सेबोनका अध्यक्ष हमालको कथा : एसएलसीमा सुदूरपश्चिम टप, रेलमा लभ परेपछि विवाह

काठमाडौं । भाग्य ठूलो कि मेहनत ? हामीले यो प्रश्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सोध्यौं । उनले जवाफमा भने, ‘भाग्यलाई पाउन धेरै मेहनत गर्नुपर्छ, मलाई सबैभन्दा धेरै मन पर्ने भनेकै मेहनत हो, म सजिलो काम गर्न मन पराउँदिन, जीवनमा चुनौती लिन मन पर्छ, सायद त्यो चुनौति र मेहनत नगरेको भए यो अवस्थामा हुन्थिन कि ।’ त्यस्तो ठूलो चुनौति के लिनु भएको छ ? हामीले प्रतिप्रश्न गर्यौं । उनले आफ्नो जीवनको कहानी सुनाए । सुदूरपश्चिमको डोटीदेखि थाइल्याण्डको बैंकक र नेपाल विद्युत प्राधिकरणको जागिरे जिन्दगीदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदासम्मका किस्साहरु स–विस्तार सुनाए । रमेश हमाल वि.सं २०२१ सालमा डोटीको सिलगढीमा जन्मिए । सामान्य परिवार । हमालका बुवा कर कार्यालयमा खरिदारका रुपमा कार्यरत थिए । रमेश ५ वर्षका हुँदा उनका बुबाको सरुवा कैलालीको धनगढीमा भयो । जतिबेला उनी सिलगढीमै कक्षा एकमा पढ्थे । सिलगढीबाट धनगढी झरेपछि उनको विद्यालय तहको पढाइ धनगढीको हसनपुरमा रहेको पञ्चोदय माद्यमिक विद्यालयबाट सुरु भयो । ‘घर परिवार सामान्य भएकै कारण बाल्यकालमा न धेरै दुःख न त धेरै सुख भोग गर्नु पर्यो तर संघर्ष भने धेरै गरेको छु, बुबा सरकारी जागिरे भएकै कारण पनि पढ्नु पर्छ भन्ने मानसिकता मेरो मनमा सानैदेखि थियो, हुन त दशैंमा कपडा किन्न पनि बुवासँग पैसा हुँदैनथ्यो, त्यो स्थितिबाट अहिले स्थितिमा पुगेको छु, कहिलेकाँही त लाग्छ मलाई अब अपुग के नै छ र,’ उनले मुस्कुराउँदै भने । छ जना भाइबहिनीहरु मध्येका उनी कान्छो भाइ हुन् । कान्छो भाइ भएकै कारण पनि उनले सबैबाट राम्रै माया पाए । पढाइमा पनि राम्रो लगनशिल भएका कारण उनलाई सबैले पढाइमा प्रोत्साहन गरे । एसएलसीमा सुदूरपश्चिम टप हमालले वि.स. २०३८ सालमा पञ्चोदय माद्यामिक विद्यालयबाट एसलएलसी (अहिलेको एसईई) दिए । त्यो साल उनका लागि कहिल्यै नबिर्सिने बन्यो । एसएलसीमा उनी सेती र महाकाली अञ्चल (सुदूरपश्चिम) टप भए । ‘म एसएलसीमा मेरो ब्याचको सेती र महाकाली अञ्चल टप हुँ, त्यतिखेर फष्ट डिभिजनको अंक ल्याउन पनि मुस्किल पर्थ्यो, त्यसअघि कोही पनि एसएलसीमा फस्ट डिभिजनमा पास भएका थिएनन्, अधिकांश विद्यार्थी सेकेण्ड र थर्ड डिभिजनमा पास हुन्थे, त्यो वर्ष मेरो लागि अविस्मरणीय बन्यो,’ उनले आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै भने । उनी एसएलसीमा बोर्ड टप हुनबाट ३ नम्बरले पछि परेको सनाउँछन् । ‘म विद्यालय तहमा पढ्दा जहिल्यै प्रथम हुन्थे, विद्यालयभर नै सबैभन्दा बढी नम्बर ल्याएर टप हुन्थेँ, बोर्डमा ३ नम्बर बढी आएको भए टप टेन भित्र पर्थेँ, पछि बढी किन पढेन हुँला भन्ने ग्लानी भयो,’ उनले पास भइसकेपछिको क्षण सुनाउँदै भने । एसएलसी पश्चात उनी काठमाडौंको अमृत साइन्स कलेज (अस्कल) मा फिजिक्स विषय लिएर पढ्न थाले । अस्कलबाट उनले विज्ञान विषयमा राम्रो अंक ल्याएर प्लस टु पास गरे । त्यसबेला कोलम्बो प्लानमा स्कलरसिप खुल्थ्यो । वि.सं २०४१ मा स्कलरसिपमा इन्जिनियरिङ पढ्न भारतको काेलकत्ता नजिकैकाे टाटानगर पुगे । उनले रिजनल इन्स्च्यिुट अफ टेक्नोलोजीमा पढे । उनले वि.सं २०४५ मा नै इन्जिनियरिङ पास गरे । उनी सोही वर्ष नेपाल फर्किए । विद्युत प्राधिकरणमा ८ वर्ष जागिर रमेश हमालसँग इञ्जिनिरयरका रुपमा नेपाल विद्युत प्राधिकरणमा काम गरेको पनि अनुभव छ । वि.सं २०४५ मा इञ्जिनियरिङ सकेर नेपाल फर्किए लगत्तै उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्न सुरु गरे । अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् । तिनै घिसिङ पनि भारतमा हमाल पढेकै कलेजमा पढेका थिए । घिसिङ आफुभन्दा पाँच ब्याच जुनियर भएको हमाल सुनाउँछन् । विद्युत प्राधिकरणमा प्रोजेक्ट इन्जिनियरिङ भएर उनले ८ वर्ष काम गरे । उनलाई ३ हजार पाँच सय तलब दिइयो । ‘८ वर्षको अवधिमा नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको ट्रान्समिसन लाइन ४ वर्ष ६ महिनामा सम्पन्न गरेको थिएँ, अफिसले मलाई राम्रो काम गर्छ भन्ने बुझेपछि त्यो बेलाको सबैभन्दा ठूलो प्रोजेक्ट कोर्डिनेटरको जिम्मेवारी दियो, त्यो प्रोजेक्ट काठमाडौं उपत्यकामा लागू भएको थियो, त्यो प्रोजेक्ट पनि समयमा सकेँ,’ उनी भन्छन्, तर पछि सरकारी सेवामा खासै कदर नहुने, प्रमोशन गर्दा पनि आफन्तहरुको पावर लगाउनुपर्ने परिस्थिती थाहा पाएपछि पछाडि परिने महसुस भयो र जागिर नै छोडिदिएँ ।’ ३ महिनामै स्टुडेन्ट युनियनको लिडर उनले वि.सं २०५४ मा नेपाल विद्युत प्राधिकरणको जागिर छोडे । उनी जागिर छाडेपछि स्कलरसिपमा एमबिए पढ्न थालेको बताउँछन् । ‘इञ्जिनियर मात्रै भएर हुँदैन, अब एमबिए फाइनान्स पढ्छु भन्ने लाग्यो, अन्तर्राष्ट्रिय स्कलरसिपको लागि आवेदन दिएँ,’ उनले भने, ‘एआइटीबाट सोही वर्ष पूर्ण छात्रवृति आयो, ‘त्यसपछि सोही कलेजमा पढ्न गएँ ।’ एशियन इन्स्च्यूट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्ड एशियाको टप विश्वविद्यालय हो । एउटै कक्षामा मात्रै ३०/३५ देशका विद्यार्थी हुने गरेको उनी बताउँछन् । २४ सै घण्टा कलेजभित्रै बसेर पढ्नु पर्ने बाध्यता थियो । सो कलेजमा स्टुडेन्ट युनियरको लिडरका लागि चुनाव नजिकिँदै थियो । उनका साथीहरुले हमाललाई अध्यक्षका लागि लड्न आग्रह गरे । सुरुमा आफुलाई जोक लागेको उनी स्मरण गर्छन् । ‘कलेजमा भर्ना भएको तीन महिना मात्रै भएको छ, साथीहरु अध्यक्षमा लड्नु भन्छन्, सुरुमा त मलाई जोक जस्तै लाग्यो, चौथो सेमेस्टरका साथीहरु पनि अध्यक्षका लागि उठेका थिए तर पछि मैले ७२ प्रतिशत मत ल्याएर अध्यक्ष बनेँ, ‘एआइटिमा गएर स्टुडेन्ट यूनीयनको लिडर बन्छु भनेर कल्पना नै गरेको थिइनँ,’ उनी भन्छन्, ‘ तर, आँट गरेपछि सम्भव हुने रहेछ भन्ने त्यो घटनाबाट पनि सिकेँ ।’ उनी एमबिएमा पनि टप र्याङ्कमा पास भए । एमबिएमा ५० देशका विद्यार्थीहरुमध्येमा उनी दोस्रो बने । आफु ०.४ अंक कम आउँदा गोल्ड मेडलिष्ट बन्न चुकेको उनी सुनाउँछन् । यूनाइटेड नेशनमा पनि काम गरेको अनुभव एआईटीमा एमबिए सकिएपछि उनले यूनाइटेड नेशन (यूएन) मा काम गर्न थाले । उनलाई जर्मन प्रोफेसरले पिएचडी गर्न सुझाएका थिए । तर, उनले पिएचडी गर्न रुचाएनन् । एशिया प्यासिफिकका ३० वटा देश हेर्नका लागि बैंककमा यूएनको रिजनल अफिस थियो । वि.सं २०५६ मा उनी फण्ड म्यानेजर बनेर यूएनमा काम थाले । उनले यूएनमा १४/१५ महिना काम गरेपछि बृटिस कम्पनीले उनलाई अफर गर्यो । ‘मेरो चरित्र, व्यक्तित्व हेर्दा फ्रि इकोनोमीमा लिडरसिप काउण्टडाउन हुन्छ जस्तो लाग्थ्यो, बृटिस कम्पनीमा चिफ फाइनान्स अफिसर (सीएफओ) भएर काम गर्न थालेँ, सीएफओ भएको डेढ वर्षभित्रै चिप एक्ज्यूटिभ अफिसर (सीईओ) बनेँ, कम्पनी मेरो काम देखेर प्रभावित भयो,‘ उनी भन्छन्, ‘मेरो कारणले नै सो कम्पनीले ठूलो फड्को मार्यो ।’ हमालले वि.सं २०६० देखि २०७१ सम्म सोही कम्पनीमा सीईओका रुपमा काम गरे । सो कम्पनीको सिंगापुर, हङकङ, भियतनाम, इण्डोनोसिया, मलेसिया, थाइल्याण्ड, इण्डिया, श्रीलङ्का, नाइजेरिया, क्यारेबिन लगायत १२/१३ वटा देशमा प्रोजेक्ट तथा लगानी थियो । १५ वर्ष काम गरेपछि उनले सो कम्पनी छोडे । त्यसपछि उनले आफ्नै कम्पनी स्थापना गरे । उनले सन् १९७१ मै सो कम्पनी छोडेर आफ्नै कन्सल्टिङ डिभिजन सुरु गरे । उनले इन्टरनेशन फाइनान्सियल कन्सलटेन्सी भनेर ओमस्टोन कम्पनी स्थापना गरे । उनले बैंकक, सिंगापुर, श्रीलङ्का लगायत देशमा कन्सल्टिङ रलगानीकर्ताहरुलाई विज्ञका रुपमा सुझाव सल्लाह दिने काम गर्थे । एनआरएनएको पनि अध्यक्ष थाइल्याण्डमै बस्दा उनले गैर आवासिय नेपाली संघ (एनआरएनए) को स्थापना गरे । उनी एनआरएनए थाइल्याण्डको दुई पटक अध्यक्ष समेत बने । उनले एनआरएनएको अध्यक्ष भएर सन् २००७ देखि सन् २०१० सम्म दुई कार्यकाल नेतृत्व गरे । ‘एनआरएनए सामाजिक संस्था हो, चुनाव गरेर लिडरसिपका लागि लड्नु हुन्न भन्ने मेरो सोच हो, उनी भन्छन्,‘एनआरएनएको अध्यक्ष बन्न चुनाव गर्नु हुन्न ।’ त्यसका साथै उनले थाइ-नेपाल चेम्बर अफ कमर्सको पनि स्थापना गरे । थाइल्याण्ड र नेपालको बीचमा पर्यटक बढाउने, लगानी बढाउने, आपसी सम्बन्ध बढाउने उद्देश्यले थाइ-नेपाल चेम्बर अफ कमर्सको स्थापना भएको उनी बताउँछन् । उनी सो संस्थाको कार्यकारी उपाध्यक्ष काम गरेको पनि सुनाउँछन् । रेल यात्रामा प्रेम, फुटबलको क्रेजी भारतकाे काेलकत्ता नजिकैकाे टाटानगरमा पढ्दा हमाल रेलमा यात्रा गर्थे । रेल यात्राकै क्रममा उनको लभ पर्यो । पछि उनले नेपाल विद्युत प्राधिकरणमा काम गर्दा गर्दै विवाह गरे । ‘मेरी प्रेमिका नैनीतालमा पढ्थिन, म टाटानगरमा पढ्थेँ, हाम्रो रेलमा भेटेपछि लभ परेको थियाे, पछि घरको सहमतिमा विवाह गर्यौं,’ उनले ती दिनहरु सम्झिँदै भने,‘ मेरो सफलतामा मेरो श्रीमतिको ठूलो हात छ ।’ हमालको श्रीमतिले पनि पूर्ण छात्रवृतिमा जेण्डर एण्ड डेभलपमेन्ट स्टडिज विषयमा स्नातकोत्तर गरेकी छन् । अहिले उनले हमालको बिजनेस सम्हालिरहेकी छन् । हमालका छोराछोरी अमेरिकामा बस्छन् । हमाल फुटबल क्रेजी हुन् । अहिले पनि उनी समय भएको समयमा फुटबल खेल्ने गर्छन् । उनी कोलकत्तामा पढ्दा आफ्नो कलेजको फुटबलको क्याप्टेन भएको पनि उनी सुनाउँछन् । ‘म सानैदेखि फुटबल खेल्न धेरै रुचाउँथे, जागिर खान्छु भन्ने कल्पना नै थिएन, दिनरात फुटबल खेल्थेँ, फुटबल खेल्न सौखिन भएपनि किन्ने पैसा हुन्थेन, फुटबल खेलेर जिविकापार्जन गर्न सकिन्न भन्ने कुरामा भने म सजग थिएँ, त्यसपछि फुटबललाई प्यासनकै रुपमा राखेर करियर बनाउन लागेँ, त्यतिबेला फुटबल खेल नछोडेको भए म अहिले ठूलो खेलाडी बन्थेँ होला,’ उनी मुस्कुराउँदै भन्छन् ।’ उनी टाटानगरमा पढ्दा आफु टेबलटेनिसको पनि च्याम्पियन भएको सुनाउँछन् । फुटबलसहित अन्य खेलकुदमा पनि नियमित भाग लिँदा पढाइमा सोच अनरुपको अंक ल्याउन नसकेको उनी सुनाउँछन् । नेपालको मायाले तानेपछि… अध्यक्ष हमालको परिवार । विदेशमा हमालको सुविधा सम्पन्न किसिमले जीवन चल्दै थियो । आफ्नै बिजनेस । सुखी र सानो परिवार । साथीभाइहरुका माझ पनि लोकप्रिय । नपुगेको केही थिएन । तर, हमाललाई एकाएक नेपाल फर्किन मन लाग्यो । ‘विदेशमा बसेर एउटा हाइट बनाइयो, अन्तर्राष्ट्रिय पहुँच भइसक्यो, तर, मनमा एउटा अधुरो सपना थियो कि नेपालका लागि केही गर्न सकिएन, नेपालमै केही गर्नु पर्छ भन्ने लाग्यो, नेपालमै जन्मिएँ, नेपालमै जन्मिएका कारण देश विदेश पुगेँ, तर नेपालका लागि केही गर्न नसकेको अनुभुति भयो, नेपालको मायाले तान्यो र २०७२ सालमा स्वदेश फर्किएँ,’ हमाल भन्छन्, अब जे गर्छु नेपालमै गर्छु ।’ अब नेपालमा आफु पनि लगानी गर्ने र विदेशीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने उनको योजना छ । उनले आफ्नो विदेशमा रहेको ओमस्टोन कम्पनीलाई ओमस्टोन एशियाको नाम दिएर लगानी गर्न थालेका छन् । उनकै लगानीमा काभ्रेको धुलिखेलमा अहिले सुविधासम्पन्न रिसोट बनिरहेको छ ।  उनले अहिले विदेशबाट परिवार पनि ल्याएर ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । गत वर्ष मात्रै उनी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भए । अर्थमन्त्री जनार्दन शर्मा समक्ष बोर्डका अध्यक्षका रुपमा सपथ लिँदै हमाल । ‘मलाई नेपालमै केही गर्ने योजना थियो, ८/९ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले नै मलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन आग्रह गर्नु भयो, उहाँले क्यापिटल मार्केट विकास हुन सकेन, बोर्डमा राम्रो नेतृत्व चाहियो, तपाईंमा अन्तर्राष्ट्रिय विज्ञता छ अध्यक्ष बन्नु पर्यो भनेपछि मैले कम्पनीको सबै काम श्रीमतिलाई सुम्पिएर बोर्डको अध्यक्ष बन्ने सहमति जनाएँ, ‘उनी भन्छन्, अब नेपाली पुँजी बजारको विकास लागि काम गर्छु ।’

टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ

काठमाडौं । २७ वर्षकै उमेरमा एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ! यो जिज्ञासा, प्रश्न र चासो तपाइँमा पनि पक्कै पलाउँछ । यही प्रश्न तिनै सीईओ विनय खड्कालाई पनि धेरैले गर्छन् । अझै चाखलाग्दो कुरा त के भने विनयले काम सुरु गरेको ४ वर्षमै खल्ति डिजिटल वालेको सीईओ बन्ने अवसर पाए । ‘२७ वर्षकै उमेरमा कसरी सीईओ बन्नु भयो, काम गरेको ४/५ वर्षमै सीईओ बन्न् सम्भव छ र ? भनेर धेरैले प्रश्न गर्नु हुन्छ, मैले पनि नेपालमा फिनटेक इन्ड्रस्टी आएको पनि ५/६ वर्ष नै त भयो भनेर जवाफ दिन्छु, व्यक्तिसँग अनुभव छैन भने ज्ञानले काम चलाउने हो,’ सीईओ बनिसकेपछि आफ्नो अनुभव सुनाउँदै खड्काले भने । खड्का आफुले उमेरलाई नम्बर मात्रै नभने पनि अनुभव र वर्षलाई भने तुलना गर्न नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘एक दिनमा २४ घण्टा हुन्छ, कोही मान्छेले बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्छ र अर्कोले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्छ भने त्यसमा उमेर र अनुभव तुलना गर्न मिल्दैन, कुनैले एक वर्षमा सिक्ने काम अर्कोले एक महिनामा पनि सिक्न र प्राप्त गर्न सक्छ ।’ ‘जे जस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आइरहेका छन्, एउटा कम्पनीको सीईओ त बनेँ तर सिक्नु पर्ने र गर्नु पर्ने काम धेरै छन्, अझै पनि म मेरो पफर्मेन्सप्रति सन्तुष्ट छैन,’ उनले थपे । खल्ति डिजिटल वालेटका सीईओ खड्काको घर नुवाकोटको शिवपुरीमा हो । वि.स. २०५१ सालमा जन्मिएका खड्का गत वर्षको कात्तिकमा खल्तिको सीईओ बने । उनी सीईओ बेनपछि अहिले खल्तिको विजनेस विस्तारमा रणनीतिक किसिमले काम गरिरहेका छन् । शिक्षित परिवारमा जन्म विनयका बुबा सरकारी शिक्षक । आमाले पनि सुरुमा गाउँमै बुवासँगै पढाउँथिन् । गाउँमा पढाइका लागि खासै राम्रो वातावरण नमिलेपछि विनयकी आमाले छोराछोरी (विनय र विनयकी बहिनी) लिएर काठमाडौं आइन् । ‘गाउँमा पढाइको लागि राम्रो वातावरण थिएन, नुवाकोट भएपनि त्यतिखेरै टुकी बालेर पढ्नु पर्ने अवस्था थियो, पछि आमाले बहिनी र मलाई काठमाडौं लिएर आउनु भयो,’ उनले आफ्नो बाल्यवास्था सम्झदै भने । सुरुमा उनीहरु काठमाडौंको बालाजुमा बसे । नुवाकोटको स्याउरेभूमि माद्यामिक विद्यालयमा कक्षा ४ मा पढेका उनी कक्षा ५ मा काठमाडौंको बालाजुमा पढे । काठमाडौंमा बसेर खर्च धान्न नसकेपछि उनकी आमाले नक्सालमा काम गर्न सुरु गरिन् । फेरि उनीहरु बालाजुबाट नक्सालमा बस्ने भए । उनी ६ कक्षामा काठमाडौं इङ्गलिस स्कूलमा भर्ना भए । उनले १० कक्षासम्म त्यही पढे । आमाले पनि कमाउन थालेपछि खर्च चलाउन सहज भयो । ‘कक्षा ८ सम्म म पढाइमा एकदमै कमजोर थिएँ, गाउँमा पनि खासै पढ्थेनँ, ८ कक्षापछि भने पढ्नु पर्छ भन्ने महसुस भयो, पछि पढाइ राम्रो हुँदै गयो,’ उनले आफ्नो विगत स्मरण गर्दै भने । जीवनको त्यो उत्कृष्ट अंक सानोमा विनयलाई धेरैले कमजोर विद्यार्थीका रुपमा चिन्थे । उनी भन्छन् ‘पछाडिबाट गन्दा म एक/दुई नम्बरमा पर्थें होला, कक्षा ‘बंक’ गर्ने हुन्थ्यो, स्कूल नजिकै खोला थियो, पढ्न छाडेर पौडी खेल्न जान्थें, बुबाको कक्षा पनि धेरै दिन बंक गरेर धेरै पटक पौडी खेल्न गएको छु ।’ तर उनी सधैं कमजोर बनेन् । कक्षा १० अर्थात् एसएलसी (एसईई) मा आफ्नो विद्यालयको सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी भने विनय । उनले एसएलसीमा ८३ प्रतिशत अंक ल्याए । जुन आफ्नो जीवनको सबैभन्दा बढी अंक भएको उनी सुनाउँछन् । ‘जिन्दगीको सबैभन्दा बढी अंक १० कक्षामा आयो, ८ कक्षासम्म पढ्नु पर्छ भन्ने बुद्धि आइसकेको थियो, गाउँमा पढ्दा कमजोर विद्यार्थी थिएँ तर ९/१० कक्षासम्म आइपुग्दा मेहेनती विद्यार्थीका रुपमा परिचित भइसकेको थिएँ, एसएलसीमा म पढ्ने स्कूलबाट दुई जनाले मात्रै डिस्टिङसनमा पास गर्यौं,’ उनले भने । ‘अहिले पनि पुरानो सर्टिफिकेट हेर्यो भने आफैलाई हाँसो लाग्छ, बल्ल-बल्ल पास हुन्थेँ, आफ्नै बुबा शिक्षक भइसकेपछि पढ्नु पर्छ भन्ने महसुस हुन्थेन, पढाइ भन्ने कुरा आत्मबोध नगर्दासम्म नहुने रहेछ, उनले मुस्कुराउँदै भने, ‘त्यतिखेर प्रथम भएको भएपनि के हुन्थ्यो होला र ।’ विनयले ‘प्लस टु’ पढ्नका लागि चाबहिलको सेन्ट लरेन्स कलेजमा भर्ना गरे । व्यवस्थापन विषयमा कम्प्युटर साइन्स विषय लिएर उनले पढ्न सुरु गरे । १२ कक्षा पनि उनले डिस्टिङसनमै पास गरे । सिए बन्ने रहर कक्षा १२ उत्कृष्ट अंकका साथ पास गरेपछि उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहर पलायो । घरको आर्थिक अवस्था मध्यम खालको थियो । बुबा नुवाकोटमै पढाउँथे । कक्षा १२ को परीक्षा दिएकै वर्ष उनी सीएमा भर्ना भए । सीएसँगै उनले शंकरदेव कलेजमा व्यवस्थापन संकायमा पनि भर्ना गरे । तर, शंकरदेव कलेजमा एक दिन पनि नगएर परीक्षा दिएको उनी सुनाउँछन् । ‘सीए बन्ने मेरो रहर थियो, सीए फेल भयो भने विकल्पका रुपमा शंकरदेवमा भर्ना गरेको थिएँ तर कलेज कहिल्यै गइनँ, नेपालमा इञ्जिनियर पढ्ने वा विज्ञान पढेर डाक्टर पढ्ने इच्छा हुनेले आर्थिक अवस्थामै कारण पढ्न नसक्ने अवस्था थियो, धेरै खर्च हुने तर त्यसको प्रतिफल के कस्तो आउने भन्ने सुनिश्चित पनि हुन्थेन, चार्टर्ड एकाउन्टेन्ट पढ्नका लागि ३/४ लाख रुपैयाँ भयो भने प्रशस्त हुन्थ्यो, बरु मेहेनत धेरै गर्नु पर्थ्यो,’ त्यसैले सीए नै रोजेँ,’ उनले भने । उनले सीएआई कोचिङ इन्स्टिच्यूटमा सीए पढे । पास पनि भए । सीए पढ्दा पढ्दै उनले जोशी एण्ड भण्डारी फर्ममा आर्टिकलसीप गरे । सोही बेला उनले देशका विभिन्न ५०/६० फर्मसँग जोडिएर अडिट गर्ने अवसर पाए । उनी अडिटको सिलसिलामा सुदूरपश्चिमको दार्जुला बझाङदेखि पूर्वी नेपालसम्म पुगे । ब्याजका टपर उनी सन् २०१७ का सिएमा आफ्नो ब्याचका टपर हुन् । तर, टपर बन्नका लागि उनले धेरै अंक भने ल्याउनु परेन । ‘म सेकेण्ड डिभिनवाला नेपाल टपर हो, अन्य क्षेत्रमा टप भनेपछि ९०/९५ प्रतिशत अंक आउँछ तर सीएमा त्यति धेरै आउँदैन, ५० प्रतिशत आएन भने फेल भइन्छ, ५२/५३ प्रतिशत आयो भने टप भइन्छ, त्यतिखेर नियमिततर्फ दुई जनामात्रै पास भएका थियौं, उनले भने, ‘म गोल्ड मेडलिष्ट र अर्को साथी सिल्भर मेडलिष्ट ।’ उनलाई आफ्नो रजिष्ट्रेसन नम्बर (१०२६) अहिलेसम्म स्मरण छ । त्यतिखेर सीएको नतिजा हरेक वर्षको अगष्ट १५ मा आउँथ्यो । तर, त्यो वर्ष अगष्ट १४ मा आएको उनलाई अहिलेसम्म सम्झना छ । ‘रिजल्ट आउँछ भन्ने कुनै मतलब नै थिएन, म आफ्नै तालमा थिएँ, एक जना दाईले फोन गरेर बधाइ दिनुभयो, मलाई जिस्केको जस्तो भयो, पछि आफैले देखेपछि धेरै खुसी भएँ, मेरो लागि त्यो अविस्मरणीय क्षण थियो,’ उनले सन् २०१७ अगष्ट १४ लाई स्मरण गर्दै भने । बैंकमा पनि काम गरेको अनुभव सीए टप भएपछि विनयलाई धेरै ठाउँबाट कामको अफर आयो । त्यो अफर एनआइसी एशिया बैंकबाट पनि आयो । उनले सोही बैंकमा काम गर्ने योजना बनाए । सन् २०१७ मै एनआइसी एशिया बैंकमा काम सुरु गरे । उनले एनआइसी एसिया बैंकमा ४/५ महिना काम गरे । ‘४/५ महिना काम गरेपछि बोर भयो, त्यसपछि काम छोडेँ, हरेक डिपार्टमेन्टको काम गर्ने तरिका विश्लेषण गरेर त्यसलाई परिवर्तन गर्नु पर्ने विभागमा म काम गर्थें, त्यो मेरा लागि ठूलो सिकाइ बन्यो, त्यसपछि डिजिटल सेगमेन्ट पनि हेर्न थालेँ तर पछि काम छोडेँ, उनले भने । उनले सन् २०१८ को सुरुवातमा एनआइसी एशियाबाट काम छाडेर इसेवामा गए । इसेवामा पनि कर्पोरेट डिपार्टमेन्टको नेतृत्वका रुपमा जिम्मेवारी पाए । इसेवामा पनि उनले एक वर्ष काम गरे । जहाँ आफूलाई एक्सपोज हुन धेरै सहयोग पुगेको उनी सुनाउँछन् । ‘एनआइसी एशिया बैंकमा आकर्षक तलब, ऋण सुविधा, बोनस लगायतका धेरै राम्रा सुविधा थिए तर ती सबै सुविधा छोडेर कम तलबमा म इसेवामा काम गर्न गएँ, किनकी मैले सिक्नु थियो, मेरो त्यो निर्णयले नै मलाई आजको दिनमा ‘पेअफ’ गरिरहेको छ, पैसा कमाउने, करिअर बनाउने र सन्तुष्ट हुने भन्ने कुरा फरक हुन्, उनी भन्छन्, ‘एउटा लेभलमा पैसा चाहिन्छ त्यसपछि तपाइँले खुसी र भिजन हेर्ने हो । फेरि उनी इसेवाबाट काम छोडेर एनआइसी एसियाम बैंकमै फर्किए । ‘मैले अहिलेसम्म ग्राउण्ड लेभलमा बसेर काम गरेको छैन, सिनियर पोजिसनमै रहेर काम गरेँ, एनआइसी एसियामा पनि हेड अफ डिजिटल मार्केटिङका रुपमा साढे २ वर्ष काम गरेँ,’ उनले भने । २७ वर्षको उमेरमा सीईओ उनी गत वर्ष डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को सीईओका रुपमा नियुक्त भए । नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरमा सीईओ बन्ने व्यक्ति हुन् विनय । धेरैले उनलाई सानै उमेरमा सीईओ बनेकोमा प्रश्न र जिज्ञासा राख्छन् । तर, उनी भन्छन्,‘ मैले काम गरेको ४/५ वर्ष भयो त्यसअघि पनि तीन वर्ष अडिटरका रुपमा ठूला–ठूला कम्पनीको अडिट गरेको छु, फिनटेक इन्ड्रस्टी आएको पनि त ५/६ वर्ष मात्रै भयो ।’ उनी खल्तीमा काम गर्ने हरेक कर्मचारी आफ्नो उमेरको भएकै कारण पनि आफूलाई काम गर्न सहज भएको सुनाउँछन् । ‘ट्यालेन्ट हुनु र पास हुनु फरक विषय हुन्, सबै ट्यालेन्ट मान्छे पास हुन्छन् भन्ने पनि हुँदैन, रिजल्ट ल्याउनु र दुःख गर्नुमा फरक छ, सबैको आ-आफ्नो फर्मुला हुन्छ तर मलाई काम गर्दै गर्दा फिल्डमा ब्याक हुनु परेको छैन, सबैले विश्वास गर्नु हुन्छ, धेरै कुरा बुझेर नै २७ वर्षको उमेरमा एउटा कम्पनीको सीईओको रुपमा सुम्पिनु पनि विश्वासको कारण नै हो, ‘उनी भन्छन्, ‘सीए टप हुुनु र मेरो काम गराइमा पनि धेरै समानता छ ।’ उनी व्यक्तिको पफर्मेन्सको कारण नै पोजिसन (पद) पाउने धारणा राख्छन् । तर, अहिले पनि आफू आफ्नो पफर्मेन्ससँग सन्तुष्ट नभएको धारणा राख्छन् । विनय भन्छन्, ‘गर्नु पर्ने धेरै छ, सम्भावनाहरु धेरै छन् तर तुलना कोसँग गर्ने भन्ने हो ।’ गत वर्ष हृदयघातको कारण उनका बुबाको कलिलै उमेरमै निधन भयो । बुबाको निधनले एक किसिमको जिम्मेवारी उनीमाथि थपिएको छ । आमा वन मन्त्रालयमा कार्यरत छिन् । परिवारसँगै आफ्नो काममा सन्तुष्ट हुने प्रयत्नमा विनय छन् । उनलाई ‘पोडकाष्ट’ सुन्न खुबै मन पर्छ । त्यस अलवा ट्रेकिङमा जान र युवाहरुसँग ‘इन्टरयाक्ट’ गर्न उनलाई धेरै मन पर्छ । अब उनी खल्ती डिजिटल वालेटको विजनेस विस्तारमा नै फोकस हुने सुनाउँछन् । ‘कर्मचारी, सेयरधनी र ग्राहक लगायतको जिम्मेवारी नेतृत्वमा नै हुनुपर्छ, एप्रोजमा परिवर्तन अवश्य नै हुन्छ, नेतृत्व सम्हालिसकेपछि चुनौति अवश्य नै हुन्छन् तर चुनौतिहरुसँगै रमाएर काम गर्न मलाई मज्जा लाग्छ,’ उनी भन्छन्,‘ जेजस्ता अवसर र चुनौतिहरु आएपनि मेरा लागि एक्साइटमेन्टका रुपमा नै आउँछन् ।

हंगर सुदीप, डुब्दै उठ्दै

सुदीप आचार्य पोखरामा जन्मिए । बुढानिलकण्ठमा पढे । अमेरिकाबाट इन्डस्ट्रियल इन्जिनियरिङ ब्याच्लर डिग्री गरेर नेपाल फर्किए । उद्यमी कृष्ण आचार्यको छोरा सुदीप पनि व्यवसायबारे नै योजना बुन्थे । ‘बुबाले रोटी प्याकेजिङ उद्योगबारे सोच्नु भएको रहेछ । मैले अमेरिकामा यस्तो रोटी किनबेच भएको देखेको थिएँ । नेपालमा पनि चल्छ भनेर हामीले ‘त्रोतिया’ ब्राण्डमा रोटी प्याकेजिङ उद्योग खोल्यौ ।’ अमेरिकाबाट फर्केको तन्नेरीले भक्तपूरमा रोटी उद्योग खोले । सुदीपको पहिलो उद्योग घाटामा गयो । ‘अमेरिकाबाटै मेसिन ल्याएका थियौं । दक्ष जनशक्ति पनि अमेरिकाबाट ल्याएका थियौं । तर धेरै विषयमा तालमेल मिलेन । उद्योग सञ्चालनमा आएदेखि नै समस्याहरु आए । सन् १९९७ ताकाको कुरा हो । करिब साढे २ करोड घाटा खाएर उद्योग बन्द गर्यौं’ त्यतिबेलाको नैरास्यता अहिले पनि उनकाे अनुहारमा झल्कियो । नेपालको बजार अहिलेको जस्तो विकसित थियो भने त्यो उद्योग चल्न सक्ने तर त्यतिबेला बजार विकास नै नभएकोले उद्योग नचलेको उनको विश्लेषण छ । त्रोतिया रोटी उद्योग बन्द गरेर उनी फेरि अमेरिका गए । इन्डष्ट्रियल इन्जिनियरिमा मास्टर डिग्री हासिल गर्ने क्रममा उनले अमेरिका, जापान, यूरोपका धेरै देशहरुमा व्यापार गर्न भ्याए । नेपालमा डुबेकोभन्दा धेरै ठूलो रकम उनले मास्टर डिग्री गर्दै गर्दा व्यापार गरेर कमाए । ‘हिसाबै त राखिन तर मनग्य कमाएँ,’ मुस्कुराउँदै उनले भने । त्यतिबेला नेपालमा पस्मिना र गार्मेन्ट व्यापार मौलाएको थियो । अमेरिकामा बसेर उनले यूरोप, जापानसम्म नेपाली गार्मेन्ट तथा पस्मिना बेचेँको अनुभव सुनाए । ‘नेपालमा ४० डलरमा किनेको सामान अमेरिका हुँदै जापानमा लगेर ३०० डलरसम्ममा बेचेँ’ उनले २२/२३ वर्ष पुरानो व्यवसायिक यात्रा सम्झिँदै सुनाए । त्यतिबेलासम्म उनको विजनेश माइन्ड विकसित हुँदै थियो । छोराको व्यापार चम्केको देखेर बुबा कृष्ण आचार्यले गार्मेन्ट उद्योग खोल्न लागेका थिए । तर सुदिपले बुबालाई रोके । भनेछन–‘यो फेसन विजनेश हो । फेसन छिटोछिटो परिवर्तन हुन्छ । यस्तो प्रकृतिको उद्योगमा लगानी गर्दा जोखिम बढी हुन्छ । चलुन्जेल किन्ने–बेच्ने, फेसन चेन्ज भएपछि छोड्ने ।’ सन् २००० पछि धेरै नेपाली गार्मेन्ट उद्योगीहरु डुबे तर सुदीप डुबेनन्, बुबा पनि जोगिए । सन् २००२ मा मास्टर्स तहको अध्ययन सकेर सुदीप नेपाल फर्किए । त्यतिबेला उनले बिन्दाबासिनी हाइड्रोपावरको प्रबन्ध निर्देशकको जिम्मेवारी लिए । काम फटाफट हुँदै गयो । प्रोजेक्ट पीपीए गर्ने तहमा पुग्यो । जलविद्युत क्षेत्रमा भर्खरै निजी क्षेत्रको लगानी हुँदैथियो । त्यहिबेला माओवादी–सरकारबीच सशस्त्र द्धन्द चर्केदै गयो । लगानीकर्ताले पैसा नहाल्ने भए । सुदीपको दोस्रो प्रोजेक्ट पनि अधुरै रह्यो । त्यहिबेला नै सुदीपले भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीसँग बिहे गरे । लिमाको उच्चशिक्षा चीनमा भइरहेको थियो । सुदीप पनि चीनमा पुगे । लिमालाई चिनियाँ भाषाको ज्ञान थियो, सुदीपको अंग्रजीमा दख्खल । नेपाली दुबैको मातृभाषा भैहाल्यो । दुबै जना मिलेर चीन, अमेरिका र नेपाली बजारलाई जोड्ने प्रकारको व्यवसायको बारेमा सोच्न थाले । तर, त्यसतर्फ कुनै प्रगति भएन । उनी सन् २००५ लिमालाई साथमै अमेरिका पुगेको थिए । त्यहिबेलामा तत्कालिन राजा ज्ञानेन्द्रले ‘कु’ गरे । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी (ससुराबुवा) लाई घरमै नजरबन्दमा राखियो । ‘२/३ महिनापछि नै फर्केर आउने सोंचका साथ हामी अमेरिका गएका थियौं । तर नेपालमा विकसित राजनीतिक घटनाक्रमले नेपाल फर्कन मन लागेन । हामीले अमेरिका नै बस्ने निर्णय गर्यौं । र, एउटा टिम बनाएर कार्पेटको कारोबार गर्न थाल्यौं’ उनले भने–‘झण्डै ३ वर्षजति सो कारोबार गर्दैगर्दा हामी अमेरिकामा नै सेट भए जस्तो लाग्थ्यो ।’ सन् २००८ मा नै अमेरिकाको हाउजिङ क्षेत्रमा ठूलो मन्दी आयो । कार्पेट व्यापार थला परेको थियो । उनी फूर्सदिला भएका थिए । पारिवारिक भेटघाट गर्न उनी नेपाल फर्किए । त्यतिबेला नेपालमा लोकतन्त्र स्थापना भईसकेको थियो । व्यवस्था परिवर्तनसँगै नेपालको अवस्था परिवर्तन आउनेमा उनी आशावादी बने । र, निर्णय गरे–‘अब नेपालमै व्यवसाय थाल्छु, यहि केही गर्न सकिन्छ ।’ उमेर र अनुभवको हिसाबले उनमा परिपक्वता आईसकेको थियो । उनले हाइड्रो, बैंकिङ, घरजग्गा लगायतको धेरै क्षेत्रमा राम्रो प्रतिफलको सम्भावना देखे । ‘शुरुमा मैले हाइड्रोपावरमा नै काम गर्ने हिसाबले निर्णय गरें । त्यहि बीचमा केही जग्गाको कारोबार पनि गरें, जहाँबाट मनग्य सफलता मिल्यो । डिसहोममा बुबाले लगानी गरिसक्नु भएको थियो । तर लगानी डुब्दै गएको थियो । ‘एक ढंगले यो फेल प्रोजेक्टको रुपमा थियो’ उनले भने–‘शुरुवातको अवस्थामा म यसको सल्लाहकारको भूमिकामा प्रवेश गरेको थिएँ ।’ उनले यस्तो प्रविधि अमेरिकामा देखेको थिए तर सेवा प्रयोग गरेका थिएनन् । नेपालमा यसको सम्भावना छ भन्ने उनलाई पनि लाग्यो । तर यसमा कति लगानी चाहिन्छ, कुन विन्दुमा कम्पनीले नाफा कमाउन सक्छ लगायत व्यवसायिक ज्ञान अरु लगानीकर्तालाई जस्तै सुदीपलाई पनि भएन । ‘यो विषयमा म पनि चुकेको हुँ’ उनले बिना हिचकिचावट कुरो खोले । दुई कम्पनी मर्ज हुँदा ७२ करोड पुँजी हुनुपर्नेमा ३६ करोडको भएछ । मर्ज कसरी हुन्छ भन्ने सरकारी मान्छेलाई पनि थाहा नभएको र निजी क्षेत्रलाई पनि थाहा नभएको बेलामा डिस नेपाल र होम टीभी मर्ज भएर डिसहोम बनेकोले त्यसमा धेरै दुःख पाएको उनले सुनाए । मर्जपछि धेरै घाटा भयो । उनले लामो सास लिँदै भने–‘यो कम्पनी त डुबेकै हो नि । लगातार ५/६ वर्षसम्म पुँजी थपेको थपै गर्यौं । सोचेभन्दा धेरै लगानी भयो । अब बल्ल ठिक अवस्थामा पुगेको छ ।’ कम्पनीको सेयर पुँजी करिब ३०० करोड रुपैयाँ छ । ऋण करिब २०० करोड रुपैयाँ छ । १० लाखभन्दा बढी सक्रिय ग्राहक छन् । एक वर्षअघि मात्र शुरु गरेको इन्टरनेट ग्राहकको संख्या १ लाख ६० हजारभन्दा बढी ग्राहक भएका छन् । गत आर्थिक वर्षमा करिब ५०० करोड रुपैयाँको कारोबार भएको छ । दर्जन कम्पनीका मालिक कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रा.लि.को सञ्चालक रहेका आचार्य धेरै कम्पनीहरुमा प्रवद्र्धक रहेछन् । सबै कम्पनीको नाम खुलाउन त चाहेनन् तर यसरी व्याख्या गरे–‘प्रभु बैंकमा मेरो १० करोडभन्दा बढी लगानी छ । तर त्यहाँ कही पनि देखिन्न । आफन्त, चिनजानका साथीहरुले राम्रो आईडियासहित लगानीको प्रस्ताव ल्याउँछन्, ५/१० लाख लगानी गरिएका हुन्छन्, त्यसमा म प्रवद्र्धक भनेर सुनाउनुको के अर्थ ?’ साना ठूला धेरै कम्पनीमा लगानी भएको उनले बताए । हामीले सुदीपलाई एउटा सफल उद्यमीको रुपमा चित्रण गर्दै थियौ । तर उनले अस्वीकार गरे । ‘म सफल उद्यमी हो कि होइन म आफै भन्न सक्दिन । व्यवसाय कहिल्यै पनि एकैनाशले अगाडि बढ्दैन । उतार चढावमा भइरहन्छ’ उनले आफ्नै उदाहरण दिए–‘कुनै बेला डिसहोम असफल कम्पनी थियो । मेरो ८ करोड लगानी डेढ करोडमा झरेको थियो । अहिले व्यवसाय राम्रो भैरहेको छ । प्रविधिमा आधारित कम्पनी हो, भोलि फेरी संकटमा पर्न सक्छ ।’ विजनेश हंगर सार्थक जीवनको लागि सन्तुष्टि सबैभन्दा महत्वपूर्ण हुन्छ । सन् १९८० देखि १९९०सम्म उनको परिवार काठमाडौंमा डेरामा बस्थे । अमेरिकामा कलेज भर्ना फारमको २५ डलर तिर्नुपथ्र्यो । तर सुदीपले भर्ना पाउने निश्चित भएपछि मात्र २५ डलर तिरेको पनि सुनाए । उद्योगीका छोरा भएपनि सुदीपले खर्चका सीमाहरु देखेभोगेका थिए । सन्तुष्टि विगतसँग तुलना गरेर पाउन सकिने बताए । ‘हामी कहाँबाट कहाँसम्म आइपुग्यौ भनेर हेर्दा सन्तुष्ट हुन्छु । तर यो होइन कि अब म फुर्सद लिएर बस्छु ।’ उनीभित्र उनकै शब्दमा ‘विजनेश हंगर’ व्यापक छ । त्यसैले उनले नयाँ नयाँ कम्पनी र विजनेशको बारेमा सोचिरहेका हुन्छन् । ‘व्यवसायमा जहिले पनि उतारचढावमा भइरहन्छ । तर व्यवसायिक निरन्तरसँगै यसको लेबल परिवर्तन भइरहेको वा विस्तारउन्मुख भइरहेको हुनुपर्छ’ उनले व्यवसायिक मोडेलको बारेमा भने–कुनै पनि व्यवसायीले मैले एउटा काम गर्छु र त्यसलाई पूर्ण रुपमा सफल बनाउँछु भन्ने उदाहरणहरु हिजोआज कम छन् । त्यसैले व्यवसाय सञ्चालन गर्दै जाँदा व्यवसायीले आफ्ना प्लेटफर्म थप्दै जानुपर्छ ताकि उसको घेरा फराकिलो बन्दै जाओस् ।’ कविको दिमागमा कविता फुरे जस्तै उद्यमीको दिमागमा व्यवसायिक आईडिया आईरहने उनले बताए । इन्टरनेट, टिभी च्यानल डिस्ट्रीव्यूशन, आई टिभी, लगायत कन्टेन्ट डिस्ट्रव्यूशनमा डिस होम पायोनियर बनिसकेको छ । व्यवसायमा सफलता हासिल गर्न ग्राहकको माग पुरा गर्ने र नयाँ सिर्जना गरेर ग्राहकलाई पस्कने दुबै काम गर्नुपर्ने उनको भनाई छ । ‘कतिपय अवस्थामा ग्राहकको माग अनुसार बस्तु तथा सेवा दिन सक्नुपर्छ । कतिपय अवस्थामा ग्राहकको माग सिर्जना गर्ने, ग्राहकलाई नै डोहोर्याउने गरी वस्तु तथा सेवा उत्पादन गर्नुपर्ने हुन्छ’ उनले भने–‘कतिपय अवस्थामा ग्राहकहरुले हामीलाई डोर्याउँछन भने कतिपय अवस्थामा हामीले ग्राहकलाई डोर्याउनु पर्दछ ।’ डिसहोमले पछिल्लो समय डाटा सेन्टरको रुपमा डिस्सहोम क्लाउड सेवा शुरु गर्दैछ । ‘सानो स्केलदेखि ठूलो स्केलमा विजनेश गरिरहेको व्यवसायीलाई डेटा, सर्भर, प्राविधिक सहयायता दिने छौं । इन्टरनेट सेवा पनि हामीसँग भएकोले क्लोज नेटवर्क सेवा दिने छौं । एउटा कम्प्यूटर मात्र भएको व्यवसायीलाई पनि हामीले हाल बैंकले प्रयोग गर्दै आएको सुविधासहरको सफ्टवयर, सर्भर, जेनेरेटर, आईटी म्यानपावर सबै सुविधा हामी दिने छौं’ उनले नयाँ योजना सुनाए । बुबा नै व्यवसायिक गुरु ‘मलाई व्यवसाय सिकाउने गुरु भनेको मेरो आफ्नै बुवा हुनुहुन्छ । उहाँले शुरुवातदेखि नै नयाँ–नयाँ कुरा गर्ने गर्नुभएको रहेछ । रारा चाउचाउ, म्याक्रोनी, चोकोफन, आदि धेरै नयाँ उत्पादनहरुको शुरुवात उहाँले गर्नुभएको छ । पोखराको महेन्द्रपुलमा पहिलो होटेल बुवाले खोल्नुभएको थियो’ सुदीपले भने–‘डिसहोममा पनि शुरुमा बुबाले नै लगानी गर्नुभएको थियो । म त पछि छिरेको हुँ ।’ कृष्ण प्रसाद आचार्य अलिकति नयाँ पन खोज्ने, केही जोखिम लिएर काम गर्ने बुबाको शैली सुदीपलाई मनपर्छ । डिस होमले जस्तै सेवा आफूले अमेरिकामा देखेको तर बुबाले यो विजनेशमा पहिले नै हात हालेको उनले सम्झिए । ‘पाइनियरिङ गर्ने काममा जहिलेपनि मेरो बुवाले इनिसियसन लिएको देखिन्छ । म बुवाको सोच्ने र काम गर्ने शैलीबाट धेरै नै प्रभावित छु’ उनले भने । स्कूलदेखि वहुविधामा सुदीप सानैदेखि बहुविधामा रमाउँथे । एसएलसीपछि बुढानिलकण्ठमा साइन्स विषय लिएर ओलेभल अध्ययन गर्दै गर्दा मर्डन इन्डियन स्कूलमा कमर्श पढ्न थालेका थिए । ‘एकै समयमा ओलेभल र कमर्श पढ्न कसैले पनि सक्दैन थिए, तर मैले मिलाए । त्यसभित्र पनि लामो कहानी छ’ उनले भने । सन् १९९१ मा आइ ट्वान्टीको फर्म भरेर अध्ययन भिसामा अमेरिका गए । आइ ट्वान्टी खासमा हाई स्कूल तहको शिक्षा हो । उनी हाईस्कूल भर्नाको प्रक्रियामा थिए । त्यहिबेला एक आफन्तले ओलेव पढेको विद्यार्थीले सोझै कलेज पढ्न सक्ने सुविधाको बारेमा जानकारी दिए । ‘म हाइस्कूल भर्ना प्रक्रिया छोडेर विश्वविद्यालय भर्ना हुने प्रक्रियामा सामेल भए । ओलेभल गरेको कारणले विश्वविद्यालयले मलाई भर्ना लिने भयो ।’ भर्नाको क्रममा उनले कम्प्यूटर इन्जिनियर रोजे । तर उक्त विषय पढ्नको लागि अंग्रेजी बोल्ने क्षमताको जाँच हुने रहेछ । नेपालीमा बुझेर अंग्रेजीमा ट्रान्सलेट गर्ने नेपालीले उक्त भाषा परीक्षा पास गर्न सम्भव देखेनन् । त्यसपछि उनले अरु विकल्पहरु हेरे, इन्डस्ट्रियल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अरु इन्जिनियरिङ विषयहरु थिए । ‘मेरो बुवाले सँधै नै उद्योगी बन्नुपर्छ भन्नुहुन्थ्यो । मलाई लाग्यो इन्डस्ट्रियल इन्जिनियर नै काम लाग्ला । मैले सोही विषय नै रोजेर पढ्न शुरु गरें ।’ शुरुमा घरबाट पैसा लगेपनि पढ्ने क्रममा भने घरबाट पैसा लैजान हुन्न भन्ने सोच उनीमा त्यतिबेलै रहेछ । त्यसैले अमेरिकामा बस्दा पनि काम गर्दै पढ्दै गरेका थिए । कस्तो व्यवसाय गर्ने ? पैसा छ तर के व्यवसाय गर्ने ? यस्ता प्रश्न थुप्रै सुनिन्छ । सुदीपसँग के छ सुझाव ? हामीले सोध्यौ । ‘व्यवसाय छनोट गर्ने कुरा वास्तवमा चुनौतिपूर्ण विषय नै हो । व्यवसायलाई खासगरी दुई तरिकाबाट अगाडि बढाउने गरिन्छ । एउटा ग्राहकको चाहना र आवश्यकता अनुसार अगाडि बढाउने र अर्को आफ्नो व्यवसायमा ग्राहकलाई डोर्याउने । यसमा ग्राहकको चाहना र आवश्यकता अनुसारको विकास गर्ने कुरा नै सजिलो हुन्छ र जोखिम पनि कम हुन्छ’ उनले भने–‘व्यवसाय गर्नको लागि युनिक भ्यालुको सिर्जना हुने क्षेत्रलाई रोज्नुपर्छ । आज लगानी गरेर भोली पैसा कमाउँछु भनेर व्यवसायमा लगानी गर्न हुँदैन ।’ ग्राहकलाई सन्तुस्ट बनायो पैसा सजिलोसँग कमाउन सकिने उनको बुझाई छ । शुरुमा नै पैसा सोच्यो भने व्यवसायको सफलता प्राप्त नहुने उनको भनाई छ । सन्तुष्टि नै अन्तिम ‘व्यवसायबाट प्राप्त हुने भनेको सन्तुष्टि हो । बाहिर घुम्दा मानिसहरुको घरमा डिसहोमको छाता देख्दा, जलविद्युत परियोजनाबाट निस्केको विजुलीबाट मानिसहरुको घरमा बिजुली बलेको देख्दा मनमा सन्तुष्टिले भरिन्छ’ उनले भने । दैनिकी रुपमा आफूलाई स्वस्थ र फूर्तिलो राख्न आवश्यक अभ्यास गर्छन । बिहान साइक्लिङ गर्छन । किताब पढ्न शुरु गरेपछि सक्ने बानी रहेछ उनको । अंग्रेजी गीत पनि सुन्छन् तर लोकदोहोरी धेरै मन पर्छ सुदीपलाई । ‘सायद म पोखराको भएरपनि होकी लोक ठाडो भाका निकै मन पर्छ’ उनले भने । सुदीप प्रकृतिसँग रमाउँछन् । ‘मलाई चराहरु मनपर्छ । कुनै बेला फुर्सद लिएर चराहरु हेर्ने मन छ’ उनले भने । ५ सय घुस खुवाएपछि… सन् १९९६ मा नेपाल फर्किदा सुदीप आचार्यसँगै अमेरिकाको केही संस्कार र सभ्यता नेपाल आएको थियो । उनी एक प्रकारको सिस्टममा हिंड्ने भएका थिए । अरुबाट पनि त्यहि अपेक्षा गर्दथे । उनको नाममा रहेको जग्गाको हालसाविक गर्नु पर्ने थियो । त्यसका लागि उनी ३ महिनासम्म मालपोत धाए । तर काम भएन । अन्तिममा मामालाई लिएर मालपोत कार्यालय गए । मामाले ५ सय रुपैयाँ कर्मचारीको हातमा राखिदिएपछि खुरुक्क काम भयो । ‘सो घट्नापछि मैले नेपालको प्रशासनिक अवस्था बुझें । नेपाललाई व्यवहारिक रुपमा चिनेँ’ उनले भने–‘त्यसपछि काम गर्ने क्रममा त्यस्ता धेरै घट्नाहरुलाई मैले साक्षात्कार गर्नुपरेको छ ।’