कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना
फाइल फाेटाे जनकपुरधाम । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा खुवाउन शुरू गरेको हो । जनकपुरमा ३१ जना बिरामीलाई खाना तथा खाजा खुवाउने गरिएको छ । प्रदेश सरकारको आग्रहमा सानो पाइलाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सरकारको कार्यविधिअनुसार धनुषामा पौष्टिक खाना खुवाउँदै आएको छ । ‘विविध कारणले गर्दा धनुषामा कोभिड-१९ का बिरामी र क्वारिन्टनमा बसेका व्यक्तिलाई पौष्टिक खाना खुवाउन समस्या भएकाले सानो पाइलाले यो अभियान अघि सारेको छ’, सानो पाइलाका क्षेत्रीय प्रमुख अधिवक्ता राहुलकुमार झाले भने, ‘यो अभियानलाई जनकपुरवासी र प्रदेश सरकारको साझा अभियानका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।’ यसका लागि समुदाय र सरकार दुवैको सहयोग लिइने उनको भनाइ छ । यसअघि सानो पाइलाले समुदायको सहयोगमा पर्सामा उपचाररत कोभिड-१९ का बिरामीलाई जेठ ५ गते बाट नियमित चार समय पौष्टिक खाना उपलब्ध गराउँदै आएको छ । साप्ताहिकरुपमा समुदायको सहयोग र पौष्टिक खानामा भएको खर्च सार्वजनिक गर्दै आएको सानो पाइलाले हालसम्म सरकारी सहयोग नलिएको जनाएको छ । ‘सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तव्य हो’, सानो पाइलाका सभापति सुदीपकुमार लामाले भने, ‘हामीले समुदायको सहयोग समुदायसम्म पुर्याउन साँघुको काम गरिरहेका छौँ ।’ उनले यस कार्यका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए पनि अहिलेसम्म यस विषयमा संस्थाले ठोस निर्णय लिएको छैन भने- ‘यस्ता निर्णय संस्थाको गभर्निङ बोर्डले गर्ने हो’, सभापति लामाले भने, ‘प्रदेश सरकारको आग्रहमा हामीले धनुषामा शुरुवात गर्न लागेका हौं । प्रदेश सरकारले हामीलाई आर्थिक सहयोग गर्ने निर्णयको विषयमा दुवै पक्षका प्राविधिक समूह आपसी छलफलमा छौं । यसको औपचारिक शुरुवात भएसँगै त्यसका विषयमा पनि आवश्यक जानकारी गराउने छौं ।’ बिहानको खाजामा अण्डा, रोटी, हरियो तरकारी, चिया, दूध, फलफूल तथा साँझको खाजामा फलफूल, निम्बु पानीको सर्बत, चिया, दूधको साप्ताहिक मेनु नै बनाइएको छ । दिउँसोको खानामा भात, दाल, मौसमी तरकारी तथा साग सलाद र रातिको खानामा दिनमा दिने गरिएको खानामा सप्ताहमा दुई दिन कुखुराको मासुसमेत दिने गरेको उनले बताए । प्रतिदिन एकजनालाई चारपटक भोेजन गराउँदा दैनिक ३२७ रूपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । राष्ट्र निर्माणका लागि समुदायको निर्माण भन्ने नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले मुख्यरुपमा लागुऔषधमा संलग्न व्यक्तिलाई सुधारे असल काममा लगाउने काम गर्ने गरेको उनले बताए । ‘दलदलमा फसेका त्यस्ता युवा जसका आमाबुवाले समेत नालायक भनेर तिरस्कार गरे, आज ती युवा नै फिडिङ अभियानसहित विभिन्न असल काममा लागेका छन्’, झाले भने । रासस
क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता
दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै मृत्यु भइसकेको छ । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ । अहिलेसम्म संक्रमित ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताए । कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको कारण बताइएको छ । त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गरे । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने कामभन्दा नि व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताए । तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ । उपचारमा चुनौती कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ । चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिए । तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । भारतबाट आएका अधिकांश व्यक्तिलाई नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् । खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय महाबुमा आएको अध्यक्ष शाहीले बताए । शुरुआतमा १ सय ५० क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ । त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् । विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताए । प्रदेश सरकारले गाउँपालिकामा १५ लाख पठाएको छ । गाउँपालिकाको ५० लाख विपत् कोषको रकमसमेत सकिएको छ । दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर काम गर्नुपरेको शाहीले बताए । रातदिन नभनेर ६० स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका कर्मचारी खटिएका छन् । प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । भारतबाट भित्रिएका नागरिकलाई छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाए । पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश जीप प्रयोग गरिएको छ । मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ । जाँच गर्ने स्रोत र साधन अभाव भएको र प मानिस विनाजाँच पालिकामा भित्रिएकाले जोखिम बढ्नाका साथै व्यवस्थापनमा चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताए । पालिकाकामा ५ सय ९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिए । ३० प्रतिशतलाई मात्र खाद्यान्न गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ । अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए ।
चर्चित भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको आशंका
काठमाडौं । चर्चित भारतीय संगीतकार जोडी साजिद–वाजिद मध्येका वाजिद खानको गए राती निधन भएको छ । उनी साजिद खानका भाई हुन् । भारतीय मिडियाहरुका अनुसार वाजिद खान कोरोना संक्रमित थिए । यद्यपी उनको कोभिड–१९ को टेस्ट रिपोर्ट आइसकेको छैन । उनको परिवारले बताए अनुसार वाजिद खान किड्नीको विरामी थिए र दुई वर्ष अघि ट्रान्सप्लान्ट भएको थियो । केहि समय अघि घाँटीमा इन्फेक्सन भएपछि उनलाई चेंबुरको सुराना अस्पतालमा भर्ना गरिएको थियो । एक हप्ता अघि मात्र वाजिद खानको ‘भाई–भाई’ गीत रिलिज भएको थियो । जसमा सलमान खानको आवाज र अभिनय रहेको छ । उनको मृत्युसँगै सिंगो वलिउड इण्डस्ट्री शोकमा डुवेको छ भने विभिन्न गायक तथा कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।