नवलपुरमा समूह बनाएर अम्रिसो खेती, डेढ करोड आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पहाडी भू–बनोटमा अन्य खेती राम्रोसँग नहुने भएपछि अम्रिसो खेतीतर्फ लागेका किसानले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । जिल्लाका हुप्सेकोट, बौदीकाली, बुलिङटार, गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका पहाडी क्षेत्रमा अम्रिसो खेती गरिँदै आएको छ । डिभिजन वन कार्यालय नवलपुरमार्फत कबुलियती वनमा अम्रिसो खेतीलाई प्रोत्साहन गरिएपछि पहाडका पाखाहरू हराभरा मात्र बनेका छैनन्, स्थानीय बासिन्दाको आयआर्जनको भरपर्दो आधार बन्न पुगेको छ । जिल्लामा १२१ वटा समूहले कबुलियती वनमार्फत अम्रिसो खेती गरिरहेको कबुलियती वन विकास कार्यक्रम नवलपुरका जिल्ला सुपरिवेक्षक तुलबहादुर रानाले बताए । डिभिजन वन कार्यालयले अम्रिसो खेतीका लागि निःशुल्क बिरुवा वितरण गर्दै आएको छ । यसबाट प्रेरित भएर स्थानीयहरू कबुलियती वन समूहमा आबद्ध भई व्यावसायिक अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । पहाडी क्षेत्रमा आयआर्जनका सीमित विकल्पबीच अम्रिसो खेती अहिले ग्रामीण जीवनको महत्वपूर्ण आर्थिक आधार बनेको छ । नवलपुरमा अम्रिसो खेती गरेका किसानले यस याममा ३०१ मेट्रिक टन अम्रिसो उत्पादन गरी बिक्री गरेको जिल्ला सुपरिवेक्षक रानाले बताए । जसबाट किसानले रु एक करोड ६५ लाख ७२ हजार आम्दानी गरेको उनले जानकारी दिए । अम्रिसो खेती सुरु हुनुअघि पहाडका डाँडाहरू झाडी र बाँझो जमिनका रूपमा मात्र रहेका थिए । पछि स्थानीयवासीले सरसफाइ अभियानसँगै अम्रिसोका बिरुवा रोप्न थाले । डिभिजन वन कार्यालयले बिरुवा रोप्नका लागि सहयोग गर्दै आयो । अहिले त्यही अम्रिसो धेरै परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । स्थानीयहरूले वर्षभरिको घरखर्च अम्रिसो बिक्रीबाट जुटाउने गरेको दैतेगैरा कबुलियती वन समूह हुप्सेकोटका अध्यक्ष यमबहादुर बाह्रघरेले बताए । समूह बनाएर अम्रिसो खेती गर्ने गरिएको उनले बताए । यसबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ । 'पहिले पाखाहरू यसै बाँझै थिए, पछि अम्रिसो लगाउन सुरु गरियो । अहिले यहाँका लागि मुख्य आम्दानीको स्रोत नै बनेको छ,' अध्यक्ष बाह्रघरेले भने । धेरै मिहिनेत पनि गर्नु नपर्ने र अम्रिसो तयार भएपछि बजारको समस्या नभएको उनले बताए । कुचोको कारोबार गर्ने व्यापारीले खोजी–खोजी अम्रिसो लैजाने गरेको उनको भनाइ छ । अम्रिसो खेतीले आर्थिक आम्दानी मात्र दिएको छैन, पहाडी भू–भागलाई हरियाली बनाउँदै भू–क्षय नियन्त्रणमा समेत महत्वपूर्ण सहयोग पुर्याएको कबुलियती वन विकास कार्यक्रमका जिल्ला सुपरिवेक्षक रानाले बताए । रासस

पर्यटक भिसामा नेपाल आएर छालाको ज्याकेट बेच्ने दुई चिनियाँ पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शुक्रबार देवचुली नगरपालिका– १३ स्थित दलदले भन्ने ठाउँमा चेन जीवक्विएन र यी लिहुवा पक्राउ परेका हुन् । छालाको जस्तो देखिने ४३ थान ज्याकेटहरूको बिक्री–बितरण गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए । उनीहरूले एउटा ज्याकेटको मूल्य ३ देखि ४ हजारमा बेच्ने गरेको उनको भनाइ छ । बिना बिलबिजक नभएका ज्याकेट उनीहरूको साथमा रहेको प्रहरीले जनाएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । थप अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको पण्डितले जानकारी दिए ।

प्रहरीको तलब बढ्यो, यस्ताे छ नयाँ पारिश्रमिक

काठमाडौं । सरकारले कर्मचारीको तलब कुल २१ प्रतिशत वृद्धि गरेको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै २१ प्रतिशत तलब वृद्धि गरेको घोषणा गरे ।   तलब वृद्धि भएसँगै नेपाल प्रहरीका सुरक्षाकर्मीमा उत्साह छाएको छ । काम गर्न प्रोत्साहन मिल्ने तथा सरकारले ल्याएको बजेटप्रति सुरक्षाकर्मीका अधिकारीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले समग्रमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको तलब वृद्धि हुनु सकारात्मक कुरा रहेको बताए । उनले सानादेखि ठूला सुरक्षाकर्मीको तलब वृद्धि काममा प्रोत्साहन र प्रेरणा थपिने विश्वास व्यक्त गरे । नेपाल प्रहरीका जवानदेखि प्रहरी महानिरीक्षकसम्मको तलब वृद्धि भएको हो । यो बढेको तलब भने साउन १ गतेबाट लागू हुनेछ । प्रोत्साहन तथा अन्य ग्रेडलगायतका भत्ता बढेको छ । जवानले अब बढेको तलब ३१ हजार ५५९ रुपैयाँ पाउँनेछन् । हाल उनीहरूले २६ हजार ८२ रुपैयाँ तलब पाइरहेका छन् । सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्ट पनि सरकारले बढाएको तलबप्रति सुरक्षाकर्मी निकै खुसी रहेको प्रतिक्रिया दिए । ‘सरकारको कदमले नयाँ सरकारी सेवामा आउन चाहनेलाई प्रोत्साहन मिलेको उनको भनाइ छ । 'काम गर्नुपर्छ भनेर प्रोत्साहन मिलेको छ । सेवामा रहनेलाई थप प्रेरणा मिलेको छ,’ उनले भने । नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने भएको छ । विधिविज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बौद्धिकताको प्रयोग र भौतिक पूर्वाधारको विकासमा लगानी गर्ने भएको हो ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्तभरण सुरु हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने वाग्लेले बताए ।