नयाँ अध्ययन : स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक ‘भिन्न संरचना’ भेटियो
वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ । कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् । “तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,” एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताउनुभयो । आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो, उनले भने। “हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,” सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताए। दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा चार हजार ५०० बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् । अध्ययनका प्रारम्भिक तथ्याँकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ । अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ। रासस
सन नेपाल लाइफद्धारा १० लाखको मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । मृतक महतोले ९४ हजार ३३६ रुपैयाँको बीमा शुल्क भुक्तानी गरि जीवन बीमा गरेका थिए । साथै, कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान गरेको छ । कम्पनीले मंसिर २३ र २४ गते सिन्धुली र महोत्तरी जिल्लामा स्थानीय र अभिकर्ताहरुको उपस्थितीमा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । स्थानिय निकायका जनप्रतिनिधि, आम सर्वसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।
प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि विजयी
कञ्चनपुर । प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि बैशाखी बेलौरी विजयी भएकाे छ । उक्त टिमले कैलाली खेलकुद विकास समितिको टिमलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ । बिजेता र उपविजेता टिमका खेलाडीहरुलाई खानेपानी मन्त्री बिना मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी छिन् । बेलौरी नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद रू. १ लाख १५ हजार १ सय १५ र उपविजेता टिमले रू. ६६ हजार ६ सय ६६ नगद हात पारेका छन् । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फूटबल प्रतियोगिताको आइतबार समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकुद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडी बढाउनु पर्ने बताइकी छिन् । कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ” हामी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अगाडी बढिरहेका छौं । विकासको रफ्तारमा छौं । विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गर्छु । ” मन्त्री बिना मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा संचालन गर्न पहल भैरहेको जानकारी दिएकी छिन् ।