अग्लो पहाडमा भव्य रिसोर्ट, सभा सम्मेलनको प्रख्यात गन्तव्य

काठमाडौं । हरियाली र मनमोहक जंगल । चराचुरिङ्गीहरुको चिरविर–चिरविर आवाज । न कुनै कोलाहल नत मानिसहरुको चिच्याहट । फुस्फुस उड्दै आउने कुहिरोको शीतल स्पर्श । छिनमै पानी । छिनमै पारिलो घाम । यस्तै मौसममा मस्त देखिन्छन् चन्द्रागिरी घुम्न आएका पर्यटक । यही मौसम र विशेषताका कारण चन्द्रागिरी घुम्न आउने मानिसहरुको घुइँचो लाग्छ । चन्द्रागिरीबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्य । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, गौरिशङ्कर र मनास्लु लगायतका हिमश्रृंखलामा देखिने सेताम्य हिउँ । चन्द्रागिरीबाट बिहानै देखिने सूर्योदय र साँझ अस्ताउँदै गरेको सूर्य हेर्दा मान्छेलाई लाग्दो हो, यो पो त स्वर्ग । काठमाडौंको धुलो धुवाँ, फोहोर, ट्राफिक जाम, कोलाहल, मानसिक तनाव र एकोहोरो काम लगायतले निराशा मान्छेहरु चन्द्रागिरी पुगेपछि अलग्गै संसारकाे अनुभूति गर्दछन् । सिँगो काठमाडौँ उपत्यकालाई चन्द्रागिरीको टुप्पोबाट नियाल्न पाउनु, चन्द्रागिरीको स्वच्छ हावा स्प्वनसँगै ‘पोज–पोज’का तस्वीरहरु खिचाउनु अनि चन्द्रागिरी हिमाल पुगेर भालेश्वर मन्दिरको पूजा गर्न पाउनु सायद मान्छेहरु यहाँ पुगेपछि आफूलाई भाग्यमानी ठान्छन् होला । कोही आफन्त र साथीभाइहरुसँग गफिँदैछन् । कोही तस्वीर खिचाउनमै व्यस्त छन् । कोही चन्द्रागिरी टाप्पुबाट रमणीय दृश्यावलोकनमा केन्द्रित छन् । काेही जेठकाे गर्मी छलेरे चन्द्रागिरीकाे चिसो सिरेटोमाथि रमाउँदै चिसो बियर चुस्किरहेका भेटिन्छन् । चन्द्रागिरीमा रिसोर्ट खुलेपछि त झन स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको छ । विगतमा बिहान चन्द्रागिरी पुगेर साँझ घर फर्किने कयौं पर्यटकहरुको त्यहीँ बास बस्ने चाहना ‘चन्द्रागिरी हिल्स रिसोर्ट’ले पूरा गरेको छ । भारतको असामबाट काठमाडौं घुम्न आएको एक परिवार अघिल्लो साता चन्द्रागिरीमै भेटियो । दुई छोरा श्रीमान श्रीमतीसहित काठमाडौं घुम्न आएको उनको परिवारलाई असामकै एक जनाले चन्द्रागिरी पुग्न सुझाव दिएका रहेछन् । ‘मेरो साथी पनि पहिले यहीँ आएको रहेछ, उसैले भनेर म यहाँ (चन्द्रागिरी) आएँ, म यहाँ नआएको भए पश्चाताप हुुन्थ्यो होला, मलाई चन्द्रागिरी स्वर्ग जस्तै लाग्यो, काठमाडौंमा त्यस्तो कोलाहल छ, तर यहाँ आहा ! क्या शान्त’ पवन नाम गरेका भारतीय नागरिकले खुसी हुँदै भने । चन्द्रागिरी रिसोर्टले चन्द्रागिरीको महत्व झनै बढाएको छ । घना जंगलको बीचमा रहेको रिसोर्टमा बस्नुको अनुभति बेग्लै किसिमको छ । रिसोर्टका म्यानेजर सन्तोष कुवँर मानिसहरुको रिफ्रेस बन्ने गन्तब्य चन्द्रागिरी हिल्स रिसोर्ट बन्दै गएको बताउँछन् । ‘९० प्रतिशत नेपाली नै रिसोर्टमा आउनुहुन्छ, जति आउनुहुन्छ उहाँहरु चन्द्रागिरीको अत्याधिक प्रशंसा गर्नुहुन्छ, मलाई लाग्छ कि हामी यहाँ काम गर्नेहरु यहाँको वातावरणकै कारण पाँच वर्ष बढी बाँँच्छौं होला,’ उनले आफ्नो अनुभुति सुनाउँदै भने । चन्द्रागिरीमा हिउँ परेको बेला रिसोर्टमा थेगिनसक्नु मानिसकाे चाप हुन्छ । अहिले पनि रिसोर्ट भरिभराउ भएकाे उनले बताए । ‘यहाँ न साउण्ड पोलुसन छ, यो वातावरणमा काम गर्दा स्वर्गमा काम गरेको महसुस हुन्छ, ‘उनी थप्छन्,‘मान्छेले एक पटक रिफ्रेस गर्न चाहन्छु, तनावमुक्त हुन्छु भन्ने लाग्छ भने चन्द्रागिरी अति उत्तम गन्तव्य हो ।’ दिउसो मात्रै होइन चन्द्रागिरीबाट काठमाडौं उपत्यकाको रातिको दृश्य पनि साँच्चिकै सुन्दर लाग्छ । बत्तिले झलमल्ल काठमाडौं, सिरिरि.. हावा । वाऊ ! साँच्चिकै सुन्दर काठमाडौं देख्न मन छ भने एक पटक राति चन्द्रागिरी पुग्नै पर्छ । सुन्दर ठाउँसँगै चन्द्रागिरी रिसोर्टको आतिथ्यता पनि गज्जवको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा काम गर्ने सबै नेपाली नै छन् । विदेशीसँगै नेपाली वास्तविक स्वाद चन्द्रागिरीमा भेटिन्छ । रेष्टुरेन्टका म्यानेजर प्रकाश शाहका अनुसार चन्द्रागिरी पुग्ने हरेकले रिसोर्टमा पाक्ने पिरो आलु असाध्यै मन पराउँछन् । ‘हुन त हामीले विदेशी र स्वदेशी परिकारहरु बनाउँछौं, सबैले सबै परिकार मन पराउनु हुनछ तर, पछिल्लो समय धेरैले पिरो आलु नै रोज्नु हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो मेनु नै विशेष छ ।’ सभा सम्मेलनको गन्तव्य विगतमा काठमाडौं उपत्यकाबाट कतै टाढा कुनै कार्यक्रम गर्नु पर्यो भने मानिसहरुले नगरकोट, गोदावरी, धुलिखेल रोज्थे । कम्पनीको साधारणसभा, कुनै सभा सम्मेलन तथा विवाह नै किन नहोस् धेरैले रोज्नै भनेको यिनै दुई/तीन ठाउँ मात्रै हुन् । तर, अहिले अधिकांशको रोजाइ चन्द्रागिरी हिल्स रिसोर्ट बनेको छ । कुनै दिनमा त रिसोर्टमा कार्यक्रम आयोजनाका लागि ठाउँ नै हुँदैन । मारवाडीहरुको मात्रै होइन नेपालीहरुको विवाह गर्ने राम्रो गन्तव्य पनि चन्द्रागिरी नै बनेको छ । ‘हरेक दिनमा कुनै न कुनै सभा सम्मेलन तथा ठूलो कार्यक्रम भइरहेको हुन्छ, उहाँहरु यहाँ आएपछि अर्को कार्यक्रम पनि यतै गर्ने सुनाएर जानुहुन्छ, अरुलाई पनि चन्द्रागिरीमा कार्यक्रम गर्न सुझाव दिनु हुन्छ,’ जति आउनुहुन्छ सबैले रिसोर्टको प्रशंसा गरेर नै जानुहुन्छ,’ म्यानेजर कुँवरले भने । चन्द्रागिरी हिल्स रिसोर्टमा तीन वटा हलहरु छन् । हलहरुको नाम पनि नेपालको हिमश्रृङ्खलाको नामबाट राखिएको छ । सगरमाथा, गणेश, मनास्लु, शिवपुरी लगायतको नामबाट हलको नामाकरण गरिएको छ । रिसोर्टमा सफा सुग्घर पौडी खेल्न सक्ने सुविधा पनि छ । रिसोर्ट नजिकै जिपलाइन, चिल्ड्रेन पार्क लगायतका मनोरञ्जनात्मक खेलहरुले पनि चन्द्रागिरीको गरिमा बढाएको छ । त्यससँगै रिसोर्टमा हेलिप्याडको पनि सुविधा छ भने पर्यटकलाई ल्याउन र पुर्याउनका लागि केबलकारसम्म निःशुल्क दुई वटा हाइसको सुविधा छ । कति लाग्छ खर्च ? चन्द्रागिरी हिल्स रिसोर्टमा सय वटा कोठा छन् ।  रिसोर्टमा ६२ वटा डिलक्स, एक्जुकेटिभ ३० वटा, स्विट ६ वटा र २ वटा प्रेसिडेन्ट कोठाहरु छन् । म्यानेजर कुवँरका अनुसार न्यूनतम १२ हजारदेखि ३०/३५ हजार रूपैयाँ पर्छ । उनले एउटा प्रेसिडेन्ट रुमको नै एक रातको बसाइ शुल्क ३५ हजार रुपैयाँ पर्ने बताए । ‘रिसोर्टमा एक रात बस्न चाहने हो भने न्यूनतम १६ हजार खर्च हुन्छ, त्यसमा दुई जनाको डिनर र बिहान खाजा र दुई वटा केबलकारको टिकट पाइन्छ, तीन जना बस्न चाहेमा ४ हजार थप गर्नु पर्छ,’ उनले भने । हाल रिसोर्टमा दैनिक २ सय जना ग्राहक आउने गरेको र रिसोर्टका  कोठाहरु अधिकांश प्याक नै हुने उनले बताए । यस्तै, रेष्टुरेन्टका म्यानेजर शाहले अहिले दुईटा आउटलेट सुरु गरेर काम भइरहेको बताए । ‘हामीले २ सय जनालाई एकैचोटी सेवा दिन सक्ने अवस्था छ, हिमाल पहाड र तराईको खानलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने ।

एनएलजी योद्धा : जसले कम्पनीको लागि मात्र नभई राज्यले गर्नुपर्ने काम गर्छ

निजी क्षेत्रको लगानीमा सञ्चालित नेपालको पहिलो बीमा कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स । बीमा समितिले जीवन र निर्जीवन बीमा व्यवसायलाई अलग गरेपछि २०६२ सालमा एनएलजी इन्स्योरेन्स कम्पनी सञ्चालनमा आयो । स्थापनादेखि नै एनएलजीको लक्ष्य थियो बीमितको पहिलो रोजाइको कम्पनी बन्ने । वित्तीय सूचकाङकको आधारमा शीर्ष चौथो वा पाँचौं स्थानमा रहेपछि बीमितको सन्तुष्टि र कर्मचारीको सन्तुष्टिको आधारमा एनएलजी इन्स्योरेन्स पहिलो रोजाइमा रहेको बताउँछन् कम्पनीका प्रमुख कार्यकारी (सीईओ) अधिकृत सुनिल बल्लभ पन्त । एनएलजी, नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) को एक हिस्सा हो । कम्पनीको भिजन नै नेपालको पहिलो रोजाइको बीमाकर्ता बन्ने हो । जसलाई साकार पार्न कम्पनी नयाँ अभ्यासमा जाँदै छ । अर्थात, रिकगनिशन थिममा जाँदै छ । जुन थिम एनएलजीमा नलेज, स्किल्स् र मार्केटिङ्ग वालाहरुको हो । कुनै पनि कम्पनीमा एउटा फ्रन्ट अफिस र अर्को ब्याक अफिस हुन्छ । सामान्यतः सबै कम्पनीहरु ब्याक अफिसवालाहरुबाटै रन भइरहेको हुन्छ । तर यसमा एनएलजी इन्स्योरेन्सका सीईओ पन्तको भिन्न मत छ । ब्याक अफिसभन्दा पनि फ्रन्ट अफिस सुचारु गरी आईपर्ने हडल्सहरुको सामना गर्दै अघि बढ्नुपर्ने उनी बताउँछन् । ‘अफिस फ्रन्ट लाइनरहरुले नै रन गराउनु पर्दछ, उनीहरुले नै संस्थालाई चाहिने विभिन्न रअ म्याटेरियल्स लगायत विभिन्न सामाग्रीहरु जुटाउनेदेखि दिएर म्यानेज गर्नुपर्छ,’ उनले भने- ‘ब्याक अफिसले प्रोसेसिङको काम गर्छ, त्यसैले अहिलेका फ्रन्ट लाइनर वालाहरुमा नलेज हुनुपर्छ, स्किल्स् हुनुपर्छ, मार्केटिङका टुल्सहरुको सबै ज्ञान हुनुपर्छ, बजार एक्स्पान्सन तथा इनोभेसन गर्ने आईडियाज्हरु हुनुपर्छ ।’ फ्रन्टलाइनरको नलेज, स्किल्ड र मार्केटिङ्ग स्कील विकासका लागि एनएलजीले समय सँगसँगै अन्तर्राष्ट्रिय तालिमहरु दिएर यसलाई एकदमै राम्रोसँग डेभलप गरिरहेको सीईओ पन्त बताउँछन् । बीमा कम्पनी अन्तर्राष्ट्रिय परिवेश, अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीसँग नै सम्बन्धित छ, अन्तर्राष्ट्रिय परिवेशमा कम्पनीलाई कसरी लैजाने, उनीहरुसँगको सम्बन्ध कसरी सुधार गर्ने र आफूमाथिको विश्वसनीयता कसरी कायम गराउने भन्ने बीमा कम्पनीहरुमा परिरहन्छ । बीमा कम्पनीहरुले यो मेन्टन गर्न सकेनन् भने केही नै गर्न नसक्ने पन्तको भनाई छ । ‘अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीलाई हामीमाथि विश्वास भएन भने हामी यहाँ केही पनि गर्न सक्दैनौं, एकदमै जिरो, बैंकको जस्तो होइन, हामी केही गर्नै सक्दैनौं,’ उनले भने । त्यसैले यो सब गर्नको लागि कम्पनीले अर्को वारियर कम्प्याक्ट भन्ने थिम २०७९ देखि अगाडि बढाउँदै छ । जसमा सबै चिज (अल इक्विप्ट) छ । के के कम्पोनेन्ट हुन्छ ? यसमा सबैभन्दा पहिला बजारीकरणको प्रचुर मात्रामा नलेज हुन्छ । बजारीकरण गर्ने क्रममा यसलाई पुनर्बीमामा कसरी ढालिन्छ । पुनर्बीमामा त्यसको इम्प्याक्ट के के पर्छ भन्ने कुरामा सबैभन्दा घनिभूत नलेज हुनु पर्छ । ‘कुनै पनि बीमाको पुनर्बीमा हुन सक्छ की सक्दैन, हुन सक्यो भने कसरी हुन्छ ? दररेट कति हुन सक्छ ? टर्म एण्ड कण्डिसन के छ ? यो व्यवसाय लिँदा पुनर्बीमा कम्पनीले कसरी हेर्छ, यो सबैको कम्पोनेन्ट हुन्छ,’ उनी बताउँछन् । र, व्यवसाय दिइसकेपछि अर्थात पोलिसीका टर्म एण्ड कण्डिसनले बीमितहरुको आवश्यकता पुरा हुन्छ की हुँदैन र त्यो ट्रम एण्ड कण्डिसन बीमितहरुलाई बुझाउन सक्ने सामर्थ्य अहिलेको बीमा कम्पनी अर्थात कर्मचारीमा आवश्यक रहेको पन्तको भनाई छ । ‘बीमा गर्दा के के पाउँदैनौं भनेर बुझाउन सक्ने सामर्थ्य चाहिन्छ, किनभने बीमामा पाउँदैनौं भनेर भन्यो भने कसैले पनि बीमा गर्दैन,’ प्रष्ट पादै उनले भने । यी सबै कम्पोनेन्टमा काम गरिसकेपछि यदि दावी आयो भने क्षतिपूर्ति दिन बीमा कम्पनीले वा ब्याक अफिसरले सहज तरिकाले सेटल गर्न सक्ने प्रकृया डेभलप गर्न सकिने उनी बताउँछन् । सीईओ पन्तका अनुसार जसले कम्पनीलाई ड्राइभ गर्छ उही पाइलटलाई नै एनएलजीले योद्धा (वारियर) रुपमा चिनाउने छ । वारियर कम्प्याक्ट ‘वारियर कम्प्याक्टमा साइकोलोजिकल वारफेयर (मनोवैज्ञानिक युद्ध) हुन्छ । यसमा हामीले कसैलाई हराउन खोजेका छैनौं, कसैको कम्पिटिटर बन्न खोजेको होइन, यसले समग्रमा विकास गर्न खोजेको हो । ठ्याक्कै भन्नुपर्दा, तीनवटा कुराको विकास गर्न खोजेको हो,’ उनले भने- ‘एउटा, पहुँच नपुगेको ठाउँमा पहुँच पुर्याउने । दोश्रो, राज्यको आवश्यकता र राज्यको बीमा नीति अनुसार पशु तथा बाली बीमामा फोकसमा सहयोग गर्ने । अर्को, यदि ठूलै आपत् विपत् पर्यो भनेदेखि राज्य एक्लैले खटिन नपरोस्, राज्य एक्लै नखटिनको लागि बीमा उद्योगले समग्रमा के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, कसरी एकजुट हुनुपर्छ, भन्ने कुराको विकास गर्छ ।’ एनएलजीले अनुचित अभ्यासलाई छोडि नै सकेको छ । केही वर्ष अगाडिका केही अनुचित अभ्यास थिए त्यसलाई क्रमशः तीन वर्षदेखि नै निरुत्साहित गर्दै एनएलजीले डाल्दै ल्याएको छ । कम्पनीको ज्ञान र सीपले बीमा उद्योगलाई अगाडि बढाउने भन्ने लक्ष्यका साथ सो गरिएको हो । ‘यसको लागि माइन्ड सेट चेञ्ज गर्नुपर्छ, माइन्ड सेट चेञ्ज नगरी हामीले आजको भोलि नै यो कार्य सम्पन्न गर्न सक्दैनौं, यो अभ्यास एनएलजीले तीन वर्ष अगाडिदेखि नै शुरु गरेको छ, र, अब रेसमा दौडन सक्ने किसिमको क्यापेवल भएकाले यसलाई एउटा वारियरको रुपमा अगाडि बढाउने छ,’ पन्त भन्छन् । एनएलजी वारियरले तीन काम गर्छ । एउटा, पहुँच नपुगेको ठाउँमा पहुँच पुर्याउने । दोश्रो, राज्यको आवश्यकता र राज्यको बीमा नीति अनुसार पशु तथा बाली बीमामा फोकसमा सहयोग गर्ने । अर्को, यदि ठूलै आपत् विपत् पर्यो भनेदेखि राज्य एक्लैले खटिन नपरोस्, राज्य एक्लै नखटिनको लागि बीमा उद्योगले समग्रमा के गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ, कसरी एकजुट भएर काम गर्छ । अन्यभन्दा फरकको ‘बण्डलिङ’ एनएलजीले अन्यभन्दा फरक किसिमको ‘बण्डलिङ’ गरेको छ । एनएलजीले बजारमा गएर जसरी नी व्यवसाय ल्याउ भनेको छैन । तिमीलाई यो व्यवसाय गर्दा यति जोखिम हस्तान्तरण हुन्छ, र यो जोखिम आफूले लिँदा र अरु बीमितले हस्तान्तरण गर्दा, त्यसको शर्तहरु र त्यसको उपयोगिता के हुन्छ, भन्ने किसिमको पूर्ण जानकारी दिएको अवस्थामा मात्र र त्यो एसेप्ट (स्वीकृत) भयो भने मात्र त्यो बीमितले बीमा गर्ने जुन हाम्रो कार्यशैली छ, त्यहि नै हाम्रो बण्डलिङ हो । नियामकले दिएको केही नियम र शर्त छ त्यसमै रहेर बीमा गर्न कोही इच्छुक छ, बीमा गर्ने, नभए नगर्ने । सुन्दा अलिकति असहज जस्तो लाग्छ । व्यवसाय कहाँ गएर खोज्नुहुन्छ भन्ने हुन्छ, एनएलजीको थप प्रकृया के हो । कोही बीमित फिट हुनुहुन्छ भने बीमा गर्ने, होइन भने नगर्ने । हाम्रो थप प्रकृया भनेको विशुद्ध नलेज मात्रै हो । अहिले अस्वस्थ प्रतिस्पर्धा गरेर बीमा क्षेत्र अगाडि बढी राख्ने हो भने यो दिगो हुँदैन । यसले दुःखी पार्ने भनेको बीमितहरुलाई नै हो । कसरी ? अहिलेको जुन नन् ट्यारिफ गाइडलाइन आएको छ, त्यसले सबैभन्दा दुःखी कसलाई बनाएको छ ? पक्कै पनि बीमितहरुलाई नै । हामीले त्यस्तो कुनै पनि आज भोलि र पछि पनि बीमितलाई दुःखी बनाउने कार्य गर्नुहुँदैन । रिजनेबल, सस्टिनेबल र लजिक हिसावको कार्य गरेर बीमितलाई विश्वास दिलाउनु पर्यो । आज बीमितहरु साह्रै पीडामा छन् । एक रुपैयाँ तिर्थे भने आज ३ साढे ३ रुपैयाँ तिर्न बाध्य छन् । त्यो हामी (बीमा कम्पनी) हरुले गर्दा नै हो । यत्तिको धेरै अनहेल्दी नभईदिएको भए १ को ठाउँमा २ रुपैयाँ मात्र तिर्थे होला । आज सबैजनालाई असहज परिस्थिति भइरहेको छ । एनएलजीको परिवर्तनले रुपान्तरण र उपलब्धी एनएलजीको परिवर्तनले ल्याएको रुपान्तरण भनेको सबैलाई बीमाप्रति आकर्षित गर्ने, जुन बीमालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्ने, बीमालाई राम्रो दृष्टिकोणले हेरिँदैन, यो दावी नदिने संस्थाको रुपमा हेरिन्छ । हरेक तह तप्काबाट राज्य लगायत अन्य क्षेत्रबाट हेर्दा बीमाले खाली प्रिमियम मात्रै लिन्छ, परेको बेलामा दावी लिनलाई झण्झटिलो छ भन्ने सोचलाई रुपान्तरण गर्ने हो । बीमा नै एउटा यस्तो असल साथी रहेछ, जसले आफ्नो आर्थिक क्षति हुँदा उसले तोकिएको, भनिएको, लेखिएको शर्त अनुसारले आर्थिक सहयोग गर्छ भन्ने किसिमको समाजलाई प्रत्याभूति दिलाउनु रुपान्तरण हो । कम्पनीको लागि उपलब्धि भनेको कम्पनीले अहिले दावी भुक्तानी गर्नको लागि एकदमै असहज भएको छ, कहिले कहिले नियम कानुनभन्दा फरक ढंगले सेटल गर्नुपर्ने दबाब, र त्यसले झेल्नु पर्ने कठिनाईहरु स्वस्फूर्त रुपले हुन्छ, त्यसमा पनि दावी फर्स्यौट हुने अवस्था सृजित भयो भने मानव पुँजी असाध्य नै रमाउँछ यो काम गर्नलाई, उद्योगहरुमा काम गर्न रमाउँछ, जसले गर्दा हाम्रो स्वच्छ किसिमको बीमा व्यवसायमा कम्पनीले पनि लाभ सृजना गर्ने अवसर हुन्छ । बीमा समितिको साथको खाँचो बजारमा नयाँ प्रयास गर्दै जाँदा मार्केटले नै लतार्ने अर्थात पछि पार्ने जोखिम छ । साथ सहयोग हुँदैन । एनएलजीलाई पनि बजारले पछि पार्ने सम्भावना धेरै छ । ‘यो अवस्थामा सबैभन्दा ठूलो साथ रेगुलेटरको र दोश्रोमा पत्रकार साथीहरुको, जसले सत्य तथ्य समाचार सम्प्रेषण गरिदिन्छ । मिडियाले सम्प्रेषण गरेको अस्वस्थ अभ्यास नै बीमा समितिबाट एउटा केही नियम कानुनको निर्देशन जारी हुन्छ, र केही हदसम्म ती चिजहरु निरुत्साहित बन्छ, जुन हामीले महसुस गर्यौं, त्यसको लागि धेरै लामो समय पनि लगाउनु परेन, हामीहरुले यो साढे २ वर्षमा सक्षम सबल बनाउनको लागि इनहाउस ब्रेन स्ट्रोमिङ्ग र मसल पावर डेभलप गर्यौं,’ उनले भने । साढे २ वर्षको अभ्यास कम्पनीले सबैभन्दा पहिला कर्मचारीहरुलाई रुपान्तरण गर्यो । जसमा कम्पनीले बीमा के हो ? र बीमाले कसरी काम गर्छ भन्ने मात्र उचित व्याख्या गरेर माइन्ड सेट गरायो । यसमा कम्पनीलाई बढी काम लाग्यो । अरुले लतारेर हिडिरहेको अवस्थामा व्यक्तिगत कर्मचारीका आ-आफ्नो व्यवसाय खस्किने । जसले उनीहरुको करियरमा असर गरेको पाइयो । लतारिने र अस्वस्थ अभ्यास भनेको केही समय मात्र रहन्छ । बीमा कम्पनीहरुले पोलिसी र ट्रमस् एण्ड कण्डिसन भित्र रहेर मात्र ग्राहकसँग कुरा गर्यो भने आज विश्वास नगरेका ग्राहकले भोलि त अनिवार्य विश्वास गर्छ । यसमा पूर्ण विश्वास छ । एनएलजीमा कूल ४०० जना कर्मचारी छन् । जसमध्ये कम्पनीले फ्रण्ट लाइनरहरु (एक तिहाई) लाई सशक्तिकरण गराउनेदेखि लिएर उनीहरुको लेबलिङलाई मेन्टेन गर्दै लगेको छ । यी सबै गर्न कम्पनीले आवश्यक परेको खण्डमा विदेशी कम्पनी तथा पुनर्बीमा कम्पनीहरु र ३० वर्षदेखि सँगसँगै सहकार्य गर्ने ब्रोकरहरुसँग सल्लाह लिइरहेको छ । ‘ओनरशीप छिटो दिने कम्पनीको विशेषता छ, तपाईं जे पनि प्रडक्ट लिएर आउनुस्, संस्थाको कर्मचारीले ओनरशीप लिइहाल्छ, जुन सबैभन्दा ठूलो स्ट्रेन्थ हो,’ विश्वासका साथ पन्त भन्छन् । नयाँ अभ्यास ‘पीडादायी’ नयाँ अभ्यास कार्यान्वयन गर्ने दौरानमा कम्पनीले पीडादायी नतिजा पाएको कम्पनीले बताएको छ । ‘नतिजा कम्पनीलाई पेनफुल छ, तर हामी हाम्रो लक्ष्यमा पुगि नै रहेका छौं, जुन हामीले निर्धारित गरेका छौं,’ उनले भने, ‘कुनै पनि नयाँ कामको अभ्यास गर्दा र बजारमा अस्वस्थ पतिस्पर्धा भइरहेको अवस्थामा यी कुराहरु मान्न तयार नै हुँदैनन्, सबैभन्दा चुनौति त्यहाँ देखिन्छ, किनभने अरुसँग तुलना गरिन्छ, जुन काम पहिला सहज तरिकाले भइरहेको थियो, अहिले त्यसलाई बढी मेहेनत लाउनु परेको छ, नलेजलाई फैलाउने गुर्न परेको छ, जुन संसारकै सबैभन्दा गाह्रो काम, असाध्य नै गाह्रो ।’ भइरहेको सिस्टमबाट अर्को सिस्टममा जान खोज्दा कम्पनीलाई नै गाह्रो हुने छ । एनएलजीका कर्मचारीहरुलाई कम्पनी छोडौं छोडौं जस्तो भएको थियो । र, पनि कम्पनीमा खासै ट्रनओभरको समस्या छैन । करारमा रहेका कर्मचारीको ट्रनओभर २/३ प्रतिशत होला तर स्थायी कर्मचारीमा नभएको कम्पनीको दावी छ । यो अभ्यासमा जाँदा मानव संसाधन परिचालनमा कम्पनीको कर्मचारी खर्च भने बढेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा कम्पनीको कर्मचारी खर्च ४४ प्रतिशतले घटेको देखिन्छ । ‘जब एउटा प्रकृयामा जान खोज्छौं, कर्मचारीहरुको भविष्यलाई सूनिश्चित छ भन्नेको प्रत्याभूति दिलाउनु पर्ने हुन्छ, यसमा कष्टभन्दा पनि टाइम कष्ट बढी खर्च भएको छ,’ उनी भन्छन् । एनएलजी आगामी तीन वर्ष भित्रमा आफ्नो लक्ष्य पुरा गर्ने अठोटका साथ अघि बढीरहेको छ । ‘कम्पनीले सोचेको जस्तो लक्ष्यमा पुग्न ३ वर्ष लाग्छ, जसरी आज पोलिसी के हो र कुनै पनि सम्पत्तिको बीमा गर्दा प्रिमियम कति हुन्छ भनेर मोबाइल एप अर्थात कुनै टुलस्बाट हेरेर निकाल्न सक्छौं नि, त्यस्तैगरी, कुनै पनि क्षति हुँदा मेरो कति क्षति आउँछ भनेर आफैले हेर्ने हुनुपर्छ,’ उनले भने ।

