३७.८१ लाख दर्शकले हेरे चलचित्र, १ अर्ब ८ करोडको व्यापार

काठमाडौं । वि.सं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष २३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको सङ्ख्या ५७ पुग्नेछ । बोर्डका अनुसार हाल  नेपालमा १७२ चलचित्र भवन रहेका छन् भने चलचित्र उपलब्ध गराउने वितरक संस्थाको सङ्ख्या ४४ पुगेको छ । यस वर्षको हालसम्म नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक चलचित्र भवन आउँदा १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी चलचित्र बनेको छ । यस वर्ष सर्वाधिक कमाई गर्ने चलचित्र ‘परान’ का लागि कुल ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् ।  यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि ५ लाख ४ हजार ३२९ टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाई भएको छ । आमा र छोरा बीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा चलचित्र ‘जेरी अन टप’ रहेको छ । उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाई गर्न सफल भएको छ । उक्त चलचित्रका लागि ३ लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् । प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ यस वर्ष विसं २०८२ मा सर्वाधिक कमाई गर्ने चलचित्र सूचीको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाई गरेको छ । नवीन चौहानले निर्देशन गरेको उक्त चलचित्रका लागि ३ लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् । यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाई गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको उक्त चलचित्रका लागि २ लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् । यस्तै, सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको चलचित्र ‘बलिदान’ ले ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ, आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ, नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दसौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाई गरेको छ । यस वर्ष चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको चलचित्रकर्मीको भनाइ छ ।  समग्रमा चलचित्रका लागि यो वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै ७ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा सक्रिय भएका उनले दर्शकको अपेक्षाअनुसारको चलचित्र निर्माण गर्न सके घरेलुबजार राम्रो रहेको विश्लेषण गरे ।  ‘यहाँ ५० करोड रुपैयाँ व्यापार गर्ने चलचित्र पनि छन् भने ५० हजार रुपैयाँ व्यापार गर्ने पनि । यसकारण दर्शकसम्म चलचित्रको जानकारी पुग्ने हो भने घरेलुबजार नै पर्याप्त छ, तर त्यो सीमित चलचित्रको हकमा देखिएको छ । ती चलचित्रको समानता हेर्ने हो भने सबै सामाजिक विषयमा आधारित चलचित्र रहेका छन्,‘ निर्देशक घिमिरेले भने, ‘नेपाली समाज र माटो सुहाउँदो चलचित्र बनाउन सके हामीले राम्रो बजार पाउँछौँ ।’

मेडिकलमा ६० प्रतिशत छुट गरी अनलाइन ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । औषधि बिक्री गरेको नक्कली अनलाइन पेमेन्टको बील देखाइ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बुधबार भ्याली मेडीकको ग्लोबल आईएमई बैंकको खातामा अनलाईनबाट रकम पठाएको नक्कली अनलाइन पेमेन्टको बिल देखाई ठगी गर्ने ३६ वर्षीय रविन दाहाल र रोहित पाण्डे भन्ने २५ वर्षीय अचुतम काफ्ले पक्राउ परेका हुन् । उनीहरूले मेडिकलबाट औषधि खरिद गरेर बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।  नक्कली अनलाइन पेमेन्टको बील बनाएर ग्राहकलाई उनीहरूले ठगी गर्ने गरेको उनको भनाइ छ । ‘एउटा मेडिकलबाट औषधि खरिद गरेर अर्को मेडिकलमा ६० प्रतिशत छुटमा बिक्री गर्ने गरेका थिए,’ उनले भने । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इन्क्लेलभ ६२५ लेखिएको औषधी ट्याबलेट ७ हजार थान र कालो रंगको सामसुङ्ग मोबाइल १ थान रहेको थियो ।

बस र ट्रक ठोक्किँदा १५ भारतीय तीर्थयात्री घाइते, गाडीमा पूर्ण क्षति

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका-९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडिको भाग पूर्ण क्षति भएको छ । बसमा सवारी २४ जनामध्ये चालक र सहचालकसहित नौ जना सकुसल छन् । घाइते मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा गरेर फर्कंदै गरेको भारतीय तीर्थयात्री रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।  भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।  अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ । बस चालक कास्कीको माछापुच्छ्रे« गाउँपालिका-४ का लाहाचोकका ३१ वर्षीय विकास जिसी घाइतेको उपचारमा संलग्न र ट्रक चालक पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।