कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।  विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।   उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए ।  साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ । 

कालीगण्डकीमा बेपत्ता युवा मृत फेला

काठमाडौं । बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।  बगनासकाली गाउँपालिका-९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् । नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।  उनका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उनले बताए। मङ्गलबार पौडी खेल्ने क्रममा बस्याल  बेपत्ता भएका थिए ।   

४ करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । चार करोड बढी ठगी गरेर फरार रहेका दुई जना पक्राउ परेका छन् । बुधबार ४ करोड ५० लाख ठगी गरेर फरार रहेका ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी पक्राउ काठमाडौंबाट परेका हुन् । कमल प्रसाद ज्ञवालीको जाहेरीले शान्तीरमण पंगेनी समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट चैत ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएका टोलीले काठमाडौंको टोखाबाट शान्तीरमण पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पोखरा, कास्की पठाइएको छ ।