बुबाको ‘इख’ले बैंकर बनेका सर्जु : ३ हजार तलबदेखि डीसीईओसम्म

काठमाडौं । लाजिम्पाटको एमबीएल टावरको पाँचौं तलामा एउटा भव्य कोठा । एसीसहितको सफा, चिटिक्क र सानदार कोठा । त्यही सानदार कोठाबाट देखिन्छ भरिभराउ काठमाडौं । काठमाडौंको कोलाहल त्यो भव्य कोठामा पुगेपछि शून्य हुन्छ । सायद मनको कोलाहल पनि त्यसमा काम गर्दै गर्दा शान्त हुन्छ होला । सोही कोठामा व्यस्त देखिन्छन् माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सर्जु थापा । मैले सुरुवातमै डीसीईओ थापालाई प्रश्न गरेँ, ‘बैंकिङ जब’ कति राम्रो है ? उनले एकछिन सोचमग्न हुँदै भने, ‘हुन त झट्ट हेर्दा एसी रुम, बैंकरले टाइसुट लगाएको देखिन्छ, हँसिलो फुर्तिलो देखिन्छ तर, बैंकिङ जब कति तनावपूर्ण छ भन्ने कुरा काम गर्नेहरूलाई मात्रै थाहा हुन्छ, कहिलेकाहीँ त कामबाट घर फर्किंदा घरका सदस्यहरूसँग बोल्न पनि मन लाग्दैन ।’ उनी हाँस्दै प्रतिप्रश्न गर्छन्, ‘तर, बैंकर बन्न पनि त कहाँ सजिलो छ र ? मैले पुनः जिज्ञासा राखेँ, तपाईं कसरी बैंकर बन्नु भयो ? उनी जवाफ दिन्छन्, ‘म बैंकर बन्नुको पछाडि मेरो बुबाको ठूलो हात छ, बुबाले मेरो पढाइप्रति त्यति धेरै चासो र हौसला नदिएको भए आज म यो स्थानमा हुन्थेँ वा हुन्थेन, पढ्दै गएँ, मेहनत गर्दै गएँ, जीवनमा आएका अवसरहरूलाई ग्रहण गर्दै गएँ, आफ्नो जिम्मेवारीलाई सकेसम्म कुशलताका साथ पूरा गरेँ, त्यही कारणले पनि हुनसक्छ आज माछापुच्छ्रे बैंकको डीसीईओसम्म पुगेको छु ।’ २०३० सालमा संखुवासभाको वानामा जन्मेका सर्जु ४ वर्षकै हुँदा उनको परिवार झापाको चन्द्रगढीमा बसाइँ स‍र्‍यो । झापामा उनी ८ कक्षासम्म पढे । भारतको बनारसबाट आईए (अहिलेको प्सलटु)पास गरेका उनका बुवा झापामै एक विद्यालयको प्रधानाध्यापक थिए । उनका बुवा हेड मास्टर भएको विद्यालयको स्तरोन्नति भएर निम्न माध्यामिक विद्यालय (निमवि)बाट माद्यामिक विद्यालय (मावि) बन्यो । आईए पढेका उनका बुवालाई हेड मास्टरबाट हटाएर विद्यालय व्यवस्थापन समितिले बिए (स्नातक) पढेकोलाई हेड मास्टरमा नियुक्त गर्‍यो । हेड मास्टरबाट हट्नु परेको पछुतो उनले आफ्नो छोराहरूमाथि पोखे । अब नपढी हुँदैन भन्ने मानसिकताका साथ उनी आफ्नो छोरोहरूलाई पढाउनतर्फ लागे । ‘हुन त बुवाले बनारसबाट आईए पास गर्नु भएको थियो तर, बिए पढेको मान्छे हेड मास्टर बनेपछि उहाँलाई आफू नपढेकोमा पछुतो भयो, अब छोराहरूलाई राम्ररी पढाउनु पर्छ भन्ने कुरा उहाँको मनमा खेलिरह्यो, उहाँले हामी (तीन दाजुभाई) लाई कामभन्दा पनि पढाइमा ध्यान दिन भनिरहनु भयो, हुन पनि अहिले सबै भाइ राम्रै स्थानमा छौं,’ उनले विगत स्मरण गर्दै भने । झापाबाट ८ कक्षा पास गरेपछि उनी मामा घर धरान गए । धरानको शिक्षा निकेतनमा ९ र १० कक्षा पढे । वि.स २०४६ सालमा एसएलसीमा उनी ‘फष्ट डिभिजन’ मा पास भए । विद्यालय तहमा उनी जहिल्यै पहिलो र दोस्रो मात्रै हुन्थे । त्यतिखेर धरानको शिक्षा निकेतनबाट एसएलसीमा ५ जना मात्रै फष्ट डिभिजनमा पास भएको उनी सुनाउँछन् । इञ्जिनियर बन्ने रहर देशमा ठूलो राजनीतिक उतारचढाव थियो । २०४६/०४७ सालमा जनआन्दोलन चर्किँदै थियो । सोही समयमा उनी पढाइकै लागि भनेर धरानबाट काठमाडौं आए । थापाले काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा फिजिक्स विषय लिएर भर्ना भए । उनको रहर इञ्जिनियर बन्ने थियो । अस्कल क्याम्पसमा पढ्दै गर्दा छात्रवृत्तिमा विदेश जाने मोह उनलाई नचलेको होइन । तर, त्यतिखेर छात्रवृत्तिमा नाम निकाल्नका लागि पनि ‘फोर्स’ चाहिने उनी सुनाउँछन् । कारणबस उनी छात्रवृत्तिमा छनोट हुन सकेनन् । ‘एसएलसी दिएपछि इन्जिनियर बन्ने रहर पलायो, त्यस कारण पनि अस्कलमा फिजिक्स लिएर पढेँ, २ वर्ष अस्कलमै बित्यो तर, पछि विज्ञान विषय छोडेर कमर्स पढ्नतर्फ लागेँ,’ उनले भने । अस्कल क्याम्पसमा दुई वर्ष विज्ञान विषय पढेपछि स्नातक पढ्न सर्जु शंकरदेव क्याम्पस पुगे । शंकरदेव क्याम्पसमा उनले व्यवस्थापन संकायमा भर्ना गरे । शंकरदेव क्याम्पसबाट उनले स्नातक र स्नातकोत्तर पास गरे । २०५६ सालमा स्नातकोत्तर पहिलो श्रेणीमै पास गरेको उनी सुनाउँछन् । ६ महिनाको ‘त्यो जब’ स्नातकोत्तरसम्मको पढाइ पनि सकियो । झापाबाट पढाइकै लागि भनेर काठमाडौं पुगेका सर्जु थापालाई अब काम गर्नुपर्छ भन्ने मानसिकता जाग्यो । उनले अब एउटा कन्ष्ट्रक्सन कम्पनीमा काम गर्न सुरु गरे । २०५६ सालमा स्नातकोत्तर पास गरेका उनले सोही वर्षदेखि एउटा कन्ष्ट्रक्सन कम्पनीमा अकाउन्टेन्टका रुपमा काम सुरु गरे । ‘धेरैले स्नातकोत्तर पास गरेको मान्छे त्यति सानो कम्पनीमा के काम गरेको पनि भने तर, मलाई जुनसुकै काम पनि ठूलो नै लाग्छ, त्यहाँ राम्रै काम गरियो, महिनाको तीन हजार रुपैयाँ तलब थियो, ६ महिनापछि काम छोडेँ,’ उनले आफूले सुरुमा काम गरेको कम्पनी स्मरण गर्दै भने, ‘साहुले पनि राम्रै माया गर्नुहुन्थ्यो ।’ २०५७ बाट बैंकिङ करियर सुरु व्यवस्थापन विषय स्नातकोत्तरसम्म पढेपछि अब बैंकमा जागिर गर्नुपर्छ भन्ने सर्जुको मनमा लागिसकेको थियो । ६ महिनाको अकाउन्टेन्टको जागिरले उनलाई अलिकति भए पनि काम गर्न सिकाइसकेको थियो । त्यतिखेर धेरै बैंकहरू थिएनन् । बजारमा नाम चलेका ४/५ वटा बैंकहरू थिए । २०५७ सालमा उनले आफ्नो बैंकिङ करिअर सुरु गरे बैंक अफ काठमाण्डूबाट । ‘बैंक अफ काठमाण्डू सन् २००० मा नयाँ व्यवस्थापनका साथ अगाडि बढ्दै थियो, कर्मचारीको माग गरेको रहेछ, मैले पनि परीक्षा दिएँ, पास पनि भइयो, बैंक अफ काठमाण्डू नै मेरो बैंकिङ करियरको पहिलो खुड्किलो बन्यो,’ थापाले भने । उनले सो बैंकमा जुनियर असिस्टेन्ट लेभलबाट काम सुरु गरे । तलब पाँच हजार रुपैयाँ थियो । बैंकिङ जागिरको सुरुवातमा उनले बैंक अफ काठमाण्डूमा धेरै सिक्ने मौका पाए । उनले बैंकमा क्रेडिट, लोन र ट्रेडमा काम गरे । उनले ४ वर्ष सोही बैंकमै काम गरे । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गर्दा एक वर्ष नेपालगञ्जको शाखा गएर काम गर्ने अवसर पनि पाएको उनी सुनाउँछन् । उनी नेपालगञ्जमा क्रेडिट चिफको रुपमा गएका थिए । त्यतिखेरसम्म धेरै बैंक आइसकेका थिए । चार वर्ष बैंक अफ काठमाण्डूमा काम गरेपछि उनी माछापुच्छ्रे बैंकमा गए । त्यतिबेला माछापुच्छ्रे बैंक क्षेत्रीय बैंकमा रुपमा सञ्चालित थियो । कार्यालय पोखरामा थियो । उनले माछापुच्छ्रे बैंकमा सुपरभाइजरका रुपमा काम गरे । त्यहाँ उनी धेरै टिकेनन् । जागिर परिवर्तनसँगै उनको पद पनि बढ्दै गयो । उनी भन्छन्, ‘म काममा बढी प्राथमिकता दिन्छु, बढी मेहनत गर्छु, सफलता पाउनका लागि सपनाभन्दा पनि हार्ड वर्किङ गर्नुपर्छ भन्नेमा मेरो ध्यान जान्छ ।’ माछापुच्छ्रे बैंक छोडेर उनी अब सानिमा विकास वित्तीय संस्थामा आवद्ध भए । सानिमा विकास वित्तीय कम्पनीमा जुनियर अफिसर पदमा प्रवेश गरेका उनले अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, म्यानेजर तहसम्म त्यहाँ काम गरे । सुरुमा २०/२२ जना कर्मचारीबाट सुरु भएको सो संस्थामा ९ वर्षसम्म काम गरेर सबै सहकर्मीहरूको सहकार्य र ‘हार्ड इफोर्ट’ले सो संस्थालाई वाणिज्य बैंक सरह पुर्‍याएको उनी स्मरण गर्छन् । जुनियर असिस्टेन्टदेखि डेपुटी सीईओसम्म बैंकर थापा आफूले अहिलेसम्म काम नगरेको कुनै पनि पद बाँकी नरहेको बताउँछन् । उनले जुनियर असिस्टेन्टदेखि डीसीईओसम्मका सबै पदमा रहेर काम गरिसकेका छन् । थापाले बैंकिङ क्षेत्रमै काम गरेको २२ वर्ष भइसकेको छ । ९ वर्ष सानिमा विकास वित्तीय संस्थामा काम गरेका उनी २०७० सालमा