एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमै अनलिमिटेड कल
काठमाडौं । एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक गरेको छ । विद्यार्थी तथा युवा वर्गलाई सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यसहित यो प्याक सञ्चालनमा ल्याइएको हो । पुष २६ गतेदेखि लागू भएको ‘युवा सिम’ करसहित २९९ रुपैयाँमा उपलब्ध छ । सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम लिन सक्ने एनसेलले जनाएको छ । प्याकअन्तर्गत २८ दिनका लागि अनलिमिटेड एनसेल–टु–एनसेल कल सेवा, ५ जीबी डेटा, इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच प्रदान गरिएको छ । यसका साथै अफ–नेट कलमा प्रति मिनेट १ रुपैयाँको विशेष दर लागू गरिएको छ । तोकिएको ५ जीबी डेटा सकिएपछि पनि प्रति एमबी ५० पैसामा पे–एज–यू–गो डेटा सेवा प्रयोग गर्न सकिने व्यवस्था छ । एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्तले ‘युवा सिम’ युवालाई सधैं कनेक्टेड राख्दै डिजिटल भविष्य र शिक्षासँग जोड्ने विश्वास व्यक्त गरे । उनका अनुसार यो प्याकले युवाको डिजिटल जीवनशैलीलाई अझ सहज बनाउनेछ । युवा सिममा थप आकर्षणस्वरूप २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँमा उपलब्ध गराइएको छ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यो सिम लिन नजिकको एनसेल सेन्टरमा नागरिकता वा ड्राइभिङ लाइसेन्ससहित विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ । आवश्यक कागजात नभएमा अभिभावकको सरकारी परिचयपत्र र विद्यार्थी परिचयपत्रका आधारमा पनि सिम उपलब्ध गराइने एनसेलले जनाएको छ ।
आईसीटी सीप विकासमा योगदान पुर्याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
काठमाडौं । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित एक विशेष समारोहमा क्यानलाई सम्मान गरिएको हो । समारोहमा क्यान महासंघलाई संस्थागत रूपमा र व्यक्तिगत रूपमा महासंघका दुई पदाधिकारीलाई सरकारका तर्फबाट प्रशंसा–पत्र र सम्मान–पत्र प्रदान गरिएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई व्यावसायिक आईसीटी प्रशिक्षणको जग बसाल्न र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा तथा महासचिव चन्द्र विलास भुर्तेललाई पाठ्यक्रम मस्यौदा उपसमितिको संयोजकको रूपमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी, श्रम सचिव एवं राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा. दीपक काफ्ले र प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले महासंघलाई संयुक्त रूपमा सम्मान वितरण गरे । क्यानका वरिष्ठ उपाध्यक्ष अधिकारीले महासचिव रहँदा सुरु गरेको ‘हातमै सीप’ को अवधारणालाई यस सम्मानको मुख्य आधार मानिएको छ । परम्परागत प्रमाणपत्रमुखी शिक्षाभन्दा माथि उठेर सफ्ट स्किल्स र व्यावसायिक प्राविधिक सीपलाई एकीकृत गर्ने उनको भिजनले उद्योगको ध्यान सर्टिफाइड मात्रै नबनाई अनिवार्य योग्य हुनुमा केन्द्रित गरेको छ । यसले नेपाली प्रशिक्षार्थीहरूले उद्योगको मापदण्ड अनुसार वास्तविक सीप प्राप्त गर्ने सुनिश्चित गरेको महासंघको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२ मा एनएभीटी र क्यान महासंघबीचको सहकार्यमा श्रम बजारको मागलाई सम्बोधन गर्ने गरी कम्प्युटर क्षेत्रका दुईवटा आधारभूत सीपमूलक पाठ्यक्रमहरू तयार पारिएका थिए । यी कार्यक्रमहरू दक्ष जनशक्ति उत्पादनलाई प्रत्यक्ष रूपमा आर्थिक आवश्यकता र रोजगारीसँग जोड्ने उद्देश्यले डिजाइन गरिएका हुन् । सम्मान ग्रहण गर्दै क्यान महासंघले आगामी दिनमा पनि सरकारसँग मिलेर सूचना प्रविधि क्षेत्रको सीप विकास र रोजगारी सिर्जनामा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली श्रमशक्तिलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन महासंघले आफ्ना कार्यक्रमहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।
टेलिकमको प्रिपेड ग्राहकका लागि क्युआर कोडमार्फत केवाईसी अपडेट परीक्षण सुरु
काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण अनलाइनमार्फत अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ । कम्पनीमा रहेका ग्राहक विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अनलाइन केवाईसी अपडेट गर्न सकिने व्यवस्था (अनलाइन केवाईसी अपडेट सिस्टम) को परीक्षण हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ । परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले अनलाइन केवाईसी प्रणालीले नेपाल टेलिकमको सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, प्रादेशिक निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न हुने भएकाले यसले कम्पनीको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने बताए । दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस कार्यप्रणाली तथा डाटा अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउन यो प्रणाली उपयोगी हुने उल्लेख गरे । यस प्रणालीअनुसार नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा राखिएको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहक विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । हाल पहिलो चरणमा क्युआर कोडमार्फत विवरण भर्न सकिने गरी परीक्षण सुरु गरिएको छ । भविष्यमा भने नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपमार्फत पनि केवाईसी अपडेट गर्न सकिने व्यवस्था गर्ने योजना रहेको कम्पनीले जनाएको छ । पहिलो चरणको परीक्षण सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट सुरु गरिएको र परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय तथा उपत्यकाबाहिरका कार्यालयहरूमा समेत यो सुविधा विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ ।