जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न, विजेतामा ४० जना छनोट
काठमाडौं । मण्डीखाटार टेनिस कोर्टमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता सम्पन्न भएको छ । गएको आइतबार(६ गते)देखि शुरु भएको उक्त प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल ९३ खेलाडीहरूले भाग लिएका थिए । उक्त प्रतियोगिता आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न गरिएको छ । साताव्यापी प्रतियोगितामा १४ वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् । कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताएका छन् ।
यति फ्लोरिङले सम्मान स्वरुप सन्दिप लामिछानेलाई दियो एक लाख रुपैयाँ
काठमाडौं । यति फ्लोरिङले प्रा.लि.ले युवा खेलाडी सन्दिप लामिछानेलाई सम्मान स्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर नेपाल र नेपाली क्रिकेटको शान बढाउन सफल भएका लामिछानेलाई आगामी यात्राको लागि शुभकामना स्वरुप उक्त सम्मान गरेको हो । कार्यक्रममा यति फलोरिङ्गको तर्फबाट निर्देशक नारायण तोदी, अनिल केडिया, अजय गिरहिया, लोकेश तोदी, सिद्धार्थ केडिया, आयुष केडिया, तथा केडिया अर्गनाइजेशनको कर्पोरेट प्रमुख राजकुमार शाहले सम्मानका साथसाथै १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा खेलाडी लामिछानेले भने, ‘यो देशको नाम उच्च राख्न तथा हरेक नेपालीको चाहना म माथि पुगोस भन्ने छ यसलाई साकार पार्न पुन अत्यन्त मिहेनत गर्नेछु । मैले इन्डियन प्रिमियर लिग म्याचमा जसरी अवसर पाएर हजारौ खेलाडीहरुको प्रतिस्पर्धामा छानिन सफल भए यो मेरो मात्र नभई सिङ्गो देशको गौरवको बिषय हो ।’ त्यस्तै, प्रालिका कर्पोरेट प्रमुख राजकुमार शाहले सन्दिपको यो साहसलाई, मिहेनतलाई, लगनशीलतालाई सलाम गरेका छन् । स्वदेशी पुँजी स्वदेशमै लगानी गरि बिदेश पलायन हुनबाट रोक्न यस यति फलोरिङ्गले बिगत २५ बर्षदेखि हरेक नेपालीको मन मनमा यति कार्पेट उत्पादन गरि बिक्री बितरण गर्दै आइरहेको छ ।
२०१८ विश्वकप फूटवलको लागि कोकाकोला एन्थम सार्वजनिक
काठमाडौं । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने छ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ ।’ यस भिडियोको निर्देशन मायामिको द किटाडिलिलाफेरियर (हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ । यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ । जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभब हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु । गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्वपूर्ण छ ।’