जातीय आधारमा दुव्र्यवहारदेखि हत्यासम्म शिक्षित वर्ग नै अगाडि, समाज चेतन व्यवहार अचेतन
काठमाडौं २, पुस । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे। यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ। घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ। आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो। ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो। यद्यपि, उनी बाँच्न सफल भइन्। पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो। राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ। शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन। देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन्। काभ्रे पाँचखालका अजित मिजार र पराजुली थरकी युवतीबीच २५ असार ०७३ मा प्रेमविवाह भयो। युवतीको परिवारले मिजारविरुद्ध प्रहरीमा बालविवाहको उजुरी दियो। २७ असारमा उनीहरूबीच सम्बन्धविच्छेद गराइयो। २८ असारमा मिजार बेपत्ता भए। केही दिनमै धादिङ गजुरीमा उनको शव फेला पर्यो। प्रहरीले परिवारलाई जानकारी नदिई मिजारको शव गाड्यो। तर, दलित अधिकारकर्मी र आफन्तको दबाबमा शव उत्खनन गरी ३ साउनमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरियो। मिजारको हत्या पुष्टि भए पनि प्रहरीले लामो समयसम्म मुद्दा दर्ता गर्न मानेन। अहिले प्रहरीले युवतीकी आमालाई मात्र थुनामा राखेको छ। मिजारको शव पाँच महिनादेखि शिक्षण अस्पतालमै छ। नयाँ पत्रिका दैनिकबाट ।
दीपाश्री दीपकराज ‘डिप लभ’मा, श्रीमान श्रीमती नभएरै २३ वर्षदेखि मायालु मित्र
काठमाडौं २, पुस । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ । दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन् । दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ । दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन् । साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन । ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन् । अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ । उनीहरू एक–अर्कालाई केयर गर्छन्, सम्मान गर्छन् र माया पनि गर्छन् । उनीहरू मान्दैनन् कि माया सिर्फ विवाहका लागि गरिन्छ । दुवैको स्पष्ट धारणा छ, ‘विवाहभन्दा माथि पनि सम्बन्ध हुन्छ । हो, हामीबीच त्यही सम्बन्ध छ ।’ अर्थात् उनीहरूबीच ‘डिप लभ’ छ । पहिलो भेट ०४८ सालमै दीपाश्री निरौलाले ‘अग्निपथ’ टेलिफिल्म खेलेकी थिइन् । यसबाट थोर–बहुत परिचित थिइन् उनी । तर, विराटनगर बसेर होइन काठमाडौंमा हिरोइन बन्नु थियो उनलाई । संयोगवश, कलाकार मदनदास श्रेष्ठले दीपाश्रीलाई रेडियोको नाटकमा खेलाउन काठमाडौं बोलाए । आमाबाबुलाई मनाएर ०५१ सालमा उनी काठमाडौं आइन् । दीपाश्री रेडियो नेपाल पुगिन् । त्यहाँ कलाकार बन्न चाहनेहरूको ठूलो भीड थियो । त्यहीँ थिए, दीपकराज गिरी पनि । तर, दीपाश्रीले उनलाई वास्ता गरिनन् । दीपकराज भने दीपाश्रीलाई देख्नेबित्तिकै प्रभावित भए । ‘म त पहिले नै उनको फ्यान थिएँ । देख्दा पनि राम्रो लाग्यो । अग्ली गोरी, आकर्षक खालकी,’ दीपकराज ती दिन सम्झँदै भन्छन्, ‘म त त्यहाँ नाटकको अडिसनका लागि गएको थिएँ ।’ तर, त्यस दिन उनीहरूको चिनापर्ची हुन सकेन । दीपकराजलाई दीपाश्री निकै घमण्डीजस्तो लाग्यो । मन परेन दीपाश्रीलाई १३ वर्षको उमेरदेखि नै दीपकराज गाउँमा नाटकमा खेलिरहन्थे । उनलाई हिरो बन्ने भूत चढेको थियो । दीपाश्रीले रेडियो नेपालको ‘द गेस्ट’ नाटक गर्ने भइन् । दीपकराज पनि सोही नाटकका लागि छानिए । त्यही वेला दुईबीच चिनापर्ची भयो । सो नाटकमा दीपाश्री बच्चाको भूमिकामा थिइन् भने दीपकराज नोकरको । दीपाश्रीलाई दीपकराज त्यति राम्रो लागेन । ‘अत्यन्तै फोहोरी, कपडा पनि कहिल्यै नधुने । लामो कपाल । दाँत उछिट्टिएको । रातो रङको कोठे सर्ट लगाउने र कम्मरमाथि बेल्ट बाँध्ने । दीपकराज मलाई मन नै परेन,’ दीपा ती दिन सम्झँदै भन्छिन् । तर, त्यतिवेला काठमाडौंमा नाटक खेलेर बाँच्नु चानचुने कुरा थिएन । नियमित नाटक हुँदैनथ्यो । रेडियो नेपालमा नाटक गरेर जीवन चलाउने पैसा नपाइने भएकाले सुरु भयो दुवैको काठमाडौंमा संघर्ष । दीपकराज रेडियो ढुकेर बस्ने, दीपाश्री खाजा कुर्ने दीपकराज काठमाडौं दहचोकनिवासी हुन् । उनी बिहान साढे ५ बजे नै घरबाट हिँड्थे अनि रेडियो नेपालमा आएर नाटक गर्थे । रेडियो नेपालमा नाटक सकिनासाथ दीपक नेपाल टेलिभिजन ढुकेर बस्थे । ‘रेडियो नेपालकै क्यान्टिनमा चिया खाइन्थ्यो । अनि टेलिभिजनमा गए घाम तापेर बस्थेँ । सन्तोष पन्तलगायत दाइहरू आए भने उठेर नमस्ते गरिहाल्थेँ । कसले कहाँ बुम समाउन बोलाउँछ वा काम लगाउँछ भनेर कुरेर बस्थेँ । बेलुकी ६ बजेतिर टेम्पो चढेर घर फर्कन्थेँ,’ दीपकराज संघर्षका ती दिन सुनाउँछन् । उता, दीपाश्रीको अवस्था पनि त्यस्तै थियो । दिदीको घरमा बस्थिन् उनी । त्यहाँ अप्ठ्यारो अनुभव गरेपछि बिजुलीबजारमा छुटै कोठा लिएर बस्न थालिन् । उनी बिजुलीबजारकी रेणु भट्टराईलाई कहिल्यै बिर्सिन्नन् । उनले कोठा लिएर बस्नेबित्तिकै दीपाश्रीलाई एउटा आरी र स्टोभ दिएकी थिइन् । त्यसपछि पछ्यौरालाई गाँठो पारेर पर्दा बनाइन् र कोठामा बस्न थालिन्, दीपाश्री । उनको चिनजानको दायरा बिस्तारै फराकिलो बन्दै थियो । त्यही समयमा शान्तिप्रिय, अनन्त वाग्लेलगायतसँग उनको चिनजान भएको थियो । ‘डिल्लीबजारमा शान्तिप्रिय दाइको अफिस थियो,’ त्यो घटनाले दीपाश्रीलाई सुस्केरा हाल्न बाध्य बनाउँछ, ‘२ बज्यो कि उहाँको अफिसबाहिर पुगिहाल्थेँ र बसिरहन्थेँ । अनि उहाँहरूले खाजा खाने वेला मलाई पनि खुवाइहाल्नुहुन्यो । चिउरा र चना खान पाइन्थ्यो ।’ गोजीमा दाम नहुँदा उनका पैताला काठमाडौंका गल्लीहरूसँग निकै परिचित छन् । यतिसम्म कि एकपटक दसैँमा दीपाश्री घर जानै सकिनन् किनकि उनीसँग गाडी भाडा थिएन । घरमा बुबालाई व्यस्त भएकाले नआउने जानकारी दिइन् । मातृत्व प्रेम त पहिल्यै गुमाइसकेकी थिइन् दीपाले । त्यो दसैँमा काठमाडौंमा एक्लै बसेर खुब रोइन् दीपाश्री । ‘जब बुबाले थाहा पाउनुभयो अनि खुब रोएँ,’ दीपाश्री भन्छिन्, ‘पछिपछिको दसैँमा घर जान कहिल्यै छुटाइनँ ।’ तर, उनले यस्तो कुरा कहिल्यै पनि अरूलाई सेयर गरिनन् । मान्छेले कमजोरी थाहा पाए भने हेप्न थाल्छन् भन्ने लाग्थ्यो उनलाई । दीपकराज र दीपाश्री प्रेमी–प्रेमिका दीपाश्रीमा हिरोइन र दीपकराजमा हिरो बन्ने चाहना झन्झन् उत्कर्षमा पुग्दै थियो । ०५२ सालको एक दिन दीपकराजले दीपाश्रीलाई एउटा प्रस्ताव राखे, ‘मैले रामविलास र धनियाँको कार्यक्रमको तयारी गरेकोे छु, तिमीजस्तै क्यारेक्टर खोजिरहेको थिएँ । तिमी धनियाँ बनिदिनुपर्यो ।’ दीपाले भनिन्, ‘त्यस्तो क्यारेक्टर गर्न मैले कहाँ सक्छु र रु’ तर, दीपकराजले कन्भिन्स गराइछाडे र उनीहरूले सुरु गरे, रेडियो नेपालमा अर्को नाटक रामविलास–धनियाँ । नाटकमा दीपकराज गरिब हुन्थे भने दीपा असाध्यै धनाढ्य । उनीहरू प्रेमी–प्रेमिका थिए । रामविलासले गरिब भएका कारण धनियाँलाई बिहे गर्न सकेका हुँदैनथे । धनियाँको बुबाआमाले धेरै सम्पत्ति भएको केटा खोज्थे । रामविलास भन्थ्यो, ‘म पैसा कमाएर ठूलो घर बनाएपछि बिहे गर्छु है ।’ धनियाँले भन्थिन्, ‘छिटो बिहे गर्नुप¥यो । यत्रो नाटक गरिएको छ, रेडियोमा काम गरिरहेका छौँ । अब त पुगेन र रु’ नाटकको स्क्रिप्ट दीपकराज लेख्थे । त्यो कार्यक्रम रेडियो नेपालकै सबैभन्दा चर्चित थियो । ‘स्रोताहरूले हामीलाई साँच्चिकै प्रेमी–प्रेमिका ठान्दा रहेछन्,’ दीपाश्रीको अनुहारमा आश्चर्यको भाव झल्कन्छ, ‘बोराका बोरा चिठी आउँथे । तीन–चार घन्टा लगाएर चिठी छान्थ्यौँ । र, उत्कृष्टलाई वाचन गथ्र्यौं । मलाई त चिठी फाल्न पनि माया लाग्थ्यो ।’ पछि त उनीहरूलाई कार्यक्रमको स्क्रिप्ट नै आवश्यक परेन । उनीहरू नाटकमा साँच्चिकै प्रेमी–प्रेमिका हुन्थे । प्रेममै डुब्थे । जुन अभिनय श्रोताले निकै मन पराएका थिए । त्यो कार्यक्रमले उनीहरूलाई थप नजिक्यायो । दीपाश्रीले दीपकराजजीबाट दीपकराज भन्न थालिन् । दीपकराज भने दीपाजी नै भनी सम्बोधन गर्थे । बिस्तारै दीपाश्री दीपकराजप्रति आकर्षित हुन थालिन् । दीपकराजले पनि दीपालाई निकै केयर गर्न थाले । नारीप्रतिको सम्मान देखेर दीपाश्री उनीप्रति नतमस्तक नै थिइन् । त्योभन्दा बढी दीपकराजको लेखन कला र ‘कन्भिन्सिङ पावर’प्रति बढी प्रभावित थिइन् दीपाश्री । ‘उसको केयर गर्ने शैली अर्कै प्रकारको थियो,’ दीपाश्री भन्छिन् । दीपाश्री र दीपकराज चार वर्ष रेडियो नाटकमा मात्र सीमित रहे । त्यसपछि दीपाश्रीले देवीलगायतको सिरियलमा अभिनय गर्न थालिन् । दीपकराज पनि ट्वाक्क टुक्क, काउकुती, तैं चुप मै चुपलगायतका सिरियलमा अभिनय गर्न थाले । फिल्मी यात्रा चार वर्षपछि रेडियो नेपालमा रामविलास–धनियाँको कार्यक्रम बन्द भयो । त्यसपछि दुवै हिरो–हिरोइन बन्ने दौडमा आ–आफ्नो ढंगले बाटो लागे । दीपाले नासो, गाउँलेलगातका फिल्म खेलिन् । चमत्कार, चौतारीलगायतको फिल्म दुवैले सँगै अभिनय गरे । ती फिल्ममा दीपा हिरोइन, दीपक भिलेन थिए । उनीहरू आ–आफ्नो तरिकाले फिल्म खेले, चर्चामा आइरहे । २०५३ सालमा दुवैले गाईजात्रा गरे, तर छुट्टाछुट्टै रूपमा । दीपकराजकै आग्रहमा २०५४ सालबाट उनीहरूले सँगै गाईजात्रा गर्न थाले । दीपकले लेखेको त्यो गाईजात्रा निकै चर्चित भएको थियो । त्यसपछि उनीहरूले निरन्तर गाईजात्रामा अभिनय गरिरहेका छन् । श्रीमान्–श्रीमतीको यात्रा फिल्म टेलिफिल्ममा अभिनय गर्ने भएकाले दुवैलाई खाना र कोठाभाडा तिर्न समस्या थिएन । २०६० सालको एक दिन दीपकराजले भने, ‘अब मिलेर काम गरौँ दीपा । हामीलाई गाईजात्रा र रामविलास–धनियाँमा पनि राम्रै भएको हो क्यारे ।’ दीपालाई पनि राम्रै होलाजस्तो लाग्यो । त्यसै भनिदिइन्, ‘गरौँ न त ।’ ४ भदौ २०६० बाट सुरु भयो टेलिशृंखला, ‘तीतो सत्य’ । जसमा दीपाश्रीको श्रीमान् बने दीपकराज । हिजो आजको कुरा र कसौटी जिन्दगी नामक टेलिशृंखलाबाट प्रभावित थिए, दीपकराज । त्यसैले त्यस्तै धारको कथामा ‘तीतो सत्य’ टेलिशृंखला प्रसारण भयो । त्यो सफलता अहिले पनि दीपाश्रीको अनुहारमा देखिन्छ । भन्छिन्, ‘१३ भागसम्ममा त दर्शकले हामीलाई लगनगाँठो नै कसिदिएका थिए ।’ पाँचौँ भागमै उनीहरूले निकै चर्चा बटुलिसकेका थिए । अहिले पनि मान्छेहरूले भन्छन्, ‘दीपा र दीपकराज साँच्चैका श्रीमान्–श्रीमती होइनन् र रु’ दर्शकलाई यस्तो छाप पार्नु उनीहरूको खुबी थियो । छिनमै रिसाउने, छिनमै खुसाउने तीतो सत्यताका दीपकराजले निर्देशक र कथाको पाटो हेरिरहेका हुन्थे भने दीपाश्री व्यवस्थापन र सहायक निर्देशक । काम गर्ने वेला उनीहरूको निकै झगडा हुन्थ्यो । चित्त बुझेन कि दीपाश्री पड्किहाल्थिन् । दीपकराज पनि के कम झन्किहाल्थे । दुवै आगो । कहिले दुई–तीन दिनसम्म पनि बोल्दैनथे । तर, नबोलेर सुख थिएन । कामले गर्दा बोलिहाल्नुपथ्र्यो । दीपकराज भन्छन्, ‘म पनि कडा, ल काम नगर्ने भने नगरौँ भनिदिन्थेँ ।’ दीपाश्री भन्छिन्, ‘तर दीपकराजले नै बढी फकाउँथ्यो मलाई ।’ तर, उनीहरू हरेक काम सहकार्यमै गर्थे । मिलेरै स्क्रिप्ट लेख्थे, प्लानिङ गर्थे । कहिले चिया पसलमा । कहिले दीपाको कोठामा, कहिली दीपकराजको घरमा । उनीहरूको बजारमा जे हल्ला चले पनि दीपकराजको घरमा यही कारणले कहिल्यै श्रीमतीसँग कचकच परेन । निकै बुझक्कड छिन् उनकी श्रीमती । दीपा त गौप्राणीकै संज्ञा दिन्छिन् । किनकि काम गर्ने कुरामा जोसँग पनि सहकार्य गर्न सकिन्छ भन्ने धारणा राख्छिन्, दीपकराजकी श्रीमती । दीपकको घर पनि नबिगार्ने, बिहे पनि नगर्ने दीपाश्री दीपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दीपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरूको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिवेला को कहाँ छन् भनेर अपडेट भइ नै रहेका हुन्छन् उनीहरू । यति लामो समयसम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्स भएकाले प्रगतिप्रति कसैको ईष्र्या हुँदैन । अर्को कुरा हामीमा पारदर्शिता छ ।’ उनीहरू एक अर्कालाई निकै माया गर्छन् । दीपाश्री भन्छिन्, ‘हामीले बिहे गर्न माया गरेको हौइनौँ । तर, म उसलाई गहिरो माया गर्छु । दुःख नपाओस् भन्ने लाग्छ । सहयोग गरिरहुँजस्तो लाग्छ । मैले भन्दा अझ बढी उसले माया गर्छ ।’ दीपकराजलाई पनि त्यस्तै लाग्छ । साँच्चिकै भन्दा उनीहरू ‘डिप लभ’मा छन् । एकअर्कालाई भित्रैदेखि माया गर्छन् । अब दीपाश्री बिहे नगर्ने मुडमा पुगिसकेकी छन् । अब कसैको पर्फेक्ट श्रीमती बनेर बस्न सक्दिनँ झैँ लाग्छ दीपाश्रीलाई । अब दीपाश्रीको शब्दकोषमा बिहे भन्ने शब्द नै छैन रे १ ‘मलाई जीवनमा दीपकबाहेकको अर्को व्यक्तिले आकर्षित नै गरेन,’ उनी भन्छिन् । तर, दीपकराजको तर्क अर्कै छ । भन्छन्, ‘मेरोभन्दा करिअरको बढी माया गर्छिन् उनी ।’ नयाँ पत्रिका दैनिकबाट ।
निर्वाचन कसुरमा तीन वर्षसम्म कैद प्रस्ताव, मतदान स्थलमा अवैध काम गरे दुई लाख रुपियाँसम्म जरीवाना
काठमाडौं १, पुस । सरकारले निर्वाचन कसुरमा सजाय बढाउने प्रस्तावसहित निर्वाचन कसुर तथा सजायसम्बन्धी कानुनलाई एकीकरण गर्ने विधेयक संसद्मा दर्ता गरेको छ। सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले दर्ता गराउनुभएको प्रस्ताव जस्ताको तस्तै पारित भएमा अब निर्वाचन कसुरमा तीन वर्षसम्म कैद हुनेछ। यस्तै जरिवानाको रकम पनि दुई लाख रुपियाँसम्म पुर्याइएको छ। मतदातालाई