धरानलाई व्यवस्थित बनाउने यस्ता छन् योजना, पार्क निर्माण गर्न डिपिआर तयार
धरान । पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले जानकारी दिए । कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण हुनसक्यो भने अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ । उक्त क्षेत्रमा सवारी निशेध गरिने छ । त्यहाँ सञ्चालन हुँदै आएको बसपार्क धरान–८ स्थित सुन्दरबस्ती स्थानान्तरका लागि निर्णय भइसकेको छ । भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोरा निर्माण हुने इञ्जिनीयर श्रेष्ठले बताए । भानुचोकमा पूर्णकदको भानुभक्तको सालिक हुनेछ । हाल अर्धकदको सालिक रहेको छ । भानुचोकलाई पार्कका रुपमा निर्माण गर्न बसपार्क सुन्दरबस्तीमा सार्न त्यहाँका स्थानीयवासीसँग छलफल भइरहेको र माघ पहिलो सातामा बसपार्क सार्न त्यहाँ संरचना निर्माण थालिने उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।
खेलकुद सम्बन्धी थेसिस लेख्ने विद्यार्थीलाई खेलकुद मन्त्रालयले सहयोग गर्ने
काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा अध्ययनरत्त विद्याथीहरुलाई प्रोत्साहन गर्ने प्रयोजका साथ स्नातकोत्तर तहमा अध्ययनरत्त विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा विद्यार्थी प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रोत्साहन तथा सहयोग गर्ने भएको हो । त्यसका लागि इच्छुक विद्यार्थीले पुष २६ गते भित्रमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखामा आवेदन पेश गर्न सक्ने मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।
८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली जडान, जोखिमबाट बचाउन सकिने नाष्टको दाबी
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ”, ढकालले भने, “नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।” भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए । यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो । ढकालले भने, “नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्र्ने प्रतिबद्धता प्राप्त भएको छैन ।” चाइनिज लाइफ इन्सुुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो । यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए ।