चिकित्सकको सल्लाहविना अधिक मात्रामा जडिबुटिको प्रयोग नगराैं
चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपाललगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । मानिसले घरघरमा यसको आफूखुसी प्रयोग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउँछिन् । उनका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिइएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्थाअनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उनी सुझाउँछिन् । सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ । उनका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको सङ्क्रमण, ब्रोङ्काइटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य सङ्क्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भएअनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बि भाइरस, पारा इन्फुल्एन्जल भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, इन्फुल्एन्जल भाइरस विरुद्ध प्रभावकारी रहेको पाइएको उनले बताइन् । उनले भनिन्, “यसमा विशेष गरी कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।” पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्ने उनको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नुपर्ने उनको भनाइ छ । सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उनी बताउँछिन् । त्यसबाहेक राति सुत्नु अगाडि तातो दूधमा एक ग्राम बेसार राखेर पिउनु राम्रो हुने उनको भनाइ छ । यसरी पिउँदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिइन् । गुर्जाे विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उनको भनाइ छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, युरिक एसिड, ज्वारोलगायत अन्य रोगमा आवश्यकताअनुसार प्रयोग गरिन्छ । समय समयमा देखापर्ने डेङ्गु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरसजन्य रोग (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टीभाइरल विरुद्ध यसको प्रयोग गरिने उनको भनाइ छ । उनले भनिन्, “यो आफैँमा मधूमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र गुर्जाेको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले उच्च रक्तचाप कम हुने सम्भावना रहन्छ ।” पाँच ग्राम गुर्जाेको चूर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उनले भनिन्, “ताजा गुर्जोको रस २०–२५ मिलिग्राम दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मिलिग्राम पिउने गर्नाले फाइदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उनको भनाइ छ । तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नुपर्ने उनको सुझाव छ । टिमुर र अदुवा पाइल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उनले बताइन् । आयुर्वेदका चिकित्सक पि एन भुसाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछिन् । उनले बेसार, गुर्जाेलगायत जडिबुटी मात्राअनुसार मात्रै प्रयोग गर्न सुझाव दिइन् । औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उनले बताइन् । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उनले सुझाव दिइन् । रासस
मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न, डिशहोमबाटै हेर्न सकिने
धनुषा । डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ । १७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक संतोष लाल दासको अध्यक्षता तथा प्रदेश नं २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा औरहि गाँउपालिकाको वडा नं. २ स्थित देउरि परबाहामा सामाजिक दुरी कायम गरि उक्त कार्यक्रम भएको हो । कार्यक्रममा मिथिलाञ्चली टेलि सिरियलको प्रिमियर देखाइएको थियो । त्यस्तै डिशहोमका सुपरभाईजर शिवराम मंडलले डिशहोम नेटवर्क सदैव मैथिलि लोक कला संस्कृतिको पक्षमा रहि आएको र सदैब यसलाई संरक्षण एवं प्रवर्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश नं. २ का आन्तिरिक मामिला एवं कानून मन्त्री ज्ञानेन्द्र यादवले टेलि सिरियलमा देखाईएको कथावस्तुले समाजमा परिवर्तनको संदेश दिने विश्वास व्यक्त गरेका छन् । मैथिली टेलि सिरियल मिथिलाञ्चली हरेक हप्ता शुक्रबार बेलुकी ८ बजे डिशहोमको च्यानल नं. ११९ भोजपुरी म्याजिकमा हुनेछ ।
वासुदेव अधिकारीको कविता सङ्ग्रह ‘बस्तीमा आगो’
काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ । कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ । हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित) र ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् । रासस