काठमाडौंमा बन्ने चार स्मार्ट सिटी : न धुलो धुवाँको चिन्ता नत ट्राफिक जाम
काठमाडाैं । नयाँ शहर अर्थात स्मार्ट सिटी भन्ने बित्तिकै अत्याधुनिक सुविधा सम्पन्न भनेर बुझिन्छ । यहि अत्याधुनिक र सुविधा सम्पन्न सहर निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले चार स्मार्ट सिटी बनाउने कार्यमा तिब्रता दिएको छ । उपत्यकाका चार दिशामा निर्माण हुने नयाँ सहर अर्थात स्मार्ट सिटीको निर्माणमा प्राधिकरणले तिब्रता दिएको हो । धुलोधुवाँ र गञ्जागोल व्यवस्थापन रहेको काठमाडौं शहरलाई व्यवस्थित बनाउने योजना अनुरुप नेपाल सरकारले स्मार्ट सिटीको अवधारणा अघि सारेको थियो । यहि अवधारणालाई आत्मसाथ सार्दै प्राधिकरणले नयाँ सहर निर्माणका विविध पक्षहरुलाई समेट्दै काममा तिब्रता दिएको हो । प्राधिकरणका अनुसार चार ठाउँमा बन्ने भनिएका शहरहरु मध्ये तीन ठाउँका सहरहरुको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ भने एक ठाउँको डीपीआर तयार हुन बाँकी रहेको छ । त्यसको पनि तीन महिना भित्र डीपीआर तयार पारेर शहर निर्माणको प्रक्रियामा जाने प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले बताए । चार शहरको डीपीआर तयार भइसकेपछि रिपोर्ट बोर्डमा जानेछ, उनले भने- बोर्डले पनि स्विकृत गरिसकेपछि डीपीआरको फाईल मन्त्री परिषद्मा पेश हुनेछ । त्यसपछि मन्त्री परिषदले निर्णय गरेर परियोजनाका लागि आर्थिक संकलन हुनेछ र काम अघि बढ्नेछ ।’ कुन कुन ठाउँमा बन्दैछन् स्मार्ट सिटी ? सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीका चार दिशामा नयाँ सहर अर्थात स्मार्ट सिटी निर्माण गर्न लागेको हो । प्राधिकरणले स्मार्ट सिटी बन्ने ठाउँको सम्पूर्ण जग्गा नक्साङ्कन गरिसकेको छ । धुलोधुवाँ र गञ्जागोल व्यवस्थापन रहेको काठमाडौं शहरलाई व्यवस्थित बनाउने योजना अनुरुप नेपाल सरकारले स्मार्ट सिटीको अवधारणा अघि सारेको थियो । उपत्यकाका चारै दिशामा स्मार्ट सिटी बनाउन जग्गाको कित्ताकाट समेत रोकिसकेको छ । स्मार्ट सिटी बनाउन योजना तर्जुमा गर्ने भन्दै सरकारले स्मार्ट सिटी बन्ने क्षेत्रमा तीन वर्षका लागि कित्ताकाट रोकेको हो । स्मार्ट सिटी बनाउन तोकिएका सबै क्षेत्रका जग्गा सरकारले लिएर नयाँ सुविधा सम्पन्न शहर बनाउने शहरी विकास मन्त्रालका सचिव मधुसुदन अधिकारीले बताए । नयाँ शहर परियोजनाले छनोट गरिएको स्थानलाई इसान, आग्नेय, नैऋत्य र उत्तर दिशाको नाम दिइएको छ । इसान काठमाडौं एक लाख रोपनी क्षेत्रफलमा फैलने इसान सबैभन्दा ठुलो शहर बन्नेछ । यसको डिपीआर पनि सम्पन्न भइसकेको प्राधिकरणले बताएकोे छ । डीपीआर निर्माण कार्य लागि हेलेनको आर्टिटेक जेभी र नेपाल जेजे एसोसिएट्सले गरेको छ । इसान पूर्वतर्फ भक्तपुरबाट नगरकोट शहरको तेलकोट भञ्ज्याङसम्म फैलन्छ । त्यसैगरी पश्चिममा जोरपाटी क्रिकेट मैदान मूलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो पुग्नेछ भने उत्तर तर्फ साँखु जाने सडक र साँखु बजारसम्म पुग्नेछ । नैऋत्य काठमाडौं यो शहरको डीपीआर पनि तयार भइसकेको छ । यो पनि १० हजार रोपनी क्षेत्रफलमा फैलने जनाइएको छ । डीपीआर निर्माणको जिम्मा टिइएसी फुल ब्राइट जिइयोकम जेभीले पाएको थियो । पूर्वमा छ्यासीकोटदेखि साविक सैंवु गाविसको सिमाना हुँदै फर्सिडोल, बाग्मती नदिको झोलुङ्गे पुलसम्म फैलिनेछ भने दक्षिणतर्फ बाग्मती नदिसम्म पुग्ने प्राधिकरणले जनाएको छ । काठमाडौं आग्नेय दश हजार क्षेत्रफमा फैलने आग्नेयको डीपीआर पनि सम्पन्न भइसकेको छ । आग्नेयको डीपीआरको जिम्मा एमआरसी नेस्टरएडीइले पाएको थियो । यस कम्पनीले डीपीआर रिपोर्ट प्राधिकरणलाई बुझाई सकेको छ । यो काठमाडौंको पूर्वको अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडि सुर्यविनायक बाहिर पार्दै फेदको बाटो पुग्नेछ । पश्चिममा खहरे खोला बालकोट विरुवा सडक, पानी ट्याङ्की, बालकोट अमरनगर हुँदै अरनीको राजमार्ग सिमानासम्म फैलिनेछ । उत्तरमा अरनिको राजमार्ग सिमानासम्म पुग्नेछ भने दक्षिणमा भक्तपुरको सिलामगाल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदि, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म पुग्नेछ । उत्तरदिशा काठमाडौं यो शहरको डीपीआर तयार पार्न भने बाँकी रहेको प्राधिकरणले जनाएको छ । यो शहर पनि १० हजार क्षेत्रफलमा फैलने छ । योे परियोजना काठमाडौंको उत्तर सामाखुसी, टोखा रोड हुँदै बाइपास, काभ्रेस्थली, सपनातिर्थ, ग्रीनल्याण्ड चोकसम्म फैलने छ । प्राधिकरणले डीपीआर तयार हुन अझैं तीन महिना लाग्ने बताएको छ । २० करोड बजेट विनियोजन सरकारले हालसम्म नयाँ शहर अर्थात स्मार्ट सिटीका लागि २० करोड रुपेयाँ विनियोजन गरेको छ । सरकारले शहरको विकास तथा स्मार्ट सिटी निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको बताएको हो । आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब बजेट विनियोजन गरेको छ भने गत आर्थिक वर्षमा यो परियोजनाका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले सबैभन्दा ठुलो अर्थात एक लाख क्षेत्रफमा फैलने भक्तपुरको परियोजनाका लागि गत आवमा १२ करोड र बाँकी तीन परियोजनाका लागि २/२ करोडका दरले कुल ६ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । जुन डीपीआर तयार पार्नका लागि विनियोजन गरेको खोखालीले बताए । सरकारले शहरको विकास तथा स्मार्ट सिटी निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको बताएको हो । शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर पहिलो चरणमा पाँच सय अर्बमा स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । निर्माण शुरु भएको पाँच वर्ष भित्र सुविधा सम्पन्न नयाँ शहर निर्माण गर्ने गर्ने सरकारको लक्ष्य छ । अब बन्ने चार स्मार्ट सिटीमा पाँचलाख मानिसले बसोबास गर्ने बताइएको छ । कस्ता बन्दैछन् स्मार्ट सिटी ? सरकारले राजधानी काठमाडौंको कोलाहल र अव्यवस्थित सहरको संरचनालाई हटाउनका लागि नयाँ शहर अर्थात स्मार्ट सिटीको परिकल्पना गरेको हो । त्यहि परिकल्पना अनुरुप स्मार्ट सिटी बने साँच्चिकै स्मार्ट सिटीवासीले राम्रो सुविधा पाउने छन् । जहाँ सविधासम्पन्न भौतिक पूर्वाधारहरुसहित व्यवस्थित र सफा सुग्घर शहर हुनेछ । स्मार्ट सिटी भन्ने वित्तिकै हामी नयाँ तथा आधुनिक शहरको रुपमा बुझ्छौं । स्मार्ट सिटीमा भौतिक पूर्वाधारहरुमा चिप्ला सडक, सफा सुग्घर यातायात, सफा खानेपानी, व्यवस्थित ढल निकास, विद्युत फोहोर मैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट, विद्यालय, सार्वजनिक पार्क, स्वास्थ्य चौकी जस्ता सुन्दर भौतिक संरचनाहरु बन्नेछन् । स्मार्ट सिटीका सबै बासिन्दाले रोजगारी पाउने छन् । यस्तै जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई अब बन्ने शहरमा अन्डरग्राउन्ड गरिनेछ भने फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत रहनेछन् । स्मार्ट सिटीका वासिन्दालाई न ट्राफिक जामको चिन्ता हुन्छ न धुलोधुवाँ नत कुनै दुुर्गन्धको सास्ती हुन्छ । ‘स्मार्ट सिटीका नागरिकले राम्रो शिक्षाका लागि उचित शहर खोजेर बाहिर जानु पर्दैन, पिउने पानीका लागि घण्टौंसम्म लाइमा बस्न पर्दैन, स्मार्ट सिटीका नागरिकहरु बिरामी भए भने चाँडै नै एम्बुलेन्स आएर हस्पिटलसम्म लैजान्छ ।’ खोखाली भने । स्मार्ट सिटीमा प्रर्याप्त क्षेत्र व्यवस्थापन, पुराना शहरलाई नयाँ स्वरुप दिँदै जानुपर्छ । स्मार्ट सिटीका सबै बासिन्दाले रोजगारी पाउने छन् । यसका साथसाथै उनीहरुले सामाजिक सुरक्षा व्यवस्था समेत पाउने छन् ।
कर्मले झाँगिएका कर्ण-‘लगानी भन्दा पनि लगनशीलताले सफल भएँ’
काठमाडौं । २००० सालतिर काठमाडौंको असनबजारमा दौडिरहेको फुच्चे एउटा दार्शनिक बन्छ । उ कोरा दार्शनिक मात्रै बन्दैन दर्शनलाई व्यवहारमा उतार्ने एउटा सफल व्यवसायी समेत बन्छ, त्योपनि आफ्नो एक्लो प्रयासले । आफ्नै ज्ञान, सीप कर्ममा गरिएको अथक साधनाबाट जीवन र जगतको यथार्थ र दर्शनलाई ‘ब्लेन्ड’ गर्नसक्ने त्यही एउटा नाम हो कर्ण शाक्य । जिन्दगीमा हुने अभावको महशुसले मान्छेमा पीडाको अनुभव गराउँछ, त्यही पीडाबाट उन्मुक्ति पाउने बाटो खोज्दाखोज्दै मान्छेभित्र सपना जन्मन्छ, प्रयासहरूले ती सपना हुर्किन्छन् र अन्त्यमा फुल्छन् र फल्छन् पनि । वास्तवमा जिन्दगी मात्रै होइन श्रृष्टिको नियम पनि त्यही हो । तर, शाक्यको जीवनका शैसवकालहरूले सपना जन्माउने खालको त्यस्तो अभावको महशुस कहिलै गरेन । सुनको थालमा सुनकै चम्चाले खानसक्ने क्षमता नभए पनि उनकी आमाले उनलाई अभावको चिसो सिरेटोबाट काश्मिरी पश्मिनाले ढाकिरहिन्, उनले न्यानो महशुस गरिरहे । तर, राष्ट्र कवि माधव घिमिरेले भनेजस्तै ढुंगाको काप फोरेरै भए पनि पिपल उम्रियो । उनको व्यावसायिक जीवन, जगत र प्रकृतिलाई नियाल्ने अनुभव गर्ने चाहना र तीव्र व्यवसायिक आकांक्षालाई असन बजारको सीमित घेराले छेक्न सकेन । उनलाई हिमालका चुचुराहरूले ‘सोच’ दियो, पहाडका कन्दराहरूले ‘खोज’ दियो । ‘हाम्रो नेता कस्तो हुनुपर्छ’ भनेर काठमाडौंले सिकायो । आज ७७ वर्षको उमेरमा पाइला चालिरहेका शाक्यलाई यी कृतिहरूले एउटा उचाइमा पुर्याउँदा उनी आफैं भने पर्यटन व्यवसायमार्फत् देशलाई विश्वमै उचाइमा पुर्याउने सार्थक प्रयास गरिरहेका छन् । असनको उनको व्यवसायिक मन अहिले ठमेल, नक्साल, बुढानीलकण्ठ हुँदै पोखरा, चितवनदेखि लुम्बिनीसम्म पुग्यो । व्यक्तिगत रुपमा व्यवसायिक क्षेत्रबाट सन्यास लिएपनि उनको स्वामित्वमा ठमेलमा काठमाडौं गेष्ट हाउस, बुढानीलकण्ठमा पार्क भिलेज रिसोर्ट, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रन्ट होटेल र वाटरफ्रन्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया ग्राण्ड होटेल र चितवन राष्ट्रिय निकुञ्जमा मारुनी सेञ्चुरी होटेल गरी ७ ओटा होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । जुन उनका उत्तराधिकारीहरूमार्फत् अझै फैलने प्रयास भइरहेको छ । यी होटल र रिसोर्टहरुको व्यवस्थापन अहिले उनका छोराछोरीले हेर्दै आएका छन् । ती संस्थाहरूबाट अहिले करिब ८०० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । कर्णको बाल्यकाल कहिल्यै पनि रोमाञ्चक भने भएन । राष्ट्रका सर्वोत्कृष्ठमस्तिष्कहरू कक्षाकोठाका अन्तिम बेञ्चमा पनि हुन सक्छन् भन्ने एपीजे अब्दुल कलामको भनाइ उनको जीवनमा ठ्याक्कै मेल खान्छ । २०१३ सालमा एसएलसी पास गरे पनि उनी जीवनभर कहिल्यै उत्कृष्ठ विद्यार्थी कहलिएनन् । उनी भन्छन्- ‘जीन्दगीमा कहिल्यै फष्र्ट डिभिजन आएन, एसएलसीमा ३९६ नम्बरमात्रै ल्याएर पास भएँ, जबकी पास हुनकै लागि मात्र ३९० नम्बर ल्याउनुपथ्र्यो ।’ तर, त्यति हुँदा पनि उनका बाबुआमा कहिलै दुःखी भएनन् बरु खुसी नै भए । उनी भन्छन्- ‘एसएलसी पास गरेबापत मलाई उहाँहरूले छालाको जुत्ता किनिदिनुभयो, मैले पहिलोपटक छालाको जुत्ता लाउन पाँए । मेरा बुबाआमाले कहिलै पनि मेरो नम्बर कम आएको भनेर दुःखी हुनुभएन, उहाँहरूको त्यही सकारात्मक सोचले नै मलाई अझै पढ्ने प्रेरणा मिल्यो ।’ एसएलसी पास गरेपछि विज्ञान विषय छानेर पढेका उनले आईएसी पनि थर्ड डिभिजनमा नै पास गरे भने बीएससीमा सेकेन्ड डिभिजन ल्याए । काठमाडौंमै स्नातक तह उत्तीर्ण गरेपछि वन विज्ञानमा थप अध्ययन गर्न सन् १९६२ तिर उनी भारत गए । काठमाडौं उपत्यका बाहिर संसारै छैन भन्ने जस्तो धारणा बोकेका उनलाई त्यतिबेलाको पशुपति वनकालीको वनबाहेक अरु केही छैन भन्ने लाग्थ्यो, चिडियाखानामा भएका चराचुरुंगी र वन्यजन्तु मात्रै वन्यजन्तु हुन् जस्तो लाग्थ्यो उनलाई । कहिलेकाही स्वयम्भुको डाँडामा चढ्दा पहाड के हो भन्ने अनुभव हुन्थ्यो उनलाई, चन्द्रागिरि र फुल्चोकीहरू त आँखा मात्रै सीमित थिए, ती डाँडाहरूले नै संसार छेकेजस्तो हुन्थ्यो उनलाई जसरी हामी आकाशले संसार छोपेको अनुभव गर्छौं । भारतमा अध्ययनकै क्रममा उनले त्यहाँ रहेका विभिन्न जंगलहरु र त्यहाँका वनस्पतिहरुबारे थाहा पाए । खास्टो बेचेर आमाले खाममा पठाएका रुपैयाँहरूलाई सदुपयोग गर्दै भारत बसाइँबाट उनलाई देशको प्राकृतिक सम्पदाहरुसँग परिचित हुने रहर जाग्यो । भारतबाट फर्किएपछि उनले वन विभागमा जागिर सुरु गरे । त्यसै क्रममा अष्ट्रेलिया र अमेरिका भ्रमण गरेर वन सम्पदाको बारेमा अध्ययन गरेपछि उनको भ्रम हट्यो । रुख भनेको काट्नकै लागि पालिएको हो र वन भनेको फाँड्नकै लागि छाडिएको हो भन्ने सोचबाट वन सम्पदालाई राष्ट्रको आर्थिक उपार्जन र पर्यटन प्रवद्र्धनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सिकेका उनी त्यही क्षणलाई पर्यटन व्यवसायको यात्राको पहिलो पाइला मान्छन् । अमेरिकाबाट फर्किएपछि उनले नेपालका वन सम्पदाहरुको कसरी संरक्षण गर्न सकिन्छ भन्नेतिर लागे । त्यतिबेला नेपालमा वनसम्पदा संरक्षण गर्ने अमेरिकी संस्थामार्फत् एउटा परियोजना आएको रहेछ । त्यही परियोजनाअन्तर्गत उनी बन्यजन्तु संरक्षण अधिकृत (एफपीओ) भएर करिब ४ वर्ष काम गरे । त्यही परियोजनाअन्तर्गत चितवनको जंगललाई चितवन राष्ट्रिय निकुञ्ज बनाउने काममा उनी प्रत्यक्ष रुपमा संलग्न थिए । वनलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर संरक्षण गर्दै जाने अमेरिकी मोडेललाई राजा महेन्द्रले स्वीकार गरेपछि त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज घोषणाका लागि सीमांकन र नक्सांकनको काम सुरु भयो । ‘त्यतिबेला चितवनमा राप्तीपारी जंगलै जंगल थियो, भने राप्तीवारी खेतैखेत थियो हेलिकोप्टरबाट हेर्दा पनि जंगलमात्रै देखिन्थ्यो, कतै खुला ठाउँमा अर्ना भैंसीहरु देखिन्थ्यो, त्यसैले त्यतिबेला राप्तीलाई नै राष्ट्रिय निकुञ्जको सीमा मानियो । त्योबेला त्रियुगाको केही क्षेत्रफल खेत पनि राष्ट्रिय निकुञ्जमा परेछ ।’ त्योबेलाको समयलाई सम्झिँदै उनी भन्छन्-‘भोलिपल्ट एउटा पत्रिकामा काठमाडौंको नेवारले चितवन आएर जनतालाई सुकुम्बासी र बाघ भालुलाई हुकुम्बासी बनायो भनेर छापेछ ।’ उनी सम्झन्छन्-‘त्यतिबेला मलाई पिट्न भनेर मान्छेहरू पनि आए, मैले लुकेर ज्यान जोगाउनु पर्यो । पछि मान्छेहरूले यथार्थ बुझे हामीले सम्झायौं ।’ राष्ट्रिय निकुञ्जका लागि इँटा राखेको त्यो क्षणले आज पनि उनलाई सुखानुभूत गर्छ । ‘एक वर्षजति पसलमा बसे, सुनचाँदी बेचेर । ३ करोडको पसलले मेरो मनमा चयन ल्याएन, संसारभरि घुमेको एउटा केटा सानो घेराभित्र रमाउन नसकेर म नयाँ मार्गको खोजीमा लागे,’ उनले भने । त्यति बेला बसन्तपुरमा हिप्पीहरू आउथे । गर्लफ्रेण्ड बनाए । त्यहिबाट मैले सेतो छाला भनेका सबै जान्नेमात्रै हुँदैन रहेछन् भन्ने थाहा पाए । त्यहिबाट मेरो आत्मबल बढ्यो । आफूले आफूलाई चिन्ने मौका पाए ।’ व्यवसायिक जीवन एफपीओ भएर ४ वर्ष काम गरेपछि शाक्यलाई आफ्नै व्यवसाय थाल्ने हुटहुटी चल्यो । त्यो बेला ठमेलमा उनको एउटा घर थियो । आफू ६/७ वर्षको हुँदा नै बुबाले किनेको । पहिले राणाहरुले सेवा गरेवापत जग्गा जमीन बक्सिस दिनेमात्रै गर्थे, जग्गा बेच्दैनथे, तर उनका बुबाले पहिलोपटक राणा खानदानबाट किनेको ऐतिहासिक भव्य भवन थियो त्यो । त्यही ठाउँलाई उनले आफ्नो पहिलो व्यवसायिक थलो बनाए । काठमाडौंमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै सन् १९६८ मा काठमाडौं गेष्ट हाउस खोलेका थिए । होटल खोल्दा आमाले सन्दुकबाट सय-सय रुपैंयाको नोट झिकेर दिएको उनको आँखामा अझै झल्झली आउँछ । उनलाई यतिसम्म याद रहेछ कि त्यो बेला आमाले दिएको सय रुपैंयाको नोट अहिले भन्दा ठूला थिए । चेतना बढ्दै जाँदा उपलब्धी विस्तार हुँदै जान्छ । तर, चेतना एक कदम अगाडि हुन्छ । उपलब्धी एक कदम पछाडि । यसले मानिसलाई कमजोर भएको महशुस गराउँछ । उपलब्धीलाई महत्वका साथ बुझ्न सकेमात्र मानिसले जीवनमा सुखानुभूती गर्न सक्छ । पैसाले सबै थोक किन्न खोज्दा दिमागमा खिया लगाउँछ । बोल्दा बोल्दै भावुक बनेर उनले भने ‘आमाको पछ्र्यौरी बेचेर खर्च पठाएको थाहा पाएपछि मेरो जीवनले सार्थकता पायो । उनी सम्झिन्छन्,–‘आमाले नोट गनेर दिँदा मनमा चलेको हुटहुटी अहिले पनि महशुस गर्नसक्छु । त्यति बेलामलाई होटेल नचले पनि अरु त केही थिएन, तर आमाको विश्वासकै लागि मात्रै भने पनि मैले होटल राम्रोसँग चलाउनुपथ्र्यो । त्यसैले मैले जोश र जाँगरका साथ काम गरेँ, मलाई कहिल्यै थकाइ लागेन । त्यतिबेला त्यो घर भूत बंगला जस्तो थियो, ट्वाइलेट जान पनि साथी चाहिने, त्यस्तो ठाउँमा होटेल खोलेर पनि आमाको विश्वास जित्न सफल भएँ ।’ त्यतिबेला १३ ओटा कोठाबाट सुरु गरिएको उक्त होटलमा अहिले सुविधा सम्पन्न १०२ ओटा कोठाहरु छन्, सो होटेल अघिल्लो वर्ष गरिएको सर्वेक्षणमा विश्वमै जानलायक होटेलमध्ये छैटौं स्थानमा पर्न सफल समेत भएको थियो । सहरको केन्द्रीय भागमै भए पनि यो होटेलले पर्यापर्यटनको अवधारणा अनुसार सेवा दिँदै आएको छ । अचम्म त के छ भने सेभेनस्टार होटल बराबरको सेवा दिने काठमाडौं गेष्ट हाउसको एउटा रुमको शुल्क २ डलर मात्रै राखियो । १९६८ मा उक्त गेष्ट हाउस सुरुवात हुँदा लिइएको २ डलर शुल्कको सम्झनाका लागि यस्तो गरिएको हो । शाक्य भन्छन्-‘हामी जतिसुकै अघि बढे पनि हामीले विगतलाई बिर्सिनु हुँदैन, त्यसैले १९६८ लाई सम्झिइराख्न यस्तो गरिएको हो ।’ पर्यटन दुतदेखि सामाजिक कार्यकर्ता काठमाडौं गेष्ट हाउसमा १४ वर्षसम्म अथक मेहनत गरेपछि उनलाई लाग्यो- ‘पैसा त कमाइयो, तर पैसा मात्रै त केही होइन, नाम पनि त कमाउनुपर्यो ।’ त्यतिबेला उनलाई सामाजिक कार्य गर्ने मन जाग्यो र ७५ प्रतिशत काम र २५ प्रतिशत समाजसेवा गर्ने रुटिङ बनाए । ‘गर्न त गर्ने तर के गर्ने ? ’ उनले त्यतिबेलासम्म जानेको भनेको पर्यावरण र पर्यटन मात्रै थियो । त्यसैले उनले यही क्षेत्रलाई रोजे । आफ्नी श्रीमती र छोरीलाई क्यान्सरकै कारण गुमाउनु परेपछि उनलाई क्यान्सर हस्पिटल खोल्ने इच्छा पलायो । तर, होटेलबाट भएको कमाइले हस्पिटल खोल्न सम्भव नै थिएन । सरकारसँग त्यो प्रस्ताव गर्दा सरकारी ढुकुटीबाट त्यस्तो अस्पताल बनाउन कोही तयार भएन, पैसा छैन भनेर सरकार पन्छियो । त्यतिबेलासम्म नेपालमा चुरोट खैनीहरुमा अन्तःशुल्क लाग्दैनथ्यो । उनले उपाय सुझाए चुरोटखैनीमा अन्तःशुल्क लगाएर त्यो पैसाले हस्पिटल बनाउने । १९९२ मा सरकारले उनको सल्लाह र प्रयासलाई स्वीकार गर्यो र पहिलोपटक चितवनमा विपि कोइराला क्यान्सर अस्पताल खुल्यो । अहिले भरतपुर क्यान्सर अस्पताल नेपालकै नमुना अस्पतालहरूमध्ये एउटा अस्पताल बन्न सफल भएको छ । कर्ण शाक्य भिजिट नेपाल १९९८ का संयोजक समेत हुन् । पर्यावरणीय क्षेत्रमा अनुभव सँगालेका र होटल व्यवसायमा सफल भएको व्यक्तिका