११ जिल्लाका १३ ठाउँमा पुग्यो टेलिकमको नयाँ मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । 

टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको हो । 

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। 

यस्तै, चितवनको मोहनपुर तथा गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् । 

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ ।

यसैगरी, कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन् । 

सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रमा रुपान्तरणको वर्षका रुपमा अघि बढाएको छ । 

देशभर फोरजी सेवाको पहुँच विस्तार, टेलिफोन सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको छ । 

डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको उद्देश्य छ । 

नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ । 

दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमको योजना छ ।

Share News