दश दिनमा ‘महापुरुष’ले कमायो ६ करोड रुपैयाँ
काठमाडाैं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा एकदमै राम्राे कमाइ गरिरहेकाे छ । निर्माताकाे अनुसार फिल्मले दश दिनमा साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरिसकेकाे छ । फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । तयस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ । षट्कोण आर्टस्को ब्यानरमा निर्माण भए यस फिल्मकाे निर्देशक प्रदिप भट्टराई रहेका छन् । याे उनकाे चौथो फिल्म हो । फिल्मको कथालाई उनले नै लेखेका छन् ।
‘मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’
काठामाडौं । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् । लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको निधनपछि करिब एक वर्ष सक्रिय जीवन बिताएनन् । अर्थात्, करिब उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग दोस्रो विवाहपछि भने उनी पुरानै लयमा फर्किएका छन् । काममा उसैगरी जोश र जाँगरका साथ काम गरिरहेको उनको भनाइ छ । मह सञ्चारबाहेकका प्रोजेक्टमा निकै कमै देखिने आचार्य अभिनित पछिल्लो चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ र यसले दर्शकहरुबाट सकारातमक प्रतिक्रिया समेत पाइरहेको छ । ‘महापुरुष’ चलचित्र एकलपुरुषको कथामा आधारित छ । कथाका केही प्रसङ्गहरु आचार्यको जीवनसँग पनि मेल खान्छ । ‘मेरो दोस्रो विवाह हुने प्रसङ्गबाहेक फिल्मको कथा फरक छ । एक्लोपनले निम्त्याउने समस्या भने मिल्न सक्छ’, उनले भने, ‘वास्तविक जीवनमा मेरो सन्तानले नै दोस्रो विवाहप्रति देखाएको सद्भाव मेरो लागि प्रेरणा बन्यो ।’ सन्तानले पनि आफ्नो अभिभावकको इच्छा बुझे अभिभावक सुखीसँगै खुसी रहन सक्ने उनको भनाइ छ । आचार्यले एक्लोपनले जीवनमा समस्या ल्याउने र आफू पनि शोकमा हुँदा झन्डै एक वर्ष काम गर्न नसकेको बताउँछन् । ‘तर अहिले मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’, अभिनेता आचार्यले भने, ‘उनको साथ र सहयोगले नै म अहिले सक्रियतापूर्वक काम गर्न सकेको छु ।’ महापुरुष चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफूले दोस्रो विवाहको समय स्मरण गरेको उनले बताए । “दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ । आफ्नो खुसी हेर्ने हो कि सामाजिक प्रतिष्ठा भन्ने प्रश्नले द्विविधा उत्पन्न गराउँछ”, उनले भने, “यो द्विविधामा म मात्रै होइन अन्यमा पनि रहेको पाएँ ।” अभिनेता आचार्य प्रायः कार्यक्रममा श्रीमतिसँगै पुग्छन् । उनी हालै मात्रै सपत्नी संयुक्तराज्य श्रीमतिसँगै अमेरिका पुगेका छन् । महापुरुष चलचित्रमा उनले दुई छोराको पिताको भूमिका निभाउनु भएको छ । कान्छो छोराको विवाहको तयारी हुँदै गर्दा आफै प्रेममा परेपछि आउने परिस्थितिलाई मुख्य कथा बनाइएको छ । परिवारसँगै हुँदा पनि सन्तानले समय नदिँदा बुबाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा उठान गरिएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शीर्षक छनोटपछि हरिवंश आचार्य बोहक अरु कलाकारलाई उक्त भूमिका दिन नसकिएको बताए । चलचित्रमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारको अभिनय छ ।
चन्द्रग्रहणबाट ६ राशीलाई हानी, के गर्दा फलदायी हुन्छ ?
काठमाडौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।