हिसाबले तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो अभियानलाई जिम्मेवारी उनलाई दिएका थिए । त्यो कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनको इतिहासमा एउटा कोशेढुंगा नै बन्न सफल समेत भयो । त्यतिबेला विदेशी म्यागाजिनमा काठमाडौंकोे फोहोरको डंगुरको फोटो छाप्दै ‘गुडबाई साँग्रिला’ लेखिएको दृष्यले अझै पनि उनको मुटु बिझाउँछ । ‘त्यही भ्रम चिर्न पनि मैले संयोजक बनेर काम गर्नु थियो, त्यसैअनुरुप विश्वमा नेपालको सुन्दरता र प्राकृतिक सम्पदाबारे हामीले प्रचारप्रसार गर्यौं’ उनले भने । जीवनमा दुःख भनेको सबैभन्दा ठूलो धन हो । जब समस्या आउँछ समाधानको बाटो खोज्छ । विकल्प खोजिन्छ, उपाय निष्कन्छ । उपाय भनेको जीवनको ढोका खोल्ने साँचो हो, उनले सुनाए । साहित्य र दर्शन कर्ण शाक्यलाई चिनाउने अर्को परिचय भनेको साहित्यकार वा दार्शनिक हो । उनका कृतिहरूमा पाइने दार्शनिकता बुझ्ने क्षमता जोकोहीको हुँदैन, यद्यपि उनी आफ्ना कृतिहरू ९८ प्रतिशत सर्वसाधारणका लागि भएको बताउँछन् । अहिले उनको यो परिचयले पुरानो परिचयलाई नै छायाँमा पारेको छ । उनको दर्शनहरू नकारात्मक विचारलाई हटाएर सकारात्मक सोचको विकास कसरी गर्ने भन्नेमा बढी केन्द्रित देखिन्छ । त्यसो त ४ वर्ष अघि मात्रै उनले ‘न’ लाई नकार्ने ‘स’ लाई सकार्ने अभियान सहित सकारात्मक कोषको सुरुवात समेत गरेका छन् । यो संस्थाले २० वर्ष नाघेका युवालाई गाउँ गाउँमा गएर समूह गठन गर्दै सकारात्मक सोच विकास गर्ने अभियान चलाउँदै आएको छ । युवाहरूले सकारात्मक सोचका साथ तेस्रो आँखा खोलेर काम गर्नुपर्छ । वितृष्णालाई त्याग्न सक्नुपर्छ । उद्योग व्यवसाय गर्न लगानीको भन्दा पनि लगनशीलताको आवश्यकता छ । काम ठूलो सानो हुँदैन । श्रमको सम्मान गर्नुपर्ने उनले सुनाए । कर्ममा वर्ग हुँदैन । कर्मलाई गर्वमा परिणत गर्न सके उद्यमशीलतामा नयाँ आयाम थप्न सकिन्छ । नकारात्मक सोचले समाज बन्दैन । नागरिक बन्न अर्काको मनबाट सुन्न, हेर्न र देख्न जान्नु पर्ने उनको सिद्धान्त छ । भगवान बुद्धको जीवनदर्शन अनुसार ८० वर्षसम्म मावन जीवन बाच्न सकिन्छ । हामी मान्छे बढो गजवको जनावर हुँदा रहेछौं । आफूले आफूलाई कहिल्यै मूल्यांकन गर्न सक्दैन । घट्नाले जन्माएको आयाम थप्दै गएको हो । सायद दुःख नगरेको भए यी कितावहरू उनले लेख्न सक्ने थिएनन् । जीवनमा भोगेका दुःखले सोच लेखिएको हो ।
हजारको नोटमा अमेरिकी डलरको थ्रेड, हरेक दरका ४० करोड थानसम्म नोट छाप्दै राष्ट्र बैंक
काठमाडौं । बजारमा नक्कली नोटको बिगबिगी बढेसँगै नेपाल राष्ट्र बैंकले हजारको अब छापिने हजारको नोटमा अमेरिकी डलरमा प्रयोग गर्ने थ्रेड (धागो) प्रयोग गर्ने भएको छ । ठूला दरका नोटलाई बढी सुरक्षित बनाउन बैंकले अब छाप्न लागेको नयाँ नोटमा अमेरिकी डलरमा प्रयोग भएको जस्तो थ्रेड प्रयोग गर्न लागेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । हजारको नोट अमेरिकी कम्पनीलाई छाप्न दिने तयारी गरिएको छ,’ उनले भने-‘अन्य नोट अन्य देशका कम्पनीले पनि साट्न सक्छन् ।’ यो नोट विशेष तरिकाले छाप्न लागिएकोले अन्य देशका कम्पनीलाई नदिइ अमेरिकी कम्पनीलाई दिन लागिएको हो । राष्ट्र बैंकले ५ देखि एक हजार डेनोमिनेशनको नोट छपाउन लागेको हो । एक र दुई दरका नोट भने राष्ट्र बैंकले यसअघि नै छपाउन छाडिसकेको छ । नेपाली चलनचल्तीमा रहेका नयाँ नोट छाप्नका लागि ६ वटा विदेशी कम्पनीले चासो देखाएको उनले बताए । यसअघि नोट छाप्दा विभिन्न १० कम्पनी आएका थिए । बजारमा भएको नोटको पर्याप्तता, नष्ट गरिएको नोट र तीन वर्षमा भएको खर्च र आगामी वर्षमा हुन सक्ने खर्चको अनुमान गरी नोट छाप्ने गरिने प्रचलन छ । राष्ट्र बैंक हरेक अढाई वर्षमा आवश्यकताअनुसार विभिन्न दरका नोट छाप्ने गर्दछ । एक पटकमा २१ करोड थानदेखि ४० करोडसम्म नोट छाप्ने गरेको डेपुटी गर्भनरले बताए । साधारणतया नोटको आयु ३ वर्षको हुन्छ । राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा बनेको मुद्रा व्यवस्थापन समितिले अध्ययन गरी नोट छाप्ने प्रस्ताव राष्ट्र बैंक संचालक सञ्चालक समितिबाट स्वीकृत भएपछि ग्लोबल बिडिङ गरिन्छ,’ उनले भने-‘गुणस्तरीय नोट छाप्न सक्ने कम्पनीलाई यसको यसको जिम्मा दिने गरिएको छ ।’ देशमा आर्थिक कारोबार बढेसँगै राष्ट्र बैंकले नोट छाप्ने दर पनि बढाउन थालेको छ । तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको राष्ट्र बैंकले यो वर्ष करिब ३१ करोड थान छपाउने तयारी भएको छ । राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आव्हन गरेको छ । यहि कार्तिक ९ गते आव्हान गरिएको उक्त बोलपत्रको समयावधि मंसिर २४ गतेसम्म रहेको छ । इच्छुक कम्पनीले यो अवधिभित्र राष्ट्र बैंकले तोेकेको सेवा शर्त पुरा गरी टेण्डर हाल्नु पर्नेछ । राष्ट्र बैंकले चार अर्ब ८० करोड रुपैयाँ बराबरका २० डेनोमिनेशनको नोट छाप्न बोलपत्र आह्वान गरेको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो । राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ। २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।राष्ट्र बैंकले हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो । अहिले बजारमा २० दरका नोट बढी चलनचल्तीमा रहेको छ । यसअघि ५ दरका नोट बढी चल्ने गर्दथ्यो । पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । बजारमा २० रुपैयाँ दरका नोटको चाप बढी भएपनि राष्ट्र बैंकले भने साना दरका नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएको छ । अब ५०० र १०० दरका नोट करिव ३१/३१ करोड थान छाप्ने भएको छ । यसअघि राष्ट्र बैंकले २० करोड थान १ हजार दरका नोट छपाएको थियो । तीन वर्ष अघि नै वित्तीय बजारलाई डिजिटलाइजेशन लैजाने रणनीति सरकारले अवलम्वन गरेपनि अहिले सम्म पुरा नहुँदा नोट छपाइमा ठूलो रकम बाहिरिने गरेको छ । राष्ट्र बैंकले यस अघि नोट छाप्दा औसतमा दुई रुपैयाँ पर्न आएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनले भने-‘अब कति लाग्छ थाहा छैन, यस अघि भने ५ देखि १ हजार दरका नोट छाप्दा औसतमा प्रति नोट २ रुपैयाँको दरले खर्च भएको छ ।’