नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ । माघ महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ । अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ। यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ स्वचालित टेलर मेशिन (एटिएम) तथा ६१ विस्तार काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
शाओमीले सार्वजनिक गर्यो रेड्मी नोट १५ सिरिज, ४ मोडेलसहित फ्ल्यागशिप फिचर
काठमाडौं । शाओमीले नेपालमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न आवश्यकताका प्रयोगकर्तालाई लक्षित गर्ने कम्पनीले जनाएको छ । यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत एसआईसी सामग्री रहेको छ । १०० वाट हाइपरचार्ज प्रविधिका कारण यो फोन करिब ४० मिनेटमै पूर्ण चार्ज हुने बताइएको छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधासमेत उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले सानो आकारमै बढी ऊर्जा क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । शाओमीका अनुसार प्रो मोडेलहरूमा प्रयोग गरिएको ब्याट्री शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो । यी मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण प्राप्त गरेका छन् भने २.५ मिटर ड्रप प्रतिरोध क्षमताका लागि एसजीएस प्रमाणनसमेत हासिल गरेका छन् । रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा आधारित छ र यसमा शाओमी हाइपरएआई, अफलाइन कम्युनिकेसन सुविधा तथा शाओमी सर्ज टी१एस ट्युनर समावेश गरिएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल प्राइमरी क्यामेरा, ओआईएस र २x तथा ४x अप्टिकल–लेभल इन–सेन्सर जुम सुविधा दिइएको छ । यसमा विश्वमै पहिलो पटक २०० मेगापिक्सेल एचपीई इमेज सेन्सर प्रयोग गरिएको कम्पनीको दाबी छ । यस फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसले ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्छ भने डुअल स्पिकरले ४०० प्रतिशतसम्म भोल्युम बुस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव दिने बताइएको छ । साथै, शाओमी आइसलुप कूलिङ सिस्टम प्रयोग गरिएको छ, जसले तातो नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ । रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० मेगापिक्सेल क्यामेरा, समान डिस्प्ले र आईपी रेटिङ दिइएको छ तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन–कार्बन ब्याट्री, ४५ वाट चार्जिङ तथा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभ जस्ता एआई टुलहरू यसमा उपलब्ध छन् । त्यस्तै रेड्मी नोट १५ ५जी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, आईपी६६ वाटर रेसिस्टेन्स, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा समावेश गरिएको छ । शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध गराइने जनाएको छ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी का लागि ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। रेड्मी नोट १५ प्रो ५जी को १२ जीबी + ५१२ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५६ हजार ९९९ र ४९ हजार ९९९ रुपैयाँ छ। त्यसैगरी रेड्मी नोट १५ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी का लागि ४६,९९९ र ८ जीबी + २५६ जीबीका लागि ३९ हजार ९९९ रुपैयाँ तथा रेड्मी नोट १५ ४जीको मूल्य ८ जीबी + २५६ जीबीका लागि ३५ हजार ९९९ र ६ जीबी + १२८ जीबी का लागि २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
एनसेल र भाटभटेनीको नयाँ अफर : टी–२० विश्वकप मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । अफरअन्तर्गत कर सहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्दछन् । यसरी प्राप्त हुने कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ । यसले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा अझ बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छन् । यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरमार्फत उपलब्ध छ । यसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ । एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफर अन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन् । त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मन पर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेकआउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन् । अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ । यो अफर चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफर अन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ । ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड (कुपन) प्राप्त गर्छन् । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ । यद्यपी यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।