दृष्टिविहीनलाई निर्वाचन आयुक्तले भने, ‘भोटिङ मेसिन छैन, सहीरुपमा मतदान गर्नुस्’
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दृष्टिविहीन नागरिकलाई सही ढंगले मतदान गर्न आग्रह गरेका छन् । स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आयोगको सन्देशबाहक दूतको रुपमा काम गर्न दृष्टिविहीन नागरिकलाई आग्रह गरेका हुन् । निर्वाचन आयोगले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘दृष्टिविहीन नागरिकका लागि मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रिय निर्वाचनका रूपमा हुन गइरहेको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा ऐतिहासिक तुल्याउन दृष्टिविहीन नागरिकबाट निर्वाचन आचारसंहिताको पालनाका लागि जिल्लामा अभियान चलाउन अनुरोध गरेका छन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘‘मतदान गोप्य हुनुपर्दछ भन्ने विश्वव्यापी मान्यता हो, प्रविधिमा अहिले हामी पछि छौँ, यसको प्रयोग गर्दै जाने छौँ, तपाईहरुको माग पूरा गर्न भोटिङ मेसिनको प्रयोग गर्नेभन्दा अर्काे विकल्प छैन, यस वर्ष नै मतदानमा प्रविधिको प्रयोग गर्ने भनेकोमा समयको चापका करण दृष्टिविहीन नागरिकको मागअनुसारको प्रविधिको प्रयोगतर्फ फड्को मार्न सकेनौं, यद्यपि विशेष नागरिकले विशेष सुविधा पाउनुपर्छ भन्नेमा दृढ छौं ।’’ उनले शिक्षकको भूमिकामा रहनुभएका तपाईहरूले दल विशेष र उम्मेदवारको पक्षमा नलागी स्वतन्त्ररुपमा मतसंकेत गर्न सिकाउन सुझाव दिए। प्रमुख आयुक्त यादवले भने, ‘‘तपाईहरुबाट आयोग ठूलो भूमिकाको अपेक्षा गरेको छ, मत सहीरूपमा संकेत गर्ने सन्देश घर परिवार र समाजमा पुर्याउनु होला, एकाघरको विश्वास गरेको सहयोगी लिएर आफूले मन पराएको उम्मेदवारलाई मतदान गर्नु होला ।’’ कार्यक्रममा निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले सहीरूपमा मत सङ्केत गरी बदर मत प्रतिशत घटाउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सिकेको ज्ञान अरूलाई प्रवाह गरी बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन प्रेरित गर्न सुझाव समेत दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आगामी निर्वाचनमा फरक फरक खाले मतपत्र भएकाले मतदाताबाट सहीरूपमा मत संकेत होस्, बदर मतप्रतिशत घटाउन योगदान दिन सकियोस् भन्ने उद्देश्यका साथ काम गर्न आवश्यक रहेको बताए । युएनडीपी इएपी परियोजनाका उपनिर्देशक कुन्दनदास श्रेष्ठले विश्वासनीय, समावेशी र सर्वस्वीकार्य निर्वाचनका लागि आफ्नो संस्थाले निर्वाचन आयोगलाई सहयोग पुर्याउँदै आएको बताए । नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले मतदानमा दृष्टिविहीनताको गोपनीयताको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । उनले भने, ‘दृष्टिविहीनको मतदान गोप्य हुनुपर्छ भन्ने लामो समयदेखिको माग पूरा हुन सकेको छैन, खोइ त हाम्रो गोपनीयताको अधिकार, हामी कहाँ गएर कराउने, निर्वाचनका सन्दर्भमा हामीले सिकेको ज्ञान छरछिमेकीलाई पनि सिकाउने छौं ।’ कार्यक्रममा नेत्रहीन संघको ४७ जिल्लामा संस्था रहेको तथा प्रशिक्षणमा आउने अधिकांश दृष्टिविहीनहरू शिक्षकको भूमिकामा रहेको जानकारी दिएका छन् । प्रशिक्षणमा ६९ जिल्लाका ८० जनाको सहभागिता रहेको छ र उहाँहरुलाई मतदान, मतदानको अधिकार, मतदानको प्रक्रिया र सहीरूपमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिइएको छ ।
एसीसी यू-१९ एसिया कपः नेपालद्धारा मलेसिया आठ विकेटले पराजित
काठमाडौं मलेसियामा जारी एसिसी यू-१९ युथ एसिया कपअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दिपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए । बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए । यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सिमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई/दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए । रासस
गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् । ‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् । त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ । को हुन् होमनाथ, दीपक र संजीव रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् । हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।