बैंकिङ्ग फ्रड : बैंकका सीईओ र सञ्चालकदेखि राष्ट्र बैंकको समेत कमजोरी, दोष कर्मचारीको टाउकोमा
काठमाडौं । केही समयअघि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा तीन ठूला ‘बैंकिङ फ्रड’का घटनाहरू बाहिरिए । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप, कुमारी बैंकको नक्कली कागजातमा कर्जा लगानी र सिन्धु विकास बैंकको भल्टको रकम मिटर व्याजमा लगानी गरेको विषयले बैंकिङ क्षेत्रमा एक किसिमको तरंग नै ल्यायो । यी तीनै घटनाको पात्र, प्रवृति र प्रकृति फरक छन् । तत्कालीन सिभिल बैंकका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सीआईबीले तामाङलाई गत वर्ष असोज १८ गते पक्राउ गर्यो । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका तामाङको विषयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेर विवरण सरकारी वकिल कार्यालयमा पठायो । तामाङले सहकारीको ५ अर्ब ६३ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । अहिले तामाङ थुनामा छन् । बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो बैंकिङ फ्रडकोे घटना हो नक्कली कागजातको आधारमा प्रवाह भएको कुमारी बैंकको १९ करोड रुपैयाँ कर्जा प्रकरण । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणले कुमारी बैंकलाई मात्रै होइन अन्य बैंक तथा वित्तीय संस्थालाई पनि निकै झस्कायो । सो प्रकरणमा तत्कालीन कुमारी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना पनि जोडिएको भन्दै सीआईबीले अनुसन्धान गर्यो । कुमारी बैंकले पछि सो कर्जा असुल गर्न सफल त बन्यो तर बैंकका तिमिल्सिना बैंक छोड्न बाध्य भए । सो बैंकको आन्तरिक विषय नबाहिरिए पनि अझै पनि कुमारी बैंकलाई हेर्ने नजर धेरैको पृथक नै बनेको छ । यस्तै, बैंकिङ क्षेत्रमै देखिएको अर्को डरलाग्दो घटना हो बैंकको भल्टको रकम निकालेर मिटर ब्याजमा लगानी गर्ने । सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर ब्याजमा लगानी गरेको विषयले पनि बैंक र बैंकरको नियतमाथि ठूलो प्रश्न उठायो । प्रहरीले अनुसन्धान गर्दा खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर ब्याजमा लगाउने गरेको देखायो । यी तिनै घटनामा पात्र फरक छन् । घटनाको प्रवृति र प्रकृति पनि फरक छ । उदाहरणका लागि लिइएको यी तीन घटनामा बैंकको एक कर्मचारीदेखि सीईओ र अध्यक्षसम्म पनि संलग्न हुने रहेछन् भन्ने संकेत गर्छ । यी तीन घटना मात्रै होइनन्, केही महिना अगाडि महालक्ष्मी विकास बैंकले बैंकमा धितोको रूपमा राखेको ऋणीको सुनलाई नक्कली बनाएको विषयले पनि बैंकहरुको छविमाथि प्रश्न उठ्यो । एकपछि अर्को डरलाग्दो ‘बैंकिङ फ्रड’का रुपमा बाहिर आएका यी घटनाहरूले केही प्रश्नहरू भने अवश्य उब्जाएको छ । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीको मनोविज्ञान तथा नियत, बैंकिङ क्षेत्रको ‘इन्टरनल कन्ट्रोल सिस्टम’ र नियामकको नियमन, कार्यशैली, कौशलता र भूमिकाको विषयमा भने प्रश्न तेर्सिएको छ । डेभलपमेन्ट बैंक एसोशिएसनका पूर्व अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल बैंकको राम्रो र नराम्रो काम गर्नुमा महत्वपूर्ण भूमिका कर्मचारी र त्यसमाथि पनि सीईओको भूमिका धेरै हुने बताउँछन् । उनका अनुसार बैंकबाट हुने सम्पूर्ण काम सीईओबाट नै हुन्छ, त्यसैले पनि बैंकले गर्ने राम्रो र नराम्रो काममा सीइओको भूमिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहन्छ । ‘बैंकले गर्ने राम्रा/नराम्रा कामहरु सीईओसमक्ष आउँछन्, राम्रो काम भयो भने त्यसको श्रय सीईओले नै पाउँछ, नराम्रो कामको जिम्मेवारी पनि सीईओले नै लिन सक्ने क्षमता राख्नु पर्छ, सञ्चालकहरुको गलत नियत नै भएपनि सीईओले फाइल रोक्न सक्नुपर्छ, हस्ताक्षर गरेर बोर्डमा पुर्याउनु हुँदैन, यदि फाइल अगाडि बढाइहालेमा त्यहाँ पदभन्दा पनि जागिर प्यारो भएको बुझ्नु पर्छ, त्यसैले पनि यस्ता गतिविधिमा कर्मचारीसँगै सीईओको भूमिका पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहन्छ,’ उनले भने । लामो समय नेपाली बैंकिङ क्षेत्रमा बिताएका नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आफ्नो बैंकिङ करियरमा देखेको एउटा बैंकिङ फ्रडको अनुभव सुनाउँदै भन्छन्, ‘कतिपय फ्रडहरु अञ्जानमा हुन्छन् भने कयौं फ्रडहरू नियतवस हुने गरेका छन् तर त्यसमा प्रत्यक्ष बैंकका कर्मचारी वा उच्च व्यवस्थापन नै जोडिन्छ र अन्तिममा उनीहरू नै दोषी ठहरिन्छन् ।’ उनले नियतवस भएको एउटा पुरानो बैंकिङ फ्रडको घटना पनि सुनाए । ‘नेपाली बैंक तथा वित्तीय क्षेत्रमा बेला-बेला स-साना फ्रडहरू भइरहन्छन्, कतिपय बाहिर आउँछन् धेरै जसो त आउँदै आउँदैनन्, धेरै वर्ष पहिलेको कुरा हो, स्ट्याण्डर्ड चाटर्ड बैंकको एक जना आईटी हेड हुनुहुन्थ्यो, उहाँले ब्याजबाट आएको रूपैयाँको मात्रै हिसाब राखेर पैसा आफ्नो खातामा राख्नु हुँदो रहेछ, पछि सबैलाई थाहा भयो, त्यस विषयले पनि बैंकरलाई धेरै सजग र सतर्क बनायो,’ उनले भने, ‘धेरै जसो फ्रड ऋणीबाट र केही कर्मचारीबाट हुन्छ तर ऋणीको गल्ती भएपनि त्यसमा कर्मचारी जोडिएकै हुन्छन ।’ कुमारी बैंकको नक्कली कागजातमा भएको कर्जा प्रवाहको विषयलाई जोड्दै उनले कर्मचारी र भ्यालुएटरलाई विश्वास गर्दा यस्तो घटना निम्तिएको हुन सक्ने बताए । सबै ठाउँमा बैंकको उच्च तहको कर्मचारी अर्थात् सीइओ नै नपुग्ने र कर्मचारीले गरेको कामलाई शतप्रतिशत विश्वास गर्दा यस्ता खालको त्रुटीहरू हुने गरेको उनी सुनाउँछन् । ‘फिल्डमा धितो मुल्यांकन गर्न बैंकको कर्मचारी र भ्यालुएटर जान्छन्, त्यस्तो बेलामा ऋणीले यो जग्गा हो भनेर देखाउँछ, भ्यालुएटरले पनि विश्वास गर्छन्, कतिपय ठाउँमा जग्गा एउटा ठाउँमा धितो बन्धक अर्कै ठाउँको पनि हुन्छ, कहिलेकाहीँ ऋणीलाई विश्वास गरेर त कहिले कर्मचारी पनि ऋणीसँग मिलेका घटनाहरू पनि हुन्छन्, कर्मचारीहरुले ऋणीलाई विश्वास गरेको आधारमा पनि ठगिन्छन्,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । उनका अनुसार कर्मचारीमा ज्ञानको कमिले पनि यस्ता घटनाहरु घट्ने गरेका छन् । यस्तै, हस्ताक्षर चोरेर पनि बैंकिङ फ्रडका घटनाहरू हुने गरेको उनी बताउँछन् । यस्तै, महालक्ष्मी विकास बैंकका पूर्व सीईओ कृष्णराज लामिछाने बैंकिङ फ्रडका घटनाहरू सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको स्वनियमनको कमिका कारण नै हुने गरेको बताउँछन् । ‘यस्ता घटनाहरूमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरूमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरु आउनु धेरै ठूलो विषय पनि होइन तर, सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बदमासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने । बैंकिङ फ्रडका घटनाहरू कर्मचारीको कारण नै घट्ने बैंकरहरुको धारणा छ । कर्जा दिनुअघिदेखि कर्जा दिइसकेपछि पनि कर्मचारी नै संलग्न हुने भएकोले कर्मचारी नै यसको कारक भएको धेरैको बुझाइ छ । बैंकविज्ञ तथा ग्लोबल आईएमई बैंकका पूर्व सीईओ पर्शुराम कुवँर क्षेत्री बैंकिङ फ्रडका घटनाहरु कतिपय कर्मचारीको कम दक्षता र केही गलत मनोविज्ञानका ऋणीहरुको कारण पनि हुने गरेको बताउँछन् । धेरे घटनामा कर्मचारीलाई पनि फसाउने काम भइरहेको भन्दै उनले केही घटना बाहेक धेरैमा ऋणीको नै गलत मनोविज्ञान हुने गरेको उनको धारणा छ । उनले राष्ट्र बैंकले पनि नियमनमा कडाइ गर्नु पर्ने आवश्यकता भएको बताए । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बैंकरको नाफा कमाउने होडबाजी र गलत अभ्यासले नै यस्ता घटनाहरु बढ्न थालेको बताउँछन् । ‘राम्रो-नराम्रो जुनसुकै उपाय अपनाएर पनि नाफा गर्नुपर्छ भन्ने मानसिकताले बैंकहरुलाई थिचेको छ, नाफा गर्ने क्रममा आश्चर्यजनक हर्कतहरु भएका हामीले देखेका छौं, यसमा सही सुपरभिजन गर्न आवश्यक छ, राष्ट्र बैंकले गर्न खोजे पनि प्रभावकारी हुन सकेन भन्ने त यस्ता घटनाले देखाएकै छ,’ पूर्व गभर्नर क्षेत्रीले भने । उनका अनुसार जब संख्यात्मक रूपले बैंक तथा वित्तीय संस्थाहरू बढ्छन्, त्यसपछि यस्ता अपराधिक घटनाहरू पनि बढ्छन् । हिजो पनि बैंक तथा वित्तीय संस्थाहरू धेरै भएको कारण तिनलाई खारेजीमै लैजानु पर्ने अवस्था आएको बताउँदै उनले राष्ट्र बैंकले अझै प्रभावकारी रुपमा नियमन गर्नुपर्ने धारणा राखे । ‘नियमन र सुपरीवेक्षण अनसाइट (स्थलगत) र अफसाइटबाट हुन्छ, अनसाइट भनेको फिल्डमै गएर अध्ययन अनुसन्धान गरेर गर्न सकिन्छ, अफसाइट भनेको कागजातहरु माग गरेर अध्ययन गर्न सकिन्छ, जब कागजातहरु मगाएर मात्रै नियमन गर्न खोजिन्छ, त्यहाँ अवश्य पनि ढाँट/छलहरु हुन्छन्, अहिले राष्ट्र बैंकमा पनि कर्मचारीको संख्या घट्दै गएको छ, पुराना गएर नयाँ कर्मचारीको प्रवेश भइरहेको छ, त्यसले पनि नियमनमा केही कमजोरी हुन सक्छ,’ क्षेत्रीले थपे । बैंक तथा वित्तीय संस्थाहरुले ल्याएको प्रडक्ट सुन्दा राम्रो भएपनि भित्री रुपमा केही तिता घटनाहरू हुने गरेको उनी अनुभव सुनाउँछन् । ‘बैंक तथा वित्तीय संस्थाहरूले पहिले उक्साएर कर्जा दिने, पछि एउटा किस्ता पनि बन्द भयो भने धितो लिलाम गर्ने प्रक्रिया अगाडि बढाइ हाल्छन्, राम्रो धितोलाई जानीबुझी हडप्ने घटनाहरु पनि हामीले देखेका छौं, पहिलेका बैंकका पदाधिकारीहरू अहिले खर्बपति भएका छन्, यस्तो प्रवृतिले नै उनीहरुका अहिले मुख्यमुख्य ठाउँमा ५/६ रोपनी जग्गा जोडेको देखिन्छ,’ क्षेत्रीले भने । ऋणीको दोष, अफसाइट सुपरभिजन पनि कारण हो : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेल ‘बैंकिङ फ्रड’का घटनाहरूमा ऋणीहरूको दोष बढी हुने गरेको बताउँछन् । उनले पछिल्लो समय देखिएका केही घटनाहरूले पनि ऋणी अर्थात् बैंकका ग्राहक सर्तक हुनु पर्ने देखिएको धारणा राखे । उनका अनुसार पछिल्लो समय बैंकिङ फ्रडका घटनाहरू बढेको होकि भन्ने शंका मानिसहरूमा भएपनि बाहिर आउने घटना भने बढेको धारणा राखे । ‘घटनाहरू पहिले पनि हुन्थे तर गुपचुप नै हुन्थे, अहिले बाहिर आएकोले बढी घटना भएका हुन् कि भन्ने जस्तो भएको हो, यस्ता घटनाहरुमा कर्मचारीको मनोविज्ञान पनि गलत हुन सक्छ तर मुख्य दोष गलत नियत भएका ऋणीको नै भएको हामीले पाएका छौं,’ उनले भने । उनले ग्राहकको लापर्वाही र गलत नियतले नै पनि यस्ता घटनाहरू बढ्ने गरेको बताए । ‘कुनै ऋणीको नियत सही त कुनैको गलत पनि होला, यस्ता घटना संसारभर नै हुन्छन् तर ती घटनालाई समयमै उजागर गरेर समाधान गर्नुपर्छ, बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो रोक्कादेखि कर्जा दिनेसम्मका प्रक्रियामा जुन स्तरको ‘डेडिकेशन’ हुनुपर्ने हो, त्यो पुगेको देखिँदैन,’ पोखरेलले भने । उनले राष्ट्र बैंकले नियमनमा भने कुनै कसरत बाँकी नराखेको धारणा राखे । राष्ट्र बैंकले नियमनको व्यवस्था अनुसार नै नियमन गरिरहेको बताउँदै उनले बैंकका कर्मचारीले पनि कर्जा दिँदा अवलम्बन गर्नु पर्ने उपाय र सजकतालाई बढी ध्यान दिनु पर्ने बताए । पोखरेलका अनुसार नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा प्रत्येक वर्षको एक पटक अनसाइट अर्थात् कार्यालयमै पुगेर सुपरिभिजन गर्दै आएको छ भने अफसाइड सुपरभिजन नियमित र त्यसको अलवा कुनै उजुरी तथा गुनासोको आधारमा विशेष सुपरिभिजन पनि गर्दै आएको छ । नेपाल राष्ट्र बैंकमा स्रोतसाधन र जनशक्तिको अभावको कारण पनि अनसाइट सुपरिभिजन चाहे अनुसारको नभएको पोखरेलको धारणा छ । अनसाइट सुपरभिजनको कमिले पनि यस्ता घटना भएको हुन सक्नेमा पोखरेल सहमति जनाउँछन् । वर्षमा एक पटक मात्रै अनसाइट सुपरिभिजन हुने भएकोले यो विषयमा आशंका गर्नु स्वभाविक भएको उनको धारणा छ । अफसाइट निरीक्षणमाथि प्रश्न धेरैले नेपाल राष्ट्र बैंकले अनसाइट अर्थात् स्थलगत निरीक्षणमा प्राथमिकता नदिएको गुनासो गरेका छन् । राष्ट्र बैंकले निरीक्षणको नाममा बैंक तथा वित्तीय संस्थाहरुबाट तथ्यांकहरु मात्रै माग गरेर सोही तथ्यांकको आधारमा बैंकको यथार्थता बुझ्ने परिपाटीले यस्ता घटना बढेको धेरेको बुझाइ छ । राष्ट्र बैंकले स्रोत साधन, दक्ष जनशक्ति तथा अन्य विषयहरुको अभाव देखाउँदै अनसाइट निरीक्षणमा सक्रियता नदेखाउँदा यस्ता खालका घटनाले प्रशय पाउने जानकारहरुको धारणा छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा जोखिममा आधारित सुपरिवेक्षण विधि अवलम्बन गरी कुल २० वटा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण गरेको बताएको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल २३ वटा वाणिज्य बैंकहरूको अफसाइट अर्थात् विभिन्न तथ्यांकहरु माग गरर निरीक्षण गरेको छ । साथै, उजुरी, गुनासो, औचित्यता र आवश्यकताको आधारमा कुल २५ वटा विशेष स्थलगत निरीक्षण गरेको बताइएको छ । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका १६ विकास बैंकहरू र १५ फाइनान्स कम्पनीहरूको समष्टिगत स्थलगत निरीक्षण कार्य गरेको छ भने ६ वटा विकास बैंकहरूको विशेष निरीक्षण गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सोही वर्ष ४६ वटा लघुवित्तहरुमा स्थलगत निरीक्षण भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा जोखिममा आधारित सुपरिवेक्षण विधि अवलम्बन गरी चार वटा वाणिज्य बैंकहरूको समष्टिगत स्थलगत निरीक्षण, १६ वटा बैंकहरूको अफसाइट निरीक्षण र ७ विशेष स्थलगत निरीक्षण भएको छ । राष्ट्र बैंकले सोही वर्ष ८ वटा विकास बैंकमा स्थलगत निरीक्षण, एउटामा अफसाइट निरीक्षण र दुईटा संस्थामा विशेष स्थलगत निरिक्षण गरेको बताएको छ । सोही वर्ष ४ वटा वित्त कम्पनी र १४ वटा लघुवित्तमा स्थलगत निरीक्षण गरेको जनाएको छ । प्रतिवादी नै कसुरदार बैंकिङ फ्रडका ठूला घटनाहरु केन्द्रिय अनुसन्धान ब्यूरो (सीर्आइबी)ले अनुसन्धान गर्दै आएको छ । सीर्आइबीका अनुसार पछिल्लो समय बैंकिङ फ्रड तथा बैंकिङ कसुरका घटनाहरू बढ्दै गएका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता कमल थापाले पछिल्लो समय बैंकिङ फ्रडका घटनाहरू बढेको बताउँछन् । उनका अनुसार ती घटनामा कर्मचारीको संलग्नता नै बढी हुने गरेको छ । ‘बैंक कानुनी व्यक्ति हो, फ्रडमा व्यक्तिको सहभागिता त अवश्य नै हुन्छ, बैंकमा समस्या आउने बित्तिकै त्यसमा मान्छेको कमजोरी अवश्य हुन्छ, हामीले बैंकभन्दा पनि मान्छेलाई जोड्ने हो, त्यसको सञ्चालकमा को छ ? कसको नेतृत्व छ ? भन्ने विषय महत्वपूर्ण हो, हामीले गर्ने अनुसन्धानमा काम गर्ने कर्मचारी अर्थात् उच्च तहको कर्मचारीको संलग्नता देखिन्छ’ उनले भने । उनले घटनामा कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर आउने गरेको र अन्तिममा फैसला आउँदा सोही व्यक्ति नै कसुरदार ठहरिने गरेको अनुभव सुनाए । ‘हामीले अहिलेसम्मका अधिकांश घटनामा बैंकका कर्मचारी संलग्न भएका पाएका छौं, अझ सहकारीमा यस्तो प्रवृति बढी छ, हामीले व्यक्तिको नियत के छ ? भन्ने भन्दा पनि कानुनी प्रक्रिया पुरा भएको छ वा छैन ? हेर्ने हो, हामीले कहीले काहीँ ऋणीको पनि दोष देख्छौं, ऋणीका गल्ती भए पनि त्यो गल्ती तथा कमजोरी कर्मचारीको पनि हो,’ उनी भन्छन्, ‘कर्मचारीले सजगता अपनाएर र सबै कुरा बुझेर काम गरे पछि समस्या नै आउँदैन ।’ यस्तै, उनले एक/दुई कर्मचारीको कमजोरी र गल्तीले संस्थामाथि नै प्रश्न उठ्ने गरेको बताए । ‘एउटा संस्थामा दुई/तीन हजार कर्मचारी हुन्छन्, गलत गर्ने एक/दुई जना हुन्छन्, एक/दुई जनाको कारणले सबैको गल्ती देखाउनु हुँदैन, यसमा हामीले बैंकभन्दा पनि व्यक्तिको नियत खराब देख्छौं, अहिलेसम्म हामीले गरेका अध्ययन अनुसार हामीले प्रतिवादी बनाएका व्यक्तिहरु नै अदालतले कसुरदार ठहर्याउँछ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने । हालसम्म सीआईबीले बैंकिङ फ्रडसम्बन्धी कुल ६४ वटा घटनाको अध्ययन गरेर मुद्दा दर्ता गरेको छ । ती मुद्दामा सीआईबीले कुल २८ अर्ब २५ करोड रूपैयाँ बिगो माग दाबी गरेको छ । प्रवक्ता महत्तोका अनुसार ३० वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १८ वटा वित्तीय संस्था, २ वटा लघुवित्त र २ वटा सहकारीको विषयमा अध्ययन गरेर मुद्दा दर्ता गरेको छ । यी घटनामा २६० जनालाई सिआईबीले पक्राउ गरेको छ । सीआईबीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ८ वटा बैंकिङ फ्रडका घटना अध्ययन गर्दा २९ जनालाई पक्राउ गरेर उनीहरूबाट ६७ करोडको बिगो माग दाबी गरेको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा दुई वटा बैंकिङ फ्रडका घटनामार्फत् १३ जनालाई पक्राउ गरेर ३ करोड रूपैयाँ बिगो दाबी गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा दुई वटा मुद्दा अध्ययन गरी १० जना पक्राउ गरी उनीहरूबाट ८ करोड रूपैयाँ बिगो माग दाबी गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ को हालसम्म ५ वटा बैंकिङ फ्रडका घटनामार्फत् २५ करोड रूपैयाँ बिगो माग दाबी गरेको थियो । सीआईबीले वित्तीय अपराध सम्बन्धी भने कुल साढे चार सय मुद्दा दर्ता गरेको जनाएको छ । त्यसमा ६५४ जना संलग्न भएको आरोपमा ४४ अर्ब ५ करोड रूपैयाँ करोड बिगो माग दाबी गरेको बताएको छ । सिआईबीले मुद्दाको अध्ययन गरेर सोही अनुसार सरकारी वकिल कार्यालय तथा अदालतमा पठाउने गरेको छ । समाधानको उपाय के ? बैंकर पर्शुराम कुवँर क्षेत्री बैंकिङ व्यवसाय जोखिम व्यवस्थापन गरेर गरिने भएकोले अभिमुखिकरणको अभ्यास बढाउन आवश्यक रहेको बताउँछन् । उनी बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको क्षमता विकास र प्रविधिमैत्री बनाउनका लागि अभिमुखिकरण तालिमहरु दिन आवश्यक रहेको बताउँछन् । ‘अहिले प्रविधिको समय छ, मालपोत कार्यालयले सम्पूर्ण जग्गाहरु इन्टरनेटमै राख्यो, बैंकरले पनि मालपोतको वेवसाइटमै गएर त्यो जग्गाको कित्ता नम्बर, क्षेत्रफलदेखि जग्गा भएको ठाउँ पनि हेर्न सक्छ, भ्यालुएटरले पनि त्यसकै आधारमा मूल्यांकन गर्न सक्छ, त्यो बीचमा फसाउने वा फसिने सम्भावना कम हुन्छ, यसले पनि यस्ता खालका फ्रड कम गर्न सकिन्छ,’ बैंकर क्षेत्रीले भने । ‘हामीले धेरै विषयहरुमा सुधार गर्न आवश्यक छ तर सुधार नभएकै होइन, हामीले गर्ने हाम्रा क्रियाकलापमा के कस्ता जोखिम छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ, राष्ट्र बैंकले पनि नियमनमा केही सुधार गरेको छ तर अझै धेरै विषयमा ध्यान दिन आवश्यक छ,’ क्षेत्रीले थपे । यस्तै, बैंकर कृष्णराज लामिछाने बैंकिङ फ्रडका ठूला घटनाहरु हुन नदिनका लागि छुट्टै खालको संयन्त्र स्थापना गर्नु पर्ने बताउँछन् । विभिन्न कारणले यस्ता खालको घटनाहरु हुने र बैंक तथा वित्तीय संस्थाहरु नै बद्नामी हुनुपर्ने अवस्था सिर्जना हुने गरेकोले अब ठूलो रकमको कर्जा प्रवाह गर्नका लागि ‘क्रस चेकिङ युनिट’ खोल्नु पर्ने राय लामिछानेको छ । ‘यस्ता घटनाहरुमा कसैलाई दोष दिन मिल्दैन, बैंक तथा वित्तीय संस्थाहरूमा लाखौंको संख्यामा ग्राहक हुन्छन्, त्यसमा सीमित इस्यूहरू आउनु धेरै ठूलो विषय पनि होइन तर सचेत हुन आवश्यक छ, एकले अर्कालाई विश्वास र भरोसा नगर्दासम्म काम पनि अगाडि बढ्दैन, एक जना कर्मचारीले बद्मासी गर्यो भने दोष सबैले भोग्नु परेको छ,’ लामिछानेले भने । मालपोत तथा भ्यालुएटरले गलत गरे पनि दोष सीईओलाई आउने भएकोले आगामी दिनमा यस्ता घटना नदोहोरिनका लागि थप लगानी गरेर भएपनि केन्द्रियस्तरमै ‘क्रस चेकिङ युनिट’ स्थापना गरेर काम गर्नु पर्ने लामिछानेको सुझाव छ ।
उमेशलाललाई ४० वर्षदेखि एउटै प्रश्न- ‘राजनीतिमा किन नलागेको ?’
उमेशलाल श्रेष्ठका ठूला बुवा गंगालाल श्रेष्ठ हुन्, जसलाई प्रजातन्त्र स्थापनाका लागि राजनीति गरेको भन्दै राणा शासकले गोली हानी हत्या गरेका थिए । प्रजातन्त्र स्थापनासँगै उनलाई सहिद घोषणा गरियो । उमेशलालका बुवा पुष्पलाल श्रेष्ठ हुन्, जो नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव हुन् । उनले राणा र पञ्चायत शासन ढाल्न र प्रजातन्त्र स्थापना गर्न आजीवन संघर्ष गरे, राजनीतिक तहमा नेतृत्व गरे । उमेशलालकी आमा साहाना प्रधान राणा विरुद्ध बोल्ने, पञ्चायत विरुद्धको संघर्षमा नेतृत्व गर्ने एक साहसिक महिला हुन् । उनी विभिन्न पटक मन्त्री पनि भइन् । नेपालको राजनीतिक इतिहासमा यी तीन जनाले गरेको योगदान बारे धेरै अध्याय लेखिएका छन्, पढ्न पाइन्छ । त्यहि परिवारमा २०१३ सालमा जन्मिएका थिए उमेशलाल श्रेष्ठ । यति उच्च राजनीतिक पृष्ठभूमिकामा जन्मे हुर्केका उमेशलाल भने राजनीतिमा लागेनन् । राजनीतिमा किन नलागेको भनेर उमेशलालाई धेरैले प्रश्न गर्छन । उनी भन्दा सिनियरहरुले पनि यहि प्रश्न गर्छन्, जुनियरहरुले पनि यहि प्रश्न गर्छन् । ४० वर्ष अघिदेखि यहि प्रश्नको सामाना गरिरहेका छन् उनले । उनलाई भेट्ने हरेक पत्रकारले नछुटाउने प्रश्न पनि यहि हो । र, हामीले पनि यहि प्रश्न गर्यौं, तपाई राजनीतिमा किन लाग्नु भएन ? उनले लामो सन्दर्भ र प्रसंगहरु व्याख्या गरे । निष्कर्षमा हामी पुग्यौ-बाध्यता, समझदारी र चेतना । ‘ठूला नेताहरुले मलाई भन्नुहुन्छ-तिमी राजनीतिमा आउँछौं भने हामी राम्रो स्थान दिन्छौं, नेकपा एमालेको नेतृत्वले पनि भनेको हो, अरु ठूला पार्टीका नेतृत्वले पनि भनेका हुन्,’ उनले भने, ‘यस्तो प्रस्तावमा मैले विनम्रतापूर्वक जवाफ दिन्छु, म जहाँ छु, त्यहि ठिक छु, म राजनीति नगरी बाहिरबाटै देशको सेवा गर्छु ।’ पुष्पलालको निधनपछि छोरा उमेशलाललाई राजनीतिमा ल्याउनुपर्छ भनेर नेपाल कम्यूनिष्ट पार्टीमा आवाज उठेको थियो । ‘राजनीतिमा मेरो चाहाना भएन, आमा अगाडी बढ्नु भयो’ उनले भने । ‘राजनीतिमा जान मलाई केही समस्या थिएन तर म गइन’ उमेशलालले स्मरण गरे-‘आमा राजनीतिमा सक्रिय हुँदा म २३ वर्षको थिएँ, त्यो बेलामा मेरो दिमाग परिपक्व पनि थिएन होला ।’ २०३६ सालको आन्दोलनसँगै साहाना प्रधानकोनेतृत्वदायी भूमिकामा उदाईन् । उमेशलाल बाहिरै बसे । ‘राजनीति’ पारिवारिक विरासतमा हुनु हुँदैन भन्ने उनको स्पष्ट मान्यता छ । ‘मेरो बुवा र आमाले जे गर्नु भयो उहाँहरुको आफ्नो राजनीतिक चेत र राजनीतिक ज्ञान अनुसार राम्रै गर्नु भयो, तर मैले पनि राजनीति नै गर्नुपर्छ भन्ने हुँदैन ।’ राजनीतिक परिवारमा जन्मेको व्यक्तिले किन राजनीति नगरेको भनिरहँदा अचेल उमेशलाललाई ‘रिस’ उठ्ने गरेको छ । ‘हाम्रो परिवेशमा डाक्टरका छोरा डाक्टर, इन्जिनियरका छोरा इन्जिनियर, कर्मचारीका छोरा कर्मचारी बन्ने भन्छन्, बनेका पनि छन्, ल त्यो ठिकै हो’ उनले पुरक प्रश्न गरे, ‘के डाकाका छोरा डाका नै बन्ने हो त ? त्यो त हुँदैन ।’ सरकारले जागिर खोसिएपछि … साहाना त्रिभुवन विश्व विद्यालयमा पढाउथिन् । पञ्चायत विरुद्ध राजनीति गरेको आरोपमा तत्कालिन सरकारले साहानालाई जागिरबाट निकाल्यो । उक्त घट्ना उमेशलालको जीवनको ठूलो टर्निङ प्वाइन्ट भयो । त्यतिबेला उमेशलाल बिएससी पढ्दै थिए । मास्टर्स डिग्री र पिएचडी हासिल गर्न विदेश जाने योजनामा थिए । अस्ट्रेलिया जान उमेशले स्कलरसिप, पासपोर्ट, भिजा लगायत तयारी गरिसकेका थिए । आमाको जागिर खोसिएपछि उमेशलालको परिवार आर्थिक मारमा पर्यो । परिवार चलाउन कमाईको काम गर्नै पर्ने बाध्यता उनको काँधमा आयो । उच्च शिक्षाको लागि विदेश जाने उनको इच्छामा पूर्णविराम लाग्यो । कामको खोजीको क्रममा उनले संसारको नम्बर वान औषधि कम्पनी हेक्सल फर्मासियूटिकल्समा जागिर पाए । त्यतिबेला जागिर खानुको विकल्प आफूसँग नभएको उनले सुनाए । तीन वर्षपछि उनी जागिर छोडेर आफ्नै विजनेश गर्ने सोचमा पुगेका थिए । दिमाग यताउता चल्न थालिसकेको थियो । त्यहिबेला उनको प्रमोशन भयो । अब प्रमोशन खाने कि छोडेर ब्यापार गर्ने भन्ने दुविधामा परे उनी । ‘लोभ लागेर प्रमोशन खाएँ’ उनले सम्झिदै भने- ‘व्यापारमा पनि तनाव हुन्छ, जोखिम हुन्छ भनेर मैले सजिलो बाटो रोजेँ ।’ अन्ततः २०४४ मा उनले जागिर छोडे र साझेदारीमा नयाँ फर्मासियूटिकल्स कम्पनी चलाए । पछि अर्काे कम्पनी खोले क्वेष्ट फार्मास्यूटिकल्स । र, पुरानो कम्पनीबाट बाहिरीए । विशेषगरी डाइबेटिज, ब्लडप्रेसर, कोलेस्टरल, मष्तिस्कघात जस्ता जटिल रोक निरोधका औषधिहरु बनाउँदै क्वेष्ट फार्मास्यूटिकल्स कम्पनी अहिले औषधि उद्योगको क्षेत्रमा अब्बल उद्योगको रूपमा स्थापित भएको छ । परिवेश जनताको लागि राजनीति गर्दा परिवारमा आर्थिक संकट निम्तन्छ । उमेशलालको परिवारमा यस्तै संकट थियो । परिवारमा एक जनाले मात्र राजनीति गर्नुपर्छ, अरुले आय आर्जनको काम गर्नुपर्छ भन्ने समझदारी र अभ्यास पुष्पलालको पालामा नै परिवारभित्र थियो । पुष्पलाल राजनीतिमा हुँदा साहाना अध्यापन पेशामा थिइन् । पुष्पलालको निधनपछि सहाना राजनीतिमा लागिन, उमेशलाल आय आर्जनमा । बुबाले थालेको अभ्यासलाई उमेशलालले निरन्तरता दिए । उमेशलालले आफ्नो बुवासँग धेरै समय बिताउन पाएनन् । जतिबेला उमेशलाल कुरा बुझ्ने, गफ गर्न सक्ने उमेरमा थिए त्यतिबेला पुष्पलाल निर्वासित जीवन बिताइरहेका थिए । ‘मेरो बुवा पुष्पलाल आदर्शपूर्ण नेता हुनुहुँदो रहेछ भन्ने जानकारी पछि कितावहरु पढेर मात्रै जानकारी पाएको हुँ’ उमेशलालले भने । राजनीतिक चेतना उमेशलालमा राजनीतिक चेतना नभएको होइन र उनलाई राजनीतिप्रति रुची नै नभएको पनि होइन । ‘म राजनीतिबाट टाढा छैन, राजनीतिक विषयमा अनविज्ञ पनि छैन, राजनीतिमा चाख राख्छु, विशेषगरी नेपाली राजनीति र अन्तर्राष्ट्रिय राजनीति नजिकसँग नियाली रहेको छु’ उनले भने । नीति निर्माण र नेतृत्व गर्ने काम राजनीतिबाट मात्र सम्भव हुने कुरामा पनि उनी जानकार छन् । राजनीतिशास्त्र, समाजशास्त्र, कम्युनिज्म, प्रजातन्त्र, दर्शन, पौराणिक किताहरुको अध्ययन गरेको उनले सुनाए । उनले निर्वाचनको बेलामा आफ्नो मत फेरबदल गर्ने गरेको पनि खुलाए । भोट दिँदा चिन्ह भन्दापनि राम्रो मान्छेलाई छान्ने गरेको पनि खुलस्त बताए । तर, राम्रा मान्छेले पनि राजनीतिमा लागेर राम्रो गर्न नसकेको उनको बुझाइ छ । ‘राजनीति स्वच्छ, सरल र जनतामुखी भएन । स्वार्थमुखी भयो । यस्तो किसिमको राजनीति भइरहेको बेलामा एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन, म राजनीतिमा लागे भने पनि काम गर्न गाह्रो छ’ उनले भने- ‘मैले राम्रो गरे भने पनि त्यो मेरो बुबा र आमाले गरेको कामसँग तुलना हुन्छ । ‘पुष्पलाल भएको भए यस्तो हुनसक्थ्यो, साहानाले भए यस्तो गर्ने थिइन’ भनिन्छ । ‘मेरो तुलना पुष्पलाल श्रेष्ठ र साहाना प्रधानसँग हुन्थ्यो, उहाँहरुको अगाडि म जहिल्यै पनि बच्चा नै हुन्छु, अमिता बच्चनको अघि अभिसेक बच्चनको जस्तै’ उनले सटिक उदाहरण दिए । धेरै मान्छे राजनीतिमा लाग्नु र राजनीतिलाई पेशा बनाएकोमा पनि उनी बेचैन छन् । ‘एउटै पार्टीको १५ लाख सदस्य छन्, १० लाखभन्दा बढी सदस्य भएको ठूला पार्टी नै तीन छन् । सबैले राजनीति गर्न जरुरी छैन नि’ उनले भने । राजनीति डोरीको गुजुल्टो जस्तो भएको र त्यो फुक्नुको साटो झन कसिलो बन्दै गएको उनको विश्लेषण छ । आर्थिक विकासमा जोड ‘आमाबुवाले राजनीतिमा जोड दिनुभयो, राजनीति चेतना फैलाउनुभयो, मैले आर्थिक विकासमा जोड दिए, मेरो मान्यता आर्थिक विकास नभएसम्म देश विकास गर्न सकिन्न भन्ने हो,’ उनले भने । आर्थिक विकासको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए । ‘अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको नीजि क्षेत्रसँग सरकारले जहिले पनि हातेमालो गरेर हिड्नुपर्छ, निजी क्षेत्रले राम्रोसँग काम गर्न पायो भने आर्थिक वृद्धिदर उच्च हुन्छ’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिकसकेका उमेशलाल महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन् । महासंघको अध्यक्ष नेतृत्वमा गएर पुराना, असान्दर्भिक कानुनहरुको खारेजी गराउने, संशोधन गराउने, नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नयाँ कानुनहरु निर्माणमा सरकारलाई सघाउने उनको चाहाना छ । मुलधारको राजनीतिमा सहभागी नभएपनि सरकारको ध्यान आर्थिक विकासमा केन्द्रीत गराउने र निजी क्षेत्रलाई प्रोत्साहित गर्दै यस क्षेत्रको नेतृत्व गर्ने उनको अठौट मुलधारका राजनीतिकर्मीले गर्ने राजनीतिभन्दा कम महत्वपूर्ण छैन ।
साथीहरुले काम गर्न सक्छौ र भन्छन्, म मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउन लागिरहेको छु
