नेपालका चार प्रशिक्षकले पाए एएफसी ए कोचिङ लाइसेन्स
काठमाडाैं । नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन् । एशियाली फुटबल फेडेरेसन महासङ्घ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गरेकाे र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गरेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन् । ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्यरूपमा चाहिने गर्दछ । गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौँमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिएका थिए । जसमा १७ जना भने फेल भएका हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहँदै अाएका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सकोे प्रयोगात्मक परीक्षा मात्र पास गरे । अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ । उनीहरुलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए । रासस
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीलाई सफाइ
काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसूरमा मुद्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।
गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने
कास्की । गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई रु एक लाख, रजत पदकलाई रु ७५ हजार तथा काँस्य पदकलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ । समूहतर्फ स्वर्ण विजेतालाई रु ७५ हजार, रजतलाई रु ५० तथा काँस्य पदकलाई रु ३० हजार नगद पुरस्कार प्रदान गर्ने भएको । त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही रु ३० हजार, रु १५ हजार रु १० हजारका दरले सरकारले नगद पुरस्कार दिने भएको छ । मन्त्री बस्नेतले कोभिड–१९ को अहिलेको विषम अवस्थाका कारणले तत्कालै पुरस्कार प्रदान गर्न नसकिएकाले उपयुक्त समयमा खेलाडीहरुलाई घोषित नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ काँस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए । लमजुङका पार्वती गुरुङ र स्याङ्जाकी प्रशंसा क्षेत्री (तेक्वान्दो) र बाग्लुङका नवीन रसाइली (कराँते) मा स्वर्ण पदक जित्न सफल भएका थिए । फुटबलमा सुमन अर्याल (नवलपुर)ले समूहतर्फ स्वर्ण पदक जितेका थिए । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ सागअन्तर्गत विभिन्न आठ खेल गण्डकी प्रदेशको राजधानी शहर पोखरामा खेलाइएको थियो ।