समाजसेवी प्रधान बने चन्द्रागिरी हिरो, कुलमान घिसिङसहित ५ जनाले पाए ‘नेशनल क्रिएटिभ्स अवार्ड’

काठमाडौं । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरी हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याए बापत उनलाई सो सम्मान अर्पण गरिएको हो । दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरी हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गरेका हुन् ।“सम्मानले आफूलाई अगामी दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायी समेत रहेका प्रधानले कार्यक्रममा भने । कार्यक्रममा ‘प्लेयर अफ दि इयर २०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भएका थिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत थिए । रासस

सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या

सिमकोट । हुम्लाका सातवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् । हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधान रही आएको छ । दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् । चालुआवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका-२ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताए । सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिमा ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताए । कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालुआवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिए । यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर पाँच र छ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताए । अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । पहिला घरघरमा पुगेर हात हातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ । चालुआवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आ-आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान राखिएको छ । हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशित गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् आफ्नो भत्ता नआएकोप्रति गुनासो मात्र गर्दै आएका छन् । रासस

पृथ्वी जयन्तीमा देशभक्तिको गीत सार्वजनिक, ३० जनाभन्दा बढी कलाकारकाे अभिनय

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय तथा चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र यात्राको निर्माता समेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भइसकेको छ । अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् । निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलोपटक भएको बताए । चार दिन लगाएर छायांकन सम्पन्न गरिएको भिडियोहरु विभिन्न स्थानहरुका दृश्य समेटिएको छ । आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन् । रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् । भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागें’, निर्माता श्रेष्ठले भने, ‘राष्ट्रियता संकटमा परेको बेला देशभक्तिपूर्ण गीतमा काम गर्न मन लाग्यो । मलाई लाग्छ( एउटा उत्कृष्ट गीत र भिडियो बनेको छ ।’ ‘देशले मलाई के दियो भनेर सोच्ने तथा सोध्नेहरुको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्नु र तदनुरुप काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु’, उनले भने ।