बूढानीलकण्ठमा पहिलोपटक प्रथम मेयर कप फुटसल हुँदै
साँखु । बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । यसरी, खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने गरी खेलाडीको मनोवल उच्च राख्न उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सन्देश कार्कीले बताउँछन् । कार्कीका अुनसार प्रतियोगिताको असार २५ गते फारम भर्ने अन्तिम म्याद भएकाले खेलमा भाग लिन ईच्छुक समूहले आफ्नो वडामा गई आवेदन फारम भर्नुपर्ने जानकारी समेत दिए । वडा/वडाबीच प्रतियोगिता हुने उक्त खेलमा नगरपालिकाभित्रकै स्थानीय खेलाडी हुनुपर्ने क्लबले जनाएको छ । स्थानीयस्तरमा फुटसल खेल अहिले निकै लोकप्रिय हुँदै गइरहेको छ । रासस
‘नन्द–हरि पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुँदै दुई पत्रकार
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उनको परिवारले आमा हरिकला र बुबा नन्दलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना गरेको पुरस्कार वर्षेनी प्रदान गर्दै आएका थिए । पुरस्कारको राशि जनही रु. १५ हजार रहेको छ । यही असार २५ गते पत्रकार महासङ्घ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले बताएका हुन् । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका धु्रवसागर शर्मा, बागलुङका ज्ञानेन्द्र गौतम, कोपिला कँडेललगायत पुरस्कृत भइसकेका छन् । रासस
२५ लाख बीमा रकमको लोभमा बाबुद्वारा छोरीको हत्या !
रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । राति आमासँगै सुतिरहेकी छोरीलाई हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिना नबित्दै बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ । यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको छ ।