बुद्धिमत्ता अनुप्रयोग र एआई कम्प्युटिङ चिपहरू हुन् । युले चीनको एआई उद्योग निरन्तर नयाँ प्रविधि, अनुप्रयोग र व्यापारिक मोडलहरूको धाराले प्रेरित भएर द्रुत रूपमा विस्तार भइरहेको बताए । उनका अनुसार यो उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासको लागि मुख्य वृद्धि चालक बनेको छ । साङ्घाईमा एकसाथ आयोजित ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्च–स्तरीय बैठकसँगै ‘एआई युगमा विश्वव्यापी एकता’ शीर्षकको तीन दिने डब्लुएआइसी समापन भयो । बैठकमा ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूका उच्च–स्तरीय प्रतिनिधिहरूलाई एकत्रित भएका थिए ।
आईएसपीलाई जथाभावी वाई-फाई हटस्पट सञ्चालनमा रोक, मोबाइल सेवाप्रदायकलाई राहत
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले जथाभावी वाई–फाई हटस्पट सेवा सञ्चालन गर्न नपाउने स्पष्ट चेतावनी दिएको छ । मोबाइल सेवा प्रदायकले मात्रै वाई–फाई हटस्पट सेवा दिन सक्ने प्रावधान रहेको उल्लेख गर्दै प्राधिकरणले कानून विपरीत सेवा प्रवाह गरेमा कारबाही हुने बताएको छ । प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै, ‘वाई–फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ विपरीत सेवा सञ्चालन गरेको गुनासो आएपछि यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सूचनामा मोबाइल सेवाको अनुमति प्राप्त प्रदायकहरूले मात्र वाई–फाईमार्फत निर्बाध कनेक्टिभिटी, रोमिङ र मोबिलिटी सेवा दिन पाउने व्यवस्था रहेको स्पष्ट गरिएको छ । अन्य सेवा प्रदायक, विशेषगरी आईएसपीहरू, भने उक्त विनियमावलीअनुसार सीमित क्षेत्र र समयका लागि मात्रै वाई-फाई हटस्पट सेवा सञ्चालन गर्न पाउँछन् । एक पटकको लग–इनबाट सीमित अवधिका लागि मात्र सेवा दिन सक्ने व्यवस्था भए पनि हाल केही आईएसपीले यस प्रावधान उल्लंघन गर्दै व्यापक रूपमा हटस्पट सेवा प्रदान गरिरहेको प्राधिकरणको ठहर छ । वाई–फाई हटस्पट सेवामा अगाडि देखिएको वल्र्डलिंकले ‘वाई–फाई एक्सप्रेस’को नाममा देशभर १४ हजारभन्दा बढी स्थानमा निःशुल्क सेवा दिँदै आएको छ । एक पटक लग–इन गरेपछि स्वतः जडान हुने र समयसीमा पनि नतोकिने व्यवस्था रहेको प्राधिकरणको भनाइ छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले वल्र्डलिंकलगायतका आईएसपीहरूलाई यस्ता अव्यवस्थित सेवा तत्काल नरोके कडा कारबाही हुने चेतावनी दिएको हो । अब यी हटस्पट सेवाहरू ‘वाई–फाई हटस्पट विनियमावली, २०७५’ अन्तर्गत तोकिएको मापदण्डमा मात्रै सीमित हुनेछन् । प्राधिकरणले वाई–फाई हटस्पट सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति, २०८० अन्तर्गत तोकिएको पावर लिमिट, ब्याकहलरब्याकबोन सञ्जाल प्रयोग र टाइप–एप्रुभल प्राप्त रेडियो उपकरण प्रयोग अनिवार्य गरिएको समेत उल्लेख गरेको छ । हाल नेपालमा वाई–फाई हटस्पटको सबैभन्दा ठूलो नेटवर्क वल्र्डलिंकसँग रहेको छ । यस निर्देशनपछि त्यसको १४ हजारभन्दा बढी हटस्पटले प्राधिकरणका मापदण्ड पालना गरेर मात्रै सेवा प्रवाह गर्नुपर्नेछ ।
ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि...
काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडिन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिनन् । जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेर्स्याए । उनले सबै जवाफ दिइन् । एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मनलाग्यो र किन भनेर साेधिन् । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो । ‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ’, उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’ तर, जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एकपटक काठमाडौं आउनुहुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो कि भन्ने भयो । उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौंका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन् । ‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।’ कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको हो । ‘स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो’, उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’ उनको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमानसँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमानले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ । यद्यपि, भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्यो । धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका– ६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमानले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि, महिला स्वयंसेविकाका रुपमा थोरै भएपनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् । गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो । खाडीको चर्को गर्मीमा श्रीमानले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमानलाई देशमै जागिर गर्न सुझाव दिइन् । ‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍यौँ’, उनले विगत सम्झिँदै सुनाइन् । तर, भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो । ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । ९ लाख रुपैयाँमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर, त्यहाँ पनि भने जस्तो काम पाएनन् । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ’, उनले भनिन् । बहराइनमा श्रीमानको शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा १५/२० हजार रुपैयाँ पठाइरहन्छन् । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताइन् । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ । प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन् । ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमानलाई नेपालमै राखेर दुवै जना काम गर्छौं’, उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ । रासस