रसुवाको चन्दनबारीमा नेपाल टेलिकमको टुजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दुर्गम भेगसम्म दूरसञ्चार सेवा विस्तार गर्ने अभियानअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने चन्दनबारीमा टुजी बीटीएस सेवा सञ्चालनमा ल्याएको छ।  समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा रहेको उक्त क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्त्व बोकेको छ। धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने तिर्थालु र पदयात्रीलाई लक्षित गर्दै टेलिकमले धुन्चेदेखि गोसाइँकुण्डसम्मको पदमार्गमा पर्ने चन्दनबारीमा सेवा सञ्चालन गरेको हो ।  नयाँ टुजी सेवा सञ्चालनसँगै धुन्चे, देउराली, चन्दनबारी, लौरीविनायक हुँदै ४ हजार २०० मिटर उचाइमा रहेको गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेलामा हजारौं श्रद्धालु पुग्ने गर्दछन्। नयाँ सेवा सञ्चालनले तीर्थालु, पर्यटकसहित स्थानीय बासिन्दालाई सञ्चारमा सहजता पुग्ने विश्वास गरिएको छ । नेपाल टेलिकमले हिमाली तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने सरकारको नीतिअनुरूप कम प्रतिफल र उच्च लागतका बाबजुद पनि यस्तो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।  आगामी दिनमा उच्च हिमाली क्षेत्रतर्फ फोरजी नेटवर्क सेवा विस्तार गर्ने योजना समेत रहेको टेलिकमले जानकारी दिएको छ।

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सुरु : फुटबल खेल्ने रोबोटलगायतका ५० परियोजना

काठमाडौं । टेक एवं  बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी साउन २५ गतेसम्म चल्नेछ । कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ ।  कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहनेछन् । यो कार्यक्रम प्लस टू उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ ।  विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलले बीएससी आइटी, एमएससी आइटी, बीबीए, एमबीए, डाटा एनालिटिक्स र आइटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्छ ।  यो इभेन्टमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन् । करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्पवृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने) लगायत  छन्। उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुनेगरी विकास गर्ने विद्यार्थीहरूको भनाइ छ । साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने कसीले बताए ।  स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली) र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् ।  प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ । स्कुलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ । आइटी र बिजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ ।  हाल १ हजार २०० विद्यार्थी अध्ययनरत यो स्कुलमा ८० भन्दा बढी प्राध्यापक र २० भन्दा बढी व्यवस्थापन कर्मचारी छन् । प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलका निर्देशक  तथा प्रिन्सिपल कल्पना गुरुङले वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा क्रेडिट ट्रान्सफर सुविधाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको थप अवसर दिने जानकारी दिइन् ।  

फोनपे नेपालकै पहिलो पीसीआई डीएसएस प्रमाणित पीएसओ बन्न सफल

काठमाडौं । नेपालको भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) फोनपेले विश्वप्रसिद्ध भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड (पीसीआई डीएसएस) को v4.0.1 Level 1 Certification प्राप्त गरेको घोषणा गरेको छ ।   यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्थाहरू र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ । पीसीआई डीएसएस लेभल वान भुक्तानी कार्ड डाटा सुरक्षाको सर्वोच्च स्तरको अन्तर्राष्ट्रिय मान्यता हो, जसको पालना गर्नका लागि गम्भीर प्राविधिक संरचना, नीतिहरू र निगरानी प्रणाली आवश्यक हुन्छ ।  फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नुले कार्डधारकको डाटा सुरक्षित राखेको र सुरक्षा पूर्वाधार बलियो बनाएको स्पष्ट हुन्छ । यो प्रमाणपत्र एक स्वतन्त्र र विस्तृत मूल्याङ्कनपछि प्रदान गरिएको हो जुन पीसीआई डीएसएस संस्था दर्ता सर्टिफाइड क्वालिफाइड सेक्युरिटी एसेसर (क्यूएसए) द्वारा सम्पन्न गरिएको थियो ।  मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क संरचना, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन र निरन्तर निगरानीलगायत १२ प्रमुख सुरक्षा क्षेत्रहरू समेटिएका थिए ।  फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो ।  यो भुक्तानी सञ्जालले हाल अन्तर बैंक पिअर टु पिअर भुक्तानी, व्यक्ति देखि व्यापारीको लागि क्यूआर प्राप्त गर्ने योजना तथा आफ्नो सहभागी बैंक तथा वित्तीय संस्था र पेमेन्ट सिस्टम प्रोभाइडरहरूलाई लक्षित घरेलु कार्ड योजना प्रदान गरिरहेको छ ।  पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड ९पीसीआई डीएसएस० कार्ड आधारित भुक्तानीको ह्यान्डलिङ, प्रोसेसिङ र सञ्चालनका लागि एक विश्वव्यापी सुरक्षात्मक मापदण्ड हो । पीसीआई डीएसएस सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूरसंस्थाहरूको सहकार्यमा सुरू गरिएको हो ।  पीसीआई डीएसएसको पालना गर्नु भनेको केवल सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्नु मात्र नभई, प्रयोगकर्ताको कार्ड डाटाको ह्यान्डलिङमा संलग्न जोखिमहरू पहिचान गर्दै, तिनको अभिलेख राख्दै, सुधारात्मक कार्यहरू निरन्तर रूपमा गर्नु पनि हो।