शवको पहिचान खुल्यो, रमा राति साढे ९ बजे आफै निस्केकी थिइन्

काठमाडौं । झापाको दमकस्थित रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका ८ का बसन्त टोलकी २१ वर्षीय रमा तिवारीको रहेको झापा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता सुमन बानियाले जानकारी दिए । मृतकका अभिभावकले शवको पहिचान गरेर सनाखत गरिसकेको प्रहरीले जनाएको छ ।   तिवारी गत १३ गते घरबाट राति साढे ९ बजे घरबाट बाहिर निस्किएकी थिइन् । त्यसपछि उनी घरमा फर्किएकी थिइनन् ।  प्रहरीको अनुसन्धानमा उनी लागुपदार्थको कुलतमा लागेको हुनसक्ने देखिएको छ । विभिन्न व्यक्तिहरूलाई सोधपुछ गर्ने क्रम जारी रहेको प्रवक्ता बानियाले बताए । शनिवार बोराभित्र पोका पारेर राखेको अवस्थामा शव फेला परेको थियो ।  ११ बजे झापा दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको बोरामा पोको पारेको अवस्थामा शव फेला परेको हो । दुई-तीन दिन अगाडिदेखि नै शव पानीमा रहेर ढाडिएको अवस्थामा फेला परेको थियो । 

सामाजिक सञ्जालमा ग्रुप बनाई भिडियो पोष्ट गर्ने २५ जना युवा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर गाली तथा धम्कीजन्य भिडियोहरू पोष्ट गर्ने २५ जना युवा पक्राउ परेका छन् । किङ्ग अफ बलान, किङ्ग अफ भगवानपुर, किङ्ग अफ लहान र किर्लस ब्रोदरजस्ता ग्रुप बनाएर उनीहरूले विभिन्न सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने गरेका थिए । सिरहा जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तरी, बलान बिहुल गाउँपालिकाका १२ सिरहा, लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवाहरूलाई नियन्त्रणमा लिइएको हो। २१ वटा मोटरसाईकलसहित उनीहरू पक्राउ परेका हुन् । बिना हेल्मेट, कागजपत्र साथमा नभएको तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा ३(४ जना सवार गरिरहेको प्रहरीले जनाएको छ । राजमार्गमा होहल्ला तथा सामाजिक शान्ति भंग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । 

'विद्युतमा भ्याट फिर्ता हुँदैन, ५० लाख मुनिका ईभीकाे मूल्य घट्छ'

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको 'पोस्ट बजेट' छलफल कार्यक्रममा बोल्दै उनले भने, 'विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौं ।'  आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको उनले बताए । 'विगतमा कुरा भएपनि कसैले आँट गर्न नसकेको अवस्था थिएन,' उनले भने ।  उनले यदि सबै नि:शुल्क हुने वा वितरण मात्र हुने हो भने भेनेजुयलाको हालत हुने भन्दै सरकारले उपभोगमा आधारित करमा गइएको सुनाए । उनले भने,'आयमा आधारित कर भन्दा उपभोगमा आधारित करतर्फ अगाडि बढाइएको हो ।'   बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताए । उनले भने, 'गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।'  अर्थमन्त्री वाग्लेले ५० लाखभन्दा मुनिको विद्युतीय गाडीको मूल्य घट्ने पनि बताए । अहिलेको बजेट आयकरमा छुट दिएर उपभोगमा कस्ने नीति अनुसार आएको मन्त्री वाग्लेले जानकारी दिए । यसरी अघि बढ्दा अहिलेको सुस्त आर्थिक अवस्थाबाट बाहिर निस्कन सकिन्छ भन्ने आधारभूत आर्थिक सिद्धान्तलाई टेकेर बजेट बनाइएको जानकारी उनले दिए ।