प्रलोभनमा पार्ने, हातहतियारसहित मतदान स्थलमा प्रवेश गर्नेलाई दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्र्ष कैद वा दुवै सजाय हुने सरकारको प्रस्ताव छ। यसअघि यस्तो कसुरमा ५० हजार रुपियाँसम्म जरिवाना, दुई वर्र्ष कैद वा दुवै सजाय हुने व्यवस्था थियो। सरकारले एक वर्र्ष कैद र एक लाख ५० हजार रुपियाँ जरिवाना बढाएर सजायसम्वन्धी प्रस्ताव गरेको हो। यस्तै, निर्वाचनमा प्रयोग गरिने मतपत्र खोस्ने, च्यात्ने लुट्ने काम गरेमा एक लाख रुपियाँसम्म जरिवाना, दुई वर्र्षसम्म कैद वा दुवै सजाय हुनेछ। यसअघि यस्तो कसुरमा बढीमा ५० हजार रुपियाँ जरिवाना र दुई वर्र्षको कैदको व्यवस्था थियो। निर्वाचन कसुर तथा सजाय ऐन २०६३ अनुसार निर्वाचनमा कुनै पनि हिसाबले मतदाता प्रभावित पारे, उम्मेदवारको चरित्र हनन् हुने काम गरे, प्रचारप्रसार गर्न रोक लगाइएकोमा प्रचारप्रसार गरे, नगद जिन्सी लेनदेन गरेमा ५० हजार रुपियाँसम्म जरिवाना र दुई वर्र्ष कैद हुने व्यवस्था थियो। यस्तै, यसको आधा सजाय ती काम गर्न लगाउने व्यक्तिलाई हुने व्यवस्था थियो। नगद जिन्सी लेनदेन गरेको अवस्थामा पनि ५० हजार रुपियाँ जरिवाना वा एक वर्र्ष कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्तावित छ। यस्तै, मतदान केन्द्रबाहिर मतपत्र लगेमा २५ हजार रुपियाँ जरिवाना, हातहतियार साथमा लिएर हिँड्न वा प्रदर्शन गरेमा दुई वर्र्षसम्म कैदको प्रस्ताव विधेयकमा छ। गैरकानुनी तवरले मतपत्र लिनेदिनेलाई प्रतिबन्धित गरेको छ। गैरनेपाली नागरिकले मतदान गरेकोमा निजलाई ५० हजार रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था यसअघि थियो। नयाँ विधेयकले यो व्यवस्था जस्ताको तस्तै ल्याएको छ। एक पटकभन्दा बढी मतदान गरेमा २५ हजार रुपियाँ जरिवानाको प्रस्ताव विधेयकमा गरिएको छ। यस्तै मत सङ्केत सार्वजनिक गरेमा १५ हजार जरिवाना हुनेछ। मतदाता नभएको व्यक्तिले मतदानमा सहभागी भए २५ हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ। मतदान भइसकेको मतपत्र बिगारे एक लाख रुपियाँ जरिवाना र दुई वर्र्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। मतगणनासम्बन्धी कुनै पनि सामाग्री बिगारे पनि दुई वर्र्षसम्म नै कैद हुनेछ। प्रस्तावित विधेयकले व्यक्तिद्वारा गर्ने निर्वाचन कसुरमा शान्ति भङ्ग गर्न नहुने, हातहतियार साथमा लिएर हिँड्न तथा प्रयोग गर्न नहुनेलाई परिभाषित गरेको छ। यस्तै अनावश्यक प्रभावमा नगद वा जिन्सी लिन नहुने, पर्यवेक्षक, सञ्चारकर्मी वा कुनै सस्ंथाले प्रभाव पार्न नहुने, गैरकानुनी रूपमा मतपत्र लिन वा दिन नहुने कसुरमा परिभाषित गरेको छ। गोरखापत्र दैनिकबाट ।