काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो चरणको खेलमा एसियाली पावरहाउस जापानले ट्युनिसियामाथि ४–० को शानदार जित दर्ता गरेको छ ।
मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा भएको विश्वकप इतिहासकै ऐतिहासिक १,००० औं खेलमा जापानले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै ट्युनिसियालाई पूर्ण दबाबमा राख्यो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापानले यस एकपक्षीय जितसँगै स्पष्ट ३ अंक जोडेर नकआउट चरणको यात्रा बलियो बनाएको छ ।
पहिलो खेलमा स्वेडेनसँग ५–१ को भारी अन्तरले पराजित भएको ट्युनिसियाका लागि यो लगातार दोस्रो हार हो, जसले उसको अघिल्लो चरण प्रवेशको सम्भावनालाई निकै कमजोर बनाएको छ ।
खेलको चौथो मिनेटमै मिडफिल्डर दाइची कामाडाले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि लगातार आक्रमण बुनेको जापानका लागि ३१औं मिनेटमा फरवार्ड अयासे उएडाले दोस्रो गोल थपे ।
दोस्रो हाफमा पनि ट्युनिसियाको डिफेन्स लाइनलाई व्यस्त राखेको जापानका लागि ६९औं मिनेटमा जुन्या इतोले काउन्टर अट्याकमा प्रहार गर्दै टोलीलाई ३९० को स्थितिमा पुर्याए ।
खेलको ८३औं मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि जापानले मैदानमा ४–० को शानदार जित सुनिश्चित गर्यो ।


