नेपालमा कोरियाली चलचित्र महोत्सव शुरु, युवा पुस्ताको गायन, नृत्य र पहिरहनमा बढ्दो प्रभाव

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो प्रभाव बढाउदै गएको दक्षिण कोरियाले कात्तिक ९ गते विहीबारदेखि नेपालमा कोरियाली चलचित्र महोत्सव (फिल्म फेस्टिवल) आयोजना गरेको छ । ६ दिनसम्म चल्ने सो महोत्सवमा ६ वटा चलचित्रहरु प्रदर्शन भइरहेकाछन् । दी फेटल इन्काउन्टर, अ हार्ड डे, कुण्डो–एज अफ दी रामपन्ट, क्रसिङ, म्यारिज व्ल्यू र माई लभ, माई प्राइड नामक चलचित्रहरु प्रदर्शनी भईरहेका छन् । हरेक दिन ६ वटै फिल्महरु हेर्न सकिने नेपालस्थिति दक्षिण कोरियाली दूताबासले जनाएको छ । ती चलचित्रहरु कात्तिक ९, १० र ११ गते क्वीएफएक्स, लविम महलमा प्रदर्शन हुनेछन् । त्यस्तै, कात्तिक १६ र १७ गते काठमाडौं विश्वविद्यालयमा र कात्तिक १८ गते पोखरामा प्रदर्शन हुनेछन् । सन २०१४मा बनेको दी फेटल इन्काउन्टर, सन २०१३ मा बनेको अ हार्ड डे, २०१४ मा बनेको कुण्डो–एज अफ दी रामपन्ट द्वन्द्वमा आधारित चलचित्र हुन् । २००८ मा बनेको क्रसिङ नाटकमा आधारित चलचित्र छ भने २०१३ मा बनेको म्यारिज व्ल्यू र २०१४ मा बनेको माई लभ, माई प्राइड रोमाञ्चक चलचित्र हुन् । पुराना तर निकै चर्चित यी चलचित्रहरुले कोरियाको विभिन्न पक्षलाई चित्रण गरेको र निकै रोचक रहेको नेपालको लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बताए । पछिल्लो समय कोरियाली फिल्मको प्रभाव नेपालमा निकै देखिएको छ । पहिला भारतीय चलचित्रलाई मात्र पछ्याउने नेपाली चलचित्र निर्माताहरु अहिले दक्षिण कोरियाको चलचित्रलाई निकै पछ्याउन थालेका छन् । पछिल्लो समयमा नेपाली युवा पुस्ताले गाउने भाका, नृत्य तथा पहिरहनमा कोरियाली चलचित्रका प्रभाव उल्लेख्य देख्न सकिन्छ ।

बाढीपीडितका लागि पाकिस्तानी राजदूत जावेदद्धारा १० करोड रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । पाकिस्तानी राजदुतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई १० लाख अमेरिकी डलर (झण्डै १० करोड रुपैयाँ) हस्तान्तरण गरेको छ । पाकिस्तानका नेपालका लागि राजदूत मझर जावेदले विहीबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी राहत बुझाएका हुन् । प्रधानमन्त्री देउवाले पाकिस्तानलाई सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहिद अब्बासीले बाढी पहिरो पीडित तथा पूननिर्माणका नाममा राहत स्वरुप सो रकम दिने  घोषणा गरेका थिए । कुनैपनि आपतविपतको क्षणमा सहयोग गर्न र मित्रतापूर्वक सम्बन्ध राख्न तयार रहेको राजदुत जावेदले बताए ।  

नेपाली मौलिक खानाको विश्वव्यापीकरण, पर्यटन व्यवसायमा टेवा

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सकिने व्यवसायीले बताएका छन् । स्थानीय रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले शुरु गरिएको ‘नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ ले अन्तर्राष्ट्रिय जगतमा नयाँ पहिचान स्थापित गर्न सकिने उनीहरुको धारणा छ । होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल र सेफ्स एशोसिएसन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानमा नेपालका प्रतिष्ठित सेफ, व्यावसायिक ‘फुड टेक्नोलोजिस्ट’, ‘डाइटिसियन’ लगायतको पनि सहभागिता रहेको छ । यसै सन्दर्भमा बुधबार साँझ लैनचौरस्थित ‘सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’ परिसरमा स्थानीय खानाका परिकारको प्रदर्शनी आयोजना गरियो । व्यावसायिक सेफबाट तयार गरिएका २६ प्रकारका स्थानीय रैथाने खाना राखिएको थियो । चामल, कोदो, फापर, गुन्द्रुक, च्याउ, आलु, भटमास, बदाम, स्थानीय जडीबुटी तथा मासुका विभिन्न स्वादिष्ट परिकार प्रदर्शनीमा राखिएको थियो । नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताए । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने अभियानको दाबी छ । नेपालीले विश्व बजारमा होटल रेस्टुरेन्ट सञ्चालन गरेका तर त्यहाँ, इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन् भन्ने उद्देश्यले अभियान शुरु गरिएको व्यवसायी कर्ण शाक्यले बताउनुभयो । उनका अनुसार प्रदर्शित मौलिक खानामध्ये २० परिकारका छनोट गरी विदेशीको स्वाद र रुचीअनुरुपको बनाई आकर्षक ढंगले प्रस्तुत गरिने छ । अभियानको दोस्रो चरणमा ठूलो ‘फुट फेस्टिभल’ आयोजना गरी नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गरिने जनाइएको छ । सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । सिल्भर माउन्टेन कलेजकी प्रबन्ध निर्देशक आभा शाहले नेपाली मौलिक खानालाई विदेशी रेस्टुराँमा प्रवद्र्धन गर्ने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साह बढेको बताएका छन् । कार्यक्रममा पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्र संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस