प्रहरीकै मिलेमतोमा सुन तस्करी, सशस्त्रसँग तस्करको साँठगाँठ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ। प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो। विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ। मानन्धर विमानस्थलमै कार्यरत थिए। मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए। उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन्। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए। सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन्। शौचालयबाट सुन पास गराउन खोज्दा फन्दामा प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए। उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए। पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। रजाली र सई मानन्धरबीच पटक पटक फोनमा कुरा भएको थियो। सशस्त्रका सईले धेरै पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। रजाली पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी पटक पटक विदेश जाने गरेको प्रहरीको आशंका छ। उनले सो सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बताएका थिए। विमानस्थलमा कार्यरत प्रहरीलाई चेकिङ नहुने भएकाले शौचालयबाट सामान बाहिरसम्म पास गरिँदै आएको थियो। नेपाल प्रहरीपछि सशस्त्र प्रहरीसँग तस्करको साँठगाँठ विमानस्थलबाट प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा पटक पटक सुन तस्करी हुँदै आएको बाहिर आइसकेको छ। गत २१ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले साढे ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी र भन्सारका कर्मचारीकै मिलेमतोमा दुई वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको थियो। सिआईबीले एसएसपी श्याम खत्री तथा भन्सारका कर्मचारीलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो। यसपटक भने सशस्त्र प्रहरीको मिलमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ। नयाँ पत्रिका दैनिकबाट ।

बसन्तपुरमा सुटिङ गर्दा कर तिर्नुपर्ने, ५ देखि ५५ हजारसम्म तिर्नुपर्ने नियम लागू

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले बसन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक भिडियो सुटिङका लागि पाँच हजार कर बुझाउनुपर्नेछ। यस्तै सार्क मुलुकबाट आएका सुटिङ समूहले भने दैनिक ३५ हजार कर तिर्नुपर्ने हुन्छ। सार्क मुलुकबाहेकको सुटिङ समूहले ५५ हजार तिर्नुपर्छ। एक दिनभन्दा बढी सुटिङ गर्दा दैनिक थप राजवश्व बुझाउनुपर्ने महानगरपालिका राजश्व महाशाखाका प्रमुख महेश काफ्लेले जानकारी दिए। नागरिक दैनिकबाट ।

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा जोड

  काठमाडौं । मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले उनलाई सम्मान गरेका हुन् । संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जीतेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकाल भलिबल खेलका लागि स्वर्णिम भएको बताउँदै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गरे । सो अवसरमा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताए । उनले भने, “नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको विकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौंँ ।” भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । भेटमा संघका पदाधिकारील अध्यक्ष दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा पूर्वखेलकुदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गरे थिए । रासस