बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिना वार्षिक लक्ष्यको ४१.४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२/८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रूपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा लक्ष्यको ५५.०७ प्रतिशतअर्थात् १७ अर्ब एक करोड दुई लाख ६३ हजार रूपैयाँ राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट सात अर्ब ७० करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ५२ करोड ६२ लाख ५३ हजार रूपैयाँ राजस्व संंकलन भएको छ । त्यसैगरी प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा आठ अर्ब २५ करोड रूपैयाँ अनुमान गरिएकामा पाँच अर्ब छ करोड ५२ लाख ६२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा पाँच अर्ब ६९ करोड छ लाख ७२ हजार रूपैयाँ संकलन भएको छ । अन्तःशुल्क करबापत चार अर्ब तीन करोड ७९ लाख नौ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९९ करोड १५ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा नौ महिनामा त्यसको ५३ दशमलव ६० प्रतिशतअर्थात् सात अर्ब ९४ करोड २७ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको अधिकृत सञ्ज्यालले बताए । चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा नौ महिनामा लक्ष्यको ५९ दशमलव ८३ प्रतिशत अर्थात् दुई अर्ब ८५ करोड ८१ लाख ५६ हजार रूपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसकेको जनाइएको छ । रासस
ठमेलबाट ५ सयको नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौं । ठमेलबाट पाँच सय रुपैयाँको नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार सुर्यट हेरिटेज होटल नजकैबाट ३२ वर्षीय राम कुमार पाख्रिन र २४ वर्षीय शिव घिसिङलाई प्रकाउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ५०० रुपैयाँ दरका २८ ओटा नक्कली नोट सहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार पाख्रिनको साथाबाट ५ सयको २७ थान र घिसिङको साथमा ५ सयको १ थान रहेको थियो । उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
पोखरामा जुवा खेलिरहेका ९ जना पक्राउ, विदेशी मुद्रासहित नगद बरामद
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२७ तालचोकस्थित हिमालीटोलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । बिहीबार (हिजो) अपराह्न विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले बिहीबार ४:४५ बजेको समयमा जुवाको खालमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले घटनास्थलबाट जुवाको खालमा प्रयोग भएको नेपाली ६७ हजार ५६० रुपैयाँ, अमेरिकी ११२ डलर, अष्ट्रेलियन २४० डलर तथा तास ४ बुक बरामद गरेको छ । पक्राउ परेका ९ जनामाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।