आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै
फाइल फाेटाे काठमायौं । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ । नेपाल लिग–२ मा ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शिर्ष र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्का साथ तालिकाको अन्तिममा छ । नेपालले आजको खेलमा करण केसीको ठाउँमा गुलशन झालाई समावेश गरेको छ । नेपाली टोलीमा झासँगै कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् । विभिन्न सात राष्ट्र सहभागी शृङ्खलाको यो अन्तिम खेल हो । रासस
यूएईका कप्तान भन्छन् : भोलि नेपालसँग जितिन्छ
काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले भोलिको खेलमा नेपालसँग जित्ने बताएका छन् । आज (बुधबार) पिएनजीसँग विजय भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भोलि नेपालसँग हुने खेलमा पनि राम्रो प्रदर्शन गरेर खेल आफ्नो पक्षमा पार्ने बताएका हुन् । ‘आज हामीले राम्रो खेल खेल्यौं, यसलाई हाम्रो कम ब्याकका रुपमा पनि बुझ्दा हुन्छ, हामी हाम्रा लागि विशेष दिन छ, भोलि नेपालसँगको खेल पनि जितेर सुखद अन्त्य गर्न चाहन्छौं,’ उनले भने । लगातार चार पराजयपछि आज यूएईले एउटा जित हात पारेको हो । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत बुधबार पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध ६ विकेटको जित निकालेसँगै यूएईले राम्रो कमब्याक गरेको हो । पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । कप्तान ७६ बलमा १२ छक्का र ६ चौकासहित ११९ रन बनाए । ओडिआईमा वसिमको यो करियरमा उत्कृष्ट पारी हो ।
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
काठमाडौं । काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरबाहले उनीहरु थप जोखिममा देखिन्छन् । ठाउँठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ । जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरु बाटो काट्टा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारीसाधन हाँक्ने प्रवृति चालकहरुमा पनि देखिएको छ । अझ मदिरा पिएर (मापसे गरेर) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकबाट त झन् बढी जोखिम छ । त्यसका अलावा पैदल या साइकल यात्रुहरुले पनि विशेष ख्याल नगर्दा दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ । यात्रुले सवारी साधन आए÷नआएको नहेरी बाटो काट्न खोज्ने, मोबाइलमा कुरा गर्दागर्दै बाटो काट्ने, बाटो काट्दा सवारी साधनको वास्ता नगर्ने प्रवृत्ति पनि बढ्दो छ । चालकको लापरबाहीसँगै बटुवाले गाडीको गतिको ख्याल नगर्ने अवस्था पनि रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजाल बताउँछन् । पैदल यात्रुको आफ्नै कारण र सवारी चालकको लापरबाहीबाट पैदल हिँड्नेहरु जोखिममा परेका पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ । त्यसैले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पैदल यात्री र साइकलयात्री सचेता अभियान सञ्चालन गर्दै आएको छ । पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटना कम गराउन सेचतना अभियान जरुरी रहेको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिन्छन् । उक्त अभियान विगतमा पनि सुरु गरिएर रोकिएकामा जोखिम पनि बढिरहेकाले पुनः थालिएको उनको भनाइ छ । विसं २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो । त्यसबेला विभिन्न स्कुलका विद्यार्थी तथा सामाजिक संस्थाका प्रतिनिधिलाई सहभागी गराएर पैदलयात्रु सचेतना अभियान चलाइएको थियो । त्यसले सकारात्मक रूप लिएको थियो । बीचमा अभियान रोकिँदा फेरि अवस्था उस्तै बन्दै गएकाले पुनः अभियानलाई निरन्तरता दिइएको प्रवक्त भटृ बताउछन् । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङ्बाट मात्रै सडक वारपार गर्नुपर्छ तर पैदलयात्रुको जेब्राक्रस नभएको स्थानबाट समेत बाटो काट्ने गलत अभ्यास काठमाडौंमा कायमै छ । त्यसले पनि जोखिम बढाएको प्रहरीको जिकिर छ । यात्रुले भने आवश्यक स्थानमा जेब्राक्रसिङ नहुँदा दुःख पाउने गरेको गुनासो गर्दै आएका छन् । पैदल यात्रुमा बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सुरुवात गरिएको जनाएको छ । जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने ‘प्ले कार्ड’ नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर उक्त अभियानको सुरुवात गरेको प्रवक्ता भट्ट बताउनुहुन्छ । यो क्रम आज पनि जारी छ । उक्त अभियानअन्तर्गत सोमबार छ सय ३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सचेत गराएको थियो । अभियानका क्रममा काठमाडौंको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदल यात्रुलाई सडक वारपार गर्न लगाइएको थियो । यस्तै ट्राफिक प्रहरीले रेडलाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ९३ साइकलका चालकलाई पनि सचेत गराएर पठाएको थियो । काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङ्गा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सचेतना शिक्षा दिइएको छ । ट्राफिक नियम पालना गर्दै सवारी साधन चलाउन सबै सडक प्रयोगकर्तामा प्रवक्ता भट्ट अनुरोध गर्छन् । रासस