१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ । २०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा । उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् । सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् । डेढ लाखमा होजियरी उद्योग समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’ उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् । भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् । उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ । कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा । यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् । हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ । विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् । सिलाई बुनाइले फेरिएको जीवन सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् । कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो । त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् । यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् । २०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् । तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् । महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् ।  महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।

केही वर्षअघि करोडमा नाफा देखाउने कम्पनीहरु अहिले अर्बाैं कमाउँछन्- परशुराम कुँवर क्षेत्री

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर छ भने साना र नयाँ बैंकलाई प्रतिस्पर्धामा टिक्न सकिदैन कि भन्ने डर छ । ग्लोबल आईएमई बैंकलाई पनि आफ्नै किसिमका चुनौति छन् । पुँजी र बिजनेशमा मात्र ठूलो भएर पुगेन, सेयरधनीलाई दिने लाभांश र सरकारलाई तिर्ने करमा पनि सबैभन्दा ठूलो बन्नु अबको चुनौति हो । मर्जपछिको व्यवस्थापन अर्को ठूलो चुनौति हो । प्रस्तुत छ मर्जपछि ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएका परशुराम कुँवर क्षेत्रीसँग  यिनै विषयको पेरीफेरीमा केन्द्रित भई विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पाैडेलले गरेकाे विकास वहस । तपाई मर्जरको पक्षमा खुलेर लाग्नुभएको थियो र सफलता पनि मिलेको छ । ठूलो बैंक हुँदाको मजा कत्तिको हुँदोरहेछ ? ग्लोबल आईएमई बैंक ठूलो मात्र भएन, बलियो पनि भएको छ । यस अर्थमा हामी धेरै खुशी छौं । ठूलो र बलियो बैंक भईसकेपछि बजारले, स्टेकहोल्डरहरुले धेरै अपेक्षा गरेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नु अब हाम्रो चुनौति हो । आजको ग्लोबल आईएमई बैंक तीन वटा वाणिज्य बैंकसहित १८ वटा बैंक तथा फाइनान्सको संगम भएको छ । यहाँ काम गर्ने कर्मचारीको लागि, उच्च व्यवस्थापन तहमा काम गर्नेको लागि, सञ्चालक समितिको लागि मर्ज भनेको सामान्य विषय भईसक्यो । हामीलाई बानी परिसकेको छ । त्यसैले हामीले मर्जको समझदारी गरेको ५ महिनामा मर्जको सबै काम सम्पन्न गरेका छौं । मर्जरको क्रममा बाहिर देखिने सबै काम पूरा भए । भित्रको व्यवस्थापकीय काम कति बाँकी छन् ? पोष्ट मर्जरको इस्यू पनि धेरै छैनन् । ठूलो बैंक भईसकेपछि सोही अनुसार व्यवस्थापन गर्न केही नयाँ नीति बनाउनुपर्छ । त्यसतर्फ हामीले काम गरेका छौं । संस्थामा रि–इन्जिनियरिङ गरेर सेवालाई थप प्रभावकारी बनाउन नयाँ विभाग नै खडा गरेर काम गरेका छौं । डिजिटाइजेशन डिपार्टमेन्ट खोलेर यसतर्फ सेवालाई प्रभावकारी बनाउँदै छौं । मर्जपछि २९ वटा शाखा मर्ज नै गरिसक्यौं । अब मर्ज भएका शाखाको सट्टा नयाँ शाखा खोल्छौं । मर्जको कारण देखाउँदै उपभोक्ताले कुनै सेवा नपाउने अवस्था छ कि छैन ? पटक्कै छैन । सुधार गर्नुपर्ने ठाउँ होला । साविकको जनता बैंकका कर्मचारीलाई फिनाकल सफ्टवेयर चलाउन मर्ज पूर्व नै सिकायौं । मर्जपछिको सेवा सञ्चालन सहज होस् भनेर हामीले तालिम मात्र दिएनौं, ५० पेज लामो सरुवाको सर्कुलर जारी गर्यौं । जहाँ साढे ४ सय कर्मचारी सरुवा भएका थिए । दुबै बैंकका कर्मचारी आपसमा सट्टापट्टा गराएर मर्जपछि प्रयोग हुने फिनाकल सफ्टवेयर चलाउन सिकायौं । अहिले हामी फेरी फिनाकल सफ्टवेयरलाई पुनः अपग्रेड गर्ने तयारीमा छौं । मर्जपछि ग्लोबल आईएमई बैंकका अगाडि अवसरहरु के के छन्, जुन अरु बैंकले पाउँदैनन् ? पहिला त हामी ठूलो लगानी गर्न सक्ने भएका छौं । कर्जा लगानी मात्र होइन, राम्रो प्रविधि भित्र्याउन आवश्यक लगानी गर्न सक्छौं । दोस्रो, म तपाईसँग मेरो अनुभव सुनाउन चाहान्छु । म जनता बैंकमा छँदा हामीले सीडीसी लगायत विदेशी संस्थासँग ऋण लिने धेरै प्रयास गर्यौं । त्यो सफल भएन । अहिले हामी विदेशी संस्थासँग ऋण लिन सक्ने भएका छौं । ग्लोबल आईएमई बैंकले त मर्जपूर्व नै आईएफसीसँग २ करोड अमेरिकी डलर ऋण लिईसकेको छ । अहिले हामीले अरु संस्थासँग पनि ऋण लिन कुरा गरिरहेका छौं र उनीहरु सकारात्मक देखिएका छन्, हामीलाई पत्याएका छन् । विश्व बजारमा हाम्रो विश्वसनीय बढेको छ । नेपाललाई विदेशी पुँजी आवश्यक छ । विदेशबाट ऋण लिएर नेपालमा लगानी वृद्धि गर्न हामीलाई अब सजिलो भएको छ । जसरी नेपाल सरकारबाट स्वीकृत लिएर आईएफसीले विदेशमा नेपाली रुपैयाँमा ऋणपत्र निष्काशन गर्दैछ, त्यसरी हामी पनि विदेशी बजारमा ऋणपत्र बेच्न सक्छौं । तेस्रो, हाम्रो शाखा सञ्जाल सबै जिल्लामा छ । करिब ३०० शाखा छन् । ब्रान्चलेश बैकिङ नेटवर्क पनि करिब ३०० छ । देशभित्र ६०० भन्दा बढी सम्पर्क सञ्जाल छ । हामी घर घरमा, परिवार परिवारमा जोडिएका छौं । हाम्रा ग्राहक नै २० लाख छन् । हामीले नयाँ प्रडक्ट ल्याउँदा त्यसको प्रभाव देशभर छिट्टै हुन्छ । दुई ठूला बैंक मर्ज भएका छन्, भोलि नै चमत्कार हुन्छ भनेर नसोचौं । तर दीर्घकालमा यसको असर पक्कै पनि राम्रो हुनेछ । ग्लोबल आईएमई बैंक अबको ५ वर्ष वा १० वर्षपछि कुन पोजिसनमा रहनेछ ? यो प्रश्न अलि काल्पिनक भयो । तैपनि भविष्यको योजना त हुन्छ नि ? पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले अहिले नै हामी सबैभन्दा ठूलो बैंक हौं । मर्ज पूर्व दुई बैंकले गरेको नाफा जोड्दा राष्ट्रिय वाणिज्य बैंकको भन्दा ३५ लाख रुपैयाँ कम हुन्छ । मलाई लाग्छ पुस मसान्तमा हामी सबैभन्दा बढी नाफा गर्ने बैंक हुनेछौं यद्यपी मैले नाफालाई सबै कुरा ठान्दिन । हामी ठूलो मात्र होइन, हरेक कोणबाट लिडिङ बैंक बन्नुपर्छ । सबैंको लागि बैंक भन्ने हाम्रो नारा नै हो । सबैको रोजाईमा पहिलो बैंक ग्लोबल आइएमई बनाउनुपर्छ । ग्राहकले बैंकिङ सेवा लिनुपर्दा पहिला ग्लोबल आईएमई बैंक संझिउन् । कर्मचारीले जागिर खान पहिला ग्लोबल आइएमई बैंक नै रोजुन् । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामक संस्थाले ग्लोबल आईएमई बैंक भन्ने वित्तिकै यो बैंकले राम्रो गर्छ, जे पायो त्यहि गर्दैन भनेर सोचुन् । ठूलो हुनु र असल हुनु फरक कुरा हो । हामी असल बैंक बन्ने छौं । ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो त भयो । अब सेयरधनीलाई पनि सबैभन्दा उच्चदरका लाभांश कहिले दिन्छ ? हामी यति नै लाभांश दिन्छौं भनेर भन्नु परिपक्व हुँदैन । हाम्रो प्रयास सबै स्टेकहोल्डरका एस्पेक्टेशनहरुलाई सकेसम्म मिट गर्दै जान्छौं । ग्लोबल आईएमईले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दियो । आगामी वर्ष यो दर स्थीर रहला वा बढ्ने सम्भावना छ ? कोशिस बढाउने नै हुन्छ । नाफा कति हुन्छ भन्ने विवरण हामी प्रत्येक त्रैमासमा प्रकाशित गर्दै जान्छौं । लाभांश कति दिने भन्ने निर्णय बोर्डबाट हुन्छ । त्यसभन्दा माथि नेपाल राष्ट्र बैंक छ । मेरो काम नाफा कमाउने हो । बैंक मर्ज हुनुपर्छ भन्नेहरुले गर्ने विभिन्न तर्क मध्ये एउटा हो ‘ठूलो बैंक भएपछि ठूलो कर्जा लगानी गर्न सक्छन् ।’ नेपालको औद्योगिकरणको अवस्था उत्साहजनक छैन । धेरै संख्यामा ठूला उद्योगहरु खुलेको देखिदैन । ठूलो बैंकले ठूलो कर्जा लगानी गर्न बजारमा ठूलो कर्जाको माग कस्तो छ ? यो आर्थिक वर्षमा कर्जाको माग कम भएको छ । मलाई लाग्छ यो अस्थायी हो । यो इकोनोमी छिट्टै बाउन्स व्याक हुँदैछ । विगतमा द्वन्द्व, लोडसेडिङ थियो, बारम्बार हड्ताल हुन्थ्यो । त्यसैले लगानीको वातावरण थिएन । मुद्रास्फिति १०/१२ प्रतिशत हुँदा बैंकहरुले ६/७ प्रतिशतमा कर्जा लगानी गरेका थिए । विगत तीन वर्षमा कर्जाको माग धेरै नै भए । त्यसको तुलनामा अहिले केही कम भएको हो । कर्जाको माग नै नभएको होइन । अहिले पनि अर्बौ लगानी गर्ने कम्पनीहरु खुलिरहेका छन् । अर्बौै नाफा गरेर सरकारलाई कर तिर्ने कम्पनीहरु आईरहेका छन् । केही वर्ष अघिसम्म करोड नाफा गरेर कर तिर्ने कम्पनी औलामा गन्न सकिन्थ्यो । अहिले अर्बौ नाफा गर्ने कम्पनीहरु खुलेका छन् । राजनीतिक समस्या समाधान भएका छन् । राजनीतिक दलहरुले पनि आर्थिक विकासका एजेण्डा उठाउन थालेका छन् । देखिएका समस्या समाधान हुने भएका छन् । मलाई लाग्छ अब इकोनोमीले टेकअफ लिँदैछ । एकातिर निरन्तर ६/७ प्रतिशतले आर्थिक वृद्धि भएको तथ्याङ्कले देखाउँछ । अर्कोतिर तपाई भन्दै हुनुहुन्छ कि ‘इकोनोमि बाउन्स व्याक हुन्छ, टेकअप लिँदैछ ।’ यसले अर्थतन्त्रको बारेमा अन्यौलता दर्शाउदैन ? अर्थतन्त्रमा तलमाथि भईरहेको हुन्छ, मुटुको चाल जस्तो । अर्थतन्त्रका विभिन्न क्षेत्र मध्ये कुनै क्षेत्र राम्रो हुन्छ भने कुनै क्षेत्र खराब हुन्छ । अहिले सिमेन्ट र छड उद्योगको अवस्था राम्रो छैन कि भन्ने कुरा आएको छ । बैंकहरुको नाफाको ग्रोथ नै पहिलो त्रैमासमा करिब ६ प्रतिशत मात्र रह्यो । यो भनेको नेपालको इतिहासमा ज्यादै कमजोर अवस्था हो । मेरो भनाई के हो यस्तो अवस्था धेरै समय रहँदैन । किनकी हाम्रो देशमा विकास निर्माणका काम धेरै हुन बाँकी छ । तपाईले भन्नुभयो कि हिजो करोड नाफा गर्ने कम्पनीहरु अहिले अरब नाफा गरिरहेका छन् । के नेपाली कम्पनीहरुको नाफा वृद्धि उच्चदरमा देखिएको हो ? आर्थिक पारदर्शीता अपनाउने, सरकारलाई कर तिर्ने मामिलामा पछिल्ला वर्षमा निजी कम्पनीहरु अगाडि बढेका हुन् ? मूल्य अभिवृद्धि कर ऐन लागू भएपछि नै निजी क्षेत्रको वित्तीय पारदर्शीता बढेको छ । उनीहरुले तिर्ने कर पनि बढेको छ । सशस्त्र द्वन्द्वको बेलामा, राजनीति संक्रमण भएको बेलामा, दैनिक १२/१५ घण्टा लोडसेडिङ भएको बेलामा पनि सरकारी लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भयो, जबकी सरकारले पहिले नै निकै महत्वकांक्षी लक्ष्य राखेको हुन्थ्यो । पारदर्शितामा सुधार भएसँगै आर्थिक गतिविधिमा वृद्धि आएकोले नै सरकारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेको हो । तर कर कार्यालयमा बुझाएको आयव्यय हिसाव नै बैंकमा पेस गर्नु पर्ने व्यवस्था गरिएपछि व्यवसायिक क्षेत्रबाट कर्जाको माग नै कम भयो भन्छन् नि बैंकर्सहरु ? के बैंकर्सहरुको तर्क गलत हुन् ? ठूला कम्पनीहरुमा यस्तो समस्या छैन । उनीहरुले लुकाएर लुक्दैन भन्ने बुझिसकेका छन् । स्वीजरल्याण्डमा लुकाएर राखेको सम्पत्तिबारे पनि सूचनाहरु चुहिएका छन् । उनीहरुलाई राज्यले प्रश्न त गर्छ । उता सम्पत्ति शुद्धिकरण विभागले सोध्छ, तिम्रो सम्पत्तिको स्रोत के हो भनेर । साना तथा मझ्यौला व्यवसायीमा भने यस्तो समस्या छ । यो समस्या पनि एक दुई वर्षमा हल हुन्छ । व्यक्तिगत रुपमा म आफै पनि भन्छु ट्याक्स छलुवालाई बैंकले पैसा दिनु हुन्न । मैले बैंकका साथीहरुलाई पनि भन्ने गरेको ट्याक्स छलुवालाई ऋण दिन हामी प्रतिस्पर्धा नगरौं । जसले कर तिर्छ, त्यो कम्पनी नाफामा हुन्छ । नाफामा रहेको व्यवसायलाई कर्जा दिँदा बैंकको लगानी पनि सुरक्षित हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझ्यौला कर्जा र व्यक्तिगत कर्जा लगानीमा जोड दिइरहेको बेलामा नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा (घर कर्जा, सवारी कर्जा, घरायसी कर्जा) लगानी गर्दा सम्बन्धित व्यक्तिले पेस गरेको कर चुक्ता प्रमाणपत्रको आधारमा र मासिक किस्ता आयको ५० प्रतिशत बढी नहुने गरी मात्र कर्जा लगानी गर्न निर्देशन दिएको छ । बैंकर्सहरुले यो व्यवस्थाको विरोध गरिरहेका छन् । यसप्रति तपाईको धारणा के हो ? राष्ट्र बैंकको निर्देशन ठिक छ । यो पहिला नै आउनुपर्थ्याे अहिले आयो । तर यसमा केही अस्पष्टता छन् । त्यसलाई स्पष्ट पार्नुपर्छ । परिवारमा श्रीमान श्रीमती दुबैको आय छ भने त्यसलाई गणना गर्ने व्यवस्था गर्नुपर्छ । कृषि आयमा आय कर छुट छ । कृषिमा आधारित आम्दानीबारे स्पष्ट हुने आधारहरु बन्नुपर्छ । रेमिट्यान्स आम्दानीमा कर तिर्नुपर्दैन । रेमिट्यान्स आयलाई स्वीकार गर्ने आधार स्पष्ट हुनुपर्छ । सेयर लगानीबाट प्राप्त लाभांशमा सबै प्रकारको कर कट्टी भईसकेको हुन्छ, त्यसलाई करले सहज रुपमा प्रमाणित गर्नुपर्छ । नेपालमा मात्र होइन, भारतमा पनि बैंकबाट कर्जा लिन ट्याक्स रिर्टन फाइल पेस गर्नैपर्छ । त्यसैले अन्त नभएको व्यवस्था नेपालमा लागू भएको होइन । कुनै ग्राहकले मेरो कृषि आम्दानी यति, रेमिट्यान्स आम्दानी यति छ भनेर ऋण माग गर्यो भने त्यसलाई बैंकले कसरी लिन्छ ? मैले यसअघि नै भने कि यस्ता विषयमा राष्ट्र बैंकले प्रष्ट पार्दै, बजारलाई सहजीकरण गर्दै जानुपर्छ । विगतमा बैंकहरुले कृषिमा आधारित आम्दानीलाई पत्याउदैन थिए, कर्जा प्रवाह गर्नको लागि त्यस्तो आम्दानीको स्रोतप्रति विश्वास गर्दैनन् थिए । अब पत्याउनु पर्ने दिन आएको हो ? पहिला पनि पत्याउथे, अब पनि पत्याउँछन् । तर वर्षमा १ लाख आम्दानी हुने आधार छैन, १० लाख कृषिबाट कमाई हुन्छ भन्दा पत्याउन सकिदैन । घर भाडा आयको केसमा पनि पत्याउनै गाह्रो हुने फाइल आउछन् । त्यस्तोलाई हामीले अस्वीकार गर्छौ । सानो कम्पनी, धेरै कारोबार पनि छैन, नाफा पनि छैन, तर लाखौं तलब खान्छ भनेर स्यालरी सर्टिफिकेट ल्याउँछन्, अब कसरी पत्याउने ? त्यो कागजको टुक्रालाई कसरी पत्याउने ? अब आयकरको प्रमाणपत्र भएपछि बैंकलाई त सजिलो हुन्छ । राष्ट्र बैंकको नयाँ सर्कुलरले बजारमा कस्तो असर पार्ला ? एक ढेड वर्षको लागि यसले केही समस्या पार्ला । त्यसपछि धेरै सजिलो हुन्छ । अब बैंक स्टेटमेन्टका आधारमा उसको आय हेर्न सकिन्छ । मेरो विचारमा अब ५० हजारभन्दा बढीको सबै कारोबार बैंकबाट मात्र गर्नुपर्छ । त्यस्तो भयो भने कृषिको आम्दानी, घर भाडा आम्दानी लगायत सबै आम्दानी पारदर्शी हुन्छ । त्यसका आधारमा बैंकले कर्जा दिन सजिलो हुन्छ । बैंकमा लगानी योग्य रकम बढेको र व्याजदर घट्न लागेको हो ? विगत १७ महिनामा बैंकहरुको सीडी रेसियो उच्चतम विन्दुमा पुग्दा ९१.