ब्रिटिस कलेजले जित्यो ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि
काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि जितेको छ । ब्रिटिस कलेजको आयोजनामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच भएको फुटसल प्रतियोगितामा ब्रिटिस कलेजले नै उक्त उपाधि जितेको हो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । शुक्रबार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एकएक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ । टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवा हाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते । कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शनप्रति गर्व छ, साथै टोर्नामेन्टभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’ द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौं ।’ दुई वर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो । सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए । द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने, ‘यो कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ । टोर्नामेन्ट सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेलेका हिमाल कार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामी वर्ष योभन्दा ठुलो र भव्य तरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौं ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमान तोड्नेलाई ५० हजार
काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । आइतबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषदको एक सय १३ औं बैठकले राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सो पुरस्कार दिने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेत खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालाई १५ हजार पुरस्कार दिने समेत निर्णय गरेको छ । बैठकले आर्थिक बर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट समेत पारित गरेको छ । त्यसैगरी बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय पनि गरेको छ । यस्तै खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार भत्ता दिने, प्रदेश छनौटका लागि आवश्यक बजेट उपलब्ध गराउने, सम्बन्धित जिल्ला तथा प्रदेशका खेलाडीहरुले मात्र सम्वन्धित टिममा सहभागी हुनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । प्रदेश तथा विभागीय टिमहरुले भदौ १५ गते सम्म खेलाडीको संख्या र २५ गते सम्म नाम दर्ता गराउन समेत निर्देशन गरेको छ । प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरेको छ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने छ । यस्तै परिषद्को कर्मचारी सेवा, शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ । यस्तै परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद् सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति र खेल संघ विवाद सहजीकरणमा उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम सम्पन्न गर्न प्राविधिक समिति गठन
काठमाडौं । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको डा. रेग्मीले जानकारी दिए । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सिनियर डिभिजन इञ्जिनीयर प्रकाश अर्याल, आर्थिक प्रशासन प्रमुख र लेखा अधिकृत युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का इञ्जिनीयर राजु श्रेष्ठ सदस्य रहने गरी प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र रावल, भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल पनि सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिए । समितिले २१ दिनभित्र प्राविधिक प्रतिवेदन तयार गरी पेश गर्ने छ । समितिमा आवश्यकता अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई समेत राख्ने गरी समिति गठन गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयले स्वामित्व ग्रहण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्मा पेस गरेको प्राविधिक समिति गठनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । यस समितिले रङ्गशाला निर्माण कार्य के कसरी प्रारम्भ भयो, रङ्गशाला निर्माणका लागि तयार गरिएको संरचना (स्ट्रकचर), ड्रईङ्ग, डिजाईन र लागत अनुमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने छ । यस्तै निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमासमेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्री परिषद्को निर्णय रङ्गशाला निर्माणका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनले भनिन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जिल्लाका जनप्रतिनिधिको ‘डेलिगेसन’ पश्चात मन्त्रालय र मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको छ ।’ छिट्टै रङ्गशाला निर्माणको काम अघि बढ्नेमा उनले विश्वास व्यक्त गरिन् । रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्दै आएकामा कोरोना कहर र आर्थिक अभावको कारण देखाउँदै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको विसं २०७८ माघ २७ गतेको स्वामित्व लिन नेपाल सरकारलाई अनुरोध गरेअनुसार अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको हो । रङ्गशाला निर्माणका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको थियाे । रासस