सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।

‘टारगेट नं. वान’ फिल्म पुस २१ गतेदेखि डिशहोमबाटै हेर्न पाइने, कति बजे ?

काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघरमा पुस २१ गतेदेखि उक्त फिल्म रिलिज हुने भएको हो । दर्शकहरुले यो चलचित्र पुस २१ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।साथै, सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यासआईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

बनेन वसन्तपुरमा रहेको दश अवतार मन्दिर, ठेकदारलाई कालो सूचीमा राखी कारवाही गरिने

काठमाडाैं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ । विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनःनिर्माणका लागि प्राकृतिक/सानुबाबु/एसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनःनिर्माण सक्नुपर्ने थियो । शुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनःनिर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए । केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनीयर लक्ष्मण लम्सालले  जानकारी दिए । यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो । पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो । कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिई पुनःम्याद थपको माग गरेको थियो । निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनःनिर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ । चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारवाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउनुहुन्छ । कानूनी कारवाही गरेर मात्र मन्दिर पुनःनिर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए । आइतबार महानिर्देशक उनले मन्दिर पुनःनिर्माणको अवलोकन गरेका थिए । तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ । रु तीन करोड ९२ लाख ७८ हजार ९०६ लागत अनुमान गरिएकामा तीन करोड ७५ लाख नौ हजार ८५५ मा ठेक्का गरिएको थियो । हालसम्म पुनःनिर्माणको ५४.४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । पछिल्लो समय काठ नपाएर पुनःनिर्माणमा समस्या आएको छ ।