माछापुच्छ्रे बैंकमा पुन: फर्किए । सानिमा विकास वित्तीय संस्थाबाट माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका रुपमा प्रवेश गरेका सर्जु असिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर र अहिले डेपुटी सीईओ भएर काम गरिरहेका छन् । विगत ८ वर्षदेखि उनी माछापुच्छ्रे बैंकमै छन् । ‘बैंकिङ क्षेत्रले देशको अर्थतन्त्रमा धेरै योगदान दिएको छ, व्यक्तिको रोजिरोटीदेखि व्यापार व्यवसाय सफल बनाउनका लागि बैंकले महत्त्वपूर्ण भूमिका खेल्छ, थापा भन्छन्, ‘पहिले ग्राहकहरू बैंकमा आएर सेवा लिन्थे अहिले बैंकहरू नै घर–घरमा गएर सेवा दिनुपर्ने अवस्था छ, यो २२ वर्षको अनुभवले यही सिकायो ।’ उनी आफूले २२ वर्ष बैंकमा काम गर्दाको अनुभवले बैंकिङ क्षेत्रमा धेरै विकास भएको बताउँछन् । उनी बैंकरसँगै आफू जुनसुकै क्षेत्रमा काम गरे पनि सोही क्षेत्रमा स्थापित हुन सक्ने क्षमता राख्ने धारणा राख्छन् । ‘मैले क्रियटिभ चिजमा रुची राख्छु, स्पोर्टमा क्रिकेट मन पर्छ,’ उनी आफ्नो रुची सुनाउँछन् । अविस्मरणीय ‘त्यो दिन’ धेरैको जीवनमा आफ्नै किसिमका घटनाहरू हुन्छन् । अधिकांश ती घटनाहरू बिर्सिन्छन् पनि । तर, डीसीईओ थापाको जीवनमा एउटा घटना भने अहिलेसम्म मस्तिष्कमै बसेको छ । कहिले काहिँ उनी आफ्नो विगतलाई सम्झिन्छन् र भन्छन्, ‘थ्याङ्क यू मामा ’ २०४५ साल माघ १ गते सर्जुका मामा धनकुटा थिए । उनलाई फोन गरेर उनको मामाले माइजु पुर्‍याउन विराटनगर जान भने । उनी माघ १ गते विराटनगर गए । तर, माघ २ गते नेपालमा भूकम्प गयो । सर्जु सुत्ने कोठा भत्कियो । ‘अघिल्लो दिन म विराटनगर गएको थिएँ तर, पछिल्लो दिन म सुत्ने कोठा नै भूकम्पले भत्काएछ, बाजे बिहान बाहिर जानु भएको रहेछ, घरमा रहेकी बज्यैँलाई चोट लाग्यो, मामाले मलाई विराटनगर जानु नभनेको भए के हुन्थ्यो होला… उनी भावुक हुँदै अडिन्छन् । अन्तरजातीय विवाह बैंकर थापाले सन् २०१४ मा अन्तरजातीय विवाह गरे । माछापुच्छ्रे बैंकमा प्रवेश गरेकै वर्ष उनी बैंकर सुजता श्रेष्ठसँग विवाह बन्धनमा बाँधिए । हाल सुजता पनि बैंकिङ क्षेत्रमै छन् । उनीहरूको एउटा छोरी पनि छिन् । ‘चिनजान भएको २/३ महिनामै हाम्रो विवाह भएको हो, जोडी नै बैंकर हुँदा एक अर्काका पीडा पनि बुझिने रहेछ तर, दुवै एउटै जागिरमा हुँदा बच्चाहरूलाई समय दिन नसक्ने हुँदो रहेछ,’ उनी भन्छन्, ‘छुट्टी लिन परे पनि सँगै पार्नुपर्ने, यसको आफ्नै फाइदा र बेफाइदा पनि छन् ।’ तीन दाजुभाइमा सर्जु माइलो हुन् । भाइ पनि बैंकिङ क्षेत्रमै काम गरिहरेको छन् भने उनको दाइ व्यापार व्यवसायमा छन् । आफूले बैंकमा काम गर्दै गर्दा अमेरिका, जापान, थाइल्याण्ड, जर्मन, दुबई लगायत ७/८ देशमा भ्रमण गरिसकेको उनी सुनाउँछन् । सीईओ बन्ने सपना नायव प्रमुख कार्यकारी अधिकृत सर्जु थापा अब आफूले बैंकिङ करियरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन मात्रै बाँकी रहेको सुनाउँछन् । आफूले बैंकिङ क्षेत्रमा काम गर्न अब ८/१० वर्ष मात्रै बाँकी रहेको बताउँदै उनी यो बीचमा सीईओका लागि अवसर आए ग्रहण गर्ने योजना रहेको बताउँछन् । ‘अब बैंकिङ क्षेत्रमै रहेर काम गर्न ८/१० वर्ष मात्रै बाँकी छ, अहिले पनि आफ्नो ग्रोथको हिसाबले टप लेभलमा पुगिसकेको छु, सीईओ प्रमोसनभन्दा पनि कन्ट्याक्ट लेभलको विषय हो, अवसर आयो भने म त्यसलाई ग्रहण गर्छु नै, बैंकलाई नेतृत्व गर्न सक्ने मसँग क्षमता पनि छ,’ उनले भने । बैंकबाट बाहिरिए पनि कुनै संस्थामा वित्तीय सल्लाहकारका रुपमा रहेर काम गर्ने योजना रहेको उनी बताउँछन् । ‘व्यक्तिले आफ्नो लागि काम गर्ने हो, संस्थाले रिकगनाइज् नगरे पनि अर्को संस्थाले रिकगनाइज् गर्छ, जसले आफ्नो लागि काम गर्छ त्यो मान्छे नै पनि अगाडि बढ्छ, उनी भन्छन्, ‘संघर्ष र मेहनतले नै मानिसको बाटो निर्धारण गर्छ, सपना मात्रै देख्ने होइन काम पनि गर्नुपर्छ ।’