बिनोद ढकालले ल्याए “भ्यालेन्टिनो” नामको पप गीत नेपाली बजारमा
काठमाडौं । बिनोद ढकालले आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनो को भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । “उकालीमा पनि हजुर मोटर जाँदो रैछ”,”मर्छु किक्या हो गाँजा तानी तानी”, “भ्रुम-भ्रुम” लगायतका सफल गीत पस्किएका बिनोदले यस अघि “बाजेले गितार बजाको बज्यै नाच्न लजाको” बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए । बाजेले गितार बजाको म्युजिक भिडियोले राम्रो सफलता पाएपछि बिनोदले भ्यालेन्टिनो बजारमा ल्याएका हुन् । यसपटक बजारमाल्याएको भ्यालेन्टिनो बोलको गीतमा उनलाई मिना सिंहले फिमेल भोकलमा साथ दिएकी छन् । मालालिम्बु र सुनिलश्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायाँकनमा तयार गीतको भिडियोलाई शुशील न्यौपानेले सम्पादन गरेका छन् । एशियन म्युजिकले बजारमा ल्याएको यो गीत युवा केन्द्रित रहेको बताइएको छ । अहिले बजारमाल्याएको भ्यालेन्टिनोले यस अघिका गीतभन्दा धेरै सफलता पाउने दाबी गर्दै ढकालले आफूले अरु भन्दा फरक स्वादका गीतहरु मात्र बजारमा ल्याउने र यसलाई श्रोता तथा दर्शकले मन पराउने बताए । २०६१ साल देखि गायन क्षेत्रमा हात हालेका ढकालले निशाना, मोक्ष, लालटिन, किङ, कुुन्ठा लगतायत दर्जन बढी फिल्ममा र्याप, पप लगायतका स्वर र संगीत दिइसकेको पनि जानकारी दिइएको छ ।
मुसाका छाउरा नछिर्ने दरबारमा २४ लाख नागरिकले पाइला टेके, राज्य कोषमा आयो २१ करोड
काठमाडौं । “कस्ता–कस्ता कहाँ गए मुसाका छाउरा दरबार” भन्ने उखान नेपाली जनजिब्रोमा अझै लोकप्रिय छ । तर लोकतान्त्रिक गणतन्त्रले त्यहि दरबारमा सर्वसाधारणको सहज पहुँच स्थापित गरिदिएको छ । एक दशक अघिसम्म सर्वसाधारणका लागि सपनाको बिषय बन्ने नारायणहिटी दरबारमा आज नागरिक सहजै जान पाउँछन र घुम्न पाउँछन् । दशक अघिसमम्म नागरिकले दरबारभित्र पाइला टेक्न दशैंको टिका कुर्नै पर्ने दरबारमा अहिले दैनिक हजारौं नेपालीले निर्वाध अवलोकन गरिरहेका हुन्छन् । जसरी १० बर्षमा बागमति नदिमा धेरै पानी बग्यो ठिक त्यसरी नै कुनै समय नागरिकको स्वैर कल्पनामा सिमित नारायणहिटी दरबारमा जनताको ठुलै पंक्तिले अवलोकन गरिसकेको छ । बि.सं २०६५फागुन १६ गतेदेखि नागरिकका लागि एकादेशको कथाकै रुपमा रहेको नारायणहिटी दरबारलाई संग्रहालय बनाएर खुल्ला गरिएको थियो । ९ बर्षमा नारायणहिटी संग्रहालयको २४ लाख ९५ हजार ९ सय ५१ नागरीकले अवलोकन भ्रमण गरिसकेका छन् । र यो सबै लोकतान्त्रिक गाणतन्त्रले मात्रै सम्भव भएको हो । बि.सं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको ६ वर्ष पछि वि.सं २०६५ सालबाट सर्वसाधारणको लागि खुल्ला गरिएको हो । उक्त संग्रालय सामान्य खालको संग्रहालय मात्र नभएर शाह वंशको घर पनि हो । अन्य संग्रहालय भन्दा बिलकुलै फरक किसिमको तथा धेरै तथ्य लुकेको संग्रहालय हो । नारायणहिटीमा प्रवेश गर्दा नेपालीहरुले १ सय रुपैयाँको टिकट काट्नु पर्छ भने विद्यार्थीहरुले २० रुपैयाँमा प्रवेश गर्न पाउने व्यवस्था छ । त्यसैगरी सार्क राष्ट्रका पर्यटकहरुले २ सय ५० रुपैंयाँ तिनुपर्ने हुन्छ भने अन्य राष्ट्रका नागरिकले ५ सय रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, ३ वर्ष मुनिका बालबालीकालाई भने निःशुल्क प्रवेशको सुबिधा छ । संग्रहालयमा जान पाउने कल्पना पनि गर्न नसकिने पहिलाको अवस्थालाई पार गर्दै अहिले संग्रहालयमा प्रवेश गर्न पाउने व्यवस्था आउँदा अचम्म पनि लाग्ने गरेको बताउँछन् अवलोकनकर्ता । नारायणहिटी दरबारमा ५२ वटा कोठा भएता पनि सर्वसाधारणको लागी १९ वटा कोठा मात्र खुल्ला गरिएको छ । त्यस बाहेक बगैँचा र त्रिभुवन सदनको अतिरिक्त अवलोकन पनि गर्न पाइन्छ । संग्रहालयमा जिल्लाको नाम अनुसार कोठाको वर्णन गरिएको छ ।तत्कालिन राजपरिवार सदस्यहरुले मन पराएका जिल्ला र ठाउँहरुका आधारमा कोठाहरुको नामाकरण गरिएको थियो र हाल पनि सोही अनुसारको व्यस्था कायम छ । नेपालको तत्कालिन राज परिवारको जीवनशैली तथा रहनसहनको बारेमा बुझ्न पनि नारायणहिटी संग्रहालयको भ्रमण अनिवार्य हुन आउँछ । दरबारको कोठाहरु निकै नै आकर्षक ढङ्गले सजाइएता पनि भत्किएका पुर्वाधारहरु भने बनाउन सरकारले पैसा खर्च गर्न नसकेको बताउँछन् नारायणहिटी संग्रहालयका उपसचिव रोहित कुमार ढुङ्गाना । उनको भनाई अनुसार भवन निर्माण गर्न सुरु गरेको धेरै समय बित्दा पनि निर्माण कार्य अधुरै रहेको छ । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनकर्ता बढ्नुको साथै देशको आर्थिक अवस्थामा पनि सुधार आएको देख्न सकिन्छ तर रकमको परिचालन भने निर्माण कार्यमा लगानी हुन सकेको देखिँदैन । उक्त संग्रहालयमा टिकट बिक्रीबाट २० करोड ९९ लाख २८ हजार ९ सय ९० रुपैयाँ बराबरको रकम उठ्ने गरेको छ भने पार्कीङ्गबाट १३ लाख ४८ हजार ३ सय ३० रुपैँया उठ्ने गरेको छ । वि.सं २०६६ साल देखि देखि २०७३ असार मसान्तसम्ममा जम्मा रकम २१ करोड १२ लाख ७७ हजार ३ सय २० रुपैयाँ उठिसकेकोे देखिन्छ । दरबारमा खुल्ला गरिएको सि.सं २०६५ सालको समय देखि वि.सं २०७४ असार मसन्तसम्ममा अन्य मुलुकका पर्यटक ५८ हजार ९ सय ६७ , सार्क मुलुकका दर्शक १ लाख ४२ हजार ३ सय ६३ रहेका छन् त्यसै गरी नेपाली सर्वसाधारण २२ लाख ९४ हजार ६ सय २१ ले अवलोकन गरेका छन् । कसैले कल्पना नै नगरेको दरबार छिर्न पाउँदा सर्वसाधारण दंग छन् । पहिलाको समयमा दशैँमा मात्र राजाको हातबाट टीका थाप्न जान पाइने दरबारमा अहिले जुनसुकै समयमा पनि सबै मानिस भित्र छिरेर घुम्न पाउँदा आफुलाई गौरवाम्वित महसुस गरेको सर्वसाधारण बताउँछन् । राजाको पालाका पुर्व सई शिवहरी कार्कीले अवलोकनको क्रममा संग्रहालयका वस्तुहरु हराउँदै गएको बताए । जसमा बाघको जुँगा, गैँडा, माछा, बाघको नङ्ग्राहरु तथा बङ्गाराहरु हराएको बताएका छन् । त्यसैगरी, नारायणहिटी भारतका नागरिक भवेस कुमारले नारायणहिटी दरबारको संग्रहालय हेर्दा राज परिवारको शयन कक्ष, बैठक कोठा लगायतका कोठाहरु देख्न पाउँदा खुसि व्यक्त गरे । त्यसैगरी राजदरबारका पुर्व सिपाही जीत बहादुर चौँलागाईले दरबार फोहोर बन्दै गएको हुनाले सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् । एक जुगमा एक दिन आएको परिवर्तनले नारायणहिटी दरबारमा जनताको सहज पहुँच स्थापित गरिदिएको हो । अब यसको यथोचित संरक्षण गरेर इतिहास बताउने र अर्थोेपार्जनका लागि पनि उत्तम विकल्पका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
हिउँदमा फेरि लोडसेडिङ हुने, कुलमानलाई असफल बनाउन लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध
काठमाडौं । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् । भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ । यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो । ‘वार्षिक रूपमा बिजुलीको माग करिब दुई सय मेगावाट बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन बढेको छैन,’ घिसिङले भने, ‘अहिलेकै जस्तो अवस्था रहने हो भने यस वर्षको हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ ।’ प्राधिकरणले यस वर्ष बिजुलीको माग एक हजार सात सय ४२ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । तर, बिजुलीको आपूर्ति भने अहिलेको संरचनाबाट भारतबाट आयातसहित १ हजार मेगावाटको हाराहारीमा मात्रै हुने अनुमान गरिएको छ । अर्थात् झन्डै सात सय मेगावाटको लोडसेडिङ गर्नुपर्ने अवस्था छ । लोडसेडिङ फर्काउने मुख्य चार कारण यो वर्ष ठूला आयोजना आउँदैनन् यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछैनन् । प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसैवर्ष आउने भनिएको १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ठेकेदारले काम नगर्दा अलपत्र जस्तै छ । एलइडी बल्ब खरिद रोकियो ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत प्राधिकरणले भारतीय सरकारी कम्पनीसँग कम विद्युत् खपत गर्ने, तर बढी उज्यालो दिने एलइडी बल्ब किनेर उपभोक्तालाई बिक्री गर्ने योजना ल्याएको थियो । प्राधिकरणले हिउँदको विद्युत् माग व्यवस्थापन गरी लोडसेडिङ हटाउन पहिलो चरणमा एक करोड र दोस्रो चरणमा एक करोडवटा एलइडी बल्ब इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल)सँग खरिद गर्न लागेको थियो । नयाँ पत्रिका दैनिकबाट ।