जसले नेपालमा केबलकार क्रान्ति ल्याए
काठमाडौं । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा सबैले गर्वका साथ लिने नाम हो लक्ष्मणबाबु श्रेष्ठ । व्यक्ति भौतिक रुपमा रहेपनि वा नरहेपनि, उसले गरेको काम, योगदान र समाजमा छोडेको छाप जीवन्त रहन्छ । जुन कामले ती व्यक्तिहरुको स्मरण जो कोहीले पनि गरिरहन्छन् । हुन त लक्ष्मण बाबु श्रेष्ठको निधन २०७० सालमै भयो । तर, उनको कामले उनलाई जीवन्त तुल्याएको छ । नेपाली पर्यटन व्यवसाय क्षेत्रमा उनले एउटा पदछाप छोडेका छन् । अहिले देशभर केबलकार व्यवसायको लहर छ । ठूूला र चर्चित् व्यवसायीहरुले एकपछि अर्को केबलकार ल्याइरहेका छन् । यो व्यवसायको सुरुवात तिनै लक्ष्मणबाबुले आजभन्दा २५ वर्ष अगाडि अर्थात् सन् १९९८ मा सुरु गरे । कसैले नगरेको काम । सरकारको पनि नजर नपरेको क्षेत्र । लक्ष्मणबाबुको कल्पनामा कसरी आयो होला केबलकार ? यो जिज्ञासा, प्रश्न र चासो तपाईं हामीमा आउनु स्वभाविकै हो । एक कपडा व्यापारीको छोरा । घर गोरखा । कपडा व्यापारकै कारण तनहुँ, चितवन, धादिङ र लमजुङसम्म आवतजावत गर्नु दैनिकी थियो । खासै सडकहरु थिएन । अधिकांश ठाउँमा पैदल जानु पर्ने बाध्यता । सानैमा काठमाडौं पढ्न आए लक्ष्मणबाबु । स्नातकसम्म त्रिचन्द्र कलेजमा पढे । बिचमा जागिर गर्ने सोच पनि उनमा नआएको होइन तर गरेनन् । उनका छोरा राजेशबाबु श्रेष्ठ भन्छन्, ‘बुबामा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने हुट्हुटी थियो ।’ एकदिन उनी काठमाडौं आउँदै थिए । कुरिनटार नजिकैको रमाइलो डाँडाबाट देखिने प्राकृतिक दृश्यहरूले उनलाई लोभ्यायो । तल त्रिशुली आफ्नै रफ्तारमा बगिरहेको छ । बीचमा सालघारीको हरियाली । आकाशमा बादल । तिनै बादलमा एक ठाउँबाट अर्को ठाउँसम्म लुकामारी गरिरहेका चराचुरुङ्गीहरु । दृश्य मनमोहक लाग्यो । लक्ष्मणको दिमाखमा अनेकौं शब्दहरुले स्थान लिए । उनले सोचे, ‘यो ठाउँबाट मनकामना मन्दिरसम्म रोपवे सञ्चालन गर्न सकियो भने कस्तो हुन्छ होला ?’ किनकी उनले भारतमा पनि रोपवे चल्छन् भन्ने सुनेका थिए । गोरखाबाट मनकामना जान आउन ५/६ घण्टा समय लाग्थ्यो । रोपवे सञ्चालन गर्न सकेमा त्यो समय पनि बचत गर्न सकिने, मान्छेहरुको त भीड लाग्छ होला भन्ने सोच उनीमा आइरहेको थियो । प्राविधिक जाँच गर्न उनले काठमाडौंबाट इञ्जिनियर लिएर मनकामना पुगे । अध्ययन गराए । मनकामनामा कति मान्छेहरु जाने रहेछन् भनेर सर्वेक्षण पनि गराए । अष्ट्रियाबाट स्याटेलाइटमार्फत् ठाउँ हेराए । केबलकारका लागि राम्रो ठाउँ भनेपछि उनमा काम अगाडि बढाउने हिम्मत बढ्यो । त्यसपछि सुरु भए मनकामना केबलकार बनाउने औपचारिक दिनहरु । उद्योग विभागमा लाइसेन्सका लागि गए । विडम्वना, अर्कैले लाइसेन्स लिइसकेको रहेछ । तर, बर्षौसम्म काम नगरेपछि उद्योग विभागले त्यो लाइसेन्स खारेज गरेर लक्ष्मणबाबुलाई लाइसेन्स दियो । त्यतिखेर विभागको महानिर्देशकमा रामविनोद भट्टराई थिए । ‘बुबामा आफ्नै जिल्लामा लगानी गर्ने चाहना थियो, केबलकार बन्ने भएपछि उहाँ धेरै खुसी हुनुहुन्थ्यो तर सुरु गर्दा सबैले लक्ष्मणबाबु बौलायो, अब डुब्छ भन्थे, बैङ्कले पनि पत्याएनन्,’ राजेशबाबु साढे दुई दशक अगाडिको कुरा स्मरण गर्दै भन्छन्, ‘नयाँ काममा जोखिम अवश्य नै हुन्छ, त्यतिबेला त्यो जोखिम नलिएको भए आज सबैले केबलकारमा लक्ष्मणबाबु ट्रेण्ड सेटर हो भनेर चिन्थेनन् होला, हामीलाई अहिले गर्व लाग्छ ।’ त्यतिखेर लक्ष्मणबाबुको प्रोजेक्टलाई नेपाल बैङ्कले पत्यायो । त्यसमा हिमालयन बैङ्कले पनि साथ दियो । निर्माण सुरु भएको १० महिनामै मनकामना केबलकार व्यावसायिक सुरुमा सञ्चालनमा आयो । अर्को वर्षदेखि रेष्टुराँ लगायतका पूर्वाधारहरु निर्माण सुरु भए । ‘केबलकार निर्माण गर्दा अनेकौं समस्या, दुःख र चुनौतीहरु भोगियो, स्थानीयदेखि नीति निर्मातासँग जुध्नु प¥यो, सुरुमा काम गरेपछि दुःख पाइँदो रहेछ तर त्यसको श्रेय पाउँदा र सबैले उदाहरणका रुपमा लिँदा भने पृथक किसिमको आनन्द आउँदो रहेछ,’ मुस्कुराउँदै केबकारका प्रबन्ध निर्देशक राजेशबाबुले भने । त्यसबेला केबलकार सम्बन्धी सरकारको कुनै नीति नियम थिएन । मूल्य अभिवृद्धि कर (भ्याट) छुटको विषयमा कुनै व्यवस्था थिएन । लक्ष्मणबाबुले त्यसका लागि धेरै मिहिनेत गरे । सङ्घर्ष गरे । ‘केबलकारको सामान भन्सारमा आएर रोकियो तर सरकारले भ्याट छुटको विषयमा कुनै निर्णय गरेन, सामान भन्सार नाकामै थियो, संयोगवश त्यतिखेर अर्थसचिव पनि तत्कालीन उद्योग विभागकै महानिर्देशक रामविनोद भट्टराई नै हुनुहुन्थ्यो, पछि धेरै कुराहरु बुझाइसकेपछि बैङ्क ग्यारेन्टीमा सामान आयो,’ केबलकार निर्माणका दिनहरु स्मरण गर्दै राजेशबाबु सुनाउँछन्, एकदिन त सचिवले ऐनमा गरेको व्यवस्था हो परिवर्तन गर्न मिल्दैन भनेपछि बुबाले त्यसो भए तपाईंहरु भएको के काम ? पीए भए पनि काम चलिहाल्थ्यो नी भन्नुभयो, अलि विवाद पनि भयो ।’ भ्याट छुट नदिएकै कारण मनकामना केबलकार र सरकारको मुद्दा पनि चल्यो । अदालतले केबलकार विरुद्ध नै फैसला ग¥यो । पछि कम्पनीले भ्याट ति¥यो । तर, अर्को आर्थिक वर्षदेखि केबुलकारलाई आर्थिक ऐनको भाग ८४ मा राखियो । बजेटमार्फत् भन्सारदर रेट ५ प्रतिशत भएका वस्तुमा ५० प्रतिशत भ्याट छुटको व्यवस्था भयो । आफूहरुले ठूलो मिहिने त गरेकै कारण सरकारले बजेटमा सो व्यवस्था गरेको राजेशबाबु बताउँछन् । अहिले केबलकार निर्माण गर्ने सबैले त्यो छुट पाउने गरेका छन् । लक्ष्मणबाबुले एउटा बाटो देखाएकै कारण देशमा एउटा उत्कृष्ट पर्यटन बढाउने माध्यमका रुपमा केबलकार देखिएको छ । प्रत्येक वर्ष नाफामा साढे दुई दशकको अवधिमा देशमा धेरै उतारचढावहरु आए । विभिन्न आरोह अवरोहरु भए । पछिल्लो समय विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा एक किसिमको सङ्कट ल्यायो । विभिन्न उद्योग व्यवसाय थला परे । पर्यटकीय क्षेत्र सुनसान बने । पर्यटकको आवागमन ठप्प बन्यो । तर, मनकामना केबलकार भने आफ्नै गतिमा छ । यो २४ वर्षको अवधिमा मनकामना जाने न मान्छे घटेका छन् न त कम्पनीको नाफामा नै सङ्कुचन आएको छ । कम्पनी अहिलेसम्म घाटामा छैन । कम्पनीका अनुसार केबलकारमा हालसम्म १ करोड ७० लाख बढी मानिसहरुले यात्रा गरेका छन् । ‘हामीले अहिलेसम्म नोक्सान व्यहोर्नु परेको छैन, सञ्चालनमा ल्याएको ७ वर्षमै ऋण चुक्ता ग¥यौं, अहिले पनि सबै खर्च कटाएर, कर तिरेर ३० प्रतिशत जति नाफा हुन्छ,’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘केबलकारसँगै गन्तव्य बनाउन सकियो भने आम्दानी राम्रै गर्न सकिन्छ ।’ केबलकारमा गत मंसिरमा १ लाख २० हजारले यात्रा गरेको उनी बताउँछन् । अहिले पनि दैनिक ३ हजार ५ सय जनाले यात्रा गर्ने गरेका छन् । अहिलेसम्म एक महिनामा सबैभन्दा बढी १२ लाख मानिसले केबलकारबाट यात्रा गरेको रेकर्ड छ । ‘केबलकार मात्रै आकर्षण भएर होइन, गन्तव्य आकर्षण हुनुप¥यो, गन्तव्य राम्रो भएपछि पयर्टक स्वतः जान्छन्, कोरोनामा अरुलाई समस्या भयो, मनकामना केबलकारले राम्रै नाफा ग¥यो, कोभिडपछि ३ लाख पर्यटकले यात्रा गरे,’ राजेशबाबु भन्छन्, ‘डाँडाँको टुप्पो छ भन्दैमा केबलकार परियोजना सफल हुँदैन, केबलकार सफल बनाउनका लागि गन्तव्य बनाउन सक्नु पर्छ ।’ मनकामना दर्शन प्रालिले ४६ करोडको लगानीमा अब मनकामनामै सुविधा सम्पन्न होटल खोल्दैछ भने अर्को ठाउँमा पनि केबलकार निर्माण गर्ने जनाएको छ । नयाँ निर्माण हुुने केबलकारलाई पब्लिकमा लैजाने योजना रहेको पनि उनी सुनाउँछन् । मनकामनाको सेयर भने अहिले दोस्रो बजारमा सूचीकृत गराउने कुनै तयारी नभएको उनले बताए । २५ वर्षअघि कुरिनटारबाट मनकामना मन्दिर जाने केबलकार निर्माण शुरु गर्दा उद्यमी लक्ष्मणबाबु श्रेष्ठलाई धेरैले ‘बौलायो’, ‘डुब्छ’ भन्थे । तर, अहिले उक्त परियोजनालाई पछ्याउँदै देशभर चलेका र बन्दै गरेका केबलकार परियोजना एक दर्जन पुगेका छन् । ‘मनकामनामा सुविधा सम्पन्न होटलहरु नभएकै कारण भीआईपीहरु बसेनन् भन्ने गुनासो आएपछि हामी आफैले ४० बेड क्षमताको होटल निर्माण गर्दैछौं, जसको नाम रिसोर्ट बाई मनकामना केबलकार नाम राखेका छौं, यसमा स्वीमिङ पुल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल हुनेछ, केबलकारमा आउने कुल मान्छेको ३ प्रतिशत मान्छे होटलमा आए भने होटल राम्रैसँग चल्छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए । अहिले मनकामना केबलकारको मर्मत र स्तरोन्नतिको काम पनि भइरहेको छ । जसका लागि ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने अझै ४० करोड मर्मतमा लाग्ने कम्पनीको भनाइ छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । केबलकारको सुधारका लागि अहिले पनि चरणवद्ध रुपमा काम भइरहेको श्रेष्ठले बताए । ६५ करोड रुपैयाँ लगानीमा सुरु भएको मनकामना केबलकारले अहिले मासिक करोडौं कमाउँछ । गत आर्थिक वर्षमा पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी मनकामना बनेको छ । पर्यटकसँगै स्थानीयको व्यापार बढ्यो मनकामना केबलकार सञ्चालनमा आउँदा स्थानीयहरू आक्रोशित थिए । जसको कारण जग्गा प्राप्ति, जंगल लगायतको विषयमा कम्पनीले धेरै सकस भोग्नु प¥यो । तर, अहिले परिस्थिति बदलिएको छ । मनकामना केबलकारको हाइहाई नगर्ने कोही छैनन् । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार सञ्चालन गरेपछि स्थानीयहरुको जीवनस्तर सुध्रिएको छ । स्थानीय उत्पादनले बजार पाएको छ । अधिकांश मानिसहरु स्वरोजगार बनेका छन् । धेरैले रोजगारी पाएका छन् । आन्तरिक पर्यटकको घुइँचो छ । ‘आन्तरिक पर्यटक बढाउनमा हामीले धेरै सहयोग गरेका छौं, केबलकार सञ्चालनमा आएपछि राजमार्गमा पनि धेरै होटल/रेष्टुराँहरुखुले, स्थानीय उत्पादनले बजार पाएको छ, कतिपयको उत्पादन मनकामना मन्दिरमै बिक्छ,’ राजेशबाबु भन्छन्, ‘अब हामीले मनकामना धार्मिकसँगै पर्यटकीय गन्तव्य पनि हो है भन्ने सन्देश दिन खोजेका छौं ।’ श्रेष्ठका अनुसार मनकामना केबलकारले मलेखुदेखि आँबुखैरेनी क्षेत्रलाई जोडेको छ । ‘मनकामनाबाट फर्केको मान्छे मलेखुमा माछा खान्छन्, व्यवसाय चम्किएको छ, राजमार्गमै नयाँ–नयाँ रिसोर्ट आएका छन्, धेरैले रोजगारी पाएका छन्,’ उनी भन्छन्, ‘२४ वर्ष अगाडि र आजको मनकामना आकाश पातल फरक छ ।’ मनकामना केबलकार अहिले श्रेष्ठ परिवारको व्यवसायमा मात्र सीमित भएन, स्थानीयको जीवनस्तर विकास, मुग्लिनदेखि नारायणघाट क्षेत्रको व्यापार विस्तारको प्रमुख आधार बनेको छ । देशको आन्तरिक पर्यटनमा सबैभन्दा चलेको गन्तव्य पनि भएको छ । कमाएपछि समाजलाई पनि केही दिनुपर्छ भन्ने मानसिकताका साथ मनकामना दर्शन प्रालिले प्रत्येक वर्ष नाफाको एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको छ । कम्पनीले एक प्रतिशत शहिदलखन गाउँपालिका र एक प्रतिशत इच्छामनकामना गाउँपालिका भित्रका केही वडाहरुमा खर्च गरिरहेको छ । श्रेष्ठ परिवारले केबलकारसँगै निर्माण, हाइड्रोपावर र दुध प्रशोधन उद्योगमा ठूलो लगानी गरेको छ । चितवन मिल्क आएपछि नेपालमा ‘मिल्क होलिडे’ को नै अन्त्य भएको उनी बताउँछन् । अब भएकै व्यवसायलाई विस्तार गरेर अगाडि बढ्ने सोचमा उनको परिवार छ । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ
चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो । बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो । मैले भारतबाट सीए गरेँ । सायद म नेपालमा सीए गर्नेमध्ये १२/१३ नम्बरमा पर्छु । त्यतिखेर नेपालमा सीएको धेरै ठूलो माग थियो । सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कले सीएका लागि दुई जना माग गरेको थियो । तर, एउटा पनि आवेदन परेन । मेरो बुबाको एउटै चाहना मलाई सरकारी जागिरे भएको हेर्ने थियो । नेपाल राष्ट्र बैङ्क वा अर्थ मन्त्रालयमा जागिर खाएको हेर्ने उहाँको इच्छा थियो । त्यतिखेर नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए कुल शेखर शर्मा । उहाँ मलाई नेपाल राष्ट्र बैङ्कमा आवद्ध गराउनका लागि धेरै प्रयास गर्नु भयो । म पनि नेपाल राष्ट्र बैङ्कमा काम गरेर दक्ष बन्न चाहन्थेँ । बुबाको गभर्नर शर्मासँग राम्रो सम्बन्ध थियो । बुबासँग सल्लाह गरेर गभर्नरले धेरै प्रयास गरेपछि सन् १९७८ मा नेपाल राष्ट्र बैङ्कमा जागिर सुरु गरेँ । मेरो मासिक तलब १२७५ रुपैयाँ थियो । राष्ट्र बैङ्कमा काम गर्दै गर्दा म अन्तर्राष्ट्रिय वित्त कोष (आईएमएफ) मा पनि काम गर्न गएँ । त्यहाँ काम गर्ने अवसर पाएँ । त्यतिसम्म धेरै अनुभव बटुलिसकेको थिएँ । मैले त्यसअघि नै नेपालमा निजी क्षेत्रको बैङ्क खोल्नु पर्छ भन्ने सोचिसकेको थिएँ । नेपाल राष्ट्र बैङ्कमा काम गर्दैगर्दा मलाई बैङ्क खोल्ने इच्छा लाग्यो । त्यसका लागि प्रक्रिया पनि सुरु गरेँ । विदेशी लगानीकर्ताको लगानीमा नेपालमा बैङ्क खोल्न सुरु भइसकेको थियो । विदेशी लगानीसहितको ग्रीनलेज बैङ्क र इन्डोस्वेज बैङ्क खुलिसकेका थिए । नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क पहिले नै खुलिसकेका थिए । अमेरिकामा ६ महिना काम गर्दा धेरै अनुभव लिइसकेको थिएँ । धेरैसँग चिनजान पनि भइसकेको थियो । बैङ्क खोल्ने विषयमा राष्ट्र बैङ्ककै साथीहरुसँग पनि सल्लाह सुझाव लिएँ । उनीहरुले पनि अगाडि बढ, राम्रो योजना छ भनेर मलाई काम गर्न प्रोत्साहन गरे । उनीहरुले राष्ट्र बैङ्कमै काम गरेर त्यसको प्रक्रिया गर्न सकिँदैन बिदा लिएर काम गर भनेपछि मैले ६ महिनाको बिदा लिएँ । बिदा स्वीकृत पनि भयो । यस विषयमा मैले अर्थमन्त्री भरत बहादुर प्रधानसँग कुरा गरेँ । उहाँले पनि तपाईं गर्नुहुन्छ भने हामी लाइसेन्स दिन्छौं भन्नुभयो । उहाँले ‘ग्रीन सिग्नल’ दिनु भयो । राष्ट्र बैङ्कबाट पास भएर अर्थमन्त्रालय गयो । अर्थमन्त्रालय गएपछि पनि पास भयो । त्यो बेलामा सबै विषयको ‘रेगुलेट’ दरबारबाट हुन्थ्यो । दरबारमा गइसकेपछि केही जवाफ आएन । फाइल अड्कियो । वि.सं. २०४६/४७ मा जनआन्दोलन भयो । आन्दोलन भएपछि केही परिवर्तनको आभास भयो । रामशरण महत र महेश आचार्य अर्थमन्त्रालमा सल्लाहकार भएर आउनु भयो । महतजीसँग अमेरिकामा हुँदा चिनजान थियो । बैङ्कको लाइसेन्सको विषयमा छलफल गरेँ । उहाँले लाइसेन्स दिनका लागि प्रतिवद्धता जनाउनु भयो । त्यसबेला म वाणिज्य बैङ्कमा काम गरिरहेको थिएँ । अर्थमन्त्रीले त्यतिखेर राष्ट्रिय वाणिज्य बैङ्कको महाप्रबन्धका लागि काम गर्ने आग्रह गरेपछि मैले वाणिज्य बैङ्कमा काम सुरु गरिसकेको थिएँ । वाणिज्य बैङ्कमा बसेर निजी बैङ्कका लागि काम गर्न मिलेन । मैले बैङ्क छोड्न पनि मिलेन । अगाडिका फाइलहरु थन्किसकेका थिए । फाइल फेरि बनाउनु पर्ने भयो । फेरि बनाएर पठाउँदा एक वर्ष समय लाग्यो । अर्थ मन्त्रालयमा हिमालयन बैङ्क प्रस्ताव अगाडि बढ्यो । मैले वाणिज्य बैङ्कबाट राजीनामा दिएँ । त्यतिखेर अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । तपाईंहरु जस्तो मान्छेले हामीलाई सहयोग गर्नुपर्नेमा राजीनामा किन दिएको भनेर मसँग रिसाउनु पनि भयो । हिमालयन बैङ्कमा मेरो परिवारको सेयर हुन्छ, म वाणिज्य बैङ्कमा बस्यो भने स्वार्थ बाँझिन्छ भनेर कन्भिन्स गरेपछि उहाँ सहमत हुनुभयो । राजीनामा स्वीकृत गर्नु भयो । त्यसपछि जन्मियो हिमालयन बैङ्क हिमालयन बैङ्क नेपालीहरुले नै खोलेको र नेपालीले नै नेतृत्व गरेको निजी क्षेत्रको पहिलो बैङ्क हो । नेपाल राष्ट्र बैङ्कले बैङ्क खोल्दा सबै समुदायलाई समेट्न भनेको थियो । त्यसैले पनि अहिले हिमालयन बैङ्कमा सबै समुदायका व्यक्तिहरु सेयरधनीका रुपमा हुनुहुन्छ । हिमालयन बैङ्क एउटा मात्रै बैङ्क हो जसमा सबै समुदायको लगानी छ । त्यसपछि अरु बैङ्कहरु पनि लाइसेन्सका लागि राष्ट्र बैङ्क गए । हिमालयन बैङ्क स्थापना भएपछि नेपाल एसबिआई, एभरेष्ट, बैङ्क अफ काठमाण्डू लगायतका बैङ्क स्थापना भए । लाइसेन्सका लागि राष्ट्र बैङ्क जानेको भीड बढ्यो । दुई/दुई वर्षमा लाइसेन्स दिएको भए मोनोपोली हुन्थेन । एकै वर्ष ८/१० वटा बैङ्क आए । जसले गर्दा भद्रगोल भयो । बैङ्कहरुबीच स्वस्थ प्रतिस्पर्धाभन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्यो । प्रतिस्पर्धा हुनु राम्रो हो तर नचाहिने प्रतिस्पर्धा हुनु हुँदैन । नेपाली बैंकिङ अभ्यास ८/१० वर्ष राम्रो भएको थियो । सुरुमा राष्ट्र बैङ्कले जे गरेको थियो सहि थियो । तर, विस्तारै बैङ्कको लाइसेन्सलगायत अन्य विषयमा पनि राजनीतिक हस्तक्षेप बढ्न थाल्यो । सन् १९९२ मा नेपालीसँग धेरै पैसा नै थिएन । त्यतिखेर जो कोहीलाई १ करोड निकाल्न पनि सकस हुन्थ्यो । सुरुमा हिमालयन बैङ्कको पूँजी १२ करोड रुपैयाँको थियो । १२ करोड रुपैयाँ जारी पुँजी भनेर चुक्ता पुँजी ६ करोड रुपैयाँबाट सुरु गरेका हौं । त्यसमा प्रमोटरहरुको ३ करोड थियो । अर्थमन्त्रालयका अधिकारीहरुले ५१ प्रतिशत दिनु हुँदैन भनेका थिए । मैले उनीहरुलाई कन्भिन्स गरेपछि उनीहरुले दिन मान्नु भयो । हिमालयन बैङ्क सञ्चालन गर्दा मैले मेरो सम्पत्ति बिक्री गरेँ । भैसेपाटीको ४० रोपनी जग्गा बेचेँ । हेटौंडाको डेढ बिघा जग्गा बिक्री गरेँ । त्यो सबै २७ लाखमा बिक्री गरेको थिएँ । अहिले त्यो सम्पत्ति राखेको भए आज मेरो बैङ्कको सेयरभन्दा २० गुणा माथि हुन्थ्यो । तर पनि त्यो बेला मेरो त्यो सही निर्णय थियो । सन् १९९२ अगाडि नै मैले हबिब् बैङ्क ल्याएको थिएँ । मैले जुन सेयर होल्डर ल्याएँ, उहाँहरुलाई हाम्रो सेयर लकिङ हुनुपर्छ, ५ वर्षभित्र तपाईंले बेच्न पाउनु हुन्न भनेर ‘जेन्टलमेन एग्रिमेन्ट’ गराएँ । त्यतिखेर त्यस विषयमा नियम कानुन पनि खासै थिएन । पछि राष्ट्र बैङ्कले त्यसमै चढेर संसारमा नभएको नियम बनायो । प्रमोटर सेयरमा अनिश्चितका लागि लकिङ पिरियड तोक्यो । ३० वर्षसम्म प्रमोटर भएर बस्नु पर्ने नीति कुनै पनि ठाउँमा छैन । प्रमोटरले बैङ्कबाट बाहिरिन खोजेको अवस्थामा जान सक्नु पर्छ । लकिङको व्यवस्था भए पनि केही निश्चित समयको लागि हुनु पर्छ । म हिमालयन बैङ्कमा कार्यकारी निर्देशक थिएँ । कार्यकारी निर्देशकको कार्यकाल हुन्थ्यो । हमालयन बैङ्क सञ्चालन भएको ८ वर्षपछि मैले छोड्ने निर्णय गरेँ । तर, सञ्चालक समितिले मानेन । त्यतिखेर विकास बैङ्क वा पूर्वाधार बैङ्कमा काम गर्ने मेरो सोच थियो । तर, बैङ्कको सञ्चालक समितिले एक कार्यकाल पुनः गर्नुपर्ने भनेपछि काम गरेँ । साढे ११ वर्ष हिमालयन बैङ्कमा काम गरेपछि बैङ्क छोडेँ । हिमालयन बैङ्क खोलेर नेपालीले पनि बैङ्क खोल्न सक्दो रहेछ । नेपालीले पनि बैङ्क चलाउन सक्दो रहेछ भन्ने सन्देश मैले दिन सकेँ । यसमा म गर्व गर्छु । बैङ्कमा ६० प्रतिशत सेयर नेपालीको थियो । प्रतिफलको हिसाबमा पनि अगाडि देखियौं । यो नेपाली बैङ्करका लागि राम्रो हो । इन्भेष्टमेन्ट बैङ्कमा अप्रत्यासित प्रवेश हिमालयन बैङ्क छोडेको पछिल्लो दिन ठमेलमा एउटा कार्यक्रममा गएको थिएँ । ठमेलमा भएको कार्यक्रममा इन्डोस्वेज बैङ्कका कार्यकारी निर्देशकले मलाई आफु बैङ्कबाट बाहिरिने कुरा राख्नु भयो । उहाँले मलाई सेयर खरिद गर्न आग्रह गर्नुभयो । मैले प्रतिसेयर २८० मा खरिद गर्न सकिने बताएँ । उहाँले ३ सयमा दिनु भनेपछि कुरा मिल्यो । त्यतिखेर बैङ्कको सेयर मूल्य ६ सय रुपैयाँ थियो । सन् २००२ बाट आफ्नो सेयर बिक्री गरेर सो समूह बाहिरियो । हामीले पछि नेपाल इन्भेष्टमेन्ट बैङ्क नाम राख्यौं । फ्रेन्चले छोड्नुको कारण फ्रान्सको केन्द्रीय बैङ्कले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशको बैंकिङ बजारलाई जोखिमपूर्ण ठहर गर्याे, धेरै कडा नियमन बनायो । धेरै प्रोभिजनिङ व्यवस्था गरिदियो । उनीहरुले जोखिम देखे र नेपाल छोड्ने निर्णय गरे । अहिले बैङ्कहरुको नाफा घटिरहेको छ । धेरै बैङ्कले सम्पत्ति बेचेर नाफा देखाएका छन् । बैङ्कहरुको औसत प्रतिफल ११ प्रतिशत मात्रै छ । व्यवसायमा जोखिम लिन सक्नुपर्छ । तपाईंले एक पाइँला अगाडि बढाउँदा अर्कैले तीन पाइला अगाडि बढाउन सक्छ । भएको पैसालाई दोब्बर–तेब्बर बनाएर काम गर्न सकिन्छ । बिजनेशम्यान जोखिम लिन्छन् । जसले जोखिम लिएर