बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । बाढीले बगाएर रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ । उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ । यसैबीच शुक्रबार साँझको बर्सातका कारण विपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढी ९खहरेखोलामा पानीको बहाव उच्च रहको०ले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बाढीको सतह घट्न थालेकाले आज बिहानदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए । धाँजूका अनुसार शुक्रबार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छ्याउन निकै कठिनाइ भएको थियो । गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । यसैबीच वर्षाका कारण विपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ । उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले जानकारी दिए । रासस
त्रिवि अस्पतालमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण हुँदै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए । 'प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ', उनले भने, 'अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।' एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
त्रिवेणी । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । रासस