४ प्रतिशत भएको रहेछ । यदि अहिले सीडी रेसियो त्यो विन्दुमा पुग्ने गरी लगानी गर्न हो भने थप ५४ अर्ब कर्जा लगानी गर्न सक्छन् । त्यसैले अहिलेको स्थीति सहज छ । बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन । अब विग टेष्ट मागको पहिलो सातामा हुन्छ । एनसेलले २२ अर्ब कर तिर्नुपर्छ । यस वर्षको अनुमानित आयकरको ४० प्रतिशत पुस मसान्तमा तिर्नुपर्छ । यस्तो कर गत वर्ष ८० अर्ब रुपैयाँ सरकारको खातामा गएको थियो । बैंकहरुको पनि नाफा कम छ । कर्पोरेट क्षेत्रको पनि नाफा कम छ । ८० अर्बको सट्टामा ६० अर्ब नै सरकारी खातामा गयो भने पनि बैंकमा तरलता टाइट हुन्छ । तर सरकारको विकास खर्च १० प्रतिशत मात्र भएको छ । अब सरकारले भटाभट खर्च गर्न थाले, ठेकदारहरुले पनि भुक्तानी पाए भने फेरी बजारमा पैसा आउँछ । पोहोर परार जस्तो तरलताको हाहाकार हुने सम्भावना छैन । बैंकहरुले व्याज पनि घटाउन थालेका छन् । बेस रेट घट्दै गएको छ । अब कर्जाको व्याज थप घट्न सक्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण मुद्रास्फिति बढ्न सक्छ । त्यसैले बैंकको व्याजदर पनि ह्वात्तै घट्ने सम्भावना म देख्दिन । राष्ट्र बैंकको नीति निर्देशनहरु बैंकको नाफा बढाउने सहयोग गर्ने खालको छैनन्, बरु घटाउने खालका छन् । बैंकको नाफा बढाउन व्यवस्थापन पक्षलाई बैंकका सञ्चालक तथा प्रवद्र्धकको निकै दवाव परेको बताइन्छ । बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा पनि देखिन्छ । यसले बैंकहरुलाई जोखिममा पार्दैन ? समग्रमा हेर्दा बैंकहरु जोखिममा छैनन् । खराव कर्जा पनि कम छ । संस्थागत सुशासन पनि राम्रो छ । बैंकभित्र गडबड गर्यौ भने तिमीहरु जेल जानुपर्छ भन्ने सन्देश राष्ट्र बैंकले दिईरहेको छ । गडबड गर्नेहरु जेल पनि परेका छन् । हाम्रा छिमेकी देशमा एउटा बैंकका सञ्चालकले अर्को बैंकबाट कर्जा लिने र कर्जा नतिर्ने अभ्यास देखिन्छ तर नेपालमा त्यस्तो छैन । यहाँ कर्जा नतिर्नेलाई कालोसूचीमा राख्ने अभ्यास भएको छ । तर बैंकहरुमा नयाँ प्रकारको जोखिमहरु बढेको देखिन्छ । पहिला साना कर्जा हुन्थे । धितो प्रयाप्त हुन्थ्यो । कर्जा उठेन भने धितो बेचेर पनि बैंकले पैसा उठाउथ्यो । तर अहिले ठूलो परियोजनाहरुमा ठूलो कर्जा जान थाले । त्यसमा धितो प्रयाप्त हुँदैन । यस्ता परियोजनाहरु असफल भए भने बैंकको लगानी पनि जोखिममा पर्छ । यस्ता जोखिमबारे बैंकहरु सचेत हुनुपर्छ । अहिले भएको लगानीको जोखिम, निक्षेपको बजार, कर्जाको बजार, व्याजदर, नेपालको सबैभन्दा ठूलो बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नुभएकोमा बधाई छ । यो ठाउँमा आईपुग्न तपाईले मिहेनत कति गर्नु पर्याे, भाग्यले कति साथ दियो ? मिहेनत गर्नै पर्यो । गाउँको मान्छे, सामान्य किसानको छोरो, यो ठाउँमा आइपुग्न मिहेनत त गर्नै पर्यो । तर मिहेनत धेरैले गरेका हुन्छन् । मिहेनतले मात्र पनि पुग्दैन । मलाई भाग्यले पनि साथ दिएको छ । मिहेनत बलवान हो कि भाग्य ? म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिव २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो ।  जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विचारमा दुबै हो । दुई मध्ये एक छान्नुपर्यो भने कर्म नै छान्छु । भाग्य छ भन्दैमा ढोकामा दुध दोहेएर हुँदैन । कति वर्ष भयो बैंकिङ क्षेत्रमा लाग्नु भएको ? मैले बैकिङ शुरु गरेको सन् १९८६ जुनमा हो । ३४ वर्ष भयो । तपाईमाथि एउटा आरोप पनि छ । तपाई जुन जुन बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुभयो, ती सबै बैंक विलय भएर गए । जस्तो बैंक अफ एशिया, ग्राण्ड वा जनता । यसबारे तपाईको भनाई के छ ? म ग्रिनलेज बैंकमा काम गरेँ, त्यो अहिले स्ट्याण्डर्ड चार्टड बैंक भएको छ । मैले नेपाल बैंकमा काम गरे । त्यो बैंकबारेमा मैले केही भन्नु परेन । सिटिजन्स बैंक इन्टरनेशनलमा पनि काम गरे । त्यो बैंक पनि राम्रो छ । बैंक अफ एशियामा मेरो कार्यकाल सकिएको करिब २ वर्षपछि एनआईसी बैंकमा मर्ज भएको हो । यो बैंकमा कर्मचारीको हैसियतले पाएको सेयर मसँग छ । मर्ज भएर त्यो बैंकले सेयरधनीका लागि राम्रो प्रतिफल दिएको छ । ग्राण्ड पनि मेरो हातबाट मर्ज भएको होइन । मैले छोडेको धेरै समयपछि मर्ज भएको हो । मर्जपछि यो बैंकको सेयरधनीलाई पनि फाइदा भएको छ । जनता बैंकका लगानीकर्ताले स्वेच्छाले ग्लोबल आईएमई बैंकमा मर्ज गरेका हुन् । जनता बैंक चाहिँ मेरै हातबाट मर्ज भएको हो । मेरो विगतका अन्तरवार्ता पढ्नु भयो भने देख्नुहुन्छ, म बैंकमा हुँदा पनि, नहुँदा पनि, बैंकहरु मर्ज हुनुपर्छ भनेको छु । बैंकहरुबीचको मर्जले सबैलाई लाभ नै हुन्छ भन्नेमा म अहिले पनि विश्वस्त छु । अहिले मलाई के चुनौति छ भने हामीले राम्रो गर्न सक्यौ भने बजारमा राम्रो सन्देश जान्छ । अरु बैंक पनि मर्जमा जान्छन् । मर्ज गरेर राम्रो भएन भने नराम्रो सन्देश जान्छ । यो विषयमा हामी गम्भिर छौं ।

नखाएको ऋणमा ७ वर्ष जेलबास, मुटु चलाउन ब्याट्रीको सहयोग

काठमाडौं । ‘ठ्याक्कै घर त मलाई पनि थाहा छैन, यहीँ नजिक हुनुपर्छ, म सोधेर आउँछु है,’ सानागाँउ चोकबाट साँखु रोडतिर अलिकति ओराले झरेपछि बाइक रोक्दै उनले भने । उनी, अर्थात् सागरराज खड्का । कालो रंगको बाइक हेलमेटविनै चलाइरहेका थिए । साँझको ५ बजिसकेको थियो । पुसको ७ गते । जाडो निकै थियो । कालोपत्रे गर्न ठिक्क पारिएको सडक । धुलो पनि उडिरहेको थियो । सागर एउटा घरमा छिरे । हामी मोटरसाइकल रोकेर उनलाई पर्खिरह्यौं । ‘ऊ त्यो जस्ताको टहरो छ नि ! त्योभन्दा अगाडिको घर रहेछ,’ उनले घर पत्ता लगाएछन्, अनि हामीलाई सुनाए । बाइक केही अगाडि बढायौं । केही अघि बढेर एक तले घर अगाडि रोकियौं । ‘ठिकै छ बाबु ! तर, मैले राम्ररी चिनिनँ नि !’ घर छिर्ने ढोका नजिकैको गाईगोठसँगै रहेको धारो बन्द गर्दै करिब ५०–५५ वर्ष जतिका वयस्क व्यक्ति जवाफ दिदै थिए । त्योभन्दा अगाडि सागरले नमास्कारदेखि सन्चो विसन्चोको औपचारिक प्रश्न उनीसँग सोधिसकेका थिए । ‘म सुवेदी गाउँको सागर हो अंकल, सागर खड्का,’ सागरको यो परिचयले पनि उनले चिने जस्तो गरेनन् । ‘पुस्कारराज खड्काको छोरा, तपाईं र मेरो ड्याडी सात वर्ष सँगै जेल बस्नु भएको होइन र ? हजुर नै होइन र रघु कार्की ?’ सागरले आफ्नो परिचय थपे । ‘ए… ! पुस्कारको छोरा ? ९ करोडको कम्पनी भएको व्यक्तिले आफ्ना गाउँले सजिलै कहाँ चिन्छ र ?’ ती वयस्कले हास्दै भने । उनले यसो भन्दै गर्दा उनकी श्रीमती पनि हाँसिन् । र, हामी पनि । अब हामीले भेटेका थियौं– रघु कार्की । उनी २३ फागुन २०६६ मा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको आरके स्टील एण्ड फर्निचर उद्योग प्रालिका प्रोपाइटर हुन् । त्यसैले उनी ९ करोड रुपैयाँको कम्पनीको मालिक भनेर आफूलाई रमाइलोसँग प्रस्तुत गरिरहेका थिए । ‘उहाँहरुलाई त अझै चिनिएन त,’ रघुले हाम्रो परिचय खोजे । ‘उहाँहरु पत्रकार हो, शम्भु केसीले तयार पारेका नक्कली ऋणीको अवस्था के कस्तो रहेछ भनेर बुझ्न आउनु भएको रे, उता हाम्रो ड्याडीसहित अरु पीडितलाई भेटिसक्नुभयो, तपाईंसँग भेट गराइदेउ भन्नुभएकोले मैले ल्याएको,’ सागरले नै भने । नमस्कार दोहोर्यायौं । रघुकी श्रीमतीले भित्रै बसेर कुरा गर्न अनुरोध गरिन् । भित्र छिर्यौं । ‘९ करोडको कम्पनीका मालिकको घर हो, मिलेर बस्नुपर्छ है बाबु,’ अब हाँसिमजाक गर्ने पालो रघुकी श्रीमतीको थियो । उनले यसोभन्दै दुईटा मुडा प्यासेजमा राखिदिइन् । मुडामा टुसुक्क बस्यौं । र, हामी आउनुको कारण खुलस्त पार्यौं । मिल्छ भने क्यामेरामा बोल्न अनुरोध गर्यौं । नभए पनि डायरीमा विवरण टिप्ने भन्यौं । उनीहरु क्यामेरामा बोल्न सहजै तयार भए । मानौं, आफ्नो पीडा पोख्ने हतारोमा थियो रघुको परिवार पनि । रघुले कोठामा बसौं भने । हामी छिर्दाको बायाँतिरको एउटा कोठामा भद्रगोल सामान थिए । दाहिनेतिरको एउटा कोठा बन्द थियो । अर्काे कोठा सायद भान्सा थियो । र, बाँकी रहेको बायाँतिरको कोठामा छिर्यौं, जहाँ २ वटा बेड राखिएको थियो । ‘ब्याट्री राखेर मुटु चलाएको छ, डाक्टरले धेरै नबोल्नु भनेको छ, जति सक्छु, म आफैं बोल्छु, बाँकी यिनर्ले भन्छन्,’ एउटा बेडको छेउमा बसेर रघुले भने । उनको मुटुको धड्कन बन्द भएपछि पेस मेकर राखिएको रहेछ । र, उनले ‘यिनर्ले’ भनेको उनकी श्रीमतीले थप जानकारी दिन्छिन् भनेका रहेछन् । ‘गाह्रो हुन्छ होला, तपाईं नबोल्नुस् न त’, हामीले भन्यौं । उनी आफै बोल्ने अडानमा रहे । खासमा भन्ने हो भने पेस मेकर राखिएको विरामीसँग कुरा गरेको पहिलो अनुभव थियो हाम्रो (सहकर्मी प्रकाश वाग्लेसहितको) । अनि रघु कार्कीले यसरी आफ्नो कथा सुनाए– रघु क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका तत्कालिन प्रबन्ध निर्देशक पवन कार्कीका ससुरा शम्भु केसीका बहिनी ज्वाइँ नाता पर्ने व्यक्ति हुन् । उनी साँखुको साना गाउँमा बस्थे । शम्भुका ज्वाइँ पवनले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई वाणिज्य बैंक बनाउने पहल थाले । यसको लागि व्यालेन्ससीटको आकार ठूलो हुनुपर्छ भनियो । अनि पवन, उनका ससुरा शम्भुसहितको जग्गा कारोवारीको समूह आफ्ना नातागोता र चिनजानका व्यक्ति खोज्न थाले । यस्तैमा शम्भुको टोलीको नजरमा परे रघु । उनी सानागाउँमा खेती किसानी गर्ने सामान्य लेखपढ भएका व्यक्ति थिए । ‘माओवादी सरकारमा आएको छ, मेरो जग्गा जमीन धेरै छ, केही जग्गा तपाईंको नाममा राखिदिनुपर्यो भने, मैले हुन्छ भनेपछि केही जग्गा मेरो नाममा पास गराए, पछि कम्पनी खोल्ने कुरा गरे, मैले त्यो पनि हुन्छ भनेँ, पछि त त्यही कम्पनीको नाममा ९ करोड रुपैयाँ ऋण निकालिएको रहेछ, मलाई त थाहै थिएन,’ रघुले विगत सम्झे । शम्भुले रघुको नाममा आरके स्टील एण्ड फर्निचर उद्योग प्रालि दर्ता गराए । त्यही प्रालिको नाममा क्यापिटलबाट ९ करोड रुपैयाँ ऋण निकालियो । ऋणको सावाँ व्याज नतिरेर कर्जा दुरुपयोग गरेको आरोपमा रघुलाई पाटन उच्च अदालतको आदेशले जेल हालियो । ‘जेलमा ७ वर्ष बसेँ, म जेलमा परेपछि छोराले पढाइ विगारो, जेलमा हुँदा नै एकदम पेट दुखिरहन्थ्यो, छुटेपछि चेक गराउँदा मुटु चल्न छोडेछ, गंगालाल अस्पतालमा गएर मुटुको अप्रेसन गराएँ, अहिले व्याट्री राखेर मुटु चलाएको छ,’ रघुले भक्कानिदै भने । रघुले धेरैबेर कुरा गर्न सकेनन् । बीचमा उनको बोली रोकियो । बोल्न अप्ठेरो भएको संकेत गरे । अनि क्यामेरा बन्द गर्यौं । हामी उनकी श्रीमतीसँग कुरा गर्न लाग्यौं । ‘पहिला जिउँदो बाँघ समातेर ल्याउन सक्ने हुनुहुन्थ्यो, जेलबाट छुटेर आएरपछि यो हालत भयो, अहिले काम गर्न त परै जावस्, राम्रोसँग कुरा गर्न पनि सक्नुहुन्न,’ रघुकी श्रीमती भन्छिन् । ‘शम्भुले बिराए, ससुराली पिराए’ शम्भु केसीलाई विश्वास गरेर फस्नेहरुको नामावली लामो छ । शम्भुले दाजुभाइ, ज्वाइँ, छिमेकी, ससुराली जस्ता नाता सम्बन्धका कसैलाई पनि बाँकी राखेनन् । हरिहर खड्का हरिहर खड्का शम्भुका ससुराली पर्छन् । शम्भुको ससुराली गागलफेदीकाे सुवेदी गाउँ हो । सुवेदी गाउँका हरिहर नेपाल प्रहरीबाट अवकाश पाएर बौद्धमा सेक्युरिटी काम गर्थे । ‘बासुदेवले शम्भु भिनाजुलाई सहयोग गर्नुेपर्ने भयो भन्यो, आफ्नै नजिकको भाइले भनेको के नमान्नु भन्ने लाग्यो, मैले जागिर गरेको ठाउँमा नै आए, के के कागजमा सही गराए, पछि त यस्तो पो रहेछ उनीहरुको खेल,’ हरिहरले भने । हरिहरले बासुदेव भनेका शम्भुका साला बासुदेव खड्का हुन् । शम्भुको योजनाअनुसार नै हरिहरको नाममा केही जग्गा पास गरियो । उनको नाममा समृद्धि इन्भेष्टमेन्ट नामक कम्पनी स्थापना गरेर क्यापिटलबाट २९ असार २०६७ मा ९ करोड रुपैयाँ झिकियो र शम्भुकै समूहले चलायो । ‘एक रुपैयाँ खाएको पनि होइन, बैंक देखेको पनि थिइनँ, ९ करोड रुपैयाँ ऋण लिएर हिनामिना गरेको आरोप रहेछ, त्यही आरोपमा ७ वर्ष जेल परेर निस्किएँ,’ हरिहरले भने । विमल खड्का शम्भु केसीको जालमा परेका अर्का व्यक्ति हुन् विमल खड्का । उनको घर पनि सुवेदी गाउँ नै हो । ‘छोरा कोकाकोला कम्पनीमा काम गर्थे, बासुले पहिला नै फसाएको रहेछ, छोराको कमाइ खाने यो बुढेसकालमा छोरालाई भेट्न जेल जानु परेको छ, खाएको न विराएको आरोप लागेछ, म कति अभागी रैछु,’ विमलकी आमा रिता भन्छिन् । विमलको नाममा पनि शम्भुले केही जग्गा पास गरिदिएछन् । र, सँगै सात्विक डेभलपर्स प्रालि नामक कम्पनी पनि खोलिदिएछन् । सो कम्पनीको नाममा क्यापिटलबाट २६ मंसिर २०६५ मा ५ करोड ७५ लाख रुपैयाँ ऋण झिकेर शम्भुकै समूहले चलायो । ‘जागिर राम्रै थियो, घरबार चलेकै थियो, बासु बुवाको उलामालामा लागेर जेल पर्नुभयो, सानो छोरा पढाएर हुर्काउँदै बसेकी छु,’ विमलकी श्रीमतीले भनिन् । भाइकृष्ण खड्का भाइकृष्ण खड्का पनि शम्भुको ससुराली पर्ने सुवेदी गाउँकै हुन् । उनको नाममा शम्भुले सान्दर्भिक विल्डर्स प्रालि खोलिदिएर ९ साउन २०६६ मा ३ करोड ५० लाख रुपैयाँ ऋण झिकेर आफैले चलाए । भाइकृष्ण पनि खाइ नपाइको ऋण बोकेर बसेका छन् । पुस्करराज खड्का शम्भुका ससुराली पर्ने पुस्करको नाममा दुई किस्ता गरी ९ करोड रुपैयाँ ऋण झिकियो । पुस्करको नाममा पारिवारिक हाउजिङ डेभलपर्स नामक कम्पनी खोलेर शम्भुको समुहले ३० मंसिर २०६५ मा १ करोड ७५ लाख र ८ वैशाख २०६६ मा ७ करोड २५ लाख रुपैयाँ ऋण झिकेर चलायो । यस्तो थियो फसाउने सुत्र शम्भु केसीले आफन्त र नातागोता व्यक्तिहरुले आफूसँग हदबन्दीभन्दा बढी जग्गा भएको सुनाउँथे । जग्गा बढी भएकोले आफन्तको नाममा पास गरेर सुरक्षित राख्ने आफ्नो योजना भन्थे । सित्तैमा अर्काको जग्गा राखिदिदा के फरक पर्ला र भन्ने आफन्तहरुलाई पथ्र्याे । हदबन्दीभन्दा बढी जग्गा सरकारले खाइदिन लागेकोले जोगाउन सहयोग चाहिएको कथा शम्भुले बुन्थे । जग्गा पास गरिसकेपछि शम्भुले उनीहरुको नाममा कम्पनी स्थापना गरिदिन्थे । कम्पनी स्थापना भएकोसम्म कसैलाई थाहा हुन्थ्यो भने कसैलाई योसम्म पनि थाहा हुदैनथ्यो । कम्पनी स्थापना गरिसकेपछि त्यही कम्पनीको नाममा शम्भुले क्यापिटलबाट ऋण झिकेर फेरि जग्गा किन्थे । त्यो जग्गा फेरि अर्काे व्यक्तिको नाममा पास गराए फेरि त्यस्तै कम्पनी खोल्दै ऋण झिक्थे । भिडियाेः प्रकाश वाग्ले