नयाँ आइडियामा लगानी गर्छ उसैले पैसा कमाउँछ । मैले हिमालयन बैङ्क छोडेर इन्डोस्वेज बैङ्क लिँदै गर्दा यो बैङ्कको बिजनेश हिमालयन बैङ्कको तुलनामा एक तिहाई मात्र थियो । मैले बैङ्कको विस्तार गर्न सुरु गरेँ । किनकी मसँग भिजन थियो । बिजनेशसँग पुँजी वृद्धिमा जोड दियौं । धेरै पटक हकप्रद हालियो । सुरुमा धेरै अभाव खेप्नु पर्याे । जग्गा/मोटर बेचेर सेयर किनियो । त्यतिखेर नगद हुन्थेन । राष्ट्र बैङ्कले ८ अर्बको पुँजीको व्यवस्था गर्दा हामीले करिब ७ अर्ब बनाईसकेका थियौं । कतिपयले मलाई राष्ट्र बैङ्कसँग लबिङ गरेर बैङ्कको पुँजी ८ अर्ब पुर्याउन लगायो भनेर आरोप पनि लगाए । तर, मैले रिजर्भ र पुँजी गरेर १० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था हुनुपर्छ भन्ने कुरा राखेको थिएँ । पछि पुँजी मात्रै ८ अर्ब बनाउनु पर्ने नीति आएको देखेर म समेत सरप्राइज भएको थिएँ । धेरै साथीहरु बैङ्कमा लगानी गर्ने इच्छा देखाउनु हुन्छ । ७/८ प्रतिशत प्रतिफल भए पनि हुन्छ भन्नुहुन्छ । तर, गाह्रो छ । हिमालयन बैङ्कमा हुँदा मेरो श्रीमतीले कहिल्यै लाभांश देखिएन भनेर गुनासो गर्थिन् । स्थापनापछिको ५/६ वर्ष लाभांश दिन सकेको थिएन । बिजनेसमा आजको भोलि पैसा कमाउन सकिन्न । पर्खिनु पर्छ । मैले जलविद्युतमा पनि लगानी गरेको छु । त्यसमा पनि प्रतिफल अहिलेसम्म आएको छैन । म पर्खिरहेको छु । इन्भेष्टमेन्ट बैङ्कहरुले हालसम्म उच्च रुपमा ४० प्रतिशतसम्म लाभांश दिएको छ । एउटा नर्मल बिजनेसम्यानले न्यूनतम २० प्रतिशत प्रतिफल हेर्छ । सुरुमा हाम्रो बैङ्कको औसत २५ प्रतिशत प्रतिफल थियो । अहिले सबै बैङ्कहरुको औसत प्रतिफल ११/१२ प्रतिशत छ । अहिले लगानीकर्ताहरु बोनस सेयरमा खुसी हुन्छन् । बोनस सेयर दिएपछि रिटर्न घट्छ । सेयर मूल्य घट्छ । यस विषयमा हामीले सोच्नुपर्छ । विदेशमा नगद बढी दिने अभ्यास छ । इन्भेष्टमेन्ट बैङ्क सधैं टप थ्रीमै रहिरह्यो । अन्य धेरै बैङ्क मर्ज भए । त्यसकारण पनि हामी अलि तल रह्यौं । कर्मचारीका लागि उत्कृृष्ट बैङ्क नेपाल इन्भेष्टमेन्ट बैङ्क कर्पोरेट बैंकिङमा बढी फोकस छ । मेगा बैङ्कसँग आज (बुधबार) एकीकृत कारोबार हुँदैछ । अब नेपाल इन्भेष्टमेन्ट मेगाच बैंक एक उत्कृष्ट बैङ्कका रुपमा देखिन्छ । हामी कर्पोरेट बिजनेस गर्ने बैङ्क हो । मेगाले एसएमईलाई बढी फोकस गर्छ । यो हाम्रो लागि राम्रो कम्बिनेसन हुन सक्छ । शाखाको हिसाबले पनि हामी राम्रो छौं । सिजर्नी आउँछ भन्नेमा म विश्वस्त छु । कुनैमा नम्बर वान, कुनैमा दोस्रो र कुनैमा तेस्रो नम्बरमा छौं । मर्जरपछि पनि उत्कृष्ट हुने हाम्रो लक्ष्य रहन्छ । इन्भेष्टमेन्ट बैङ्कमा कर्मचारीको तलब तथा अन्य सेवा सुविधा राम्रो छ । हाम्रो बैङ्कको सञ्चालन नाफा कम छ । मर्जरपछि अहिलेको भन्दा राम्रो प्रतिफल हुन्छ । इक्विटीमा १५ प्रतिशतभन्दा बढी रिटर्न हुन्छ । यो बैङ्कले सेयरधनीलाई ठीकै प्रतिफल दिएको छ । अहिले धेरै बैङ्कले यति कमायौं भनेर हल्ला गर्नु हुन्छ । १ अर्ब कमाउने बित्तिकै बैङ्कले यति कमायो भनेर हल्ला हुन्छ । लगानी ३० अर्ब हुन्छ तर त्यसमा १ अर्ब कमायो भने पनि हल्ला फैलिन्छ । बैङ्कहरु पारदर्शी छन् । इक्विटीमा प्रतिफल हेर्नुपर्छ । बिजनेसम्यानले पनि बुझ्नु पर्छ । बैङ्करले पनि बुझाउन सक्नु पर्छ । अझैं बैंकिङमा रहन्छु मेरो करियर नै बैंकिङदेखि सुरु भएको हो । रिटायर्ड पनि यही पेशाबाट हुन्छु । हुन त मैले आजभन्दा १० वर्ष अगाडि नै बैङ्कको सीईओ छोडेको हुँ । तर, म अझै काम गर्न चाहन्छु । मानिसको सबैभन्दा प्रोडक्टिभ उमेर भनेको ६० देखि ७० वर्ष हो । त्यसपछि दोस्रो सबैभन्दा प्रोडक्टिभ उमेर ७० देखि ८० वर्ष हो । यो अध्ययनले पुष्टि गरेको तथ्य हो, मेरो भनाई होइन । अहिले म ६८ वर्षको मात्रै भएँ । अझै १०/१२ वर्ष राम्रोसँग काम गर्न सक्छु । अब पछि के कसरी अगाडि बढ्न सकिन्छ समय र परिस्थितिले निर्धारण गर्दै जानेछ । म बैङ्कको आम्दानीसँग निर्भर छैन । विस्तारै हामीले लगानीमा विविधीकरण गर्दै गयौं । हाइड्रोपावर, होटल, रिर्सोट, रियलस्टेट लगायत क्षेत्रमा लगानी गरिरहेका छौं । मसँग नेटवर्क छ । ज्ञान छ । सबै क्षेत्रमा सम्भावना छ । मिहिनेत गर्नु पर्छ । बिजनेसम्यानले ६/७ वर्षसम्म पर्खिनु पर्छ । बैङ्कमा धेरै मिहिनेत छ तर पनि रिटर्न ११/१२ प्रतिशत मात्रै छ । जुनसुकै बिजनेसमा पनि मिहिनेत चाहिन्छ । मैले पनि कुनै दिन बुबासँग पैसा लिनु पर्थ्यो । १२७५ रुपैयाँमा परिवार पाल्नु पथ्र्यो । एक रातमै धनी बन्छु भन्ने सपना कसैले देख्नु हुँदैन । म मैले गरेको कामप्रति सन्तुष्ट छु । मान्छेले मलाई विश्वास गरेका छन् । धेरैलाई मैले सहयोग गरेको छु । सन्तुष्टि पैसा कमाएर प्राप्त हुँदैन । मैले जग्गा बेचेर काम गर्नु त्यतिबेलाको लागि राम्रो निर्णय थियो । व्यवसायमा जोखिम लिन सक्नु पर्छ । जोखिम नलिएर कमाउन सकिँदैन । नेटवर्क निर्माण गर्नु पर्छ । मान्छेलाई चिन्नु पर्छ । तब मात्रै व्यक्ति सफल बन्न सक्छ । मैले त्यतिखेर जग्गा बेचेर बैङ्क नखोलेको भए बैंकिङमा एक पायोनियर बैङ्कर भनेर नचिनिन पनि सक्थेँ । प्रस्तुती : सन्तोष रोकाया (पाँडे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल
काठमाडौैं । झापाका शिवप्रसाद शिवाकोटीलाई वि.सं. २०२८ सालमा राजद्रोह मुद्दा लाग्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै शिवाकोटी पनि एउटै पार्टीका सहयात्री थिए । राजद्रोहको मुद्दा लागेपछि उनी स–परिवार भारत हानिए । सरकारले उनको सबै सम्पत्ति राष्ट्रियकरण गरिदियो । उनको परिवारको १८ वर्ष भारतमै बित्यो । वि.स २०४६ सालको आन्दोलनपछि देशमा परिवर्तन आयो । त्यसपछि उनको परिवार नेपाल फर्कियो । सरकारले शिवाकोटीविरुद्धको मुद्दा फिर्ता लियो । उनको परिवार स्वतन्त्र बन्यो । त्यसपछि वि.सं. २०४८ सालमा सुरु भयो अल्फाबिटा । त्यतिबेला खासै कन्सल्टेन्सी थिएनन् । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । अल्फाबिटाका अध्यक्ष द्विराज शर्माका दाई (युवराज शर्मा)ले अल्फाबिटाको स्थापना गरेका हुन् । जतिबेला द्विराज अध्ययनको लागि सिंगापुरमा थिए । शर्माले सिंगापुरमा रहँदै नेपालमा कन्सल्टेन्सी व्यवसायको सम्भावना भएको अनुमान गरिसकेका थिए । ‘सिंगापुरमा अध्ययन गरेर फर्किएँ, त्यतिबेलासम्म नेपालबाट अध्ययनको लागि विदेश जाने सिलसिलामा व्यावसायिक परामर्श दिने संस्थाहरु खुलिसकेका थिएनन,’ स्थापनाका दिनहरु स्मरण गर्दै उनी भन्छन्, ‘मैले नेपालमा यो व्यवसायको सम्भावना छ भन्ने अनुमान गरेको थिएँ, भोलि नेपालको विकास हुन्छ, नेपालीहरु पनि धनी हुँदै जान्छन्, त्यो अवस्थामा अन्तर्राष्ट्रिय स्तरको शिक्षामा नेपालीहरु पनि विदेश जान्छन्, दाईसँग सल्लाह गरेर अल्फाबिटा कन्सल्टेन्सी खोलेका हौं ।’ उनले सिंगापुरमा रहँदा धेरै चिनियाँ र अरु देशका नागरिकहरु पनि विश्वका विभिन्न विश्वविद्यालयमा ठूलो संख्यामा अध्ययनको लागि गएको देखेका थिए । आफ्नो अनुभव र अनुमान अनुसार नै शर्मा सन् २००० तिरबाट दाईले शुरु गरेको इन्स्टिच्युटबाट नै कन्सल्टेन्सी सेवाको शुरुवात गर्नतर्फ लागे । उनी पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले समेत अल्फाबिटामा नै कम्प्यूटर सिकेको स्मरण गर्छन् । अल्फाबिटाको नामकरणको विषय पनि गज्जबको छ । विज्ञानका विद्यार्थीलाई कोचिङ पढाउने अल्फाबिटा योजना थियो । विज्ञानमा बढी जस्तो अल्फाबिटा लगायतका शब्दहरुको प्रयोग हुन्छ । त्यसपछि कन्सल्टेन्सीको नाम नै अल्फाबिटा राखेको अध्यक्ष शर्मा बताउँछन् । अल्फाबिटाको नाम जुराउने व्यक्ति हुन् पुरुषोत्तम विष्ट । जो त्यतिखेरका सोही कम्पनीका लगानीकर्ता थिए । अहिले शर्मा एक्लै छन् । पछिल्लो २ दशक यता नेपालको शिक्षा क्षेत्रमा शैक्षिक परामर्श व्यवसायले आफ्नो उपस्थितिलाई जर्बजस्त बढाउँदै लगेको छ । शैक्षिक परामर्श व्यवसायीहरुको सहजीकरणबाट लाखौंको संख्यामा नेपालीहरु विश्वको विभिन्न विश्वविद्यालयहरुमा अध्ययनको लागि पुगेका छन् । जसमध्ये अधिकांशको शैक्षिकस्तर र जीवनस्तर पनि बदलिएको छ, अर्थात सम्पन्नतातर्फ उन्मुख भएका छन् । त्यतिमात्रै भएको छैन राज्यको अर्थतन्त्र विकासमा पनि उनीहरुले निकै महत्वपूर्ण योगदान पुर्याएका छन् । अध्यक्ष शर्मा अल्फाबिटा एजुकेसन कन्सल्टेन्सी पछिल्लो समयमा नेपाली विद्यार्थीहरुमाझ थप स्थापित र विश्वासिलो बन्दै गएका बताउँछन् । नेपालमा कन्सल्टेन्सी क्षेत्र व्यवसायको रुपमा स्थापित भई नसकेको अवस्थामा शुरु भएको कन्सल्टेन्सीले ठूलो आरोह अवरोह भोगेको उनको भनाई छ । नेपाली विद्यार्थी विदेश पढ्न जान लागेको लामो इतिहास भएको छैन । शर्माले यो सेवाको शुरुवात गर्दा नेपालमा यस्तो सेवा सञ्चालन गर्ने धेरै व्यवसाय थिएनन् । उनका अनुसार एउटा इन्टरफेस भन्ने अस्ट्रेलियन कम्पनी थियो, नोवेल इन्स्टिच्युट, युनिभर्सल, लगायत थोरै मात्रै थिए । त्यस्तै भाषा शिक्षा दिने संस्थाहरु १/२ वटा मात्रै थिए । तर, धेरै नेपाली कन्सल्टेन्सीभन्दा बाहिरबाट पनि अमेरिका गइराखेका हुन्थे । शर्मा भन्छन्, ‘अमेरिकामा खासगरी उच्च घरानियाका छोराछोरी पढ्न गइराखेका हुन्थे, युएसइएफ भन्ने छ, उनीहरुले पनि परामर्श दिने काम गर्दथे’, उनले भने, ‘अमेरिकाका विश्वविद्यालयहरुले कमर्सियल एजेन्ट राख्दैनथे, खासगरी अमेरिकामा साइलेन्टली ५/६ हजार विद्यार्थी गइराखेका हुन्थे ।’ पहिलेदेखि नै बुढानिलकण्ठ, सेन्ट जेभियर्स र भारतमा राम्रो स्कुलमा पढेर आएकाहरु अमेरिका अध्ययन गर्न जाने गरेको अन्य धेरै व्यक्तिहरुले पनि बताउँछन् । नेपालमा परामर्श सेवाको व्यावसायिक सेवा शुरु भएको भने अस्ट्रेलिया, युके र क्यानडाको भिसाको कारणले भएको शर्माको भनाइ छ । उनीहरुले जुन संख्यामा विद्यार्थीको माग गर्न थाले त्यसले सो क्षेत्रमा व्यवसायको शुरुवात गर्ने वातावरण नै निर्माण भएको उनी बताउँछन् । वातावरण बनेपछि भने विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा विस्तारै वृद्धि हुन थाल्यो । ‘हामीले इन्स्टिच्युटको शुरुवात गर्दा अध्ययनको लागि अहिले जस्तै आम मानिसहरु विदेश जान्थेनन्, प्रायः उच्च वर्गका मानिसहरु मात्रै अध्ययनको लागि विदेश जान्थे, अहिले धेरै विद्यार्थीहरु जान थालेका छन्, सबै वर्गका मानिसलाई विदेश पठाउने, उच्च शिक्षा हासिल गर्न मद्दत गर्न हामीले धेरै भूमिका खेलेका छौं’, शर्माले भने । विदेशी विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्ने विषय सामान्य होइन । त्यसमा विशेष प्रकारको क्षमताको आवश्यकता पर्छ । भाषाको विषय त झनै महत्वपूर्ण हुन्छ । भारत र सिंगापुरमा अध्ययन गरेको र अंग्रेजी भाषामा राम्रो क्षमता भएकाले शर्मालाई विश्वविद्यालयहरुसँग सम्बन्ध विस्तार गर्न समस्या भएन । अर्को त उनले सिंगापुरमा अध्ययनकै क्रममा धेरै अन्तर्राष्ट्रिय स्तरका मानिसहरुसँग डिल गर्न सिकिसकेका थिए । उनी भन्छन्, ‘कामको शुरुवात गरेको वर्षबाट नै सफलता प्राप्त गर्न शुरु गर्यौं, मैले सिंगापुरमा पढेर आएको त्यहाँ मैले सम्बन्ध बनाएको थिएँ, त्यसैले पनि शुरुवातको वर्षमा थोरै मात्रै संख्यामा विद्यार्थी सिंगापुर, केही साइप्रस र थोरै विद्यार्थी युके पठाउन सफल भयौं ।’ शुरुवातदेखि अहिलेसम्म व्यावसायिक सम्बन्ध विस्तार गर्दै जाँदा शर्माले विश्वका ५० वटा भन्दा धेरै देशको भ्रमण गरिसकेका छन् । पछिल्लो २० वर्षमा ३० पटक अमेरिका मात्रै पुगेको उनी सुनाउँछन् । व्यवसायको शुरुवात गरिसकेपछि सम्बन्धित क्षेत्रसँग सम्बन्ध विस्तार हुँदै जाने उनको बुझाइ छ । ‘विदेशी विश्वविद्यालयहरुलाई पनि विद्यार्थीको आवश्यकता पर्छ, सोही अनुसार उनीहरुले पनि एक प्रकारको मार्केटिङ गर्छन्, मैले पनि धेरै देशहरुमा यसकै लागि यात्रा गरें,’ उनी भन्छन्, ‘अल्फाबिटाको अर्को उपलब्धि भनेको हामीलाई सबैलाई समेट्न सक्यौं ।’ अहिलेको जस्तो सन् २००० तिर सूचना प्रविधिको विकास भइसकेको अवस्था थिएन । जसले गर्दा आम सूचनाको पहुँच सबै विद्यार्थीहरुमा थिएन । विदेशी विश्वविद्यालयहरुमा पढ्न जान सकिन्छ भन्ने कतिपयमा ज्ञानको समेत अभाव थियो । त्यसैले शुरुवातको अवस्थामा विद्यार्थी खोज्ने विषय पनि असहज भएको शर्माको अनुभव छ । सूचना प्रविधिको विकासको कारणले भने पछिल्लो समयमा काम गर्न सजिलो हुँदै गएको छ । ‘विद्यार्थी खोज्नको लागि विज्ञापन गर्थ्यौं, अहिलेको जस्तो इमेल इन्टरनेटको अवस्था थिएन, विश्वविद्यालयमा डकुमेन्ट पठाउनको लागि फ्याक्स कुरियरको सहायता लिनुपर्दथ्यो, प्रकृया शुरु गरेर सम्पन्न गर्न नै महिनौं समय लाग्थ्यो’, शर्माले आफ्नो अनुभव सुनाए । थोरै विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा पठाउनेबाट शुरु भएको शर्माको अल्फाबिटा अहिले देशकै स्थापित कन्सल्टेन्सी बनेको छ । अहिलेसम्म कन्सल्टेन्सीले १० हजारभन्दा धेरै विद्यार्थीलाई विदेश अध्ययन गर्न जानको लागि सहजिकरण गरिसकेको उनी बताउँछन् । ‘औसतमा हाम्रो सहजिकरणबाट वार्षिक रुपमा ४/५ सय विद्यार्थी अध्ययनको लागि जाने गरेको उनी बताउँछन् । यसरी हेर्दा अहिलेसम्म १० हजार भन्दा धेरै विद्यार्थी गएको उनी सुनाउँछन् । ‘नेपालको भन्दा बढी बजेट एउटा विश्वविद्यालयको हुन्छ, विश्वमा सबैभन्दा राम्रो अनुसन्धान उनीहरुले गर्ने गर्छन्, शिक्षा र ज्ञान पाइने ठाउँमा स्वाभाविक रुपमा सबैको आकर्षण हुन्छ’, शर्मा भन्छन्, ‘नपढीकन राम्रो युनिभर्सिटी नगईकन सिक्न सकिँदैन, त्यसैले राम्रो शिक्षा र सुन्दर भविष्यको लागि धेरैले राम्रो विश्वविद्यालय रोज्ने गर्छन् ।’ आफूहरुको इमान्दारिता र मिहिनेतले नै सो क्षेत्रमा सफल हुन सकेको उनी बताउँछन् । मिहिनेत गरेर पैसा कमाउने आदर्श आफूहरुलाई आमाबुवाले नै दिएको उनको तर्क छ । ‘हामीले यसको शुरुवातदेखि निरन्तर मिहिनेत ग¥यौं, नतिजालाई पछ्याउने भन्दापनि निरन्तर मिहिनेत गर्ने कामलाई छोडेनौं, यो पेशामा हामीले रमाएर पनि काम ग¥यौं, जीवनमा आफुले गरेको कामलाई सफल बनाउनु पर्छ भनेर लाग्यौं, ‘क्लिन मनी’ कमाउनको लागि मिहिनेत नै गर्नुपर्छ, यसको आदर्श हामीलाई आमाबुवाले नै दिनुभएको हो’, शर्माले भने । अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजी देशभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर यहीँ अन्य व्यवसायको विस्तार गर्यौं’, उनले भने, ‘यसको प्रभावको कारणले हुनसक्छ अरुले पनि अहिले आफूलाई कर्पोरेट ढंगले विकास गर्न थालेका छन् ।’ अल्फाबिटाले परामर्श व्यवसायको क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको दाबी छ । आफूहरुले सोही क्षेत्रबाट आर्जन गरेको पुँजीभित्र नै विभिन्न क्षेत्रमा लगानी गरेर कर्पोरेटको विकास गरेको र जसको अन्य लगानीकर्ताहरुमा पनि सकारात्मक प्रभाव परेको उनले बताए । ‘धेरै परामर्श व्यवसायीको लागि सायद अल्फाबिटाले सकारात्मक प्रभाव पारेको छ, ‘मानिसहरुले पैसा आर्जन गरिसकेपछि जग्गामा लगानी गर्छन् भने हामीले यो क्षेत्रमा पैसा आर्जन गरेर कर्पोरेटको रुपमा विकास गर्यौं, कम्प्लेक्स बनायौं, यो सँगै जोडेर निजी शैक्षिक क्षेत्रको विकासमा आफूहरुको पनि राम्रो योगदान रहेको उनी बताउँछन् । ‘हामीले स्कुल कलेजको क्षेत्रमा डनबस्को र ह्वाइट हाउस कलेज लगायतको क्षेत्रमा लगानी गर्यौं, जसले शिक्षामा निजी क्षेत्रको लगानीलाई पनि शुरुवात गर्ने वातावरणको लागि सकारात्मक प्रभाव छाड्ने काम गरेको छ,’ शर्माले भने, ‘स्कुल कलेजहरुलाई आधुनिकीकरण र गुणस्तरीय बनाउनको लागि हामीले शुरुवाती योगदान गरेका छौं, अहिले एउटा सफल व्यावसायिक ग्रुपको रुपमा परिचित छौं ।’ अल्फाबिटासँग काम गरेका र साझेदारी गरेका धेरै व्यवसायीहरुले पछिल्लो समयसम्म व्यावसायिक क्षेत्रमा निकै विकास गरेका छन् । शर्माका अनुसार अल्फाबिटामा सिकेर व्यवसाय शुरुवात गर्नेहरुले अहिले विश्वस्तरको कम्पनी सञ्चालन गर्न सफल भएका छन् । आफू पनि नेपालभन्दा बाहिर बसेर काम गरेको भए यहाँको तुलनामा धेरै विकास गर्न सकिने शर्माको भनाइ छ । ‘मुलुकभित्रको अस्थीर राजनीतिक अवस्थाको कारणले सबै उद्यमीहरुलाई काम गर्न सहज भइरहेको छैन, अल्फाबिटाले पनि धेरै प्रकारको संघर्ष गर्नुपर्यो’, उनी भन्छन्, ‘यही मिहिनेत विदेशमा रहेर गरेको भए धेरै ठूलो स्तरको विकास हुन सक्थ्यो भन्ने कुरा आज अरु व्यवसायीहरुको उदाहरणले देखाएको छ ।’ नेपालमा शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक वातावरण सिर्जना गर्नको लागि सक्दो प्रयास गरेको उनको भनाई छ । उनका अनुसार अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई विशेषताको रुपमा स्थापित गरेको छ । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वैदेशिक रोजगारीमा जानेभन्दा अध्ययनको लागि जानेहरुको मुलुकमा ठूलो योगदान हुन लागेको परामर्श व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले विदेशमा अध्ययन गर्न गएका नेपालीहरुको अवस्था र तिनले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानबारे सरकारले आधिकारिक रुपमा लेखाजोखा गर्नुपर्ने शर्मा बताउँछन् । नेपालको राजनीतिक परिवर्तन र आर्थिक विकासमा विदेशमा रहेका शिक्षित नेपालीहरुले महत्वपूर्ण भुमिका खेल्ने गरेको उनको दाबी छ । शर्मा भन्छन्, ‘विदेशमा गएका नेपालीमध्ये ठूलो संख्यामा मजदुरीमा खाडी मुलुक गएकाहरु भन्दा विद्यार्थी भिसामा अन्य विकसित मुलुकमा गएका नेपालीहरुको आम्दानी पनि धेरै छ, नेपाल राष्ट्र बैंकले यो विषयमा लेखाजोखा के कति गरेको छ, तर यसको लेखाजोखा गर्न जरुरी छ ।’ शर्मा थप्छन्, ‘उनीहरुले मुलुकलाई आर्थिक, सामाजिक र सोचको हिसाबले कति योगदान पुर्याइरहेका छन भन्ने विषयको लेखाजोखा हुनुपर्छ, विदेश पढ्न गएका नेपालीले राज्यको अर्थतन्त्रको विकासमा कस्तो भूमिका निर्वाह गरिरहेका छन्, राजनीतिक परिवर्तनका लागि कस्तो भूमिका निर्वाह गरेका छन् भन्ने हेर्ने हो भने निकै राम्रो गरिरहेका छन् ।’ शर्माले अध्ययनको क्षेत्रमा गरिने लगानीलाई खर्च हिसाबले हेर्न नहुने बताउँछन् । विदेश अध्ययन गर्न जाने विद्यार्थीले अध्ययन, सीप र पैसा सबै ल्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार विदेशमा गएका विद्यार्थीहरु पछिल्लो समयमा हजारौं नेपालीलाई रोजगारी सिर्जना गर्ने तहमा पुगेका छन्, जसमा सूचना प्रविधि व्यवसाय थप सम्भावित भएर गएको छ । विदेश अध्ययन गर्न जाने नेपालीको लगानी सुरक्षित गर्नको लागि इन्स्योरेन्स सुरु गर्नुपर्ने जसले गर्दा भोलिको दिनमा कुनैपनि विद्यार्थीको लगानी डुब्ने अवस्था सिर्जना नहुने उनले बताए । ‘विदेश अध्ययनको लागि जाने विद्यार्थीले निश्चित शुल्क लिएर जान्छ, त्यसको लागि इन्स्योरेन्स गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकियो भने भोलिको दिनमा यदि कुनै विद्यार्थीको लगानी डुव्यो भने उसले राहत पाउने अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘गलत डकुमेन्ट बनाएर काम गर्नेहरुको हकमा भने राज्यसँग कानूनी व्यवस्था छँदैछ ।’ कन्सल्टेन्सीहरुलाई शिक्षा मन्त्रालय मातहतमा राखेर गरिएको नियमन पनि स्वभाविक नभएको उनको भनाइ छ । ‘वास्तवमा यो सेवामूलक पेसालाई शिक्षा मन्त्रालय अन्तर्गत राख्न जरुरी होइन’, उनले भने, ‘किनकी हामीले विश्वविद्यालयको सूचना विद्यार्थीलाई दिने काम मात्रै गर्ने हो, त्यो पनि विश्वविद्यालयले काम दिन बन्द गर्दाको दिनबाट हाम्रो व्यवसाय बन्द हुन्छ ।’ ‘म काठमाडौं फर्कदा खल्तीमा ५०० डलर थियो, ५ सयमा लगानी सुरु गरेका हौं, केही समय सुरु गरेपछि पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो तर अहिले १० अंकभन्दा बढी भ्यालूको कम्पनी बनिसकेको छ, अझै विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दैछौं,’ उनी भन्छन्, ‘अल्फाबिटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहन्छौं, अहिलेसम्मको उपलब्धिमा हामी सन्तुष्ट छौं ।’ (देशविकास पत्रिकाको वर्षअङ्क बाट) सम्बन्धित सामग्री : सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा