पाथीभरामा पाँचौँ पटक हिमपात
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन् । हिमपातसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।
भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडौं । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भूमे गाउँपालिका– १ मा पर्ने लुकुम–पातिहाल्नाखण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अहिले सो खण्डमा काठमाडौंबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ । यद्यपि, यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।
ईद उल फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने प्रधानमन्त्री कार्कीको विश्वास
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ईद उल फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्रीले आज इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै मनाइँदै गरेको ईद उल फित्रको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उक्त काममा गरेकी हुन् । 'रमजानको महिना दिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ', प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, 'त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो ।' उनले यी मूल्यहरूले समाजलाई मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्ने र ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गरेकी छन् ।