‘एन आईसी एशिया रन फर हेल्थ’ विराटनगरमा सम्पन्न

विराटनगर । एनआई सी एशिया बैंक लिमिटेडको विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ”दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको “एन आईसी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । ५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेत सहभागि थिए । प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनरप्रदान गरिएको थियो ।

ओम डेभलपमेन्ट बैंकले गर्याे सन्यास आश्रमलाई सीसी टि भि. सहयोग

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेका हुन् । यसअघि बैंकले खैरेनी मा.वि. खैरेनीटार तनहुंको पुस्तकालयलाई केहि पुस्तकहरु हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मा.वि.नदिपुर पोखरालाई भौतिक सामाग्री, दृष्टिबिहिनहरुलाई कम्प्युटर तालिम शिक्षा तथा हरिहर आश्रम देबघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही, पानी उत्पादनमा रोक

पर्वत । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ । कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज तथा बागलुङका महालक्ष्मी मिनरल वाटर एण्ड वेभरेज र कार्की मिनरल वाटर रहेका छन् । उक्त कार्यालयका निमित्त प्रमुख केदार पौडेलका अनुसार कार्यालयले अनुगमन गर्ने क्रममा ती कम्पनीले निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको हो । निर्देशिकाअनुसार बोतलको सफाइ, फिलिङ र क्यापिङको काम स्वचालित उपकरणबाट गर्नुपर्नेमा त्यसो नगरिएका कारण उनीहरूमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले बताए । उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङमा जस्तै पर्वतमा पनि प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।