आइतबारदेखि सार्वजनिक सवारीमा नयाँ नियम, ११ रूटका बसले यात्रुलाई नकुर्ने
काठमाडौँ । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारी साधनले एक स्थानबाटमात्र यात्रु ओराल्न र चढाउन पाउने छन् । तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ । यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ । टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन् । पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ । यस्तै दोस्रो स्टपका लागि टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ । वायुसेवा निगम अगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन् । केही दिनअघि सरोकारवालासँगको बैठकमा कामपाका प्रमुख शाक्यले उपत्यकाको सडक जति नै फराकिलो बनाए पनि जामको समस्या झन जटिल बन्दै गएको भन्दै बहुपक्षीय लाभमा सबैले साथ दिनुपर्ने बताए । उनले पहिलो चरणमा ११ वटा रुटमा चल्ने सवारी साधनलाई यो नियम लागू गरिए पनि यसपछि अन्य रुटमा पनि लागू गरिने बताए ।
भारतकाे अदालतमा चितुवा गयाे, जनावरकाे आक्रमणबाट दैनिक एक जनाकाे मृत्यु
फाेटाे-गुगल अहमेदावाद ।भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ । जङ्ली जनावरले मानिस मात्र मारेकाे छैन, जङ्ली जनावर अदालत समेत गएका छन् । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए । कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि खदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिव साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जङ्गलतिर पठाइयो । भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ । विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ ।
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा बैंकको १४ अाैँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँगै बैंकका अन्य कर्मचारीको उपस्थित रहेको थियो । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता उक्त कार्यक्रम सम्पन्न भएको छ । हाल सानिमा बैँकको ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।