फोकसवान पेमेन्ट सोलुसन्सद्वारा सञ्चालित मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयराज भण्डारीलाई साथीभाईले सुझाव दिन्छन्, ‘तिमीले काम गरिरहेको क्षेत्रमा ठूलो चुनौती छ, यो क्षेत्रमा काम गर्न सक्दैनाै, अन्य क्षेत्रमा काम गर ।’ तर, भण्डारीको प्यासन फिनटेक क्षेत्र हो । सूचना प्रविधि (आईटी)को क्षेत्रमा उनी २० वर्षदेखि काम गर्दै आएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा अझैं २० वर्ष काम गर्ने लक्ष्य छ, जे गरेको छु, राम्रै छ, यो क्षेत्र मेरो प्यासन हो ।’ उनी थप्छन्, ‘सरकार अहिले डिजिटल नेपालको नारा लगाइरहेको छ, म २० वर्ष अगाडिदेखि नै यो क्षेत्रमा सक्रिय थिएँ ।’ वि.सं २०३८ सालमा जन्मेका भण्डारीको बाल्यकाल काठमाडौंको ‘व्यापारिक हब’ कमलादीमा बित्यो । देशमा राजसंस्था हुँदा उनका हजुरबुवा सचिव भएर काम गर्थे भने उनका बुबा प्रजन्यराज भण्डारी व्यवसायी । प्रणयराजको इच्छा थियो बुबाले थालेको बिजनेसलाई विस्तार गर्ने र ठूलो व्यवसायी बन्ने । उनले सानैदेखि गोदावरीमा रहेको सेन्ट जेभियर स्कूलमा पढे । त्यतै होस्टलमा बसे । कक्षा एकदेखि एसएलसीसम्म सेन्ट जेभियरमै पढे । ‘काठमाडौं कमलादीमा जन्मिएँ, कक्षा एकदेखि कक्षा दशसम्म सेन्ट जेभियरमा पढेँ, उनी भन्छन्, ‘म सानैदेखि एभरेज विद्यार्थी हुँ, कोर्स बुकभन्दा पनि म बिजनेससँग सम्बन्धित पुस्तकहरु पढ्न रुचाउँथेँ ।’ सेन्ट जेभियरले उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिन्छ । विद्यालयमा भर्ना हुन गाह्रो थियो । एउटा कक्षामा ४५ जना भर्ना गर्न ३/४ हजारले आवेदन दिने गरेको उनी सुनाउँछन् । ३ सय जना विद्यार्थी । शिक्षक पनि राम्रै । सेन्ट जेभियर गोदावरीमा पढाइसँगै अन्य सामाजिक कार्यमा बढी जोड दिने गरेको उनी सुनाउँछन् । सामाजिक कार्यमा अग्रसर हुन उनले विद्यालयबाट नै सिकेको बताउँछन् । वि.स. २०५५ सालमा एसएलसी उतीर्ण गरेका उनलाई विज्ञान विषय पढ्न मन थियो । एसएलसी दिएपछि कुन विषय पढ्ने भनेर छनोट गर्न सकस भयो । अन्ततः उनी विज्ञान विषय लिएर प्लस टु पढे । प्लस टू पास गरेपछि उनी इन्जिनियर पढ्न दक्षिण भारतको बैङ्लोर पुगे । अहिलेको जस्तो इन्टरनेट सुविधा त्यो बेलामा थिएन । उनी बैंङ्लोरमा ४ वर्षे कम्प्युटर इन्जिनियरिङ सकेर नेपाल फर्किए । इन्जिरियङ पढ्दा उनले कम्प्युटर इन्जिनियरमा धेरै प्रोग्राम रैछन् भन्ने थाहा पाए । ‘केही सूचनाका लागि पनि किताब पढ्नु पर्थ्याे, त्यो बेला इन्टरनेटको कुनै पहुँच थिएन, किताबमा सैद्धान्तिक ज्ञान हुन्थ्यो, किताब पढ्न मन लाग्दैनथ्यो, ४ वर्षे इन्जिनियरिङ सके लगत्तै स्वदेशमै केही गर्छु भनेर उनी नेपाल फर्के । इन्जिनियर सकिएपछि धेरै साथीहरु बैंङ्लोर, चेन्नइ लगायतका ठाउँमा काम गर्न थाले तर म स्वदेशमै केही गर्छु भनेर नेपाल फर्कें,’ उनी स्मरण गर्दै भन्छन्, ‘मलाई नेपालमै बसेर रियल लाइफ एप्लिकेसन गर्न मन थियो ।’ नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि काम भारतबाट इञ्जिनियर पढेर आएपछि उनलाई बैंक तथा वित्तीय क्षेत्रमा काम गर्न मन लाग्यो । उनले वि.स. २०६१ सालमा नेपाल इन्भेष्टमेन्ट बैंकमा आईटी डिपार्टमेन्टमा काम थाले । बैंकमा हुँदा उनले डेढ वर्ष आइटी डिपार्टमेन्टमा र डेढ वर्ष कर्पाेरेट क्रेडिटमा काम गरेको बताउँछन् । उनलाई कर्पाेरेट क्रेडिटमा काम गर्दा कर्जाका लागि आफन्तहरुले कति सकसमा पार्छन् भन्ने विषयको ज्ञान आफुलाई सधैंका लागि भएको उनी सुनाउँछन् । ‘कर्पाेरेटमा काम गर्दा बैंक बुझ्न पाएँ, ३ वर्ष काम गर्दा डेढ वर्ष आईटी र डेढ वर्ष कर्पाेरेटमा काम गरेँ तर कर्पाेरेटमा काम गर्दा दिक्क लाग्यो, ग्राहकले कर्जा मागेर नतिर्ने, सुरुमा धेरै आग्रह गर्ने, नदिएपछि तैंले विश्वास गरिनस् भनेर टाढिन्थे,सबैभन्दा जटिल काम भएपनि अहिले सम्झिँदा इन्ट्रेस्टेङ लाग्छ,’ उनले बैंकमा काम गर्दाको अनुभव सुनाउँदै भने । बैंकमा काम गर्दाको तीन वर्षका उनका लागि ठूलो सिकाइ बन्यो । उनले बैंक बुझ्ने अवसर पाए । बैंकमा काम गर्दा गर्दै उनलाई म्यानेज्मेन्ट नपढेकोमा पछुतो भयो । उनलाई थप पढ्ने रुची जाग्यो । वि.स २०६५ मा उनी एमबीए पढ्न बेलायत गए । जतिबेला विश्वमा विश्व वित्तीय संकटका रुपमा देखिएको थियो । सन् २००७/२००८ मा वित्तीय संकट चलिरहेको थियो । उनले सो घटनाबाट पनि धेरै बुझ्ने मौका पाए । ‘सन् २००७/२००८ को वित्तीय संकट एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो, बैंकहरुको खराब कर्जा उच्च रुपमा बढेको थियो, त्यतिखेर एमबीए पढ्दै गर्दा बैंकहरुको जोखिमको विषयमा पनि बुझ्ने अवसर मिल्यो, त्यो आर्थिक संकट पछि नेपालका बैंकहरु ट्रेडिसनल लाग्यो,’ उनले आफ्नो अनभुव सुनाउँदै भने, एमबीए पढेपछि बैंकमै केही गर्न सक्छु भन्ने जोश पनि आयो ।’ २ वर्षे एमबिए कोर्स सकेर उनी बेलायतबाट वि.सं २०६७ मा नेपाल फर्किए । नेपाल आएपछि पनि उनले नेपाल इन्भेष्टमेन्ट बैंकमै काम गरे । बैंकमा काम गर्दा उनले धेरै कुराहरु परिवर्तन भएको पाए । शाखाहरु सेन्ट्रलाइज भए । शाखाहरु केन्द्रिय बैंकसँग प्रत्यक्ष जोडिए । ‘बैंकहरुले त्यतिखेर नै एटीएम राख्न सुरु गरे, छोटो समयमै बैंकहरुले धेरै प्रगति गरे, एनआईबीएल पनि भिजा कार्डको सदस्य बन्यो, मैले त्यहाँ २०७० सम्म काम गरे । बैंक छोडेपछि उनलाई वेस्टर्न यूनियनबाट अफर आयो । नेपाल र भुटानको लागि वेस्टर्न युनियनको कार्यालय नेपालमा छ । वेस्टर्न यूनियन एउटा विशाल कम्पनी हो । ‘वेस्टर्न युनियनले फरक/फरक देशबाट पैसा ल्याउने काम गर्छ । कम्पनीले १२० देशमा काम गर्छ । उनले वेस्टर्न यूनियनमा काम गर्दा पनि रेट्यिान्स विजशेन विषयमा बुझ्ने मौका पाए । एससीटीले दियो उद्यमी बन्ने आइडिया वेस्टर्न यूनियनमा डेढ वर्ष काम गरेका उनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)पुगे । उनी बैंक तथा वित्तीय संस्थामा काम गर्दा सूचना प्रविधिसँग नजिक भइसकेका थिए भने वेस्टर्न यूनियनमा काम गर्दा रेमिट्यान्स बिजनेसको विषयमा पनि जानकार भइसेकका थिए । उनले एससीटीमा चिफ विजनेश अफिसर भएर ३ वर्ष काम गरे । एससीटीमा ठूलो चुनौती आइपर्याे । कारण थियो, एससीटीलाई भिजाले चुनौति दियो । एससीटीको विजनेस केही घटेको आभास काम गर्नेहरुलाई भयो । आफुलाई भने अर्कै बिजनेस आइडिया फुरेको उनी सुनाउँछन् । ‘एससीटीमा काम गर्दागर्दै आफैं काम गर्नुपर्छ भन्ने सोच पलायो, एससीटीलाई भिजा कार्डले चुनौति दियो, भिजालाई पनि चूनौति दिने बिजनेस आवश्यक छ भन्ने महसुस भयो, कार्डलाई भर्चुलाइज गरेर मोबाइलमा राख्यो भने कार्ड र चिप पनि चाहिँदैन, पस मेसिन पनि चाहिएन, क्यूआर भए पुग्यो भन्ने भयो,’ त्यसपछि त्यस विषयमा अध्ययन गरियो,’ उनी भन्छन्, ‘त्यसपछि सुरु भयो मोको वालेट ।’ एससीटीमा हुँदा नै उनले वि.सं २०७२ सालमा मोको सुरु गरेका थिए । मोको सुरु गर्दा स्मार्ट कार्ड, क्यूआर लगायतका बारेमा कसैलाई पनि जानकारी नै थिएन । भर्चुअल कार्ड, क्यूआर कोड, मल्टिपल क्यूआर, कार्डलाई क्रस बोर्डर गर्ने लक्ष्य लिएर उनले एससीटी छोडे र मोको सुरु गरे । ‘नेपालमा फिनटेकको सीमा कुवाको भ्यागुत्तो भयो, विश्वव्यापी बनाउनु पर्छ भनेर फुल टाइम काम गर्ने हिसाबले एससीटी छोडेर मोकोमा काम सुरु गरे,’ उनले भने । भण्डारी र आदिश श्रेष्ठ मिलेर मोकोको सुरुवात गरे । जसमा अहिले विभिन्न १० व्यक्ति तथा समूहको लगानी छ । उनै भण्डारी ३ वर्षदेखि सोही फोकसवान सोलुसनद्वारा सञ्चालित मोको वालेटको सीईओको रुपमा कार्यरत छन् । पारिवारिक पृष्ठभूमी नै व्यवसायी प्रणयराज भण्डारीको परिवार ठूलो व्यवसायिक घराना नभए पनि सानो तिनो ब्यापार व्यवसायमा भने संलग्न छ । उनका हजुरबुबाले राजसंस्थामा काम गरे । उनका बुबाले नै व्यवसायिक बाटोको सुरुवात गरे । उनले सोही विजनेसलाई विस्तारमा जोड दिए । उनको परिवारको बैंकसँगै रिटेलको बिजनेस छ । अहिले उनको परिवारले चियर्स अनलाइन बिजनेस पनि गर्दै आएको छ । त्यससँगै उनको निउ कम्पनीका विद्युतीय स्कुटर र बकार्डीको पनि बिजनेस छ । बकार्डीको बिजनेस उनको भाइले सम्हालिरहेका छन् । उनका बुबा प्रजन्यराज भण्डारी भने नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा छन् । सात वर्ष अगाडि विवाह गरेका उनकी डेढ वर्षकी छोरी छिन् । मोकोलाई ‘वर्ल्ड क्लास’को बनाउने प्रणयराज मोकोलाई नै विश्व स्तरीय वालेट बनाउनका लागि काम गरिरहेको बताउँछन् । ‘नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सर्वसाधारणले डिजिटल नेपालमा जोड दिएका छन्, सबै क्षेत्र सकारात्मक रुपमा अघि बढेको छ, सबै क्षेत्र स्मार्ट बन्न खोजिरहेका छन्, हामीलाई पनि अगाडि बढ्न टेवा पुगिरहेको छ,’ उनले भने । उनको करियर सुरु भएको नै यहि क्षेत्रबाट हो । त्यसैले पनि उनी अब यही क्षेत्रमै केही फरक गर्ने सोचमा छन् । ‘यहि क्षेत्रमा काम गरेको २० वर्ष हुन थाल्यो, अझै यो क्षेत्रमा २० वर्ष काम गर्छु, अहिले डिजिटल पेमेन्ट सुरु भएको छ, २ लाख क्रेडिट कार्ड होल्डर्स छन्, २० लाख क्रेडिट कार्ड होल्डर्स बनाउन मन छ,’ उनले २० वर्ष अघि भारतमा हरेक विद्यार्थीलाई एउटा क्रेडिट दिएको प्रसँग सम्झिदै भने, ‘क्रेडिट कार्डबाट कर्जा पाउनेदेखिसबै काम हुने क्रस बोर्डरको काम गर्ने इच्छा छ ।’ उनले मोकोलाई मल्टिपल पे गर्न मिल्ने बनाउने योजना पनि सुनाए । ‘डिजिटल नेपाल बनाउने हो, धेरै काम गर्न बाँकी छ, साथीहरुले भने सीईओ भएर यो क्षेत्रमा काम गर्न सक्छस् र भनेर प्रश्न गर्छन्, म मोकाे वालेटलाई वर्ल्ड क्लासको एप बनाउन लागिरहेको छु,’ उनले आफ्नो भावी योजना सुनाउँदै भने ।