रुपन्देहीमा सुरु भयो स्मार्ट कक्षा, २१ वटा आधुनिक कम्प्युटरका साथ प्रभावकारी शिक्षा प्रणाली

बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् । चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए । के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् ।  दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् ।  त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् । उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’

ओलम्पिया र आइडियल अल्फा बिटा फुटसलको क्वार्टर फाइनलमा, पहिलो विजेतालाई १ लाख रुपैयाँ नगद

काठमाडौं । ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट शुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्र्सलाई ३-१ ले पराजित गर्दा दोस्रो खेलमा नामी कलेजलाई ४-० ले पराजित गर्यो । यस्तै पहिलो खेलमा नामी कलेजलाई ४-० ले पराजित गरेको आइडियलले दोस्रो खेलमा लिटिल एन्जल्र्सलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । यि दुई टिमले बिहिबार समूह विजेताका लागि खेल्नेछ । दुवै कलेजको समान दुई खेलबाट ६ अंक छ । पराजित भएको लिटिल एन्जल्र्स र नामी कलेज प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, प्रतियोगिता अन्तर्गत बुधबारै भएको अर्काे खेलमा समूह ‘ए’ को साइपाल एकेडेमी र समूह ‘सी’ को ह्वाइटहाउस कलेजले दोहोरो जित निकालेको छ । साइपालले पहिलो खेलमा लिभरपुलमाथि ४-२ को जित निकाल्दा दोस्रो खेलमा कान्जिरोवालाई ४-० ले पराजित गर्यो । ह्वाइटहाउसले ह्वाइटफिल्ड र इनसाइड भिजनलाई समान ४-१ को नतिजामा पराजित गर्यो । अन्य खेलमा लिभरपुलले युनिग्लोबलाई, कान्जिरोवाले युनिग्लोबलाई, इनसाइड भिजनले ब्रिटिस कलेजलाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहिबार पनि समूह चरणको खेलहरु हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

११औँ वर्षमा प्रवेशको अवसरमा गरिमा विकास बैंकद्धारा विभिन्न ५ जिल्लामा न्यानो कपडा वितरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अतिविपन्नहरुलाई न्यानो कपडा वितरण गरेको हो । काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरुहरुलाई बैंकले एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो । त्यसैगरी, चितवन तथा तनहु जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बैंकले लत्ता कपडा वितरण गरेको छ । स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा वितरण गरेको हो । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले विपन्न वर्गलाई लत्ता कपडा बितरण गरेका थिए । देवघाट धाममा विकास बैंकका पुर्व संचालक सिद्ध कुमार श्रेष्ठ, राम्दीधाममा वालिङ्ग नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व अध्यक्ष दिलिप्रपताप खांण, पाखीचौर स्याङ्गजामा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा वेनी नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व संचालक हरिकुमार श्रेष्ठले न्यानो कपडा वितरणगरेका थिए । न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाएको छ । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले विकास बैंकले व्यावसायको विस्तारको तीब्रता संगसंगै सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताएका थिए । पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ ।