सैनामैनामा ज्येष्ठ नागरिकलाई घरमै भत्ता, नगरपालिका-बैंकबीच सम्झौता
रुपन्देही । सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रोे भएकाले घरमै वितरणको व्यवस्था गरिने उनको भनाइ छ । नगरको शिक्षा स्वास्थ्य र सामाजिक सरोकारका विषयलाई प्राथमिकता दिनेगरी काम अगाडि बढेको छ, उनले भने, “विपन्न र ज्येष्ठ नागरिकको सेवामा विशेष हेक्का राखेको छौँ ।” सैनामैना नगरका पाँच हजार ९२४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् तीमध्ये तीन हजार १२९ जना ज्येष्ठ नागरिकले भत्ता लिँदै रहेको नगरका उपप्रमुख बिना रानाले जानकारी दिए । नगरपालिकामा एकल महिला भत्ता बुझ्नेको सङ्ख्या दुई हजार चार छ भने १८ जना लोपोन्मुख आदिवासी, ३२० जना पूर्ण अपाङ्गता भएका, ४५३ जना दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको नगरका सामाजिक सुरक्षा शाखाका केशव अर्यालले जानकारी दिए ।
सामाजिक सञ्जालको गलत प्रयोगः ख्याल गरौँ १० लाख जरिवाना हुनसक्छ !
काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरेको हो । सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने गरे त्यस्तो क्रियाकलापलाई विधेयकले दण्डनीय अपराध मान्दै कारवाहीको भागीदार बन्नुपर्ने विषयलाई स्पष्टसँग व्याख्या गरेको छ । कोही कसैलाई होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य गर्नसमेत बर्जित गरेको छ । त्यस्तो कार्य भए, गराए कसुरदारलाई कसुरको मात्रा हेरि १० लाखसम्म जरिवाना वा पाँच वर्षको कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । विधेयकको दफा ८५ मा समावेश भएको यौनजन्य दुव्र्यवहार गर्न नहुने शीर्षकमा भनिएको छ, “कसैले पनि विद्युतीय प्रणालीमार्फत कसैलाई प्रचलित कानूनबमोजिम यौनजन्य दुव्र्यवहार मानिने कुनै कार्य गर्न वा सोको लागि कसैलाई अनुचित प्रलोभनमा पार्ने वा धम्की दिनेजस्ता कुनै कार्य गर्न गर्न वा गराउन पाइने छैन । त्यस्तो कार्य गरे गराए यस्तै कसुरको मात्रा हेरी रु पाँच लाखसम्म जरिवाना, पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । विद्युतीय प्रणालीको माध्यमबाट कुनै पनि अश्लिल सामग्रीको उत्पादन, सङ्कलन, उपलब्ध रहेको जानकारी सम्प्रेषण, वितरण, प्रकाशन, प्रदर्शन, प्रसार तथा बिक्री गर्नसमेत पाइने छैन । यस्तै विधेयकले विद्युतीय प्रणालीमार्फत प्रलोभनमा पार्न नहुने र प्रणालीको दुरुपयोग गर्न नहुने विषयलाई समेत कडाइका साथ कानूनी प्रबन्ध गरेको छ । यौन शोषण गर्ने वा ठगी गर्ने वा अरु कुनै गैरकानूनी कार्य गर्ने मनसाय राखी प्रस्ताव राखेसमेत दण्ड सजायको भागीदार हुनुपर्नेछ । त्यस्तै विद्युतीय माध्यमबाट नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, स्वाधीनता वा सङ्घीय एकाइबीचको सम्बन्ध खलल पर्न सक्ने कुनै पनि काम गर्न नपाइने व्यवस्था विधेयकले गरेको छ । त्यस्तो कसुर गरे १५ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद तथा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अनुमति नलिई वैयक्तिक विवरण सङ्कलन गर्न नपाइने तपाइँको विद्युतीय स्वरुपमा रहेको व्यक्तिगत विवरण कोही कसैले गलत तवरले त प्रयोग गरिरहेको छैन ? यदि छ भने अब त्यस्तो गरिनु दण्डनीय अपराध मानिनेछ । विधेयकमा प्रचलित कानूनबमोजिम बाहेक कसैले पनि विद्युतीय स्वरुपमा रहेको वैयक्तिक विवरण सङ्कलन गर्न नपाउने व्यवस्था गरेको छ । गैरकानूनी रुपमा वैयक्तिक विवरण सङ्कलन गर्नेलाई उक्त विधेयकको सूचना सुरक्षा तथा गोपनीयतासम्बन्धी व्यवस्थाले बर्जित