ब्रोकरको डेटा सेन्टरमा साइबर आक्रमण

काठमाडौं । ब्रोकर कम्पनीहरूको सर्भर तथा डेटा राखिएको डेटा हब प्रालिको प्रणालीमा साइबर आक्रमण भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सोमबार (आज)को नियमित सेयर कारोबार स्थगित भएको छ ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो । समस्या समाधानका लागि प्रयास भइरहे पनि पूर्ण रूपमा समाधान नभएको र यही अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने देखिएपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो । सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम २०८३ असोज ५ गतेको कारोबार स्थगित गरेको जनाएको छ ।

एक ब्रोकर व्यवसायीका अनुसार डेटा हबमा राखिएको ब्रोकर कम्पनीहरूको डाटामा साइबर आक्रमण भएको हो । आक्रमणकारीले डेटा चोरी गर्ने तथा प्रणालीमाथि नियन्त्रण कायम गर्ने प्रयास गरेको भए पनि हालसम्म डेटा चोरी भने हुन नसकेको उनले बताए ।

उनका अनुसार आक्रमणपछि प्रणालीमा केही गडबडी देखिएपछि तत्काल नेप्सेको कारोबार प्रणाली सञ्चालन गर्दा समस्या थप फैलिन सक्ने जोखिम देखिएको हो । त्यसैले डेटा हबका प्रणाली परीक्षण गरी देखिएका समस्या पहिचान तथा निराकरण गरेपछि मात्रै कारोबार सञ्चालन गर्ने तयारी गरिएको हो ।

‘डेटा लस भएको होइन, अहिले आक्रमण मात्रै भएको हो,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार ब्रोकर कम्पनीहरूको डेटा नेप्सेको प्रणालीसँग जोडिने भएकाले डेटा हबमा देखिएको समस्या नेप्सेको प्रणालीसम्म फैलिन सक्ने जोखिमका कारण कारोबार रोकिएको हो ।

डेटा हबमा ब्रोकर कम्पनीहरूको मात्रै नभई अन्य कम्पनी तथा केही एजेन्सीहरूको डेटा पनि राखिएको बताइएको छ । डेटा हब थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको र विभिन्न कम्पनीसँग सम्झौता गरी उनीहरूको डेटा सुरक्षित राख्ने तथा डाटा सेन्टर सञ्चालन गर्ने काम गर्दै आएको बताइएको छ ।

ब्रोकर कम्पनीहरूले सुरक्षित भण्डारणका लागि डेटा हबको सेवा प्रयोग गर्दै आएका थिए । डेटा सुरक्षित राखिएको स्थानमै साइबर आक्रमण भएपछि समस्या उत्पन्न भएको ब्रोकर व्यवसायीको भनाइ छ ।

नेप्सेका एक अधिकारीका अनुसार डेटा हबमा र्यान्समवेयर आक्रमण भएको छ । र्यान्समवेयर एक प्रकारको मालवेयर हो, जसले कम्प्युटर, मोबाइल वा नेटवर्कमा रहेका महत्त्वपूर्ण फाइल तथा डेटालाई अवरुद्ध गरी प्रयोग गर्न नदिने गर्छ ।

उनका अनुसार आक्रमणकारीले प्रणालीमा प्रवेश गरी डाटा तथा प्रणालीलाई नियन्त्रणमा लिएर रकम माग गर्ने र रकम नदिएसम्म प्रणाली नखोल्ने चेतावनी दिने गर्छन् ।

डेटा हबको प्रणालीबाट आक्रमणसम्बन्धी समस्या हटाउने काम भइसके पनि प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि भइनसकेको नेप्सेका ती अधिकारीले बताए । ‘क्लिन गरिसके पनि पूर्ण रूपमा क्लिन भएको हो कि होइन भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने ।

प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि नभएसम्म ब्रोकर कम्पनीहरूको डेटा नेप्सेको कारोबार प्रणालीसँग जोड्दा थप जोखिम हुन सक्ने भएकाले ब्रोकर कम्पनीहरूको अनुरोधमा कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

Share News