महालक्ष्मीले गर्यो सरसफाई र बैंकिङ कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. नयाँबजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान सोहखुट्टेबाट सुरु भई बालाजुमा आएर समापन भएको थियो । कार्यक्रममा बैंकका प्रतिनिधिहरु, मनास्लु पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीहरु तथा सोह्रखुट्टे प्रहरी कार्यालयका प्रहरी प्रमुख, तथा सरसफाई अभियान्ता, सोह्रखुट्टेका स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारण माझ बंैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । सरसफाई कार्यलाई नै लक्षित गर्दै बैंकको कावासोती शाखाले डस्टबिन वितरण गरेको छ । शाखाले कावासोती नगरपालिकाको वार्ड नं १२, धनन्चल स्थित शिव माध्यमिक विद्यालय तथा कावासोती टोल सुधार समिति गरी तीन ठाउँमा कुल ३० वटा डस्टबिन वितरण गरेको छ ।

बञ्चरे डाँडामा फोहर विसर्जनस्थल डिजाइनको काम सकियो, ३८ करोडमा कस्तो बन्ला ?

काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए । बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु हुने उनले बताए । प्रवक्ता दवाडीका अनुसार अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम गरिरहेको छ । निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस

उपत्यकामा सवारी चालकले जथाभावी हर्न बजाउन छाडेनन्, एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । “ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उनले भने । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरैमात्रामा लागू भए पनि पूर्णरुपमा भने लागू भएको छैन । महाशाखाले हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ३० हजार ४६८ सवारीसाधनलाई कारवाही गरिसकेको छ । महाशाखाले ध्वनि प्रदूषण गरेबापत एउटा सवारीसाधनबाट ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।