टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक भएको छ । टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत प्रदान गर्दै आएको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको हाे । यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ । ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ । त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ । साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।

एनटीसीको ३० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम कम्पनी- एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए ।  हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।  उनका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।  लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।  यस्तै, महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐनको प्रावधान अनुरूप कम्पनीको चालु आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । 

भोटखोलाको सिमबोक्प डाँडामा टेलिकमको फोरजी सेवा

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो । टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ ।      भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।