खुकुरी कक्टेल्समा निश्चल गुरुङको लेभल ३ डेजा भुमा प्रस्तुत
काठमाडौं । निश्चल गुरुङ, जो अन्तर्राष्ट्रिय रुपमा ख्याति आर्जन गरिसकेका मिक्सोलोजिस्ट हुन्, उनी यही असोज ३ गते लेभल ३ मा आयोजना गरेको एक विशेष साँगीतिक सन्ध्या एवं भेटघाटका लागि हाल काठमाडौं आएका थिए । दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा स्वरुप निश्चलले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराएका छन् । साँगीतिक समूह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका अलावा यस कार्यक्रममा रम कक्टेल्सको बारेमा जान्ने र यसको रसास्वा दनका साथै अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए । खुकुरी कक्टेल्सले आफ्ना पारखी उपभोक्ताहरु र साझेदारहरुलाई खुकुरी कक्टेल्सको रुपमा बिल्कुलै नयाँ अनुभव संगाल्ने मौका दिएको थियो । खुकुरी कक्टेल्स रमको नेपाली परम्परागत स्वादको एक उत्सवहो र ककटेल्सका पारखीहरुको जोशिलो आकाँक्षालाई यसले एक अद्भूत स्वाद प्रदान गर्दै उत्साहित तुल्याएको थियो ।
फुलमाया फाउण्डेशनद्धारा गायक गुरुङलाई आर्थिक सहयोग
काठमाडौं । कुशल गायक तथा एरेन्जेर पुर्ण गुरुङ लामो सामयदेखि विरामी परेका छन् । उनको मृगौला फेरेको ९ बर्ष पछि पुनः मृगौलामा समस्या देखिएको छ । एक महिना भन्दा बढि लामो समयदेखि गुरुङ त्रिबि शिक्षण अस्पतालमा उपचार गराईरहेका छन् । गुरुङकी श्रीमती सुमी श्रेष्ठ श्रीमानको उपचारका लागि गुरुङसँगै अस्पतारमा रहेकी छन् । गुरुङको उपचारका लागि केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ईन्द्रणी परिवारलगायतले आर्थिक सहयोग गरेका थियो । त्यस्तै, बिहिबार फुलमाया फाउण्डेशनको टोलीले पनि गुरुङको उपचारका लागि सहयोग गर्न अस्पतालमा नै पुगेर गुरुङकी श्रीमती सुमीको हातमा २० हजार रूपैयाँ नगद हस्तान्त्ररण गरेको छ । गायक गुरुङको उपचारका लागि सहयोग गर्न फुलमाया फाउण्डेशनको तर्फबाट सुस्मिता तमु थेबे लिम्बु, द्रोर्णराज महत, सिर्जु मगर, अनुस्का सुनुवार, लिला गिरि, सुरज लामिछाने, आयुस्का सुनुवार, चुडामणि बिसि, अनु गुरुङ, फाउन्डेसनको तर्फका अध्यक्ष बिरही कार्की, महासचिव सुमन बैरागी, सदस्य संगीता श्रेष्ठ, अर्जुन गुरुङ, पत्रकार दिनेश थापालगायत अस्गताल पुगेका थिए ।
प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग
तेह्रथुम । तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेकी छन्। सानै उमेरदेखि गीत-संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहेकी छन् । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु डेढ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताइन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गरेकी छन् । जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु पाँच हजार सहयोग गर्दै आएकी छन् । उनले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गरेका छैन, नेकपा (एमाले)का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत लगाइदिएकी छन् । आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा २७ लाख रुपैयाँ सहयोग गरेकी छन् । आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ । उनले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि दुई लाख रुपैयाँ, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि पाँच लाख रुपैयाँभन्दा बढी सहयोग गरेकी छन् । पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा एकलाख एकहजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । उनले आफूले पढेको रत्न मावि, सोल्मामा रु दुई लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा दुईलाख एक हजार १११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष पनि खडा गरेकी छन् । यस्तै, झापा माईधारको वृद्धाश्रमलाई रु एक लाख ५० हजार, म्याङ्लुङका अग्निपीडितलाई एकलाख रुपैयाँ र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि एक लाख रुपैयाँ नगदै सहयोग गरेकी छन् । पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग पुर्याएकी छन् । सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले ७५ हजार रुपैयाँ सहयोग गरेकी छन् । अहिले गुरुङ आँखा देख्नसक्ने भएकी छन् । मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले ५० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि २० हजार रुपैयाँ, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई २० हजार रुपैयाँ, सुङ्नामकी सावित्रा संग्रौलालाई २० हजार रुपैयाँ, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई २० हजार रुपैयाँ सहयोग गरेको पोखरेलले बताइन् । पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न २१ हजार रुपैयाँ सहयोग गरेकी छन् । यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई एक–एक लाख रुपैयाँ, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु तीन लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु ५० हजार सहयोग गरेका छन् । अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताए । आश्रमका लागि ६५ लाख रुपैयाँमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ । “समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु”, उनी भन्छन्, “सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।” अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताइन्। जिल्लामा उनको सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील छिन् । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडौं रुपैयाँ खर्च गरेर धन हुने अरु हरुलाई पनि प्रेरित गरेको पत्रकार लिम्बूले बताए ।