स्रोत नखुलेको नगद आठ लाखसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद  रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई  पक्राउ गरिएको हो । भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।     

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख नरहरी घिमिरेले ३५ नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको जानकारी दिए । मंगलबार उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको उनले जानकारी दिए । उनका अनुसार ३५ जना नेपाली पुरुष रहेका छन् ।  अमेरिकाले सन् २०२५ को जनवरीदेखि नेपालीलाई डिपोर्ट गर्न थालेको हो । अध्यागमन विभागका अनुसार  अमेरिकाबाट हालसम्म चार सय भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् ।      

सार्वजनिक यातायातमा आरक्षण सिट अनिवार्य गर्नू : यातायात व्यवस्था विभाग

काठमाडौं । सार्वजनिक यातायात तथा यात्रुवाहक सवारी साधनले अनिवार्य आरक्षित सिटको व्यवस्था गर्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ बमोजिम तोकिएका सिटहरू सुरक्षित नराख्ने सवारी धनी र यातायात व्यवसायीलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।  ऐन अनुसार प्रत्येक सार्वजनिक सवारीमा अशक्त व्यक्तिहरूका लागि चार वटा र महिलाहरूका लागि दुई वटा सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने प्रावधान छ । पछिल्लो समय स्थानीय तथा लामो दूरीका रुटमा चल्ने सवारीसाधनहरूले आरक्षण सिटको व्यवस्था पालना नगरेको भन्दै सर्वसाधारणबाट व्यापक जनगुनासो प्राप्त भएपछि विभागले निर्देशन दिएको हो ।  विशेष गरी लामो दूरीमा चल्ने सवारी साधनको हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टा अगाडिसम्म त्यस्ता सिटहरू सुरक्षित राख्नुपर्ने नियम विभागले प्रस्ट पारेको छ । विभागले सम्पूर्ण सवारी धनी तथा यातायात सेवा सञ्चालकहरूलाई कानुनको पूर्ण पालना गर्न सूचित गर्दै अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याइने सूचनामा उल्लेख छ ।