गरेको छ । वैयक्तिक विवरण नै सङ्कलन गर्नु परेमा सो विवरण कुन प्रयोजनका लागि आवश्यक परेको हो सोको जानकारी सम्बन्धित व्यक्तिलाई अनिवार्य रुपमा गराउनुपर्नेछ । कुनै जानकारी नै नदिई गैरकानूनी रुपमा कोही कसैको वैयक्तिक विवरण लिएमा वा अनाधिकृत रुपमा प्रयोग गरेमा रू पाँच लाखसम्म जरिवाना वा तीन वर्षको कैद वा दुवै सजाय हुने विधेयकमा व्यवस्था गरिएको छ । यस्तै वैयक्तिक विवरण वा सूचना सङ्कलन गर्दा खुलाइएको प्रयोजनबाहेक अन्य प्रयोजनका लागि प्रयोग, प्रचारप्रसार तथा आदानप्रदान गरिनेसमेत प्रस्तावित विधेयकले बर्जित गरेको छ । एउटा उद्देश्य राखेर विवरण सङ्कलन गर्ने र अन्य प्रयोजनका लागि त्यस्ता विवरण प्रयोग गरिए कानूनअनुसार दण्ड सजाय भोग्नसमेत तयार रहनुपर्ने व्यवस्थालाई कानूनमा नै समेटिएको छ । खास प्रयोजनका लागि कानूनबमोजिम सङ्कलन तथा सञ्चय गरिएको वैयक्तिक सूचना सङ्कलन तथा सञ्चयको प्रयोजन समाप्त भएको ३० दिनभित्र सम्बिन्धत व्यक्तिलाई प्रत्याभूत हुने गरी नष्ट गर्नुपर्ने व्यवस्था विधेयकमा प्रस्तुत गरिएको छ । विद्युतीय स्वरुपमा रहेका सूचनाको आदानप्रदान, प्रशोधन तथा सञ्चय गर्दा प्रशोधनकर्ता, सञ्चयकर्ता र सेवा प्रदायकले गोपनीयता र अक्षुण्णता कायम गर्ने विषयलाई विशेष ध्यान दिनुुपर्नेछ । सरकारी सार्वजनिक, वित्तीय तथा स्वास्थ्यसम्बन्धी निकायले तोकिएको विवरण अनिवार्य रुपमा कानूनअनुसार नै सुरक्षित राख्नु पर्दछ । त्यस्ता सूचना देश बाहिर नजाने प्रत्याभूतिसहित सुरक्षित राख्नु पर्दछ । सरकारी निकायले जथाभावी रुपमा कम्प्युटरको प्रयोग तथा सूचना प्रणालीको प्रयोग गर्दा हेलचक्र्याइँ गर्न नपाइने व्यवस्थालाई समेत विधेयकले कडा प्रावधानसहित समेटेको छ । अनुमति नलिई तथ्याङ्क केन्द्र तथा ‘क्लाउड’ सेवा सञ्चालन गर्न नपाउने व्यवस्थासमेत विधेयकमा गरिएको छ । त्यस्ता केन्द्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ । विधेयकले साइबर सुरक्षाको विषयलाई समेत प्रमुख प्राथमिकतामा राखेको छ । सरकारले कुनै पनि राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था, अत्यावश्यक सेवा, आकस्मिक सेवा, स्वास्थ्य तथा सार्वजनिक सुरक्षामा समेत गम्भीर असर पु¥याउन सक्ने सूचना तथा सञ्चार पूर्वाधारलाई नेपाल राजपत्रमा प्रकाशन गरी संवेदनशील पूर्वाधार तोक्न सक्नेछ । रासस
‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी बीमा कार्यक्रम गरिँदै
वीरगञ्ज । यहाँस्थित त्रि–जुद्ध माध्यमिक विद्यालयमा छोरी बीमा कार्यक्रमको शुभारम्भ गरिँदैछ । प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत सो कार्यक्रमको शुभारम्भ हुन लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ‘बेटी बचाउ बेटी पढाउ’ अभियानका लागि झण्डै ८९ करोड विनियोजन गरेको छ । सो अभियानअन्तर्गत प्रदेश २ सरकारले छोरी बीमा कार्यक्रमका लागि प्रभु बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अभियानको पहिलो चरणमा साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण, सचेतनाका लागि अभियान चलाउने जस्ता कार्यक्रम रहेको बताइएको छ । अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लाका चार हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत कतिपय जिल्लामा साइकल वितरण गर्ने कार्यक्रम शुभारम्भ भइसकेको छ । प्रदेश नं २ मा छोराछोरीबीच विभेद, छोरीलाई भ्रूणमै हत्या गर्ने, दाइजो प्रथा, छोरीलाई विद्यालय नपठाउने जस्ता कुरीति हटाउन अभियानले चेतना जगाउने विश्वास लिएको छ । रासस