फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी, एकै व्यक्तिले ३० जनालाई ठगे

काठमाडौं १७, मंसिर । फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ ।ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका थिए । भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ । पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए । परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । नयाँ पत्रिका दैनिकबाट ।

एसिया कप क्रिकेट- नेपालले थाइल्यान्डसंग सामना गर्ने, खेल बिहीबार हुँदै

काठमाडौं, १५ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो । त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन । प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । रासस

पश्चिमाञ्चल विकास मञ्चद्धारा विभिन्न व्यक्तिलाई सम्मान

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमाञ्चल विकास मञ्चले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र व्यापार–व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ र अध्यक्ष ढकालले प्रमाण –पत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान्याधीश श्रेष्ठले समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाइ एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चलविकास मञ्च सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूलधारमा लगाउन प्रेरणा मिलेको बताए । मञ्चका अध्यक्ष एवं आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई इण्डियाको नाका सुनौली र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यवस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गरे । सो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाण र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । २०६२ मा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध भएको सो मञ्चले जनाएको छ ।