नवलपुरले जित्याे अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि

पाेखरा । पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अङ्क थियो । अन्तिम तथा निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५६ रनको योगफल तयार गरेको थियो । जितका लागि १५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १०८ रनमा समेटियो । फाइनल खेलमा हृयाट्रिक गर्न सफल नवलपुरका बलर सुशील क्षेत्री म्यान अफ द म्याच भएका थिए । प्रतियोगितामा बागलुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्वीकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका नवलपुरकै दीपक डुम्रे उत्कृष्ट ब्याट्सम्यान भए । जितसँगै नवलपुरले नगद रु २० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी), प्रशिक्षक रिजन प्रजुलगायतले विजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका हुन् । सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ पाइलट सविता तामाङले प्याराग्लाइडिङ टिकट उपहार प्रदान गरिन् । आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । रासस

कामना सेवा विकास बैंकले जित्याे कर्पोरेट सुपर सिजन-६

काठमाडौं । कामना सेवा विकास बैंकले कर्पोरेट सुपर सिजन–६ जितेको छ । क्रिकेट प्रतियोगिताको फाइनलमा बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो । एसएस इभेन्टसद्वारा टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवात्स्तब भएका छन् । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । बैंकका प्रमुख कार्यकारी अघिकृत प्रविन बस्नेतले खेलाडीहरुलाई हौसला दिएका थिए ।

भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुँदै

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने र प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण नगरपालिका, रामेछाप नगरपालिका, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चौडण्डीगढी नगरपालिका रहेका छन् । त्यसैगरी, टाेखा नगरपालिका, भक्तपुर नगरपालिका, साँगाचोक चौतारागढी नगरपालिका, मन्थली नगरपालिका, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र विदुर नगरपालिको सहभागिता रहनेछ । प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ किमी (म्याराथुन), २१.०९ किमी (हाफ म्याराथुन) खेल समावेश छन् । त्यस्तै, फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई रु दुई हजार, ट्रयाकतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार, तेस्रो रु दुई हजार नगद पुरस्कार दिनेछ । म्याराथुनमा प्रथम हुनेलाई रु ३० हजार, दोस्रो हुनेलाई रु २० हजार तेस्रो हुनेलाई रु १० हजार, हाफ म्याराथुनमा प्रथम हुनेलाई रु. ३० हजार, दोस्रो हुनेलाई रु २० हजार, तेस्रो हुनेलाई रु १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको रु ३० लाख खर्च हुने अनुमान गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।