विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर
काठमाडौं । न्यूरोडको एउटा साँघुरो गल्ली । त्यो गल्लीभित्र एउटा सानो कोठा । कोठाभित्र तीन वटा कुर्सी र एउटा टेबल । यो दृश्य विजय राजभण्डारीको मानसपटलमा अझैँ ताजै छ । ३० वर्ष अगाडि यसरी स्थापना भएको सीई कन्स्ट्रक्सनको अहिले काठमाडौंको मुख्य क्षेत्र त्रिपुरेश्वरमै आफ्नै भव्य भवन । मासिक करोडौंको कारोबार । डोरम्यानदेखि चेयरम्यानसम्म आ-आफ्नै काममा व्यस्त । काम गर्न भ्याइनभ्याई । ‘अरु काम भएन भन्छन्, काम लिन बजारमा प्रतिस्पर्धा गरिरहेका हुन्छन्, हाम्रोमा भने यो प्रोजेक्ट तपाईंहरुले नै बनाइदिनु प¥यो भनेर आउने धेरै हुन्छन्’ राजभण्डारी भने । ठिक एक वर्षअघि २०७८ पुसमा विकासन्युजमा प्रकाशित अन्तरवार्तामा उनले भनेका थिए– ‘अरुहरु बैङ्कले कर्जा दिएनन् भन्छन्, हामीलाई बैङ्कले बोलाएर कर्जा लैजानुहोस् भन्छन् ।’ कम्पनीका अध्यक्ष राजभण्डारी भन्छन्, ‘दिनहरु फेरिए, समय फेरियो, कम्पनीमा काम गर्ने कर्मचारीहरु फेरिए तर कर्मचारीहरुको मिहिनेत फेरिएन, सबैले आफ्नै कम्पनी भएको महसुस गर्दै काम गर्नुभयो, हामी झन् सशक्त भएर लागि रह्यौं, सबैको मिहिनेत, लगाव र झुकावले सीई कन्स्ट्रक्सन आज देशकै गर्व गर्न लायक कम्पनीका रुपमा स्थापित छ, मलाई पनि यसमै गर्व छ ।’ ६ जना मिलेर ५०/५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । सबैले पत्याउने मात्रै होइन, सबैले अनुसरण गर्ने काम गरेर निर्माण क्षेत्रमा आफ्नो हिस्सा फैलाउँदै गएको छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ क्षेत्र र जलविद्युत् क्षेत्रमा एक ‘ट्रेण्ड सेटर’ कम्पनीका रुपमा सीई कन्स्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै विजय राजभण्डारी । काठमाडौंको बसन्तुपरमा वि.सं.२०१६ सालमा जन्मिएका राजभण्डारी पढाई र पेशाले इञ्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जबलपुर विश्वविद्यालयबाट सिभिल इञ्जिनियरिङ गरे । उनले पुल्चोक इञ्जिनियरिङ कलेजमा लेक्चरका रुपमा पनि काम गरे । पछि अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीमा कन्स्ट्रक्सन म्यानेजरका रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी नेपाल फर्किए । अनि सन् १९९२ मा खोले सीई कन्स्ट्रक्सन । ‘म त्यतिखेर नेपालमा जस्तोसुकै राम्रो जागिर पाउन सक्थेँ तर आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मानसिकता ममा थियो, सुरुमा ५ लाख रुपैयाँमा एउटा कामको ठेक्का लियौं, निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो, काम तोकिएको समयभन्दा अगाडि नै सकायौं तर कम्पनीलाई २ लाख रुपैयाँ घाटा भयो,’ सीई कन्स्ट्रक्सनले सुरुमा गरेको प्रोजेक्टको कामलाई स्मरण गर्दै उनी भन्छन्– ‘तर, हामीले हरेश खाएनौं, काम गर्न सकिन्छ भन्ने आत्मबल थियो, धैर्यतापूर्वक अगाडि बढ्यौं ।’ हुन त त्यतिखेर पनि देशमा हजारौं कन्ट्याक्टर थिए । त्यो भीडमा पृथक काम गर्ने योजनाका साथ ‘डी क्लास’को कम्पनी स्थापना गएर निर्माण क्षेत्रमा प्रवेश गरेका थिए विजयले । जुन प्रोजेक्टमा हात हाल्यो त्यसलाई समयमै सक्ने र गुणस्तरीय बनाउनुपर्छ भन्ने योजनाका साथ उनी लागे । विदेशी प्रविधिलाई भित्र्याएर समयमै काम सम्पन्न गरी क्लाइन्टलाई खुसी बनाउन सके बजार आफै बन्छ भन्ने सोच उनमा थियो । ‘देश विकासको लागि निर्माण क्षेत्रको भूमिका ठूलो हुन्छ, विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ, त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ, नेपालमा निर्माण क्षेत्रको सम्भावना पनि धेरै छ, त्यसैले पनि मैले निर्माण क्षेत्रलाई रोजेँ, उनले कन्ट्रक्सन क्षेत्र रोज्नुको कारण प्रष्ट्याउँदै भने । उनी निर्माण क्षेत्र विकासको मेरुदण्ड भएको बताउँछन् । ‘निर्माण क्षेत्रले सबै क्षेत्रलाई जोड्छ, हाइड्रोपावरमा कन्ट्याक्टरले समयमा काम नगरेर परियोजना निर्माण ढिलाई हुन्छ, ढिला भयो भने धेरै घाटा हुन्छ, आफैले लगानी गरेको परियोजना छिटो सकिन्छ, समयमै सकेपछि त्यसको सेयर मूल्यमा पनि एक किसिमको आकर्षण हुन्छ, डेभलपर र कन्ट्याक्टर आफै भएपछि धेरै फाइदा हुन्छ, उनी भन्छन्–‘डेभलपर र कन्ट्याक्टर आफै भएकोले पनि हामीलाई काम गर्न धेरै सहज भयो ।’ सीई कन्स्ट्रक्सन एक ‘टेण्डसेटर’ तीन दशक अगाडि नेपालको निर्माण क्षेत्र खासै विश्वास गर्न लायक थिएन, क्षमता र कामको गुणस्तरिताको हिसावले । प्राइभेट क्षेत्रको ठूलो भवन बनाउनु प¥यो भने विदेशी कन्ट्याक्टरले काम पाउँथे । तर, सोही समय निर्माण क्षेत्रमा प्रवेश ग¥यो सीई कन्स्ट्रक्सन । सुरुमा राजभण्डारीले आफ्नै चार तले घरको निर्माण ६ महिनाभित्रै सम्पन्न गरेर देखाइदिए । समयभित्रै गुणस्तरीय निर्माण कार्यका लागि परियोजनाका लगानीकर्ताहरु सीई कन्स्ट्रक्सनलाई नै काम दिन चाहन्छन् । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सीई ग्रुपलाई भने काम भ्याई–नभ्याई छ । बैंकले कर्जा दिएन भनेर अरु व्यवसायी छट्पटाइरहँदा सीई ग्रुपलाई बैंकले बोलाएर कर्जा दिन्छन् । बजारले यसरी पत्याउनु नै उद्यमीको ठूलो उपलब्धि ठान्छन् विजयराज भण्डारी । सीई कन्स्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्र्यायो । त्यो प्रविधिको विषयमा क्लाइन्टलाई बुझाउन सक्यो । अहिले धेरै निर्माण कम्पनीलाई काम पाउन सकस छ तर सीई कन्स्ट्रक्सनलाई भने काम गर्न भ्याइनभ्याई छ । रोजेर मात्रै काम लिन्छ । ‘नेपाली कन्ट्याक्टरले पनि गुणस्तर काम दिन सक्छ र समयमै सकाउन सक्छ भन्ने सन्देश दिन सफल भयौं, सुरुमा विदेशी प्रविधि ल्यायौं, अन्यले पनि त्यसको सिको गर्दै गए, आज ठूल्ठूला निजी भवन निर्माणमा नेपाली कन्ट्याक्टर मात्रै छन्, यसमा हामी गर्व गर्छौं,’ राजभण्डारी भन्छन् । नेपालका सबैभन्दा ठूला अपार्टमेन्ट सीई कन्स्ट्रक्सनले नै निर्माण गरेको छ । ग्राण्डी टावर, थापाथली हाइट लगायत एक दर्जन ठूला अपार्टमेन्टहरु सीई समूहले बनाएको छ । केही वर्षअघि नेपाली कम्पनीहरुले ठूला हाइड्रोपावर निर्माणको जिम्मा पाउँदैनथे । तर, सीई कन्स्ट्रक्सनले प्रयोग गर्ने प्रविधि, समयमै सक्ने क्षमता र गुणस्तरीय कामकै कारण धेरैले पत्याउन थाले । सीई कन्स्ट्रक्सन नै पहिलो नेपाली कम्पनी हो जसले ८६ मेगावाटको जलविद्युत आयोजना तोकिएका समयभित्रै निर्माण सम्पन्न ग¥यो । त्यो पनि विदेशी कन्ट्याक्टरको संलग्नताविनै । नेपालीले मात्र बनाएको यो नै सबैभन्दा ठूलो जलविद्युत् योजना थियो । ‘सुन्नेलाई शब्द जस्तो मात्रै लाग्छ, त्यसको पछाडि कति ठूलो मिहिनेत छ, कति ठूलो सङ्घर्ष छ, त्यो काम गर्नेलाई मात्रै थाहा हुन्छ, नेपाली निर्माण क्षेत्र, रियलस्टेट र जलविद्युतमा हामी ट्रेण्ड सेटर नै हो,’ अध्यक्ष राजभण्डारीले दावीका साथ भने । हाइड्रोपावरमा ५०० मेगावाट भन्दा बढीका परियोजना नेपालीले नै गर्न सक्छ भनेर अब सीई समूहले काम गरेर देखाउने उनी बताउँछन् । सन् २०३० सम्म १ हजार मेगावाट उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको उनी सुनाउँछन् । त्यसका साथै स्याटेलाइट सिटीको अवधारणासँगै विदेशी लगानी बढी ल्याउने कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने योजना सीई समूहको छ । यस विषयमा अहिले उनले धेरै निकाय तथा व्यक्तिसँग छलफल गरिरहेका छन् । लुम्बिनी र नगरकोट हब बनाउँदै सीई ग्रुपको अर्को पायोनियर प्रोजेक्ट हो लुम्बिनी र नगरकोट हब । यो आफैमा अर्को नयाँ ‘ट्रेण्डसेट’ हो । जुन नेपालका लागि नौलो अभ्यास पनि हो । एउटै ठाउँमा बच्चालाई मनोरञ्जन गर्न सकिने मनोरञ्जन स्थलदेखि स्वीमिङ्ग पुल, रेष्टुराँ, सपिङ कम्प्लेक्स र इभेन्टका लागि मेगा हलहरु लगायतका सेवा सुविधाहरु ती हबभित्र हुनेछन् । पर्यटकहरुलाई चार/पाँच दिनसम्म नेपालमै बस्न सक्ने पूर्वाधार र सेवा सुविधाहरु सीई ग्रुपले निर्माण गर्दैछ । त्यसका लागि कम्पनीले तयारी थालिसकेको छ । ‘अहिले पर्यटकहरु लुम्बिनीमा आउँछन्, एकदिन ध्यान गरेर फर्किहाल्छन्, अब हामी लुम्बिनी हब निर्माण गरेर कम्तिमा चार/पाँच दिन यतै बस्ने सेवा सुविधासहितको हब निर्माण गर्दैछौं, जहाँ पर्यटकले सबै सुविधाहरु एउटै छानाभित्र पाउन्,’ अध्यक्ष राजभण्डारीले योजना सुनाए । जसलाई सीई समूहले पाइलट प्रोजेक्टको रुपमा काम गर्न खाजेको छ, यसमा ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । जुन ७ बिघा जग्गामा बन्दैछ । अर्को यस्तै प्रोजेक्ट कम्पनीले नगरकोटमा पनि निर्माण गर्दैछ । ‘हामी रणनीतिक साझेदारहरुको सहयोगमा काम गर्दैछौं, जुन क्षेत्रमा जसको विज्ञता छ, तिनीहरुसँग साझेदारी गरेर काम गरिरहेका छौं, यसले हामीलाई सफलता हासिल गर्न सहयोग मिलिरहेको छ ।’ सफता चुम्नेहरुलाई अझ धेरै गर्न मन लाग्छ, जोश पनि हुन्छ विजय राजभण्डारीमा पनि त्यो जोश (प्यासन) छ । ‘मैले आफ्नो पढाइको १० प्रतिशत मात्रै व्यवहारमा उतारेको छु, धेरै काम गर्न अझै बाँकी नै छ’ उनले भने । सीई समूह सातै प्रदेशमा सीई कन्स्ट्रक्सन खोल्ने योजनामा छ । ती सबै प्रदेशलाई कसरी ‘सेल्फ सस्टेन’ गराउने भन्ने योजना राजभण्डारीले बुनिरहेका छन् । अहिले सीई समूहले सम्झौता गरेअनुसार समयमै काम सकेकोले सबैको रोजाइमा आफ्नो कम्पनी परेको उनी बताउँछन् । ‘मास पार्टिसिपेन्ट मोडेल’ र ‘रणनीतिक साझेदार’को मोडेलले काम गर्दा सीई समूह सफल भएको पनि उनको धारणा छ । पब्लिकमा जाने तयारी पछिल्लो समय राम्रो नाफा गरेका कम्पनीहरु सेयर बजारमा सूचीकृत हुने अभ्यास बढ्दो छ । सरकारले पनि वार्षिक ५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले सेयर बजारमा सूचीकृत हुनु पर्ने नीतिगत व्यवस्था गरेको छ । सीई समूहले पनि पहिलेदेखि नै पब्लिकमा जाने योजना नबनाएको होइन । तर, विभिन्न प्राविधिक कारणले जान नसकेको राजभण्डारी बताउँछन् । आगामी चैतसम्म सिई कन्स्ट्रक्सलाई पब्लिक कम्पनी बनाउने गरी प्रक्रियागत काम थालिएको छ । पहिला कर्मचारीलाई सेयर दिने र त्यसपछि पब्लिकको लागि सेयर निष्काशन गर्ने उनको तयारी छ । ‘कम्पनी स्थापना हुँदा नै सेयरधनी र कर्मचारी दुवै यस कम्पनीकोे मालिक हौं भन्ने अवधारणाका साथ काम ग¥यौं, हामी पनि सुरुवातदेखि नै तलब नै खाएर आयौं, कर्मचारीले आफ्नै कम्पनी ठानेर काम गरिरहनु भएको छ, कर्मचारीलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो योजना छ र काम पनि अगाडि बढेको छ ।’ १० प्रतिशत सेयर कर्मचारीलाई दिने किसिमले तयारी भइरहेको उनले बताए । कम्पनीको १ अर्ब १० करोड पुँजी रहने छ । अध्यक्ष राजभण्डारी भन्छन्, ‘डोरम्यानदेखि चेयरम्यानसम्म यस कम्पनीको मालिक हो, कम्पनीको हिस्सेदार सबै कर्मचारीहरु हुन्, हाम्रो काम गर्ने वातावरण पनि सहज छ ।’ ६३ वर्षीय राजभण्डारीलाई आफ्नो टीमप्रति भरोसा छ । टीम वर्कले नै सीई कन्स्ट्रक्सन सफल भएको उनको भनाइ छ । सक्षम र काम गर्न सक्ने व्यक्तिलाई सधैं स्वागत गर्न सीई तयार रहेको उनको धारणा छ । सफल उद्यमी बन्न के गर्ने ? नयाँ उद्यम गर्न धेरै चाहन्छन् । तर, चाहनाले मात्रै मूर्त रुप कहाँ लिन्छ र ? सफल बन्नका लागि कडा मिहिनेत, कुशल जिम्मेवारी, लगाव, झुकाव चाहिने राजभण्डारीको तर्क छ । ‘हुन त नपढेको मान्छले पनि राम्रै पैसा कमाउँछ, पैसा कमाउनु र सफल बन्नु फरक विषय हो, मान्छे सफल बन्नका लागि एजुकेशन, एक्सपोजर र एक्सपेरियन्स चाहिन्छ,’ उनी भन्छन् । व्यापार छनोट सफल उद्यमी बन्ने पहिलो खुड्किला रहेको उनको धारणा छ । व्यक्तिले बिजनेस सेलेक्सन गर्दा ध्यान दिनुपर्ने उनी बताउँछन् । निर्माण, आवास विकास, जलविद्युत् परियोजना निर्माणको क्षेत्रमा उदाहरणीय पदचिह्न छोड्नै गएको सीई कन्स्ट्रक्सनले पर्यटन क्षेत्रमा पनि ‘टुरिजम हब’को विकास गरी नयाँ ट्रेण्ड सेट गर्दैछ । यसको शुरुवात लुम्बिनी र नगरकोटबाट हुनेछ । पैसा भएर मात्रै बिजनेस हुँदैन, सबैभन्दा महत्वपूर्ण बिजनेस सेलेक्सन हो, जति बढी नाफा हुने बिजनेस हे¥यो, त्यति बढी रिक्स (जोखिम) मोल्न सक्ने क्षमता हुनुपर्छ, क्षमता नहुँदा धेरैको लगानी डुब्छ,’ उनले एउटा उदाहरण दिँदै भने– ‘अहिले रेष्टुरेन्टको मालिकहरु परिवर्तन भइरहन्छन् किनकी उनीहरुसँग बिजनेस गर्ने योजना नै छैन, त्यसका चुनौतीहरु के–के छन् त्यो पनि बुझ्नु पर्छ, जुन बिजनेस पछिसम्म रहिरहन्छ त्यस्तो बिजनेस छनोट गर्नुपर्छ, हामीले निर्माणको क्षेत्र रोज्यौं किनकी यो कहिले पनि अन्त्य हुँदैन ।’ बिजनेसमा चार वटा क्याट्यागोरी हुन्छ । वर्कर, सुपरभाइजर, म्यानेजर र लिडर । एउटा उद्यमीमा यी चारवटै क्याट्यागोरी हुनु पर्ने उनको राय छ । तब मात्रै एउटा उद्यमी सफल हुन्छ जब उ एउटा कामदारदेखि कम्पनीको अध्यक्ष हुनेसम्मको ल्याकत राख्न सक्छ । एउटा उद्यमीले आफ्नो संस्थामा प्रफर्मेन्स, विश्वसनियता, ओनरसिप र जिम्मेवारीको विषयमा थाहा पाउनु पर्ने पनि उनी बताउँछन् । ‘कम्पनी मेरो हो भन्ने महशुस सबैमा हुनुपर्छ, साँच्चिकै उद्यमी बन्ने चाहना छ भने बाटो बदल्नु हुँदैन, एउटा उद्यमीले उद्यमी नै बन्नुपर्छ, अहिलेको भन्दा धेरै राम्रो अवसर पनि आउन सक्छ तर बाटो बदल्नु हुन्न, त्यसले दुर्घटना निम्त्याउँछ, सफलता दिन सक्दैन, बीचमै बाटो मोडेको भए सीई कन्स्ट्रक्सन अहिले एक पायोनियर कम्पनीका रुपमा परिचित हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’
काठमाडौं । मान्छे खुसीमा होस् वा रोदनमा । थकान मेटाउन होस् वा उत्सव मनाउन, प्रयोग प्रायः मदिराको गर्छ । कतिपय मानिस मदिरा पिएर मातिन्छन् त कतिपय बहकिन्छन् । एकअर्काबीच कुरा साटासाट गर्न होस् वा सामाजिक बन्न पनि अधिकांशले मदिरा नै पिउँछन् । पछिल्लो समय त झन् पिउने बानी नभएका तर सामाजिक बन्नकै लागि भए पनि पिउनेहरुलाई ‘सोसियल ड्रिङ्कर’को उपमा दिइएको छ । अहिले मदिराबिनाका भोजभतेर हुँदैनन् । जब कार्यक्रममा ककटेल हुन्छ, त्यो कार्यक्रमको रौनक नै पृथक । कुनै समय थियो, जसले विदेशी ब्राण्डका रक्सी पिउँछ, त्यो समाजमा हुनेखाने अर्थात् ‘हाई स्ट्याण्डर्ड’को मान्छे । तर, अहिले त्यसको परिभाषा बदलिदिएका छन् रवि केसीले । नेपाल मदिरा उत्पादक सङ्घका पूर्वअध्यक्ष तथा यति डिस्टिलरीका अध्यक्ष रहेका केसी छोटै समयमा नेपाली मदिरा उद्योगलाई एक गर्व गर्न लायक क्षेत्रका रुपमा स्थापित गर्न सफल भएका छन् । विदेशी मदिराको दबदबा रहेको नेपाली बजारमा अहिले उनै केसीको कारण विदेशी ब्राण्डका मदिराहरुको बजार सङ्कुचित बन्दै गएको छ, नेपाली उत्पादनले विस्थापित गर्दै लगेको छ । सन् २०१५ मा आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु वल्र्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश गरेको यति डिस्टिलरी अहिले नेपाल मदिरा उद्योगमा एक अग्रणी र सफल कम्पनीका रुपमा स्थापित भएको छ । यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताको रोजाइमा परेका छन् भने उपभोक्ताहरुले विदेशी मदिराको सट्टा यति डिस्टिलरीका ब्राण्डहरुको स्वाद मन पराउन थालेका छन् । उत्कृष्ट र गुणस्तरीय उत्पादनकै कारण कतिपय मानिसहरुको दैनिकी बनेका छन् यति डिस्टिलरीका उत्पादन । छोटो समयमा यति डिस्टिलरी कसरी बन्यो अग्रणी मदिरा कम्पनी ? अध्यक्ष केसी भन्छन्, ‘हामीले नाफाभन्दा गुणस्तरीयतामा ध्यान दियौं, उपभोक्ताको रोजाइलाई फोकस गर्यौं, कसैले हाकिम भएपछि आफूभन्दा तलको कर्मचारीको कुरा सुनेर निर्णय लिन्छ तर म आफै फिल्डमा गएर त्यसको वास्तविकता बुझेर निर्णय गर्छु, धेरै मिहिनेतपछि यति डिस्टिलरीका उत्पादनहरु उपभोक्ताकाबीच एक ब्राण्डका रुपमा स्थापित भएका हुन्, अझै धेरै काम गर्न बाँकी छ ।’ कम्पनीमा ५० प्रतिशत सेयर केसीको र ५० प्रतिशत अभिषेक श्रेष्ठको छ । कम्पनीले आधा दर्जन बढी ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । ८८४८ भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप, वल्ड दरबार, ब्ल्याक चिम्नी, बाह्रसिंगेको सुपर स्ट्रोङ्ग, बाह्रसिंगे प्रिमियम स्ट्रोङ्ग, फाल्कन लगायतका मदिरा तथा वियरहरु यस कम्पनीका चर्चित उत्पादनहरु हुन् । यति डिस्टिलरीको सन् २०२१ मा २१ प्रतिशतले आम्दानी बढेको अध्यक्ष केसी बताउँछन् । कम्पनीले सन् २०२१ मा १३ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता छ भने हाल १२० वटा वितरकबाट मदिरा बिक्री भइरहेको छ । ‘प्रत्येक तह/तप्काका मान्छेले उच्च स्तरीय मदिरा/वियर पिउन् भन्ने मेरो कन्सर्न हो, अब उच्च स्तरीय रक्सी पिउन विदेशबाट ल्याउनु पर्दैन, रक्सीमा विदेशी मु्द्रा खर्च गर्नु पर्दैन, अन्तर्राष्ट्रिय ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरिरहेका छौं । सबैले मन पराइरहनु भएको छ, मदिरामा नेपाल आत्मनिर्भर हुन सक्छ भनेर म देखाउन चाहन्छु,’ अध्यक्ष केसीले भने । वस्तु उत्पादन गर्दा नाफा हेर्नेभन्दा पनि आफुले सुरुमा काम हेर्ने केसी बताउँछन् । केसी विदेशी लगानी रहेको सूर्य नेपालका उपाध्यक्ष पनि हुन् । सूर्य नेपालको उपाध्यक्षको जिम्मेवारी पूरा गर्दा गर्दै उनले आफ्नो कम्पनीलाई एक उत्कृष्ट मदिरा उत्पादक कम्पनीका रुपमा स्थापित गराए । उनलाई अहिले पनि सूर्य नेपालले उपाध्यक्षको जिम्मेवारी दिइनै रहेको छ । बहु राष्ट्रिय कम्पनीको जागिर गर्दै पारदर्शी रुपमा आफ्नै कम्पनी स्थापित गरेर, अहिले पनि दुबै जिम्मेवारी सम्हालेर उनले व्यवस्थापनमा नयाँ नमूना नै छोडेका छन् । ‘विदेशी कम्पनीमा आबद्ध भएर र आफ्नै व्यापार गरेर पनि एक उत्कृष्ट कम्पनी बनाउने सायद कमै छन्, म हिजो सूर्य नेपालमा जत्ति खटिन्थेँ, आज पनि त्यति नै खटिन्छु, सूर्य नेपालमा सेयर नभए पनि हिजो पनि मालिकको रुपले काम गरेँ, आज पनि सोही ढंगले काम गरिरहेको छु, यो मेरो स्ट्रेन्थ हो,’ केसी भन्छन्, ‘म नाफाभन्दा पहिला गुणस्तर र उपभोक्ताको रोजाइ हेर्ने भएको कारणले पनि हाम्रो उत्पादन सबैले मन पराउनुहुन्छ ।’ रवि आज आफु जुन अवस्थामा छन् त्यसको श्रेय सूर्य नेपाललाई दिन्छन् । ३३ वर्षदेखि सूर्य नेपालमा आवद्ध भएका उनको व्यावसायिक यात्रा पनि सूर्य नेपालबाटै सुरु भएको हो । ५३ वर्षीय केसी भन्छन्, ‘व्यक्ति वा संस्थाले समय अनुसार चल्नु पर्छ, व्यक्तिको ‘च्वाइस’ पहिचान गर्न सक्नु पर्छ, तब मात्रै लक्ष्य भेटाउन सकिन्छ ।’ केसी आफु पनि कहिलेकाहीँ मदिरा पिउने गरेको बताउँछन् । तर, जुन दिनदेखि उनले यति डिस्टिलरीको मदिरा उत्पादन गर्न थाले सो दिनदेखि अन्य कम्पनीको मदिरा नपिएको सुनाउँछन् । ‘म जे जति कार्यक्रममा जान्छु जताततै मेरै कम्पनीको मदिरा देख्छु, कहिलेकाहीँ कुनै कार्यक्रममा नराखेको भए गाडीबाट निकालेर आफ्नै कम्पनीको ह्वीस्की पिउँछु, म मेरै कम्पनीको मदिरामा स्वाद देख्छु,’ उनी भन्छन्, ‘हामीले लामो अध्ययन अनुसन्धान गरेर उत्पादन गर्ने भएकोले पनि बजारले मन पराएको छ ।’ उत्पादनलाई गुणस्तरीय र उपभोक्ताको रोजाइको बनाउन सके त्यसले स्वस्फूर्त रुपमा बजार लिने केसीको धारणा छ । ‘कतिपय मानिसको उद्देश्य जसरी भए पनि पैसा कमाउने हुन्छ, अधिकांशले काम गरेपछि कति पैसा आउँछ भनेर सोच्छन् । तर, मेरो सोच भनेको काम गरेपछि पैसा आइहाल्छ नि भन्ने हो, काम राम्रोसँग गर्ने, त्यसलाई कसरी गुणस्तरीय बनाउने भन्ने मेरो ध्यान हुन्छ, पैसा कमाउने भन्दा पनि मैले उत्पादनलाई कसरी गुणस्तरीय बनाउनेतर्फ मेरो जोड हुन्छ, वस्तुमा कतिको मार्जिन राख्ने भन्दा पनि यसलाई कसरी मिठो बनाउने भन्नतर्फ मैले सोच्छु, मिठो भएपछि बजारमा राम्रो बिकिहाल्छ, तनावै लिनु पर्दैन,’ उनी भन्छन्, त्यसपछि आफू अघि-अघि जाने पैसा पछि-पछि स्वतः आइहाल्छ ।’ ५३ वर्ष पुगे पनि केसीमा जोश जाँगर अझै बढ्दै गएको छ । समाज र देशका लागि केही गरौं भन्ने हुटहुटी उनमा छ । नेपाललाई मदिरामा आत्मनिर्भर बनाउने र मदिराकै लागि विदेशिने डलर रोक्नु पर्ने उनको ध्येय छ । ‘म कहिल्यै थाक्दिनँ, मैले व्यक्तिगत नाफा कहिल्यै सोचिनँ, मैले मेरो व्यवसाय र कामलाई नै महत्व दिन्छु, जसले देशलाई लाभ होस्, उनी भन्छन्, ‘म आर्यघाट नपुग्दासम्म यतिकै हुन्छु, यो व्यवसायबाट कहिल्यै रिटायर्ड पनि हुँदैन ।’ उनी सबैभन्दा ठूलो स्वास्थ्य भनेको सोच र सन्तुष्टि भएको धारणा राख्छन् । ‘रक्सी खाएर तनाव लियो भने तनाव हुन्छ, रक्सी खाएर खुसी भयो भने त्यसले खुसी दिन्छ, संसारमा सबैभन्दा ठूलो निरोग भनेकै सन्तुष्टि हो, औषधि पनि त बढी खायो भने पोइजन बनिदिन सक्छ,’ उनी थप्छन्, ‘सीमित खानुस्, सब राम्रो हुन्छ ।’ दुई वर्षभित्रै उत्कृष्ट करदाता रवि केसीलाई यस वर्ष आन्तरिक राजश्व विभागले व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रुपमा आफ्नो नाम सार्वजनिक गर्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा अपेक्षामै सीमित बन्यो । उनी अलिकति चुके । विभागले उनलाई होइन विजयकुमार शाहलाई उच्च करदाताको रुपमा सम्मानित ग¥यो । केसी आफु पनि नेपालमा सबैभन्दा बढी तलब खाने व्यक्तिको सूचीमा रहेको दाबी गर्छन् । तर, उनले कति तलब खान्छन्, त्यो भने खुलाएनन् । ‘यस पटक व्यक्तिगत तर्फको करमा उत्कृष्ट करदाताका रुपमा आउँछु की भन्ने आशा थियो तर आइनँ, म पनि नेपालमा उच्च तलब खानेहरुमध्ये पर्छु,’ उनी भन्छन्, अब हेरौं अर्को वर्ष के हुन्छ ।’ अहिले पनि मदिरा उद्योगमा यति डिस्टिलरी भने नम्बर वान करदाता भएको उनी दावी गर्छन् । ‘छोटै समयमा यो किसिमको बजार पाएका छौं, अब छिट्टै उत्कृष्ट करदाताका रुपमा सबैले हेर्न सक्नुहुन्छ, डेढ/दुई वर्षभित्रै उत्कृष्ट करदाताका रुपमा यति डिस्टिलरीको नाम आउँछ, विदेशबाट आउने महँगा रक्सीहरुलाई नेपालमा ठप्प पार्न चाहन्छु, रक्सीमा जुन किसिमको पैसा विदेश जान्थ्यो त्यो रोक्न पाएकोमा गर्व लाग्छ’, उनी गर्वका साथ भन्छन्, ‘विदेशी रक्सी नेपाल आउन रोक्ने कम्पनी यति डिस्टिलरी हो ।’ यति डिस्टिलरीमा भएको युवा जनशक्तिकै कारण कम्पनीले छोटै समयमा एक किसिमको सफलता प्राप्त गरेको उनी बताउँछन् । आज पनि वल्र्ड दरबारको सेल्सम्यान छु, भोलि पनि हुनेछु, यो पद भन्ने विषय गौण हो, अध्यक्ष/उपाध्यक्ष भनेको औपचारिकता मात्रै हो । मेरो काम भनेको वस्तु बिक्री गर्ने नै हो,’ उनी भन्छन्, ‘सूर्य नेपालमा मेरो सेयर छैन तर म त्यहाँको मालिक हो, कर्मचारीले पनि मालिक भएको महसुस गरेर काम ग¥यो भने कम्पनीले लिएको लक्ष्य भेटाउन सजिलो हुन्छ ।’ यति डिस्टिलरीका उत्पादन नेपालमा मात्रै परिचित छैनन् । यसका उत्पादनले विश्व बजार पनि हल्लाइरहेका छन् । गत वैशाखमा यतिका दुई उत्पादनले मदिराको विश्व प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जित्यो । यतिका उत्पादन ८८४८ भोड्का र वल्ड दरबार ब्ल्याक चिम्नी ह्वीस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेको थियो । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यसले पनि यतिका उत्पादनहरु कति गुणस्तरीय छन् भन्ने विषय प्रष्ट्याउँछ । सरकारको नीति सकस अर्बौंको लगानी रहेको मदिरा उद्योगलाई सरकारले सौतेनी व्यवहार गरेको केसीको गुनासो छ । मदिरा उद्योगलाई हेर्ने समाज र सरकारको दृष्टिकोणमा खोट भएको उनको धारणा छ । सरकारले राजस्व खोज्ने तर यसलाई व्यवस्थित बनाउन ध्यान नदिने प्रवृत्तिले उद्योगको विस्तार हुन नसकेको उनको भनाइ छ । वर्षेनी बढाउने राजश्वले मदिरा व्यवसायी निरुत्साहित हुँदै गएको उनले बताए । ‘बजेटमार्फत् रक्सी चुरोटमा जति पनि राजस्व बढाए हुन्छ भन्ने सरकारको मानसिकता गलत छ, यसले वास्तविक उद्योगी समस्यामा पर्छन्, अवैध र गुणस्तरहीन मदिराले प्रशय पाउँछ, त्यसले झन् मानिसको स्वास्थ्यमा हानी पु¥याउँछ, उनले भने । सस्तो लोकप्रियताका लागि रक्सीको विरोध ग¥यो भने समाजमा हिरो भइन्छ भन्ने केही मानिसहरुको कारणले यसलाई नकारात्मक वस्तुका रुपमा लिइएको उनको तर्क छ । मदिरा उद्योगलाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको उनको धारणा छ । पहिले उद्योगी व्यवसायीहरुका कुरा सुनेर बजेट ल्याउने चलन भए पनि अहिले भने त्यो अभ्यास हराउँदै गएको उनको गुनासो छ । ‘पछिल्ला ४/५ वर्षमा एनजीओ र आईएनजीओले भनेका कुरा बढी सुनिन थालेका छन्, वास्तविकताभन्दा पनि सेन्टिमेन्टलमा गएर निर्णय गर्ने परिपाटी बढ्दो छ, बढी कर पनि त्यसकै उपज हो, यस्ता निर्णय खराब वस्तुहरुले बजारमा बढी हिस्सा लिन्छन्, उत्पादन, उपभोक्ता र राजश्व लिने सरकारबीच समन्वय हुन सक्नु पर्छ, तब मात्रै नेपालमा सबै वस्तुहरुको औद्योगिक वातावरण सिर्जना हुन्छ, सबैले रोजगारी पाउँछन्, समग्रमा देशको भविश्य उज्जवल हुन्छ,’ उनले भने । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति
काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा-बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल उद्यमी पनि हुन् उनी । व्यापार र सेवा क्षेत्रभन्दा उद्योग क्षेत्र बढी जोखिमपूर्ण मानिन्छ नेपालमा । तर, अग्रवाल यस्ता उद्योगी हुन् जसले उद्योगमा मात्र लगानी गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल उनको ठूला उद्योग हुन् । त्यस्तै, तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् । ती उद्योगमा प्रत्यक्ष रुपमा करिब १८०० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा २५०० सयभन्दा बढीले रोजगारी पाएका छन् । ‘मलाई रोजगारी सिर्जना गर्न सक्ने क्षमता भगवानले दिएका छन्’ उनले गौरवका साथ सुनाए । नेपालका धेरै व्यवसायीले उद्योगलाई भन्दा व्यापार वा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ । राजेश अग्रवालले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् । ‘जानेको काम गर्ने हो । जुन क्षेत्रमा सफलता मिलेको छ, त्यसमा विस्तार गर्दै जाने हो,’ उनले भने । अग्रवालले फेरि पनि उद्योगलाई नै प्राथमिकतामा राखेका छन् । ‘नेपालको अर्थतन्त्र आयातमुखी छ । आयातलाई विस्तापित गर्न उद्योग स्थापित हुनुपर्छ । त्यसैले म उद्योग क्षेत्रको भविष्य पनि राम्रो देख्छु’ उनले भने, ‘नेपालीको लागि आवश्यक वस्तु उत्पादन गरेर आयातलाई विस्थापित गर्न सकियो भने त्यो पनि देशको लागि ठूलो सेवा हो, मेरो समर्पण यसैमा हुनेछ ।’ उद्योगमा मात्र लगानी किन गरेको, किन सेवा वा व्यापार क्षेत्रमा लगानी नगरेको भनेर राजेशका मित्रहरुले चासो चिन्ता पनि जाहेर गर्छन् । उद्योग क्षेत्रमा मात्र लगानी केन्द्रीत गर्दा जोखिम बढी हुन्छ भन्ने पनि छ । तरपनि उनले उद्योग क्षेत्रमा मात्र लगानी गरेका छन् होटल, हस्पिटल, टेलिकम जस्ता सेवामा पनि ठूलो बिजनेशको स्कोप छ, तर त्यसमा मेरो अनुभव छैन, विज्ञता नभएको क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण ठान्छु,’ उनले भने– ‘मैले उद्योग क्षेत्रमा नै विविधीकरण गरेको छु ।’ पुस्तान्तरणसँगै धेरै व्यावसायिक घरानाको व्यवसाय र प्रकृति पनि फेरिएको छ । हजुरबा उद्योगी थिए भने बढी नाफाको खोजीमा छोराछोरी व्यापार वा सेवा क्षेत्रमा लागेको पाइन्छ । नाति पुस्ता त सूचना प्रविधिको क्षेत्र हुँदै व्यापारको भूमण्डलिकरणतिर लम्किरहेको पाइन्छ । विदेशमा व्यापार गराउन छोरा छोरीलाई अर्को देशको नागरिक बनाउने र नेपाली नागरिकता नै त्याग्न लगाउने व्यापारी पनि छन् । तर राजेशको छोरा शोमेश अग्रवाल पनि उद्योगमा् जमिसकेका छन् । ‘मेरो हजूरबुवाले पनि उद्योग चलाउनु भयो, मेरो बुबाले पनि राइस मिल, मैदा मिल, सह–मिल चलाउनु भयो, मैले ठूला र राष्ट्रिय स्तरको उद्योगमा लगानी गरे, छोराले पनि श्री स्टीलको नेतृत्व गरिरहेको छ’ उनले भने । महामारीले बजार संकूचित भएको र अर्थतन्त्र सङ्कटमा रहेको अवस्थामा पनि राजेश अग्रवालका कम्पनीहरुले वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन् । अर्घाखाँची सिमेन्ट उद्योग खोलेपछि उनी राष्ट्रियतरको व्यवसायी बने, जब क्लिङकर खानीसहितको उद्योग लगानी गरे । धेरै उद्योगमा उनी कार्यकारी भूमिकामा छन् । ‘सबै उद्योगमा प्रत्यक्ष निगरानी गर्दै आएको छु, सबै उद्योगमा आफै पुग्छु’ उनले भने– ‘अब कम्पनीको मोडल परिवर्तन गर्दैछु, पहिला एकल स्वामित्वका कम्पनी चलेका थिए, पछि पार्टरसिप मोडल फस्टायो, अब पब्लिक कम्पनी बनाउनुपर्छ, नाफा धेरैमा वितरण गर्ने अभ्यासले राम्रो हुन्छ, पब्लिक कम्पनी भएपछि कर्मचारी पनि बढी जिम्मेवार हुन्छन्, उनीहरुले पनि बढी लाभ पाउँछन् ।’ नयाँ योजना राजेश अग्रवालले तत्कालका लागि नयाँ योजनाको तयारी त गरेका छैनन् तर अवस्था सामान्य हुने बित्तिकै ठूला परियोजनामा हात हाल्ने उनको सोच रहेको छ । ‘अहिले तत्काल नयाँ उद्योग खोलिँदैन, भएका उद्योग बचाउन कठिन भैरहेको छ,’ उनी भन्छन्, ‘हरेक देशमा दजनसंख्या बढिरहेको हुन्छ, प्रतिव्यक्ति आम्दानी बढिरहेको हुन्छ, देशको जीडीपी बढिरहेकोे हुन्छ, ४ प्रतिशतले जीडीपी बढेको छ भने ८ प्रतिशतले उपभोग बढिरहेको हुन्छ । त्यस्तै मूल्यवृद्धि जोडिएर आएको हुन्छ, यस हिसावले बजार विस्तार हुन्छ भन्ने विश्लेषणको आधारमा उद्योग ल्याएका हुन्छौं, नेपाल जस्तो देशमा हरेक वर्ष बिजनेशन ग्रोथ १८/२० प्रतिशत हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ, तर पछिल्लो समय कोडिभ महामारी, तरलताको अभाव, उच्च व्याजदर वृद्धिले गर्दा बजारमा मागको कमी आएको छ, निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ, जुत्ता, कपडाको बजारमा मध्यम स्तरको प्रभाव रहेको छ, खाद्यान्यमा कम असर छ, यो अवस्थामा नयाँ उद्योग ल्याउन सकिँदैन ।’ मोफसलबाट उदाएका व्यवसायी राजेश अग्रवालले उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गरेर पनि सफल हुन सकिन्छ भन्ने ट्रेण्ड सेट स्थापित गरेका छन् । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटोजस्ता ठूला उद्योग स्थापनापछि राष्ट्रिय स्तरको उद्योगपतिको छवि बनाएका अग्रवालले सिमेन्ट र स्टील भारतमा निर्यात थालेर नेपाली अर्थतन्त्रमा नयाँ आशाको ज्योति बालेका छन् । ‘अवस्था राम्रो थियो भने पूर्वी नेपालमा नयाँ सिमेन्ट उद्योग लगानी गर्ने सोचमा थियौं, फलाम खानी खोजिरहेका छौं,’ उनले भने– ‘पहिला डण्डी आयात गर्दथ्यौ, पछि बिलेट आयात गरेर नेपालमा डण्डी बनाउन थाल्यौं, अहिले स्पञ्ज आइरन र स्क्र्याप आइरन आयात गरेर बिलेट नै नेपालमा उत्पादन थालेका छौं, भविष्यमा हामीले फलाम खानीको खोजी गर्ने, स्पञ्ज आइरन पनि नेपालमै बनाउने काम गर्न सक्छौं, त्यसले देशको परनिर्भरता कम गर्छ ।’ डण्डी आयात हुँदा १०० रुपैयाँ विदेश जान्थ्यो भने बिलेट आयात गर्दा ८५ रुपैयाँ विदेश जान्थ्यो, स्पञ्ज आइरन आयात गर्दा ७० रुपैयाँ विदेश जान्छ । अब नेपालमा नै खानी पायौं, नेपालमै स्पञ्ज आइरन उत्पादन गर्न सक्यौं भने कोइला मात्र आयात गरे पुग्छ, ७० रुपैयाँ मात्र आयातमा खर्च हुन्छ । हामी उद्यमीले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोच्नुपर्छ । घर घरमा बिजुलीबाट खाना पकाउन थाल्यौं भने एलपी ग्यास किन चाहियो, किन आयात गर्नुप¥यो ? नेपाली उद्यमीहरुले पहिले आयातलाई कसरी प्रतिस्थापन गर्ने भनेर सोच्नु पर्ने र त्यसपछि निर्यात वृद्धिमा ध्यान दिनुपर्ने उनको विचार छ । ‘अहिले हामीले अर्घाखाची सिमेन्ट, श्री स्टील निर्यात गर्न थालेका छौं, यो शुरुवात मात्र हो, भारतमा हामीले हाम्रो ब्राण्ड स्थापित गर्न समय लाग्छ, त्यहाँका उपभोक्तामा ब्राण्ड कन्सस्नेश बढी छ । ब्राण्ड स्थापित भएपछि मात्र ठूलो मात्रामा निर्यात गर्न सकिन्छ । सरकारले पनि निर्यात प्रोत्साहनको लागि सकारात्मक सोच राखेको छ ।’ पछिल्लो आर्थिक सङ्कटले अरु व्यवसायीको जस्तै उनको पनि मनोबल भने गिरेको रहेछ । ‘सपना धेरै थिए, तर पछिल्ला वर्ष अर्थतन्त्र सङ्कटमा छ, आयात नै बढेको छ । निर्यात कम भएको छ, अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदानको हिस्सा घट्दै गएको छ, १ रुपैयाँको निर्यात गर्दा ११ रुपैयाँको आयात भैरहेको छ, बैङ्कले कर्जा दिँदा पनि उद्योग, व्यापार, सेवा क्षेत्रमा एउटै व्याजदर राखिएको छ, आयातमुखी अर्थनीतिलाई निर्यातमुखी बनाउने दिशामा काम भएको छैन’ उनले वर्तमान अवस्थाको वर्णन गरे । ‘भारतमा १०० करोडमा खोल्न सकिने उद्योगको लागत नेपालमा १२५ करोड परिरहेको छ, भारतमा उद्योगले ८ प्रतिशत व्याजमा कर्जा पाइरहेको छ भने नेपालमा १४ प्रतिशत व्याज तिर्नुपरेको छ, भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले हाम्रो लागत कसरी कम गर्न सकिन्छ भनेर सोच्नुपर्नेछ,’ उनी भन्छन्– ‘भारत र चीनबाट आयत हुने सामानमा २५ प्रतिशत भन्सार कर लगाउँदा पनि नेपाली वस्तु भन्दा विदेशी वस्तु सस्तो पर्ने अवस्था रहेको छ । व्यवसायी र सरकारको भूमिका उद्योग व्यापारमा जमेका व्यवसायीहरुमा राजनीतिक प्याँस जाग्दै गएको छ । संसदमा व्यावसायिक पृष्ठभूमि भएको सांसदहरुको संख्या बढ्दो छ । तर राजेश अग्रवाललाई राजनीतिमा जाने इच्छा छैन । ‘राष्ट्रसेवा गर्नको लागि राजनीति गर्नुपर्छ वा सरकारी पैसा खल्तीमा हाल्ने काम गर्नुपर्छ भन्ने छैन’ उनी भन्छन्– ‘तर व्यवसायी साथीहरु जो संसदमा पुग्नु भएको छ, उहाँहरुले आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सकारात्मक भूमिका खेल्नुहुनेछ, त्यसले देशमा व्यावसायिक वातावरण बनाउन मद्दत गर्नेछ ।’ सरकारको नीति र सरकारी सेवा कस्तो हुनुपर्छ भन्ने विषयमा उनले अर्को उदाहरण सुनाए । ‘सन २०१० मा म हङ्कङ् पुगेको थिए बहिनीकोमा, बिहान ६ बजे घरमा पुगेँ, ९ बजेतिर एउटा डाक्टर र एक जना नर्स घरमा आए, म झसङ्ग भए । यहाँ के भइरहेको छ ? कोही बिरामी छ कि भनेर मैले बहिनीलाई सोधेँ । बहिनीले भनिन्, ‘आज बच्चाको खोप लगाउने दिन हो, त्यसैले डाक्टर नर्स गाडी लिएर, खोप, औषधि लिएर घरमा आएका हुन् ।’ त्यहाँ के रहेछ भने बच्चा जन्मिएको हरेक घरमा सरकारले खोपसहित डाक्टर नर्स घरमा पठाउँदो रहेछ । जसको घरमा बच्चा जन्मिए पनि त्यो देशको बच्चा हो, भोलि देश बनाउने उसैले हो, ऊ स्वस्थ, बुद्धिमान, चतुर भयो भने देशलाई लाभ हुन्छ । पछि यो बच्चा रोगी भयो, लुलो-लंगडाे भयो भने देशलाई भार हुन्छ, देशको नोक्सान हुन्छ भन्ने सोचेको रहेछ सरकारले । हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यही देशका लागि हो, समाजको लागि हो । हामी मरेर जान्छौं तर ती सम्पत्ति यही भूमिमा रहिरहनेछन् । ‘हामीले जति उद्योग स्थापना गरिरहेका छौं, ठूला भवन, महल बनाइरहेका छौं, होटल बनाइरहेका छौं, त्यो सबै यहि भूमिमा रहिरहने छ, तपाईं हामी मरेर जान्छौं, सम्पत्ति सबै देशको लागि हो, समाजको लागि हो’ उनले भने । ‘हामी २००८ मा अमेरिकातिर घुम्न गएका थियौं । हर्षिस ब्राण्डको चकलेट उद्योगमा पुगेका थियौं । त्यो धेरै ठूलो उद्योग रहेछ । ५० हजारभन्दा बढीले रोजगारी पाएका रहेछन् । मैले सोधे– यो उद्योग कसको हो ? उहाँहरुले भन्नु भयो कि त्यो उद्योगका मालिक, उनको परिवारका सदस्यहरु सबै बिते, अब कोही पनि छैनन्, त्यो उद्योग ट्रष्टको रुपमा चलेको छ ।’ ‘नयाँ नयाँ उद्योग खोल्दै आएका छौं, हामीले सम्पत्ति सिर्जना गर्ने हो, केयर गर्ने हो, राष्ट्र निर्माणमा सहयोग गर्ने हो, यो सबै सम्पत्ति राज्यको हो’ उनले भने, ‘उद्यमी भनेको सम्पत्तिको केयरटेकर मात्र हो, राष्ट्र निर्माणको अभियान हो ।’ प्रकृतिले असाध्यै धनी देश हो नेपाल । यो देश विकासको लागि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छ । आधुनिक तरिकाको मोटरबाटो, पुल, सुरुङमार्ग लगायतका पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ । अहिलेको भैरहवाबाट पोखरा जाँदा ६ घण्टा लाग्छ । अब तीन घण्टामा पुग्ने गरि सिधा सुरुङमार्ग कसरी बनाउने भनेर सोच्नुपर्छ । जसरी नागढुंगामा सुरुङ मार्ग बन्दैछ, हेटौडा-काठमाडौं सुरुङ मार्गको सोच आएको छ, यस्ता पूर्वाधार बने भने नेपाली उद्योगको उत्पादन लागत कम हुन्छ । बजारीकरण सजिलो हुन्छ । त्यसले उद्यमशीलताको विकासमा ठूलो योगदान गर्छ । ‘यस्तो परियोजना निर्माण सरकारबाट मात्र सम्भव छैन, सरकार र निजी क्षेत्र मिलेर यस्ता पूर्वाधार निर्माण गर्नुपर्दछ, जसले १००/२०० वर्ष पछिका पुस्ताले पनि लाभ लिन सकून्’ अग्रवालले भने । (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : ‘सक्रिय व्यवसायिक जीवनबाट बिश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल