स्टार इंडिया ग्रुपद्वारा ‘स्टार इन्टरनेशनल ऐजुकेशन अवार्ड’ वितरण, विभूषित भए ९ जना कलाकार

काठमाडौं । स्टार इंडिया ग्रुपले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री साङ्गीतिक कार्यक्रम तथा स्टार इन्टरनेशनल एजुकेशन अवार्ड २०२० सम्पन्न गरेको छ । उक्त कार्यक्रम डीएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयमा भएको थियाे । कार्यक्रममा भारतबाट आमन्त्रित ९ प्रतिष्ठित कलाकारहरूलाई भारत गौरव रत्न अवार्डबाट विभूषित गरिएको छ । उक्त कलाकारहरूको समूहको विभिन्न प्रस्तुति हेर्नको लागि एक हजार बढी उपस्थित थिए । भारत गौरव रत्न अवार्ड २०२० बाट विभूषित हुने कलाकारहरूको सूचीमा अदिती जमडाडे, संजुक्ता मुखर्जी, स्वाती शर्मा, सुजाता रामनाथन, चंदना अप्पम, सुजता भिडे, तेजश यादव, आभा वामबुरकर र सुनिता जमडाडे छन् । कार्यक्रमका प्रमुख अतिथि स्टार इंडिया ग्रुपका डाइरेक्टर सुनिल कुमार र भारतीय दुतावासका कार्यवाहक राजदुत महामहिम डा. अजय कुमार उपस्थित थिए । उपस्थित दर्शकहरूलाई सम्बोधन गर्दै स्टार इंडिया ग्रुपका व्यवस्थापकीय डाइरेक्टर सुनिल कुमारले नेपाल–भारत सांस्कृतिक विरासतको केन्द्रको रूपमा विश्व मानवकल्याण र भातृत्वको लागि अध्ययनको केन्द्र रहेको बताए । स्टार इंडिया ग्रुपको २०२० को इन्टरनेशनल एडुकेशनल अवार्ड यस वर्ष समेत डीएभी. विद्यालयले हात पा¥यो । त्यसैगरी, विद्यालयका अध्यक्ष अनिल केडियाले सोहि ग्रुपको बेस्ट लिडरसिप अवार्ड जित्न सफल भएका छन् भने प्राचार्य भुवनेश्वरी रावले वेस्ट प्रिन्सिपल अवार्ड जित्न सफल भएकी छन् । यससँगै स्टार इंडिया ग्रुपको अन्तर्राष्ट्रिय अवार्ड डीएभी. विद्यालयले १२ औ पटक हात पार्न सफल भएको हो । अवार्ड हात पारेसँगै डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले भारत गोैरव रत्न अवार्ड वितरण समारोह डीएभी स्कुलमा आयोजना हुनु विद्यालएकै लागि महत्वपूर्ण उपलब्धी भएको बताइन् । उक्त कार्यव्रmममा विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदार नाथ शर्मा, त्रिभुवन विश्वविद्यालयका डा. विरेन्द्र पाण्डे, नेपाल–भारत मैत्रि समाजका अध्यक्ष–प्रेम लस्करी र परित्रान कन्सल्टेन्सिका विक्रान्त पाण्डे, लगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । 

नवलपुरले जित्याे अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि

पाेखरा । पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अङ्क थियो । अन्तिम तथा निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १५६ रनको योगफल तयार गरेको थियो । जितका लागि १५७ रनको लक्ष्य पछ्याएको कास्की ३५ ओभरमा १०८ रनमा समेटियो । फाइनल खेलमा हृयाट्रिक गर्न सफल नवलपुरका बलर सुशील क्षेत्री म्यान अफ द म्याच भएका थिए । प्रतियोगितामा बागलुङका सुवास भण्डारी सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर ११ विकेट लिएका नवलपुरका स्वीकार श्रेष्ठ उत्कृष्ट बलर तथा प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका नवलपुरकै दीपक डुम्रे उत्कृष्ट ब्याट्सम्यान भए । जितसँगै नवलपुरले नगद रु २० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल, सहयोगी फरेन लिङ्क कन्सल्ट्यान्सीका प्रमुख क्षितिज तुलाचन, आयोजक एकेडेमीका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक चन्द्रकुमार गुरुङ (जिम्मी), प्रशिक्षक रिजन प्रजुलगायतले विजयी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका हुन् । सर्वोत्कृष्ट खेलाडी भण्डारीलाई प्याराग्लाइडिङ पाइलट सविता तामाङले प्याराग्लाइडिङ टिकट उपहार प्रदान गरिन् । आयोजक एकेडेमीका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितालाई आगामी वर्षमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । रासस

छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

काठमाडाैं ।  प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ । प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए । सिरहाको सुखीपुर नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उनले जानकारी दिए  सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ । रासस