दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियामाथि जित दर्ता गरेको छ । 

मेक्सिकोले दक्षिण कोरियालाई १-० ले  पराजित गरेको हो ।

मेक्सिकोको जितमा लुइस रोमो नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा रोमोले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको बाँकी समयमा दक्षिण कोरियाले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । अन्ततः रोमोले गरेको सोही एकमात्र गोल नै मेक्सिकोको जितका लागि पर्याप्त बन्यो ।

यस जितसँगै थप ३ अङ्क जोड्दै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा मेक्सिकोको यो लगातार उत्कृष्ट प्रदर्शन हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा पनि मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० हराएको थियो ।

लगातार दुई खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा पुगेको छ । एक खेल खेल्न बाँकी छँदै उसले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

Share News